Friday, October 21, 2022

उत्तराखण्ड चारधाम तिर्थयात्रा २०६८

https://www.facebook.com/ 



यात्रा स्मरण



 




उत्तराखण्ड चारधाम तिर्थयात्रा

२०६८ 









ईश्वरीप्रसाद घिमिरे 

कामनपा ३, रानीवारी

काठमाण्डौं




उत्तराखण्ड चारधाम तिर्थयात्रा, २०६८ 

१. पृष्ठभूमि

हिन्दु धर्मावलम्बीहरुको धार्मिक अस्थाका केन्द्र एवं पावन तिर्थस्थलहरु पशुपतीनाथ, मुक्तिनाथ, पिण्डेश्वर धाम जस्ता तिर्थस्थल एवं देबमन्दीरहरु नेपालमा भएतापनि भारतवर्षको चारै दिशामा छरिएर रहेका विभिन्न तिर्थस्थलहरुको महिमा हाम्रो समाजमा अत्यधिक रहेको छ । आफ्नो जीवनकालमा एकपटक अनिवार्य त्यस्ता तिर्थस्थलहरुको भ्रमण गरी पूजा, पाठ र दर्शन गर्नाले पतृहरुले सद्गती प्राप्त गर्ने,आफुले मुक्ति प्रात गर्ने र परलोकको सोचाई राख्नेहरुको लागि आत्म सन्तुष्ठी प्राप्त हुने जनविश्वास हिन्दु समाजमा सामाजिक परम्परा र विश्वासको रुपमा लिई सोको अनुसरण समेत गर्दै आएको पाईन्छ ।  भौगोलिक मानचित्रमा भारतवर्ष भित्र उत्तरमा हिमालय देखि दक्षिणमा कन्याकुमारी, श्रीलंकासम्म, पूर्वमा आसाम, म्यानमारसम्म र पश्चिममा पाकिस्ताना, बेलुचिस्थानसममको भूभागलाई समेटेको पाईन्छ । यो क्षेत्रभित्र बसोवास गर्ने मानिसहरुलाई धार्मिक हिसाबले एकिकरण गरीराख्ने अभिप्राय अनुसार भारतवर्षको चार दिशामाका चार कुनामा चार महत्वपूर्ण तिर्थस्थलहरु अवस्थित छन् । जस अनुसार पूर्वमा जगन्नाथ पुरी, पश्चिममा व्दारका, उत्तरमा बद्रिनाथ र केदारनाथ र दक्षिण कन्याकुमारीमा रामेश्वर गरी चार देवस्थलहरुलाई चारधाम भन्ने परम्परा छ । हिन्दुहरुले आफ्नो जीवनकालमा एकपटक यी चार धामको तिर्थयात्रा गर्नुपर्ने मान्यता राख्दै आएको पाईन्छ । यी चार धामको अतिरिक्त पितृ उद्धारको लागि पटनाको पुनपुन घाटमा, गयाजीको फाल्गु नदीमा, वनारसमा यमुना नदीमा र हरिव्दारमा भागिरथी नदीमा स्नान गरी तत्तत् स्थानमा तर्पण र पिण्डदान गर्नुपर्ने मान्यता रहि आएको छ । यो मान्यता नेपालमा बस्ने हिन्दुहरुको मात्र नभई समस्त भारतवर्षमा बसोवास गर्ने हिन्दुहरुको रहि आएको छ ।  

