यात्रा बृतान्त
सम्पदाको आँचलभित्र
दुई, तिन महिना अगाडीकै कुरा हो एक दिन पूण्य बन्धुले दुई तिन दिनको लागि घुम्न जाने हो दाइ भनेर सोध्नु भयो । म पनि भ्रमणप्रेमी मान्छे, हुन्छ नि किन नहुनु, यो त खुशीको कुरा हो भनें । त्यतिकैमा जेष्ठ महिनाको तेस्रो सातातिर एकदिन बेलुकी वहाँले फोनको घण्टी बजाउनु भयो । फोनमा आराम बिरामको औपचाकिता पूरा गरेपछि वहाँले भन्नु भयो ल दाजु २४ गतेको लागि कार्यक्रम तय भयो । बिहान सबेरै जाने हो गाडी बिहान ६ बजेतिर आइपुग्छ होला । सबै प्रवन्धको बिचार गरेर यस पटक हामी सिमीत संख्यामा मात्र जाँदैछौं । २१।२२ गते तिर मेरो गोर्खा जाने कार्यक्रम थियो तर नयाँ ठाउँमा भ्रमण गर्न पाइने उत्सुकताले गर्दा पूण्यजीको फोन पाएपछि गोरखाको कार्यक्रम पछिलाई सारेर म २४ गतेको प्रतिक्षामा बसें । भ्रमणको बारेमा मलाई मोटामाटी थाह भैसकेको थियो ।
त्यस दिन अर्थात् २०७६ साल जेष्ठ २४ गते विहान ४ बजे देखिनै काठमाडौंमा हावा हुरीका साथ आकाशमा गड््याङगुडुङ गर्दै पानी पर्न थाल्यो । म चार बजे देखिनै उठेर नुवाइधुवाई,, आसन, प्राणायाम आदि आफ्नो नित्यकर्म सकेर चिया पिएर रेडी भएर बसेको थिएँ । फोनको घण्टी बज्यो, फोन उठाएँ “सर
म रेडन कलेज अगाडि पुलमा आएर बसेको छु” भन्ने सम्बोधन पाएँ र भने “ल म ५।७ मिनेटमा आइपुग्छु । पानी परिरहेको थियो, झोला बोकेर छाता आडेर बाटो लागें । गाडीमा रामप्रसाद घिमिरे बन्धु आएर बसिसक्नु भएको रहेछ । हामी त्यहांबाट सितापाइलातर्फ हानियौं । घिमिरेवन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरेलाई फोन गरें “सर हामी हिडियो दश मिनेटमा सरकहाँ आइगुग्छौं” भनें । हामी सितापाइला कम्फर्ट हाउजिङ पुग्दा माधव सर तयार भएर बस्नुभएको रहेछ । सरले र शुशिला मेडेमले पनि कफि खाएर जान आग्रह गर्नुभयो । आग्रहलाई सहर्ष स्वीकार गर्दै कफि पिएर हामी हिडिहाल्यौं । पुण्यजीसंग फोन सम्पर्क गरेर हामी सरासर बनेपा पुगेर रोकियौं । गुरुजीले मेसको लागि शब्दी, तरकारी लैजानु पर्नेछ भनेर तरकारी बजारतिर पस्नुभयो । हामी पनि संगै गयौं र शब्जी, तरकारी छानेर तीन बोरा गाडिमा ल्याएर राख्यौं । त्यतिवेला सम्ममा पुण्यजी सहितका साथीहरू अर्को गाडिमा आइपुग्नु भयो । दुइवटै गाडिमा हामीहरू त्यहाँबाट प्रस्थान ग¥यौं । काभ्रेभञ्ज्याङमा चिया नास्ता गर्ने सल्लाह थियो । काभ्रेभञ्ज्याङबाट देखिने रोल्वालिङ हिम श्रृङ्खला र त्यसको बिचमा महादेव जस्तै गरी बिराजमान गौरीशंकर हिमालको मनोरम दृश्यको अवलोकन गर्दै बिहानको नास्ता पनी भयो । धेरै साथीहरूले ती मनोरम दृश्यहरूलाई क्यामेरामा कैदगर्ने काम पनि गर्नुभयो । त्यहाँबाट भकुण्डेबेंसी झरेर रोसी खोलाको किनारै किनार कलात्मक डिजाइनमा निर्माण भएको बीपी राजमार्गको आसपासमा