अप्ठेरो यात्रा दुधपोखरी
दुधपोखरी मात्र भन्दा धरेै मानिसहरू अलमलमा पर्नुहुन्छ । किनकि पूर्वको सोलुखुम्बुमा अवस्थित दुधकुण्ड र लमजुङ्गको दुधपोखरी उस्तै उस्तै उचाइमा रहेका हिमतालहरू हुन् । पूर्वको दुधकुण्ड जान सोलुखुम्बु जिल्लाको फाप्लुबाट टाक्सिन्धु हुदै उत्तर हिमालय तर्फ ४५९३ मिटर उचाइमा चढ्नुपर्छ भने दुधपोखरी जान दुईवटा यात्रा मार्गहरू छन् । पहिलो लमजुङ्गको बिचौर गाऊँ हुदै माथि चढ्ने र अर्को गोरखाको सिरानडाँडा हुदै ४५६० मिटर उचाइमा पुग्ने उकालो बाटो पारगर्नु पर्दछ । वास्तवमा दुधपोखरी लमजुङ्गमा भनिए तापनि गोरखा र लमजुङ्ग जिल्लाको सिमाना चेपे नदीको उद्गम स्थल भएकोले यो पोखरी गोरखा र लमजुङ्ग जिल्लाको सिमानामा नै पर्दछ ।
दुधपोखरीको महत्व:– तात्कालिन लमजुङ्गका राजा यशोब्रम्ह शाहका दुइभाई छोराहरू जेठा नरहरि शाह र कान्छा द्रब्य शाह थिए । जेठा नरहरि शाह गद्दीका हकदार भएकाले स्वत: लमजुङ्गका राजा भए । कान्छा द्रब्य शाहले आफ्ना बाहुबलले गोरखाको लिगलिगकोटको राजदद्दी हात पारेर त्यहाँबाट पुरै गोरखा राज्य बिजय गरेर गोरखाको राजा भएका थिए । उता दाजु नरहरि शाह भने तात्कालिन गोरखा राज्यलाई लमजुङ्गमा मिलाउन चाहन्थे । यसै कारण दुई दाजुभाईका बिचमा सधै झगडा भैरहन्थ्यो । उनीहरूकी आमा मुमा महारानी वसन्तावतीलाई छोराहरूको झगडा मन परेको थिएन, त्यसैले उनीहरू दुवैलाई राजा भएको देख्न चाहन्थिन् । त्यसेले जनै पूर्णिमाको दिन दुवैभाई छोराहरूलाई दुवै राज्यको सिमाना चेपे नदीको सिर दुध पोखरीमा भेला गराइन् । दुवै भाई छोराहरूलाई दुई तर्फ राखेर आफ्नो दुध त्यस पोखरीबाट चेपे नदीमा बगाइन् र भनिन् अब उप्रान्त कुनै पनि भाईले मेरो दुधको धारालाई नाघेर जान पाउने छैन भनेर बाचा गराइन् । त्यसपछि नरहरि शाहले गोरखा तर्फ र द्रब्य शाहले लमजुङ्ग तर्फ चेपे नदी पार गरेर गएनन् र दुई भाइका बिचको झगडा अन्त्य भएको थियो भन्ने ऐतिहासिक तथ्य यस पोखरीको हमत्वसंग जोडिन गएको पाइन्छ ।
म सानै हुँदा हाम्रो घर गोरखाको हर्मीबाट बा, आमा तथा गाउँका धेरै मानिसहरू श्रावण महिनामा दुधपोखरी नुहाएर आएको संझना आउँछ । झरी परिरहने, जुका लाग्ने, बस्ने खाने ठाउँको अभाव, असजिलो बाटो, ज्यादै कठीन यात्रा भनेर त्यहाँ पुगेर आउनेहरूले भन्ने गरेको सुनिदै आएको पनि हो । धेरै उचाइमा भएकोले भदौ लागेपछि रंंगी विरंगीका पूmलहरू फुल्ने, त्यसको गन्धले टाउको दुख्ने र लेक लाग्ने गर्छ भन्ने सुनिएको थियो । त्यसकारण श्रावणमा जनैपूर्णिमा परेको वर्ष दुधपोखरी जान उपयुक्त हुन्छ भन्थे बुढा पाकाहरूले ।