लामो सरकारी सेवाको दौरानमा नेपालका आन्तरिक तिर्थस्थलको भ्रमण गर्ने अवसर मिलेतापनि भारतवर्षमा अवस्थित तिर्थस्थलहरुको भ्रमण गरी दर्शन र पूजाआजा गर्ने उपयुक्त अवसर मिलेको थिएन । सामाजिक मुल्य, मान्यता र अस्थाका कारण तिर्थ यात्रामा जाने मनसाय रहेको थियो । भारत वर्षका चारै धामको दर्शन एकै पटकको यात्रामा गर्न २ महिनाभन्दा बढी समय लाग्ने हुनाले शारिरिक थकानको हिसाबले पनि कठिन हुन्छ । समयको अनुकूलता मिलाउन सकेमा पटक पटक यात्रा गर्दा शारिरीक थकान कम हुने र यात्राको मनोरञ्जन भरपूर लिन सकिने हुदा समय र उपयुक्त साथीको बन्दोवस्त मिलाएर यात्रा गर्नु बढी लाभकारी महसुस गरिएको थियो । यस्तै परिप्रेक्षमा अभन्न मित्र सोमराजपोखरेल, भतिज शिव घिमिरे गुणनिधि कोईराला लगायतको सक्रियतामा आयोजना भएको यो यात्रा कार्यक्रममा सहभागि हुन पाएकोमा मलाई ज्यादै खुशि लागेको पनि थियो । गयाजीमा गएर पितृहरुलाई तर्पण र पिण्ड नगरेसम्म अन्यत्र तिर्थ गएको फल मिल्दैन भन्ने सामाजिक विश्वास र मुल्य मान्यता भएकोले आफूलाई सो अनुसारको साथीहरुको आवश्यकता थियो संयोगले सल्लाह गर्दा मुख्य आयोजक सबैजना त्यस्तै सोचाईमा रहेको पाईएकोले हाम्रो समूहमा तिर्थयात्रामा जाने अरुहरु पनि त्यस्तैलाई सहभागि गराईएको थियो । 

वि.सं. २०६८ साल आश्विन २ गतेबाट प्रस्थान गरि हरिहरक्षेत्र, गयाजी, बोधगया, वनारस, ताजमहल, बृन्दावन, मथुरा, बिन्ध्यवासिनी, हरिव्दार, ऋषिकेष, यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रिनाथको यात्रा पूरा गरी यात्रामा गएका सबै यात्रु तथा आयोजक दलका सदस्यहरु सहित ३५ जना आश्विन २२ गते शकुशल काठमाडौं आईपुग्न सफल भएका थियौ । मैले सबै दृष्टिकोणबाट यो तिर्थयात्रालाई सफल मानेको छु । अन्त्यमा यो तिर्थयात्रा सफल बनाउन योगदान पुर्‍याउनु हुने आयोजक श्री बलराम पौडेल, बस मालिक श्री नवराज न्यौपाने, चालक श्री.......................... भान्से बाजे श्री......................एवं यात्राका सहभागि श्री सोमराज पोखरेल, शिव घिमिरे, गुणनिधि कोईराला, राममणि पोखरेल लगायत सबै सहभागिहरु धन्यबादका पात्र हुनुहुन्छ ।  तिर्थयात्राको स्मरणमा तयार गरिएको यो एउटा विवरणात्मक आलेख तिर्थयात्रामा जान चाहनेहरुका लागि एउटा उपयोगि सामग्री हुनसक्ने लागेको छ । 

यात्रा व्यवस्थापन:– परोपकार आध्यात्मिक संस्था बुलबुले डाँडा, चाबहिल, काठमाण्डौ

व्यवस्थापक:– पण्डित श्री बलराम पौडेल

२. तिर्थयात्राको संक्षिप्त बिबरण

दैनिक डायरी टिपोटको आधारमा

मिति २०६८ आश्विन २ गत,े (काठमाण्डौबाट नारायणघाट)

