Saturday, July 13, 2019

कथा रित्ता घरहरु

कथा
रित्ता घरहरु


पाखापानी गाउँ अहिले सुनसान छ । आफ्नो इतिहासलाई संझिएर यो गाऊ अहिले कसैको पर्खाइमा छ अथवा कसैको खोजीमा पश्चिमपट्टी फर्किएर लमतन्न झोक्राइरहेको छ । पूर्व २ नंम्बर सिँन्धुली गढी मातहत जिम्मल गोकुलकाजि बस्नेतको गाउँ हो पाखापनी । राणा कालका गोकुलकाजि बस्नेतको त्यस क्षेत्रमा ठूलै हाँकोडाँको र मान सम्मान थियो । नहोस् पनि किन र बिस हज्जार मुरी माटोको तालुकदार थिए उनी । उनले माल अड्डाबाट त्यसको जिम्मावाली खान्की खान्थे । बिसहजार मुरी माटोको वाली, सेर्मा उठाएर गढी गोश्वारामा तोकिएको समयभित्र दाखिला गर्ने जिम्मा सरकारबाट उनले पाएका थिए । उनी आफ्नो दायित्वबाट कहिल्यै विमुख भएनन् । उनी निडर र हक्की स्वभावका हुनुका साथै अहंकारी पनि थिए । उनका पूर्खाहरु तात्कालिन नेपाली सेनामा भर्ती भएर देश र माटोको रक्षाको लागि विभिन्न लडाई लडेका एक बहादुर सिपाहीका छोरा थिए । उनका बाजे पनि काजि भिमसेन थापाको पालामा नेपाली सेनाका एक बहादुर सिपाही थिए । नेपाल र ईष्टइण्डिया कम्पनी बिचमा सिँन्धुली गढीमा भएको युद्धमा बहादुरीसाथ लडाई लडेर अँग्रेजहरुलाई धुलो चटाएर पठाएका थिए । उनका बाबुले जंगबहादुरको पालामा भारतमा भएको सैनिक विद्रोह दवाउन राणा प्रधानमन्त्री जंगबहादुरको नेतृत्वमा भारत पनि गएका थिए । त्यसै समयमा जंगबहादुरले गोरखपुरमा बिद्रोहीहरmलाई दबाएर गोरखपुरका नवाबहरुको धन सम्पत्ति लुटपाट गर्दा हात पारेको पन्नाको माला चाडपर्व र सभा समोहहरmमा काजिले पनि लगाउने गर्दथे । 
आफ्ना बिसहजार मुरी माटोका रैतीहरmले बाली, सेर्मा बुझाउन ल्याउँदा तथा मोही हाल साविकी बहाली गर्दा गराउँदा हर्पेका हर्पे धिउ लिएर आउने र काजिले कतिपय तिनै हर्पेका घिउ गढी गोश्वारा र माल अड्डका हाकिमहरmलाई नजराना पु¥याउने गरेको कथा त बुढापाकाहरु पछिसम्म पनि भन्दै थिए । गाउँमा काजिको बचन नै कानुन सरह थियो । हाल साविक र मोही बहालि गर्दा काजिले लिने दस्तुर, रकम, कलम, बेठी, झारा, खेताला जस्ता अप्रत्यक्ष दस्तुको त कतै कुनै नियम कानून र अख्तीयारीमा तोकएको हुदैनथ्यो । पाखो र खेतको बाली, सेर्माको दर भने जग्गाको किसिम अनुसार तोकिएको हुन्थ्यो । कतिपय रैतीहरु तोकिएको बाली, सेर्मा समेत बुझाउन नसकेर आफ्नो जग्गा बाली कुतमा (तिरो तिरेकै  प्रमाणका आधारमा जग्गाको हक कायम हुने व्यवस्था) आफ्नो हकको जग्गा जमिन छाडेका हुन्थे । हदमुनिको (रु. ९९। वा सो भन्दा तलको थैली राखि) तमसुक गरी जग्गाको लेनदेनको व्यवहार गर्न अड्डामा जानु पर्दैनथ्यो काजि (जिमवाल) ले नै प्रमाणित गरीदिएको आधारमा माल अड्डाको सरह मान्यता हुन्थ्यो ।