म हाइ अल्टिच्यूडमा भएका तिर्थ स्थलको भ्रमण गर्न रूचाउने मान्छे हुँ तर मलाई आफ्नै जिल्लाको धार्मिक स्थल भए तापनि जाने अनुकुल मिलेको थिएन । पोहोर २०७८ सालमा भाद्र ६ गते जनै पूर्णिमा परेको थियो, तर पनि जाने भनेर हामी काठमाडौंबाट ६ जना साथिहरू मिलेर सिरानडाँडा सम्मको लागि गाडीको बन्दोवस्त पनि गरिसकेका थियौं तर दुर्भाग्यवस कोरोना महामारी बढ्दै गएको भनि भाद्र १ गते देखि नै स्थानीय प्रशासनले गोरखा जिल्ला वन्द गरेकोले हाम्रो यात्राको सपना अधूरो नै रहन गएको थियो । यस वर्ष पनि गत वर्ष जाने भनेका कतिपय साथिहरू आफ्ना व्यक्तिगत कारणले जान सक्नु भएन । हामी २।४ जना साथिभाई सल्लाह गरेर कस्सियौं र जाने जतिले श्रावण २४ गते नै गौंगबु बसपार्कमा टिकट लिन पुग्नुपर्ने सल्लाह भयो । सल्लाह अनुसार बसपार्कमा जम्मा हुनेमा हिमनाथ दवाडी लमजुङ्ग विचौर, ईश्वरी भट्ट र म ईश्वरी घिमिरे गोरखा हर्मी तीन जना मात्र भयौं । त्यसमा वहाँहरू परिवार सहित जाने र म एक्लैे जाने गरी श्रावण २५ गतेको लागि पाँचवटा सिटको टिकट किनियो । मुक्तिनाथ भट्टका दुईजना दुई दिन अगाडि नै गोरखा हर्मी गैसक्नु भएको थियो । वहाँहरूसंग भच्चेक अथवा सिरानडाँडा तिरै भेट गर्ने सल्लाह भएको थियो । श्रावण २५ गते विहान ६ बजे नै साथिहरू दुईजना परिवार सहित गोंगबु बसपार्कबाट बस चढ्नु भयो, कलंकी बाफलबाट म पनि बसमा चढें । हाम्रो दुधपोखरी यात्रा यसरी ख्यालख्यालमै बीना तयारी शुरू भयो । बिहानको खाना कुरिनटारमा एउटा लाईनको होटलमा खाएर हाम्रो यात्रा अगाडि बढ्यो । बसको अन्तिम गन्तब्य गोरखा जिल्लाको उत्तरी क्षेत्रको ब्यापारिक केन्द्र भच्चेक बजारसम्म थियो । बसले करिब ३ बजे नै हामीलाई भच्चेक पुर्याई दियो । भच्चेकबाट सिरानडाँडासम्मको ६ किलोमिटर पक्की सडकमा प्रतियात्री एकसये रूपैयाँ लिएर ट्याक्सी, जीपहरू चल्दा रहेछन् । हामी पाँच जनाले पनि एउटा ट्याक्सीलाई पाँचसये तिरेर सिरानडाँडासम्म पुग्यौं । त्यहाँ पुगेको एकै छिनपछि हर्मीबाट मुक्ति भट्टका जोडी पनि आइपुग्नुभयो । हाम्रो डफ्फा सात जनाको भयो ।
कोरोना महामारीका कारण गएको दुई वर्ष कोही पनि यात्रु गएका थिएनन् अरे भन्थे । यो वर्ष पूर्णिमाको २।३ दिन अगाडि देखि नै अत्यधिक यात्रुको चाप रहेको स्थानीय होटल वालाले भन्दै थिए । हुन पनि त्यस साँझमा सिरानडाँडाको बजार र गाउँका कुनै पनि घरका कोठा, पिंंडी, वार्तली खालि थिएनन् । बास बस्ने मानिसहरूको लर्को राती अबेर सम्मनै चलिरहेको थियो । हामी सात जनाको डफ्फाले पनि एउटा घर कम होटलमा एउटा कोठा पायौं । त्यहिं खाना पकाई दिए । त्यहिं खाएर आपूmले लगेका स्लीपिङ्ग ब्याग भित्र पसेर घञ्चमञ्च सुत्ने, निदाउने प्रयत्न गर्यौं तर नाना