वारिपारी अवस्थित गाउँबस्तीहरु, होटेल, चिया, चमेना पसलहरूमा नजर लगाउदै हाम्रो सवारी साधन तुफानका साथ अगाडि बढिरह्यो । रामार्गको मुलकोटमा रहेको थकाली होटेलमा बिहानको खाना खाने कुरा हाम्रा सवारी चालक गुरुजी दिपेन्द्र कर्णले पहिले नै होटेलमा फोन गरेर भनिसक्नु भएको थियो । जेठ महिनाको गर्मी बेंसिको यात्रा, तैपनि हाम्रो यात्रा रोमाञ्चकता थप्दै अगाडि बढिरहेको थियो । बायाँतर्फ बगिरहेको एैतिहासिक रोसी खोला सुनकोशीमा गएर मिसियो, सुनकोशी तामाकोशीमा गएर मिसियो । यतिबेला हामी खुर्कोट पुगिसकेका थियौं । खुर्कोटमा पुल तरेर हाम्रो यात्रा रामेछापतर्फ सोझियो । खुर्कोटसम्म पुग्दा काठमाडौंदेख करिब १०५ किलोमिटर यात्र भैसकेको थियो । रामेछापको दक्षिणी भाग ज्यादै सुख्खा छ । त्यहाँ बृष्टिीछायाँ पर्ने हुँदा असाध्यै कम पानी पर्छ । त्यसैले होला डाँडाकाँडा खुरिखण्ड थिए । हरियाली कतै थिएन । रातोमाटे डाँडाहरुमा कतैकतै देखिने बुट््यानहरू मात्र थिए । वर्षात्को पर्खाइमा खेत वारीहरू खनेर मात्र राखेका थिए । कतै केही उम्रिएको देखिएन । पानीको स्रोत भनेको तल बग्ने तमाकासी बाहेक केही कतै देखिदैन थियो । बाटोमा पर्ने खोला खोल्साहरू सबैनै सुख्खा थिए । मानौं त्यहाँ कति वर्षदेखि पानी परेको थिएन ।
खुर्कोटबाट करिब आधा घण्टामा १९ किलोमिटर दूरी पार गर्दै हामी मन्थली बजार पुग्यौं । त्यहाँ स्व. जगदिश घिमिरेको सक्रियतामा स्थापना भएको तामाकोशी सेवा समाजको अफिस र त्यस संस्थाले संचालन गरेको सामुदायिक अस्पतालको अवलोकन गरियो । राम्रो भौतिक संरचना तयार गरेको रहेछ । त्यस संस्थाले रामेछाप जिल्लामा पु¥याएका सामाजिक सेवाका कार्यहरु उल्लेखनीय छन् । दिउसको गर्मी हामीलाई आलस तालस खेलाउदै थियो । हाम्रो यात्रा अगाडि बढ््यो । खिम्ती जलविद्युत आयोजनाको कार्यालय क्षेत्र हुदै हामी तामाकोशीको पुल तरेर दोलखा बजार तर्फ उकालो लागियो । दोलखा जिल्ला शुरु भएपछि नै हरियाली बढ्दै गयो । तामाकोशी तरेपछि जंगल र खेतवारीहरू हराभरा देखिन थाले । लहलहाउँदा मकैका फाँटहरु मनमोहक थिए । प्रकृतिले पक्षपात गर्दो रहेछ भन्ने उदाहरण यहाँ देख्न पाइयो । कहाँको मरूभूमि जस्तो खुरिखण्ड रामेछाप, कहाँको हराभरा जंगल, खेतवारी र विविध बनस्पतीले सजिएका खेतवारी र बोट बुट््यानहरू । आँखाले यस्तै दृश्यहरूको अवलोकन गर्दै र मनले प्रकृतिको पक्षपातपूर्ण व्यवहारको कल्पना गर्दागर्दै हाम्रो गाडी करिब २० किलोमिटर उकालो चडेर दोलखा बजार पुगेर रोकियो ।
स्वीस परियोजनाले सिन्धुपालचोक र दोलखा जिल्लामा धेरै वर्षसम्म ठूलो लगानी गरेर त्यहाँको श्रोत व्यवस्थापन गरेको प्रभाव दोलखा जिल्लाको प्राकृतिक श्रोत व्यवस्थापनको पक्षलाई अवलोकन गरेर प्रत्यक्ष आँखाले देख्न पाइयो । सायद IHDPआयोजनाको प्रभाव मुल्यांकन कसैले गरेको भए दोलखा जिल्लामा श्रोत व्यवस्थापनको सकारात्मक प्रभाव परेको प्रतिवेदन दिएको हुनुपर्छ । दोलखा जिल्लाको श्रोत व्यवस्थापनको अवस्थालाई बाहिरबाट सरसर्ती हेर्दा दोलखा जिल्लामा IHDP