घरवारीमा फलपूmलको बगैंचा, तल र्बेसी कमला खोलाको किनारामा नजरले भ्याएसम्म आफ्नै खेत, गोठमा टन्न लैना, बकेर्ना गाई भैंसी, एक गोठ भेडाबाख्रा, खसिबोका, भकारोमा दुईहल गोरु, तवेलामा चिल्लो घोडा, घरको दलानमा वरिपरी १८।२० घार मौरी, दुईवटी श्रीमती, तीन छोरा, चार छोरी, घरमा कामगर्ने पाँच सात जना नोकर चाकर, हलि गोठालाहरm काजिको चकचकी थियो । के थिएन उनीसंग । चरीको दूध उब्जाएका थिए उनले त्यस बखत पाखापनि गाउँमा । त्यसताका गढी, गौडा, गोश्वारामा राणाहरुकै सन्तान हाकिम रहन्थे । गढी गोश्वाराका हाकिमहरु बेला वखतमा उनको घरमा पाहुना बनेर आइरहन्थे । केही काम पर्दा हाकिमहरु सदैव उनकै पक्षमा वकालत गर्दथे । गाउँघरमा उनको बोली ढुङ्गाको अक्षर सरह थियो । कसैले काट्न सक्दैनथ्यो । उनले बोल्यो कि त्यो कुरा तामेल भैहाल्थ्यो । उनको विरुद्धमा टाउको उठाएर हेर्ने कसैको हिम्मत थिएन त्यस गाउँमा । त्यसो त उनी गाउँले र गरिब उपर दयालु पनि थिए । चाडपर्व, खरखाँचोमा सबैको व्यवहार चलाइदिन्थे । तर सिर्फ गाउँमा पहिले उनको काम नगरिकन आफ्नो कामभने कसैले गर्न पाउँदैनथे ।
उनका घरमा ५।७ वटा लैना बकेर्ना गाई भैंसी टुट्दैनथे । ४।५ जना जवान छोरा मान्छे र २।३ जना छोरीमान्छे त उनको घरमा रोजाना काम गर्ने हुन्थे । दुईहल गोरु र तिनका लागि चाहिने मानवीय जनशक्ति सधै उनको  खेतीपातीमा नै व्यस्त रहन्थे । कमला खोलाको पानी कुलो लाग्ने अब्बल समथर खेत उनकै थियो । पहाडको ठाउँमा घटिमा पनि आठ नौ सये मुरी धान भित्र्याउनु भनेको चानचुने कुरा थिएन । काजिसंग तुलना गर्ने लायक मान्छे त्यस समयमा सिन्धुली गढी मातहत नै कोही थिएन भन्दा पनि हुन्छ ।
देशमा भित्रभित्रै राण विरोधी लहर चलिसकेको थियो । यो लहरले काजिको परिवारलाई पनि गाँजिसकेको थियो । काजिकी जेठी श्रमती तर्फ दुइछोरा र दुई छोरी थिए । छोराहरु जवान भैसकेका थिए । दुईवटै्र छोराहरु बाबुले थाहा नपाउने गरी भित्रभित्र राणा बिरोधी खोमामा लागि सकेका थिए । काजि भने पुरानै सोचाइका थिए, राणाहरुको शासन गएपछि आफ्नु पनि धाक रवाफमा आँच अउने डरले राणा विरोधी गतिविधि, क्रियाकलापहरmमा लाग्न सकेका थिएनन् । छोराहरुको गतिविधि विस्तारै बाबुले पनि बुभ्mदै आए । बाबु छोाराको कुरा नमिल्ने भएपछि छोराहरु घर छाडेर तराई मधेस लालवन्दी तिर झरे । कान्छी श्रीमती तर्फको छोरा सानै थियो, त्यस्तै ७।