थरिका यात्रु, कोही गीत गाउने, कोही हास्ने, कोही गफ गर्ने गरेर निदाउनै सकिएन त्यसमा पनि राती १ बजेतिर १७ जनाको एउटा डफ्फा आएर चिया पकाउन लगायो । हल्ला गर्यो । केही सिप लागेन हामी पनि उठ्यौं । शौचादि गरेर झोला कस्यौं, एकै गिलास तातो पानि पिएर रातीको ३ बजे बाटो लाग्यौं । लेकको उकालो बाटो शुरू भयो । करिब एक घण्टाको उकालो बाटो हिंडेपछि तेर्सो बाटो आयो । हामी हिडीरह्यौ । करब ६ बजेतिर हामी नागि भन्ने स्थानमा पुग्यौं । त्यहाँ चरन खर्क र गोठहरू रहेछन् । मेलालाई लक्ष गरी एउटा अस्थायी होटल पनि खोलिएको रहेछ । त्यहाँ हामीले थकाई मात्र मार्यौं र उकालो लाग्यौं । अर्को एक घण्टा हिडेपछि बाघखोर भन्ने स्थानमा पुग्यौं, त्यहाँ पनि एउटा अस्थायी चिया पसल रहेछ । चिया र आपूmले झोलामा बोकेर लगेका केही खाने कुराहरू खायौं । मित्र हिमनाथ दवाडिजीले झोलाहरू बोक्न कठीन हुन्छ कि भनेर सिरानडाँडाबाट एकजना गाइड कम भरिया पनि खोज्नु भएको थियो । उनैलाई चामल दिएर अगाडि गोठमा गएर खाना पकाइराख्न भनेर पठायौं हामी विस्तारै बाटो घटाउन थाल्यौं । तेर्सो बाटो लालीगुराँसको घना जंगल, लालीगुराँसका रूख पनि कत्रा हुन् सल्लाको रूखभन्दा ठूला छन् । भूईंमा घाम नलाग्ने, ठाउँ ठाउँमा चिसो पानीका खोल्साहरू, चराचुरूङ्गीको चिरबीर, मन्द मन्द चिसो हावा पार गर्दै करिब १० बजे हामीहरू एउटा गोठमा पुग्यौं । त्यो ठाउँको नाम गल्छी रहेछ । हाम्रो गाइडले गोठका धनीलाई चामल दिएर भात पकाउन लगाएर भैंसीको दुईमाना दुध पनि किनेका रहेछन् । त्यहाँ करिब डेढ घण्टा जती थकाई मार्ने, खाना खाने गरेर बित्यो सांडे एघार बजेतिर त्यहाँबाट उकालो लागियो । विस्तारै रूख विरूवा साना हुदै गए । भिराला चौर, घाँसे मैदान, बुट्यान र खर्कहरू मात्र थिए । त्यहाँ खेतिपाती हुने र गर्ने त कोही थिएन तर त्यत्रा विशाल चौर, चरन खर्कहरूमा चर्ने एक दुईवटा भैंसी गोठ बाहेक अरू च्यांग्रा, भेडा, बाख्रा लगाएतका पशुपालन गरेको केही देखिएन । लाखौं भेडा, च्यांंग्राको चरन हुने त्यत्रा समथरिला बिशाल घाँसे मैदान र खर्कहरू त्यसै खेर गैरहेको देखियो । सायद बैदेशिक रोजगारिले गर्दा यहाँको पशुपालन गर्ने परम्परागत पेशा पनि विस्थापित भैसकेको सहजै अनुमान लगाउन सकिन्थ्यो । त्यहाँ स्याउ, अंगूर, ओखर लगायतको उच्च पहाडी र हिमाली हावापानीमा हुने फलपूmलका बोटहरू कति राम्रो हुन्थे होलान् ? तिनको उपयोग कहिले हुने होला भनेर यस्तै यस्तै कल्पना गर्दै एक आपसमा कुरा गर्दै, सुस्ताउंदै सुस्ताउंदै हाम्रा पाईलाहरू उकालो चडिनै रहेका छन् । सिरानडाँडा देखिनै माथि बाटोमा कुनै गाउँ वस्ती भेटिएन । अपुन, खिम्पु