कार्यक्रम सफल भएको मान्नु पर्छ ।
दोलखा बजारदेखि सदरमुकाम चरिकोट ४।५ किलोमिटर माथि डाँडामा पर्छ । हामी चरिकोट नगएर छोटो बाटो सोझै दोलखा बजार गयौं र त्यहाँबाट प्रसिद्ध दोलखा भिमसेनको भन्दिर गएर दर्शन ग¥यौं र त्यहाँबाट एक कप चिया पिएर यात्रालाई अगाडी बढायौं दोलखा बजारदेखि सिंगटी बजारसम्म्को ३५ किलोमिटर खण्ड भर्खरै कालोपत्र गरेकाले राम्रो रहेछ धेरै समय लागेन । सिंगटी बजारमा दायाँतर्फबाट बगेर आउने वास्तविक तामाकोशी खोला रहेछ । अपर तामाकोशी भनेको त माथि तिब्बत तर्फबाट आउने भाटेकोशी पो रहेछ । हाल निर्माणधिन उपल्लो तामाकोशी जलविद्युत आयोजना त वास्तवमा भन्दा भोटेकोशिमा पो पर्दो रहेछ । त्यस भोटेकोशीको ८२ प्रतिशत जलाधार क्षेत्र तिब्बतमा र १८ प्रतिशत जलाधार क्षेत्र मात्र नेपालतर्फ पर्ने रहेछ । सिंगटी बजारदेखि करब १८ किलोृमिटर माथि भोटेकोशी किनारमा अपर तामाकोशी जलविद्युत आयोजनाको कार्यालय र भूमिगत जलविद्युत गृह रहेछ । आयोजनाका लागि आयोजनाले नै खनेको एप्रोच रोड भोटेकोशीको दायाँबायाँ अगाडी बढेको छ । आयोजनाका हेभी सामान, उपकरणहरू ढुवानी गरेर लैजानु पर्ने हुंदा सडक कच्ची भएतापनि राम्रो अवस्थामा राखेको पाइयो । सडकदेखि कहिले दायाँ त कहिले वायाँ गरेर सुसाइरहेको तामाकोशीका सुसेली र चट्टानले घेरिएका अग्ला पहाडको खोंचबाट जेठ महिनाको गर्मीमा पनि चिसो हावाको सिरेटो लिदै साँझ छ बजेतिर हाम्रो रोमाञ्चक यात्राको त्यस दिनतको अन्तिम विन्दु माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साइट कार्यालय पुगेर टुङ्गियो ।
आयोजनाका सुविधा सम्पन्न कार्यालयहरू र अतिथी गृहहरू, कन्सल्टेण्ट तथा कर्मचारी आवास गृह, कर्मचारीहरू र विभिन्न तहका कर्मचारी र कन्सल्टेण्टका गरी चारवटा मेस संचालन, टेलिभिजन इण्टरनेट लगायत सबै सुविधाले सुसज्जित आयोजना कार्यालय, सरसफाइ, पूmल बगैंचा, हेलीप्याड र कोशीको अबिरल ध्वनीले हामी पहिलोपटक त्यहाँ पुग्ने साथीहरू सबै नै मन्त्रमुग्ध हुन पुग्यौं । हाम्रो टोलिमा जाने साथीहरु कवि हृदयले ओतप्रोत भएका हुदा भ्याइनभ्याई कविता रचनामा व्यस्त रहनुभयो जस्तो लाग्छ ।