८ वर्षको । बाबुको सहारा त्यहि छोरो मात्र रहन गयो । देशमा राण विरोधी आन्दोलन चर्कदै गयो । एकदिन बेलुकी काठमाडौंबाट गएको एकजना गाउँको मानिसले काजिलाई खवर पु¥यायो । राजा त्रिभूवन त राणा विरोधी पक्ष (बिद्रोहीहरु) लाई सघाउन दरवार छाडेर भारतीय दूतावासमा शरण लिन गएका थिए अरे । पछि त्यतैबाट दिल्ली भागे अरे भन्ने खवर सुनायो । यो खवरले काजिको मनले पनि हरेस खायो । राजाले नै देश छोडेर गएपछि अब जनताले के पो गर्छन् त ? राणाहरुको दिन सकिंदै गएजस्तो छ । देशमा शासन व्यवस्था परिवर्तन भएपछि आफ्नो जिम्मावली खान्की पनि के हुने हो ? गढी, गौडाका चिनेका हाकिम पनि नरहने होलान् । हुर्किएका छाोराहरु घर छाडेर आन्दोलनमा होमिए । आपूmसंग भएको छोरो पनि सानै छ भन्ने सोच्दै यस्तै प्रकारका चिन्ता र अन्योलताले काजिको मनमा बास जमाइ रह्यो । देशमा अन्दोलनको गतिविधि के भैरहेको छ भन्ने दैनिक खवर थाहा पाउनको लागि त्यतिवेला रेडियोको समाचारको प्रचलन पनि आइसकेको थिएन ।
देशमा राणा बिरोधी अन्दोलन चरमोत्कर्षमा पुगिसकेको थियो । अचानक एकदिन गाउँकै बाटो गरी मधेश तिरबाट हतियार बोकेका डेढ दुइसये जना मुक्ति सेनाका हतियारधारी मानिसहरु आएर गढीमा हमाला गरे । गढी, गौंडाका कतिपय हाकिम, बडाहाकिमहरु राणाहरुकै सन्तान थिए । उनीहरmले भागेर ज्यान बचाए भने अन्य कतिपय कर्मचारीले मुक्तसेना समक्ष आत्मसमर्पण गरे । गढी मुक्ति सेनाले कब्जा ग¥यो । संयोगले त्यस दिन काजि आफ्नो तारे घोडामा चडेर सदरमुकाम गएका थिए । उम्किन सकेनन् । मुक्ति सेनाको घेरामा परिहाले । दुइरात मुक्तिसेनाको बन्दी गृहमा बिताए । मुक्ति सेनाका सिपाहीहरुले घेराउमा परेका सबैलाई एकएक गर्दै कमाण्डरकहाँ पठाउँथे र कमाण्डरले पनि सोधपुछ गरेर छाड्नु पर्नेलाई छाड्थे र शंकास्पद कसै कसैलाई अरु छानविनका लागि भनि नजरवन्दमा राख्न पठाउँथे । काजि पनि कहिले सेधपुछका लागि बोलाउलान् भनेर पालो कुरेर बसेका थिए । गढी गएको तेस्रो दिन घाम डुब्न केही समय बाँकी थियो, मुक्ति सेनाको एउटा सिपाहीले काजिको नाम बोलायो र उनलाई पनि जाँचबुझको लागि कमाण्डर कहाँ भित्र पठायो । काजि आपूm आन्दोलनको पक्षधर र राणा विरोधि पनि नभएकोले के भन्ने कसो भन्ने ढाँटौभने  पछि पत्ता लगाएर पाता पो फर्काउने हुन् कि ? उनका बिरुद्धमा कतिका उजुरी पो परेका छन् कि ? कसैले मौखिक कुरा पो लगाइदिएको छ कि ? सत्य बोल्दा ठीक हुने हो कि ? झुटा कुरा गरेर उम्कने