भन्ने गाउँ सिरानडाँडाबाट अलि पर बाटोभन्दा अलिक तल पर्छ भन्थे । यिनै बिशाल चउर, खर्कहरूमा पर्याप्त पशुपालन र उच्च हिमाली हावापानीमा हुने फलपूmलको ,विकास गर्न सके देशको संबृद्धि थियो तर के गर्ने ? नेताहरूको दूर दृष्टि हुन सकेन । हिमाल, पहाड, मधेश सबै ठाउँका युवा जनशक्तिलाई देशको माटोको मायाँ भन्दा विदेशी छायाँ राम्रो लाग्न थाल्यो । कसैले घर गोठ बेचेर त कसैले यसै छोडेर विदेशिन वाध्य भएका छन् । कहाँको पशुपालन, कहाँको फलपूmल खेती । ती त सबै कागजी योजनामा मात्र सिमित भएका छन् ।
उकालोमा मानिसका लस्कर पहाडको विहेमा पहिले पहिले जन्त जाँदा देखिने लस्कर जस्तो रातो, पहेंलो, निलो, हरियो ड्रेसमा यात्रीहरू आफ्नो खाने, लगाउने, ओड्ने ओछ्याउने सहित एकसरो सामानका झोला बोकेर, हातमा लट्ठी टेकेर विस्तारै सुस्ताउँदै उकालो हिड्नेको लस्कर हेर्न लायकै थियो ।
करिब दिनको सांडे तीन बजेतिर हामी डाँडाको टाकुरामा एउटा गोठमा पुग्यौं, सिमसिम पानी परिरहेको थियो । हाम्रा शरिरका विभिन्न अंगहरूमा जुकाहरूले दशैं मनाइरहेका थिए । कतै कतै देखेको ठाउँमा फल्दै त्यसलाई गालि गर्दै हामी अगाडि बढीरहेका थियौं । त्यस ठाउँमा एकजना सज्जनले यात्रुहरूलाई निशुल्क तातो पानी र चिया वितरण गरिरहेका रहेछन् । मौकाको पाईदा हामीले पनि उठायौंं । करिब ३५०० मीटरको उचाईमा पानीले भिजेर र चिसोले कठांग्रीन लागेका यात्रुलाई निशुल्क तातो पानी र तातो चिया बाँडेर ति सज्जनले रामै्र धर्म कमाए जस्तो लाग्यो तर त्यो अरू कसैले प्रायोजन गरेका थिए कि ? जे भए पनि प्रायोजक, आयोजक दुवै धन्यवादको पात्र हुन् । वास्तविक धर्म त उनीहरूले कमाए । सिमसिम पानी परिरहेको थियो । मित्र दवाडीजीको म्याडम अलि हिड्न सक्नु भएन, भोलिपल्ट विहान हिड्ने भनेर त्यहिं वास वस्ने विचार गर्नुभयो । भट्ट द्वय सहित हामीलाई गाइडले तपाईंहरू सरासर जानुभयो भने धर्मशाला पुग्न सक्नुहुँन्छ भनेकाले हामी पाँचजना चाहिं ओडा ओडेर बाटो लाग्यौं । बाटो अलिकती गएपछि उकालो शुरू भयो । त्यसपछि लगातार उकालै उकालो मात्रै रहेछ, नजरले देखेसम्म उकालो । यात्रीरूको लाईन, लगातार सिमसिम पानी, त्यसमाथि कुहिरो, असजिला गौंडा, बाटो अति अप्ठेरो, साँझ पर्दै गयो । हाम्रा बाहिरी लुगा पानी र पसिनाले करिब करिब सबै भिजीसकेका थिए । हामीलाई लगातार हिडेर उकालो काट्न कठीन भयो र यता उता बस्ने उपयुक्त ठाउँ हेर्न लाग्यौं । यस्तैमा बाटोभन्दा दाहिनेतिर एउटा सानो वडार जस्तो पहरा देखियो र त्यतै तीर सोझियौं । त्यहाँ हामी पाँच जनालाई सुत्न नपुगे पनि थचक्क बस्नसम्म पुग्ने पानीले नभेट्ने जस्तो लाग्यो र त्यहि ओडामा झोला विसायौं । त्यसै वडारको माथि पट्टि पनि २।