हामी त्यहाँ पुग्ने वित्तिकै प्रशासकीय प्रमुख श्री मित्रमणि पोखरेलज्यू ले हामीहरूलाई स्वागत गर्नुभयो र वहाँको सहयोगि एधकजना सिवाकोटी गुरुले अतिथी गृहमा पाहुनाहरूलाई बस्ने कोठाहरुको व्यवस्था गरिदिनुभयो । हामीहरू दिनभरिको यात्राले थकीत भएको हुदा नुवाइ, धुवाई, रिफ्रेस र आराम गर्न लाग्यौं । हामीहरूलाई सिनियर अफिसर मेसमा आठबजे खाना खान भेला हुनुपर्ने भनिएको थियो । पुण्यजी स्वयम् कवि हुनुहुन्छ वहाँका साथै महाकवि चन्द्रप्रसाद न्यौपाने, कवि धर्म पोखरेल, पदम लामिछाने जस्ता कवि हृदयको समिश्रण हाम्रो टोलिमा थियो । टाइम सेडियुल अनुसार आठ बजे मेसमा भेला भइयो । मेसमा कामगर्ने साथीहरुले मिठो खाना ख्वाएर हाम्रो सत्कार गर्नुभयो । दिनभरिको यात्राको थकान, भोक मिठो कि भोजन मिठो महाराज भनि भनि खाना खाइयो । साथीहरूले एकदुई पंक्ति कविता सुनाउन पनि भ्याउनुभयो ।
भ्रमणको मुख्य उद्देश्य र त्यसको उपादेयता
पुण्य घिमिरेका होनहार सुपुत्र इन्जिनीयर चेरब घिमिरेको सान्जेन जलविद्युत आयोजना रसुवामा फिल्डमा कार्यरत अवस्थामा २०७० माघ ९ गतेका दिन ब्राप्चेत भन्ने स्थानमा सुख्खा पहिरोमा परेर असामयिक निधन हुन पुगेको थियो । शोकको घडीलाई धैर्यतापूर्वक शक्तिमा बदल्ने अदम्य सहासकासाथ वहाँले चेरव स्मृति प्रतिष्ठान गठन गरेर प्रतिष्ठानको माध्यमबाट रक्तदान, चित्रकला प्रदर्शनी, दैबी प्रकोपको समयमा पिडीतलाई राहात बितरण, हिमाद्रि त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन, भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन, साहित्यिक गोष्ठी जस्ता थुप्रै रचनात्मक एवं सामाजिक क्रियाकलापहरु संचालन गर्दै आउनु भएको छ । कार्यस्थल र कार्यस्थलको वातावरणको कारणले आयोजनामा काम गर्ने कुनैपनि प्राविधिक तथा कामदारको मृत्यु तथा अंगभंग हुन नपरोस् भन्ने अभिप्रायले उक्त प्रतिष्ठानका अध्यक्ष पुण्य घिमिरेले अपर तामाकोशी जलविद्युत आयोजनाका कर्मचारीहरूलाई निर्माण कार्यमा सुरक्षा सम्बन्धी एकदिने कार्यशाला गोष्ठीको कार्यक्रम आयोजना गर्नु भएको थियो । अपर तामाकोशी जलविद्युत आयोजनाका आयोजना प्रमुख श्री बिज्ञान प्रसाद श्रेष्ठ तथा आयोजना अनुगमन प्रमुख श्री बिमल गरुङ्ग लगायतसंग समन्वय गरी त्यस गोष्ठीको कार्यक्रम तय भएको थियो । त्यस गोष्ठीमा सहभागि हुने अवसर बन्धु पुण्य घिमिरेले मिलाउनु भएको थियो । आयोजनाको नियमित काममा बाधा नपुगोस् भनेर जेठ २५ गते शनिवारका लागि कार्यक्रम तय भएको हुदा हामी २४ गते नै त्यहाँ पुगेका थियौं भने कार्यपत्र पेश गर्ने विज्ञहरु पनि तयारीका साथ त्यहाँ पुगिसक्नु भएको थियो ।
जेठ २५ गते विहान ८.०० बे्रकफास्ट लिएर ९.०० बजेदेखि कार्यक्रम शुरू भयो । कार्यक्रमको पहिलो सत्रमा हिमाद्रि पत्रिकाको बर्ष ३, अंक १ को लोकार्पण गर्नु थियो । घिमिरेवन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष श्री मधवप्रसाद घिमिरे तथा आयोजना प्रमुख श्री बिज्ञान प्रसाद श्रेष्ठद्वारा संयुक्त रूपमा पत्रिकाको लोकार्पण भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि श्री माधवप्रसाद घिमिरेबाट मैनबत्ती