उपाय गर्दा सभ्य पर्ने हो ? भन्ने दोधारी मन लिएर डरा डराई भित्र पसेर हेर्छन् त कमाण्डर त आफ्नै जेठो छोरो उत्पलध्वज पो रहेछ । बाबु छोराको मिलन भयो । छोराले बाबुसित घरमा आमाहरुको सन्चो आरामको बारेमा मात्र एक बचन सोध्यो अन्य कुरा केही गरेन । बरु अब पछि चाल्नुपर्ने कदम बारे बाबुलाई सल्लाह र सुझाव दियो र पठाइदियो । काजिको खुशीले भूइंमा खुट्टा रहेन । छाति फुलेर विशाल भएको महसुस भयो । यो खवर कति चाँडै घर पुगेर घरपरिवार र गाउँले छरछिमेक आफन्तलाई सुनाउने भनेर आतुर हुद,ै डुब्न लागेको घामले इङ्कित गरेको समयलाई पर्वाह नगरिकनै  घोडालाई एडी लगाएर  गढीबाट आफ्नो घर पाखापनी तिर घोडा दगुराए ।
भोलिपल्ट बिहानको कुरा हो काजि पीँडीको फलैंचामाथि बसेर गुडुरे हुक्कामा भरेको लामपाते सुर्तीको मलुवा तमाखु, निंगालाको नलीले तानेर धुँवाको मुस्लो माथितिर उडाउदै प्रसन्न मुद्रमा गाउँलेहरmलाई गढीमा भएको घटनाको बारेमा यथार्थ कुरा सुनाउदै थिए । कजिनीहरु त्यहिं नजिकै बसेर काजिको मुखतर्फ हेरेर मुस्कुराइरहेका थिए । काजि आपूm दुइदिन अगाडि गढीतर्फ गएको र गढीलाई मुक्ति सेनाले घेरा हालेर कब्जा गरेको र आपूmपनि घेरामा परेको र पछि घेरामा परेकाहरुलाई छानविन र सोधपुछ गर्दै छोड्ने क्रममा दुइदिन नजरबन्दमै परेपछि सोधपुछ गर्ने पलोमा कमाण्डरकहाँ पुग्दा त आफ्नै जेठो छोरो पो कमाण्डर भएर बसेको र आपूmले छोरासित भलाकुसारी गरेर आएको कुरा फर्माइ फर्माइ कन आफ्ना परिवार छरछिमेक र गाउँलेहरmलाई बताइरहेका थिए । यो घटनाले उनको आँट र सहासमा पुनर्ताजगी भरेको थियो । राणा विरोधी अन्दोलनको विपक्षमा उभिएका काजि यो घटनाले १८० डिग्रीको कोणले परिवर्तन हुदै राणा विरोधी पक्षको जोडदार वकालत गर्न थाले । अवसर पाएपछि राजनीतिले आफ्नो पूर्व इतिहासलाई कसरी सर्लक्कै विर्सिन सक्दो रहेछ भन्ने उदाहरण बन्न पुगे गोकुलकाजि बस्नेत ।
मुलुकमा राणा शासनको अन्त भई प्रजातन्त्र आएपछि देशमा कति क्षेत्रफल जंगल छ,, कति नदीनाला भीरपहराले ढाकेको छ, कति बुट्यान र झाडि छ, कति क्षेत्रफल हिमाल छ, कति क्षेत्रफल खेतीयोग्य जमीन छ र त्यसमा पनि कतिमा खेती गरिएको छ, कति सिंचाइ नहुने पाखो जग्गा छ र कति धनहर खेत छ भन्ने तथ्यांक पत्ता लगाउन देशमा नयाँ नापी नक्शाङ्कन गर्ने काम शुरु भयो । नयाँ नापी हुदैजाँदा नापी पूरा भएका जिल्लाहरुमा जिम्मावाल मुखिया खारेज भए र उनीहरुले गर्दै आएका कामहरु सोझै मालपोत कार्यालयहरुले गर्न थाले । एकदिन सिन्धुलीमा पनि नयाँ नापी गर्ने काम सकियो र साविकको माल अड्डामा मालपोत कार्यालयको स्थापना भयो ।  गोकुल काजिको पुख्र्यौली जिम्यौली पनि खतम भयो । गाउँमा उनको धाक रवाफ र हाँको डाँकोको रेखा बक्र हुँदै तलतिर झ¥यो । गाउँ समाजमा उनको इज्जत र मान प्रतिष्ठामा धेरै कमी हुदै गयो ।