  • उक्त दिन विहान ९ बजेतिरनै प्रस्थान गर्ने कार्यक्रम यात्रा व्यवस्थापक बलराम पौडेलले मिलाउनु भएको थियो तर हामी सबै यात्रुहरु परम्परा र धार्मिक विश्वासलाई उलंघन गर्न सक्ने खालका थिएनौ त्यसैले सो दिनको पनि राम्रो बारवेला पारेर साईत गर्नु पर्छ भन्ने अडानमा थियौ । हाम्रो यात्रा व्यवस्थापनमा सदैव सक्रिय रहि सल्लाहदिनुहुने गुणनिधि कोईरालाको सल्लाह अनुसार १ बजे पछिको साईतलाई बिचार गरेर घरबाट प्रस्थान गएिको थियो । दिनको १.२५ बजे घरबाट प्रस्थान, एउटा ठूलो बस र एउटा माईक्रोबस समेत २ वटा गाडि, तिर्थयात्री ठूलो गाडिमा चालक सहित ४ जना स्टाफ र ३२ जना यात्रु तथा सानो गाडिमा चालक सहित २ जना स्टाफ र १३ जना यात्रु थिए । 
  • सबै यात्रुहरुलाई बटुल्दा र सबैको सामानहरु मिलाउदा अपरान्हको ४ बजेतिर मात्र काठमाण्डौ उपत्यका छोडन सकिएको थियो । बेलुकि ८ बजे नारायणघाटमा पुगेर पहिलो दिनको बास नारायणघाट स्थित लालिगुरास लजमा भयो । दामोदर र हरिप्रसाद न्योपाने परिवार सहितका ४ जना यात्रुहरु चितवनबाट बसचड्ने हुनुहुन्थ्यो तर सो दिन चितवनमा यातायात हडताल भएका कारण उहाँहरु आफ्ना घर शिवनगरबाट नारायणघाटसम्म पनि आउन सक्नु भएको थिएन । हामीहरु नारायणघाट पुगेपछि तिर्थयात्रु लिएर आएकै माक्रोबस पठाएर उहाँहरुलाई पनि नारायणघाटमा ल्याई संगै बास बसिएको थियो । बास बसेको होटेलमा भान्छे बाजे र बसका सहयोगि स्टाफहरुले खाना बनाए, यात्रुहरुले खाना खाएर पहिलो दिनको बास बसियो । 

मिति २०६८ आश्विन ३ गत,े (हरिहरक्षेत्र नेपाली धर्मशाला)

  • बिहान ४.३० बजे नारायणघाटबाट प्रस्थान गरी ७.३० बजे बीरगंज पुगियो र त्यहां डेढ घण्टाजती सीमाक्षेत्रको चेकजाच, सवारी साधनको यात्रा अनुमती, ईजाजतपत्र आदि क्लीयर गरी हरिहर क्षेत्रको लागि प्रस्थान गरियो, आधादिन जसोत बिहारको बिग्रीएको सडक, दिनभरी मुसलधारा पानी परेकोले यात्रा त्यती आरामदायी भएन तैपनि भर्खर यात्राको दोस्रो दिन मात्रै भएकोले तिर्थयात्रीहरु फुर्तिला र हसिुला नै देखिन्थे । विहानको खाना पकाउने उपयुक्त ठाउ मिलेन, महंगो पैसा तिरेर राजमार्गको एउटा होटेलमा अलिअलि रोटि खाईयो । नेपालमा जस्तो राजमार्गमा प्रसस्त खाना खुवाउने हाटेलहरु त्यतातिर देखिएन । बेलुकि ७.३० बजे हरिहर क्षेत्र पुगेर नेपाली धर्मशालामा बास बसियो । आफ्नै मेसमा दाल, भात, तरकारी, अचार सहित मीठो भोजन गरेर धर्मशालाको हलमा आफैले साथमा लगेका कपडाहरुको विस्तारा लगाएर मजाले सुतियो । 


हरिहर क्षेत्र गजेन्द्रमोक्ष धाममा स्नान गरेपछिको

 


मिति २०६८ आश्विन ४ गते, (गयाजी नेपाली धर्मशाला)