बालेर गोष्ठीको उद्घाटन गर्नु भएको थियो । उद्घाटन सत्रमा चेरव स्मृति प्रतिष्ठानका अध्यक्ष पूण्य घिमिरेले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो र अन्य वक्ताहरुमा विद्युत प्राधिकरणका निर्देशक श्री मदन तिमिल्सिना, आयोजना अनुगमन प्रमुख श्री बिमल गुरूङ, विगु गाउपालिका अध्यक्ष श्री युधिष्ठर खड्का, वडा अध्यक्ष श्री नारायण गुरूङ तथा कार्यक्रमका प्रमुख अतिथि श्री माधवप्रसाद घिमिरेले आँआफ्ना मन्तब्यहरू राख्नु भएको थियो । आयोजना स्थल रहेको विगु गाउपालिका अध्यक्ष युधिष्ठर खड्का, ज्यादै सहयोगी र समाजसेवी व्यक्तित्व हुनुहुदो रहेछ । वहाँ आयोजनाको विभिन्न कामहरूको पेटी ठेकेदार भएपनि आयोजना प्रति ज्यादै सकारात्मक र
सहयोगि रहदै आउनुभएको कुरा आयोजना प्रमुख लगायतका आयोजनामा कार्यरत उच्च अधिकृतहरूको अभिव्यक्तिबाट थाह पाइयो । बि.सं.२०७२ सालको भूकम्पले आयोजनाको पहूच मार्ग सडकलाई नराम्रो क्षति पु¥याएको र त्यसलाई नियन्त्रण र पूनः निर्माण गरी चचालु अवस्थामा ल्याउन वहाँको ठूलो योगदान रहेको धारणा आयोजनाका कर्मचारीहरूबाट समेत जानकारी पाइयो । हुन पनि वहाँका अभिव्यक्तिहरू ज्यादै भद्र, सौम्य र सकारात्मक भावमा व्यक्त भएका थिए । वहाँले आफ्नो मन्तब्यको क्रममा त्यस ठाउँको पौराणिक महत्वको कुराहरू पनि सुनाउन भ्याउनु भयो । सिंगटी लाई श्रृङ्गी ऋषिले तपस्या गरेको ठाउँ हो भन्ने भनाइ रहेको र त्यसमा स्थानीय वासिन्दाको विश्वास रहदै आएके धारणा राख्नुभयो भने अर्कोकुरा त्यहाँ गौरीशंकर हिमाललाई सिरानीमा राखेर बसेको शिवजीको मन्दिर छ । महादेवले सतीदेवीलाई विवाह गरेर आफ्नो घर कैलास पर्वत तर्फ जाँदा एउटा डाँडोमा पुगेपछि एउटा खरले छाएको झोपडीको कल्पना गरी निर्माण गर्नु भएको थियो र त्यस झोपडीमा पुगेपछि सतीदेवीलाई हाम्रो घर यहि हो भनि भ्रममा पार्नु भएको थियो । त्यहि खरको झोपडी भएको स्थान नै गौरीशंकर हिमाल हो भन्दै उक्र स्थान पौरााणिक महत्वको समेत भएको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा निर्माण कार्यमा सुरक्षा सम्बन्धी पाँचवटा कार्यपत्रहरू पेश भई त्यस उपर टिप्पणी र छलफलहरू भए । कार्यपत्रका विषय र प्रस्तोता विज्ञहरूमा,
!. Occupational
safety and Health in Hydropower विषयमा विद्युत प्राधिकरणका निर्देशक श्री मदन तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
@ Health Safety and
Environment Guidelines विषयमा डा. गणेश न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
#= Health Safety and Environment विषयमा अमृत श्रेष्ठेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो . ४. ई= पुष्करनाथ भट्टराइले खास गरी चरिकोटदेखि लामाबगर सम्मको ६८ किलोमिटर सडकको परिवेसमा Road Safety Construction and maintenance विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