काजिका छोराहरु बाबुले जो दिएको एकसरो अंश सुक्री बिक्री गरेर तराइ मधेश झरीसकेका छन् । उमेरका हिसाबले काजिको दिन ढल्कदै गैसकेको भएतापनि, पाखापानीको त्यो घर र घरवारी बगैंचा जसलाई काजिले आफ्नो जल्दोबल्दो चकचकीको बेलामा भक्तपुरबाट डकर्मी, सिकर्मीहरु झिकाएर बनाएका थिए, त्यसको मायाँ प्रेममा आशक्त भएर छोड्न सकेका थिएनन् ।  छोरा छोरी सबै तराइ मधेश तिरै बस्ने भए । एकदुई बर्षमा एकपटक बाबुआमालाई बोलाउनसम्म आउने गर्छन् एकदुई रात बसेर फर्किहाल्छन् । उनीहरुकै घर व्यवहारले छोपेको छ धेरै समय किन बस्न पाउँथे र । पल्लो गाउँमा दिएकी एउटी जेठी छोरी भने बरोबर बाबुआमालाई बोलाउन आइरहन्छे । काजिको बुढेसकालको सहारा अहिले त्यहि जेठी छोरी भएकी छ । अबत कान्छी बुढी पनि तराइ मधेशमै कान्छो छोरासंग बस्न गई । पाखापानीको त्यो दरवारजत्रो घरमा दुई बुढाबुढी र एकजना कामदार मात्र बस्छन् ।
काजिका ईन्द्रीयहरु क्रमश कमजोर हुदै गएका छन् । कान राम्रोसंग सुन्न छाडेको त पाँच छ बर्ष भैसक्यो, हिजोआज आँखा पनि ठम्याउन छोडेका छन् । गाउँका जोसुकै मानिस आएपनि आँखै ठहरेन बाबु÷नानी चिन्न मुश्किल भयो भन्छन् । बोल्दै गएपछि स्वरले चिनें अबत भन्छन् । सात दिनको पेटको व्यथाले दशैको लगत्तै काजिकी जेठी बुढीको पनि निधन भयो । आखिर काजिबुढा घरमा एक्लै हुन पुगे । छोराछोरी जम्मा भएर काजक्रिया सिध्याए । काजिलाई पनि कान्छी बुढी, छोराछोरी सबैले कर गरे पखेटा बसिसकेका काजि के गर्न सक्थे र ? उनको एक्लो जिद्दीले काम गरेन, आखिर ८७ वर्षको उमेरमा विक्रमको २०४५ सालतिर पाखापानीको त्यो दरवार जस्तो घर, बगैंचा , घरवारी सबै छाडेर बुढा काजि गोकुलध्वज बस्नेत कान्छो छोरा र कान्छी बुढीका साथमा तराई मधेश झरे । पहाडको चिसो पानि पिएर ८७ बसन्त पार गरेका बस्नेत काजिलाई मधेसमा झरेपछि एकातिर उखर्माउलो गर्मी लामखुट्टेको टोकाइ अर्कोतिर पुख्र्यौली थातथलो र घर छोड्नु पर्नाको चिन्ताले गल्दै गएका छन् ।