  • बिहान ६ बजे हरिहरक्षेत्र गजेन्द्रमोक्ष धाम (नेपालबाट बगेर आएको नारायणि नदी) मा स्नान गरी हरिहर मन्दिरको दर्शन गरीयो । गोदान संकल्प आदि गरेर त्यहाँ तिर्थयात्रीहरुको पर्खाईमा बसेका पण्डाहरुको चित्त बुझाउने काम गरियो र त्यहिबाट पण्डाहरुदेखि ठगिने क्रमपनि शुरु भयो । त्यसपछि चिया पिएर विहानैमा पटना स्थित पुनपुन घाटमा जानकोलागि प्रस्थान गरियो । पुनपुनघाटमा पुगि आमा नहुनेहरुले पुनपुन श्राद्ध गरियो र बिहानको खाना खाएर गयाजीको लागि प्रस्थान गरियो । हामिहरु उज्यालैमा धार्मिक क्षेत्र एवं बजारक्षेत्र पुगेका थियौ तर (पतिृपक्ष) सोह्रश्राद्धको समय भएका कारण गयाजीमा श्राद्ध गर्नेहरुको अत्यधिक भिड रहेछ । सोहि भिडको कारणले हाम्रो गाडिलाई प्रहरिले बजारभित्र धर्मशाला नजिकसम्म पुग्न दिएन । हामीहरुले श्राद्धगर्ने पुजा सामग्री र १ रातको लागि चाहिने लुगाकपडा एवं ओडने आछ्याउने सामग्री बोकेर नेपाली धर्मशालामा गई बास बस्यौ । त्यहा अरुपनि नेपालीहरुको टोलि पहिलेदेखि बसिरहेको हुदा बासबस्नलाई पर्याप्त कोठाहरुपनि उपलब्ध भएन हामीले बरण्डामा सुतेर भएपनि जेनतेन एक रात बितायौ । गयाजीमा भारतका विभिन्न प्रान्त, राज्य र जिल्लाहरुका व्यापारी एवं धार्मिक आस्था भएका व्यक्तिहरुले धर्मशालाहरु निर्माण गरी संचालनको व्यवस्था मिलाएको रहेछन्  । त्यस्तै मध्येको नेपाली धर्मशाला पनि कतिपय राणा कालिन समयमा र कतिपय सोभन्दाभन्दा पहिलेदेखि निर्माण भै संचालनमा रहेको पाईयो । 


पुनपुनमा घाटमा श्राद्ध गर्दै

मिति २०६८ आश्विन ५ र ६ गते, (बनारस स्वामिनारायण धर्मशाला)

  • ५ गते, बिहान ६ बजे फाल्गु नदीमा स्नान गरी गयाजी श्राद्ध सम्पन्न गरीयो । गयाजीमा पण्डाहरुले नेपाली तिर्थयात्रीहरुलाई ठग्न विभिन्न उपाय गर्दा रहेछन् । गयाजीका पण्डाहदेखि बच्नको लागि उनिहरुले जेजे काम गर्दा जती जती पैसा चढाउन भन्छन् त्यसमा नलागि स्वविवेक प्रयोग गर्न पर्दो रहेछ । नत्र उनिहरुले जेजे भन्यो त्यहि त्यहि गर्दै जाने हो भने जति पैसा बुझाएपनि तिनिहरु सन्तुष्ट हुनेवाला छैनन् । श्राद्ध सकेपछि त्यहि धर्मशालामा खानापनिा गरी हामी बोधगयाको लागि प्रस्थान गर्‍यौ । बोधगयामा पुगि त्यहां रहेको विशाल बुद्ध मन्दिर दर्शन गरियो । उक्त मन्दिर हिन्दु मन्दिरहरुको तुलनामा बढी व्यवस्थित र सफा सुग्गर पाईयो । बोधगयाबाट हामि सोहि दिन बनारसको लागि प्रस्थान गरियो र साँझमा बनारस पुगि स्वामि नारायण धर्मशालामा बास बसियो । उक्त धर्मशाला अन्य धर्मशालाहरुको तुलनामा ठूलो, फराकिलो र सफासुग्गर पनि रहेछ । उक्त धर्मशालामा बासबस्न पनि ओडने् आछ्याउने कपडा भने आफैले  लिएर जानुपर्ने रहेछ । 

 