५. वातावरणविद् मौसम खनालबाट प्रोजेक्टहरूमा Invernmental
Issues विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
विज्ञहरूबाट उत्कृष्ठ कार्यपत्रहरु प्रस्तुत भएका थिए तर पर्याप्त समयको अभावमा प्रस्तुत कार्यपत्ररु माथि व्यापक रुपमा छलफल र टिप्पणीहरू हुन सकेन, किनकि हामीहरूलाई तीनबजे भित्रमा कार्यक्रम सकेर आयोजनाको बाँध स्थलदेखि पावरहाउस सम्मको अवलोकन गर्नु पनि थियो । त्यसैले तीन बजे सम्ममा कार्यक्रम समापन गरी लञ्च खाएर प्रमुख प्रशासकीय अधिकृत श्री मित्रमणि पोखरेल ज्यूले हाम्रो टोलीलाई गाइड गर्दै आयोजनाको हेडवक्र्स (बाँधस्थल) लामाबगर (११ कि.मी.) तर्फ प्रस्थान गर्नुभयो । आयोजनाको कार्यालय एवं पावरहाउस क्षेत्रदेखि बाँध स्थल सम्म ११ किलोमिटरको दूरी रहेकोमा चट्टानी भीर भएको एउटा भाग २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका कारण पुरानै ठाउँबाट पुनः निर्माण गर्न ज्यादै असजिलो र दीगो नहुने ठह¥याई ३३० मिटर जती भाग हाललाई सुरुङ खनेर सुरूङ मार्गबाट चालु गरेको रहेछ । त्यो सुरूङ सायद नेपालको चालु सडकमध्येको पहिलो सुरूङ मार्ग नै हुनुपर्छ । हाम्रो टोलीका साथीहरुले बाँधस्थलमा पुगेर त्यहाँको अवलोकन गरीयो । बाँधस्थलबाट तिब्बतको सिमानासम्म जान ६ कि.मि. मात्र दूरी रहेको समेत जानकारी त्यहिंबाट लिइयो । भोटेकोशीको दुवैतर्फ चट्टानी पहाडले छेकेको साँघुरो स्थानमा बाँध निर्माण भएको रहेछ । वर्षा याममा आयोजनालाई क्षति पु¥याउन, सक्ने ठूलो बाढी पहिरो आएमा त्यसबाट सुरक्षा गर्न सुरूङको गेट तुरून्त बत्न्द गरी बाढीको पानी बाँधबाट ओभर फ्लो भएर जानसक्ने गरी डिजाइन गरेर बाँधको निर्माण गरेको रहेछ ।
टोलीमा आएका साथीहरूले पर्याप्त मात्रामा आँआफ्ना मोबाइलमा बाँधस्थल र त्यसको दायाँबायाँ क्षेत्रको तश्वीरहरू कैदगर्न थाल्नुभयो । प्राकृतिक मनोरमले भरिपूर्ण त्यस स्थानलाई आधुनिक विकासको प्रयासले चीर हरण गर्न खोजे जस्तो महसुस गर्दै आँखा नअघाए पनि, मनले छाड्न नमाने पनि केही तश्वीरहरु मोवाइलमा कैद गर्दै हामी त्यहाँबाट फिर्ता भर्यौं र पावरहासतर्फ हाम्रो गाडी अगाडि बढ्यो । विगु गाउँपालिकाको बैङ्गौर भन्ने स्थानमा डाँडाको फेदबाट छेडिएको सुरूङको गेटकाट हामी चढेको गाडी सुरूङको गेटभित्र प्रवेश ग¥यो । सुरूङ प्रवेश गरेपछि करिब एक किलोमिटर लम्बाइ र एकसये मिटर डाउन गएपछि मात्र पावर हाउसको माथिल्लो तलामा पुगियो । भूमिगत विद्युतगृह चट्टानी पहाडको गर्भभित्र पाँच तलामा निर्माण भएको रहेछ । प्रत्येक तलाहरु पर्याप्त ठाउँ (क्उबअभ) भएका र ठूला क्रेन लगायतका हेभी इक्वीपमेण्टले काम गर्न सक्ने गरी फराकिला र अग्ला थिए । पाँचवटै तलामा घुमेर हेर्ने अवसर मिल्यो । विद्युतगृहभित्र