यो २८÷३० वर्षको अन्तरालमा काजिको देहान्त भएको पनि धेरै वर्ष भैसक्यो । काजिले छाडेपछि  वर्षको १÷२ घर गर्दै गाउँका टाठाबाठाहरु जती एक एक गरेर गाउँ छाडिसकेका छन् ।  ६० घरधुरी भएको पाखापानी गाउँमा अब मुश्किलले ७÷८ घर जती बाँकी होलान् । उनीहरु पनि सायद गाउँ छाडिसक्थे होलान् तर उनीहरुको गाउँ छाडेर अन्यत्र जाने आँट र हैसियद् नभएर पनि हुनसक्छ । तराइ मधेसतिर पनि अब त जग्गा जमीन निकै महंगो भैसकेको छ । त्यहाँ गएर अर्काको जग्गा कमाउन भन्दा त दुःख जिलो गरेर आफ्नै आयस्ताले खान पुग्छ, त्यसैले पनि उनीहरु अझै पाखापानी गाउँ छाड्न सकेका छैनन् । पाखोवारी गाउँमै भएतापनि खेत भने एक घण्टाको बाटो तल कमला खोलाको किनारामा छ ।
एक दिन त गाउँमा बाँकी भएका सबैजना भेला भएर सल्लाहा गरे । खेत जती तल बेंसीमा छ, बेंसीमा मोटरबाटो पनि आएको छ, पहिले जस्तो औलोको डर पनि अहिले छैन । कमला खोलाको कुलो लाग्ने हुदा खेतमा पनि परिश्रम गर्न सके तीन खेती लगाउन सकिन्छ तर अलि बाँदरको आक्रमणबाट भने जोगाउन सक्नुपर्छ । गाउँमा बसेर दिनको दुई घण्टाको समय त जान आउन मै सकिन्छ । त्यहिमाथि बुढाबुढी र केटाकेटी आवत जावत गर्न पनि सक्दैनन् । गाउँमा हुर्किएका बलिया केटाहरु कोही बाँकी छैनन् । कोही खाडि मुलुकतिर रोजगारीमा गए, कोही तराई मधेश र शहरी क्षेत्रमा कमाउन गए । त्यसैले बरु यो हिउँदमा सबैले यो गाउँ छोडेर बेंसिमा नै झरेर घर बनाएर बसौ भन्ने सल्लाह गरे । यो कुरामा सबैको एक मत बन्यो सबै सहमती भए । दशैं मानेको भोलिपल्ट देखिनै सबैले घर तल सार्ने काम गर्ने र आउने बाली बेंसिमा नै राख्ने निधो गरे ।
अहिले पाखापानि गाउँमा रहेको प्राथमिक विद्यालय पनि बेंसिमा नै सारिएको छ । टिनले छाएको टहरामा त्यस्तै १५÷२० जना विद्यर्थी छन् भने पढाउने शिक्षकहरु तीनजना छन् । उपस्वास्थ्य चौकी भवन पनि छ तर गाउँ खालि भएकोले विरामी कोहीपनि आउँदैनन्, सायद त्यहि भएर होला स्वास्थ्यकर्मी पनि कोही छैनन् अन्यत्रै दरवन्दिमा गए होलान् । अहिलेभन्दा करिब ५० वर्ष अगाडिको जल्दोबल्दो रमणीय पाखापानी गाउँ अहिले उजाड भएको छ, रित्ता घरहरुको द्यौराली भएको छ, स्यालहरु बासबस्ने र साँझ परेपछि तिनको कराउने वडार भएको छ । जग्गा जमीन सबै बाँझो मात्र होइन झाडी र जंगलमा परिणत भएको छ । नेपालमा स्वदेशमा नै बस्ने वास्तविक जनसंख्या बढेको छ कि ? घटेको छ त्यो त वास्तविक तथ्यांकशास्त्रीले जान्ने र भन्ने कुरा हो तर हामीले जानेको देखेको त नेपालका कैयौं गाउँहरु पाखापानी जस्तै खण्डहरको गाउँ भएको छ । सायद अब आउने पछिल्ला पुस्ताका सन्ततीहरु यही खण्डहरको पुरातात्विक अन्वेषण गर्न यी रित्ता घरहरुको भग्नावशेष खोज्दै आउनेछन् ।
अस्तु


No comments:

Post a Comment