३ जना अटाउनसक्ने जस्तो लागेर हाम्रो पछिपछि अउने तनि जना भईहरूलाई पनि बोलायौं । उनीहरू माथिल्लो पट्टि बसे हामीहरू तल्लो पट्टि एउटा म्याटे«स आछ्याएर बस्यौं । झोला कुनामा राख्यौं । भिजेका लुगा फेरेर लट्ठीमा झुड्यायौं र करिब २।३ घण्टा हामी त्यहाँ आराम गर्यौं । सुत्ने त कुरै भएन ठाउँ भए पो सुत्ने ? झोलामा बोकेर लगेका खानेकुराहरू चिसो पानीसंग निल्यौं । आईफोनले त्यो ठाउँको उचाई चार हजार मिटर देखाएको थियो । त्यहाँ मलाई एउटा कुराको ज्ञान भयो, ज्ष्नज बतिष्तगमभ मा पुगेपछि चिउरा, दालमोठ, विस्कुट जस्ता खाद्य पदार्थहरू घाँटीबाट निल्न सकिँदो रहेनछ । मुख सुक्ने हुँदा त्यस्ता चिजलाई भिजाउनै सकिंदो रहेनछ, अनि कहाँ घाँटिबाट तल जावस् । भट्ठ द्वयले यी कुराहरूलाई मनन गरेर सातु पिनेर त्यसमा गुलियो र मसला मिलाएर लैजानु भएको रहेछ । त्यसलाई गिलासमा पानीमा घोल्यो अनि स्याट्ठ पियो गरेपछि आनन्द आउँदो रहेछ । हामीले पनि त्यसरी नै सातुको अम्बल गर्दै हिड्यौं । करिब दुई अढाई घण्टा त्यस वडारमा थकाइ मारेपछि सुत्न नमिलेर जीउ पट्टायो भने उता पानी पनि रोकियो । मौसम खुल्यो र जुनको टक आउन थाल्यो । हामीले ती चिसा कपडा झोलामा प्याक गरेर, लौलो टेकेर विस्तारै उकालो लाग्यौं । जाँदा जाँदा बास बस्ने ठाउँ कतै थिएन । बाटो हिड्ने मानिसले बाटो खाली थिएन । हामी सुस्ताउदै, थकाई मार्दै उकालो हिडी नै रह्यौं । मानिसहरू बास बसेका एउटा ठूलो ओडार आयो मानिस खचाखच छन् । त्यस पछि एउटा धर्मशाला आयो त्यसमा पनि मानिस खचाखच छन् । हामीले त्यतातिर बस्ने ठाउँ खोज्न तिर समय खर्चेनौ विस्तारै हिडीनै रह्यौं, जब अलिकती तेर्सो हिडेका थियौं रातको १२ बज्दा नबज्दै हामी पोखरीको डिलमा पुगेछौं । पूर्णिमाको जून पोखरीमा टहटह परेको, मानिसहरू पोखरीको छेउमा धमाधम सकि नसकी डुबुल्की मारेर थुरथुर काप्दै लुगा फेर्न कोसिस रहेका देखिन्थ्यो । हिमालचुली र मानस्लू हिमालको ग्लासियरबाट निस्किएको पोखरीको अति चिसो पानी । त्यहाँ त धेरैवेर डुबुल्की मार्न लाग्यो भने मान्छै त्यहिं कठांग्रीएर मर्छ भन्ने सुनेका थियौं । त्यसैले एक पटक मात्र डुबुल्की मार्ने सल्लाह गरेका थियौं । लाइट बालेर नयाँ जनै खोलेर ट्ठिक्क बनाएर झोला माथि राख्यौं र एक डृुबुल्की मात्र लगाएर जीउ पुछेर नयाँ नजैसम्म मुश्किलले टाउकोबाट उनेर लुगा लगाइ हाल्यौं । हात गोडा कठांग्रीए । हामी सबैले केही बत्ती, दुना र टपरी पनि लगेका रहेछौं । सबैको बत्ती एउटै टपरीमा राखेर बत्ती बाल्यौं, त्यसैमा पूजा गर्यौं, पोखर ितर्फ केही पूmल अविर पनि फाल्यौं । रक्षाबन्धनलाई पोखरीमा चोबलयौं । यहाँ हात काठिएर बाँध्न सकिएन । त्यहाँबाट झोला बोकेर आरालो लागिहाल्यौं । लौरो र लाइटको सहायताले विस्तारै आरालो झर्यौं । जाने आउने मानिसको भिडले बाटो पाउनै मुश्किल थियो । धेरैनै तल आएपछि साथी हिमनाथ दवाडी श्रीमती संगै लिएर विस्तारै उकालो चड्दै हुनुहुन्थ्यो । वहाँलाई उकालो धेरै नै छ विस्तारै जानुहोस् पुगिन्छ भनेर हौसला दिएर हामी ओरालो लागिरह्यौं । तल आएपछि उज्यालो हुदै गयो । खोलाको किनारमा बसेर एक आपसमा रक्षाबन्धन गर्यौं र झोलाको सातु खाँदै ओरालो लाग्यौं । बाटोमा त्यहि दिन नुहाएर फर्किने भनेर जानेहरू पनि प्रसस्तै भेटिएका थिए । जोश जाँगर भएका ठिटा ठिटीहरू नुहाएर हामीलाई उछिन्दै धेरै ग्रुप अगाडि बढिसकेको छ ।
हामीसत एक छाक खानलाई पुग्ने चामल, गुन्द्रुक र भुटुन मसाला पनि थियो । त्यस कारण अघिल्लो दिन भात खाएको ठाउँमा पकाएर खाने भन्दै आएको त त्यो गोठमा मान्छे नै भेटिएन । अर्को गोठमा मान्छे त भेटिएको थियो तर मलाई भेडा चराउन जान ढिला हुन्छ भन्दै गोठमा बस्ने महिलाले उनले पनि पकाइ दिइनन् र हामीलाई पकाउने भाँडा देउ भन्दा पनि दिइनन् । झोलामा बोकेको चामल पनि पकाएर खान पाइएन अनि विस्तारै बाटो लाग्यौं । अघिल्लो दिन चिया, खाजा खाएको बाघ खोरमा पकाएर खान पाइन्छ कि भनेर अर्को तीन घण्टा हिड््यौं । त्यहाँ पनि उनीहरूको स्थानीय पोखरीमा लाग्ने मेलाको लागि तयार गर्नु पर्ने भएकोले भात पकाइदन इन्कार गरे । त्यहाँबाट पनि चाउरी परेझैं भएर हिंडियो । अर्को एक घण्टा हिंडेर नागी भन्ने ठाउँमा रहेको अस्थायी होटलमा आएर अनुरोध गर्दा त्यहाँ चाहिं हाम्रो चामल र गुन्द्रुक पकाई दिए । स्थानीय निउरोको तरकारी र तातो गुन्द्रुकको झोलसित करिब तीस घण्टा पछि सह्रै मीठोसंग भात खाईयो र ३ बजेपछि त्यहाँबाट आफ्नो बाटो सोझ्याइयो । बेलुकी पाँच बजेतिर सिरानडाँडा पुगियो र त्यहाँबाट एउटा ट्याक्सीमा भच्चेक झरियो र हिरा होटलमा झोला, तुम्बा बिसाइयो । त्यहाँ वाईफाईको पनि सुविधा रहेछ । मोवाइल चार्ज गरेर स्वदेश तथा विदेशमा पनि सबैसंग सम्पर्क गर्न पाएर मन प्रफुल्ल भयो । मीठो खाना खाएर अघिल्लो दिनको सहित मीठो निद्रामा भुसुक्क निदाइयो । २८ गते रूटको बसको टिकट काटेर बिहान ८ बजे भच्चेकबाट हिडियो र सुविस्ता पूर्वक दिनको ३ बजे काठमाडौं अवतरण गरियो । हामीले यो यात्रामा दूध पोखरी मुश्किलले पुगेर आयौं तर उमेरका हिसाबले ६० नाघेकाहरूलाई दूध पोखरी यात्रा गर्न सहज छैन । यो हाम्रो सुझाव मात्र हो । अस्तु ।
ईश्वरी प्रसाद घिमिरे
हाल काठमाडौं महानगरपालिका
वडा नं. १३ वाफल





No comments:
Post a Comment