अन्तिम चरणको पेनस्टक पाइप जडानको काम भैरहेको तथा अन्य हायड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरु जडान गरिसकेको देखियो । करिब एक घण्टा भूमिगत विद्युतगृहको अवलोकन पछि हामी बाहिरयौं । यो सबै अवलोकनको व्यवस्था प्रमुख प्रशासकीय अधिकृत श्री मित्रमणि पोखरेलज्यू ले मिलाउनु भएको थियो । वहाँलाई हृदयदेखि विशेष धन्यवाद नदिइ रहन सकिदैन । सुङबाट बाहिरिएपछि साथीहरूले यसलाई आठौं आश्चर्यको संज्ञा दिनुभयो । हुनपनि चट्टानी पहाडभित्र त्यत्रो संरचना निर्माण हुनु आफैमा एउटा कल्पना बाहीरको कुरा भनेपनि हुन्छ । अन्तिम चरणको पेनस्टक पाइप जडान भैसकेपछि आयोजनाको अधिकांश काम पूरा हुने र कुनै अकल्पनीय महाँविपत्ती आइ नपरेमा अबको एक वर्षमा परीक्षण उत्पादन शुरूहुने जानकारी त दिउसको गोष्ठीमा नै आयोजनाका बरिष्ठ प्राविधिज्ञहरूबाट भैसकेको थियो । आयोजनाको सम्पूर्ण कामलाई चावटा लटमा बिभाजन गरेर प्रक्रिया अनुसार ठेकेदारहरुको चयन भएको रहेछ । कामको लट र ठेकेदारहरुमा;
Lot
1. Civil Construction – Chinese Company.
Lot
2. Penstock Pipe (Hydromechanical
Part)-India and Austrian Company.
Lot
3. Electro Mecanical Parts-Austrian
Company.
Lot 4. Transmission line- KEC International.
साँझ सात बजेतिर कविहरूले कविता वाचन गर्ने कार्यक्रम अघिल्लै दिन तय भएको थियो । हाम्रो भ्रमण टोलिमा रहनु भएका कवि मनहरु आफ्ना कविता पाठ गर्न साँझको समय पर्खेर बस्नु भएको थियो । प्रकतिको मनोरम स्थानमा पुग्दा कविहरू त रचनामै व्यस्त हुनुहुन्थ्यो । कवि चन्द्रप्रसाद न्यौपाने जसले चन्द्रलोक नामक महाचकाव्य प्रकाशन गरिसक्नु भएको छ । कवि धर्म पोखरेल जो कवितामै बोल्ने गर्नुहुन्छ जस्ता कविहरुको रचना सुन्न र सुनाउन आगन्तुक साथीहरु सहित आयोजनाका कर्मचारीहरु मिटिङ हलमा भेला हुनुभयो । कर्णप्रिय रचनाहरु वाचन भए । कवि हृदयहरुले आफ्ना मौलिक रचनाहरु सुनाउनु भयो । कतिपयले यूट्यूबमा वाचन भएका कविता त कसैले फेसबुकमा राखेका कविताहरु पाठ गर्नुभयो । बेलुकी फुर्सदको समयको उपयोग गर्दै कविता वाचनको कार्यक्रम सकियो । बेलुकीको खाना खाएर भोटेकोशीको सुशेली संगै हामीहरु पनि निद्रादेवीको काखमा हरायौं ।
हाम्रो देशमा प्राकृतिक श्रोत र सम्पदाहरू अनगिन्ती छन् । त्यसमा पनि हिमाली क्षेत्रको प्राकृतिक सम्पदा र त्यसभित्र लुकेका अनगिन्ती श्रोतहरु (जस्तो बुमुल्य जडिबुटी, जलश्रोत, दुर्लभ बन्यजन्तु, पशुपालन, पर्यटन, भाषा, संस्कृति, प्रचीन गुम्बा, मठ मन्दिर आदि) छन् जसलाई सम्पदाको भण्डार भन्दा हुन्छ । यति (हीम मानव) हीम चितुवा, हाब्रे, कस्तुरी, मृग, डाँफे, मुनाल, कालिज, मयुर, नहुर जस्ता उच्च हिमाली क्षेत्रमा पाइने प्राणीहरू, यार्सागुम्ब, पाँचऔंले, पाखनबेद, निर्मसी, जटामसी, गुच्ची च्याउ, लोठ सल्ला जस्ता उच्च मुल्यका अनगिन्ती जडिबुटीहरू, हिमालय श्रृंखला र त्यहाँबाट निस्केका हिमनदीहरू, त्यहाँ देखिने मनोरम दृश्यहरु, प्राचीन गुम्बा तथा मठ मन्दिरहरू, त्यहाँका मानिसहरूका विविध धर्म संस्कृति एवं चाडपर्वहरु हाम्रा बहुमुल्य सम्पदा हुन् यिनै बहुमुल्य सम्पदाको आंचल भित्रबाट निस्कीएको भोटेकोशी, प्रमुख हिमनदी मध्येको एक हो र यसलाई अपर तामाकोशी नाम दिइएको छ । अहिले नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको ध्यानाकर्षणको केन्द्र बन्न पुगेको छ । प्रकृतिको आंचलभित्र देशभरी लुकेर बसेका यस्ता बहुमुल्य श्रोतहरूलाई संघीयताको पखेटाले ढाकिएका विभिन्न तहका सरकारले पहिचान गरी तिनीहरुको उपयोग देश हितमा लगाउन सकेमा देशले काँचुली फेर्न सदियौं कुर्न पर्ने थिएन होला । हेर्न बाकी छ देशमा संघीय लोकतन्त्रात्मक व्यवस्थामा भाग्य देख्नेहरूले आफ्नो भाग्य मात्र सुधार्छन् कि समग्र मुलुकको ?
जेठ २६ गते विहानै ६
बजे त्यहाँबाट फर्कने कार्यक्रम अघिल्लै दिन तय भएको थियो फर्कने साथीहरु रातीदेखिनै उठेर नुवाइ, धुवाइ, योगासन, ध्यान, प्राणायाम लगायतका आफ्ना नित्य कर्म सिध्याएर ५.३० बजे नै तयार भएर निस्किसक्नु भएको थियो तर सवारी चालकको तयारी र चियापान लगायतको अलमलले ६.३० बजे मात्र हामी त्यहाँबाट प्रस्थान गर्न सफल भयौं । प्रमुख प्रशासकीय अधिकृत मित्रमणि पोखरेल जसले आफ्नो नियमित दिनचर्यालाई स्थगित गरेरै पनि सबेरै उठेर हम्रो प्रवन्ध मिलाउनु भयो वहाँलाई बाइबाइ गर्दै हामी गएकै बाटो भएर फर्कियौं ।
दोलखा जिल्लाको खेतवारी तथा डाँडापाखाको हरियाली, तामाकोशीको सुसाई, रामेछापको उराठलाग्दो खुरीखण्ड भीर, पाखाहरु र पानी कहिले आउला भनेर दाह्रा ङिच्च पार्दै आकाशतिर फर्किएर बसेका खेत, पाखाहरुको बिजोग हेर्दै, उकुसमुकुस गर्मीलाई प्रतिवद गर्दै मुलकोटमा नै आएर बिहानका खाना मिठोसित खाईयो । हामीहरू दुईवटा गाडीमा आएको हुदा काभ्रे भञ्ज्याङ आएर सितल हावामा १।१ चिरा काँक्रो खाएर यात्राको अन्त गर्दै साथीहरू बिचबट बिदा भयौं ।
दुर्भाग्यको कुरा भन्नु पर्छ साँगा भञ्ज्याङबाट काठमाडौं तर्फ लागेपछि ट्राफिक जाममा परियो । संयोगले त्यसदिन मच्छेन्द्रनाथको
भोटो देखाउने जात्रा परेको रहेछ । भोटो नजर गर्न पाल्नु भएकी महामहिम राष्ट्रपतिको सवारीको कारणले उपत्यकाको तीन जिल्लाकै ट्राफिक व्यवस्था अस्तव्यस्त भएको रहेछ । साँगा भञ्ज्याङबाट सामाखुशी आइपुग्न हामीलाई तीन घण्टा लाग्यो । धन्य उपत्यकाको ट्राफिक व्यवस्थापन र भीभीआइपी सवारीमा सुरक्षा व्यवस्था ।
मिति २०७६।२।२८



No comments:
Post a Comment