गयाजीमा फाल्गु नदी किनारामा श्राद्ध गर्दै

६ गते, बिहान बनारसमा भागिरथि नदी किनारको मनिकर्णिका घाटमा गई स्नान गरी त्यहि तिर्थ श्राद्ध सम्पन्न गरियो । यहाँपनि बनारसका पण्डाहरुले हामिहरुलाई हैरानै बनाए । तर्पण गर्ने, पिण्डदान गर्ने छुट्टा छुट्टै पण्डाहरुलाई दक्षिण बापत एकथरी, सिदा वापत एकथरी, गौदान बापत एकथरी र लालमोहोरिया मूलपण्डालाई छुट्टै उनिहरुको मुखपती दर अनुसारको दक्षिणा दिनु पर्ने नत्रभने पितृका खिलाफमा श्रद्धा भक्ति प्रतिकुल हुने खालका बचन वाडहरु उनिहरुबाट सुन्न पर्ने रहेछ । (गयाजी र काशि बनारसका घाटहरुमा श्राद्ध गर्नु पर्दा “वनारसका पेडा जो खाए ओ पछुताए, जो नखाए ओभि पछुताए” भन्ने उखान चरितार्थ हुन्छ) सो दिन बिहान मनिकर्णिका घाटमा श्राद्ध सकेपछि काशी विश्वनाथको मन्दिर दर्शन गरी विहानको खान खाईयो । खानापछि साईड सिन र देब मन्दिरहरुको दर्शनार्थ टेम्पो रिजब गरेर बनारस बिरला मन्दिर, संकटमोचन मन्दिर, काशी बनारस हिन्दु विश्वविद्यालय, तृदेब मन्दिर, दुर्गा मन्दिर आदि स्थान घुमि देब देबताहरुका् दर्शन गरियो र सो दिन पनि स्वामीनारायण धर्मशालामानै गई खाना खाएर बास बसियो ।  



मिति २०६८ आश्विन ७ गते, (कानपुर राम मन्दिर धर्मशालामा बास)

  • ७ गते, बिहान ४.३० मा बनारसबाट प्रस्थान, ७ बजे मिर्जापुर स्थित बिन्दबासिनी मन्दिर पुगि बिन्दबासिनी भगवतीको दर्शन । त्यहिको बजारमा चिया नास्ता गरेर पुन प्रयाग स्नानको लागि ईलाहाबाद तर्फ प्रस्थान । सरस्वती, गंगा र यमुना नदिको संगम प्रयागमा दिउसो अपरान्ह पुगियो तर स्नान गर्न सकिएन किनकि उक्त दिन अबिरल बर्षा भएको कारण नदिको संगममा डुंगा चडेर गई स्नान गर्नु पर्नेमा वाढिको कारणले खतारापूर्ण भएको हुदा सो गर्न सकिएन । हिलोमा लड्दै र पढ्दै गएर नदीको पूर्वी किनारामा पंच स्नान मात्र गरियो । उक्त दिन बर्षतको कारणले बिहानको खाना पकाएर खाने उपयुक्त स्थान पनि पाउन सकिएन । एकैपटक बेलुकि कानपुर नजिक राजमार्गमा रहेको राम मन्दिरको धर्मशालामा पुगेर बास बसियो । 

 

कानपुर नजिक राम मन्दिर धर्मशालामा आफ्नै कपडा ओछ्याएर बास बस्दै

मिति २०६८ आश्विन ८ र ९ गते, (गोकुल शिवधाम धर्मशालामा बास)

  • आश्विन ८ गते विहान ५ बजे कानपुरबाट प्रस्थान गरी बीचबाटोमा पर्ने मुलायमसिंह उच्च मा.वि.को प्राङगणमा विहानको खाना खाएर अगाडि बडियो, बाटोमा पर्ने आगरामा ताजमहलको अवलोकन गरियो । त्यहाबाट प्रस्थान गरी बेलुकि गोकुलमा पुगेर शिवधाम धर्मशालामा बास बसियो । 
  • आश्विन ९ गते विहान गोकुल स्थित कृष्ण भगवानले बाल्यकालमा गरेका लिलाहरुको स्थानहरुको भ्रमण । जसमा रमणरेतीस् धाम, गौशाला, यमुना नदी, कदमको रुख, नन्द भवन आदिको भ्रमण र दर्शन, यमुना नदीमा स्नान गरी विहानको खाना पछि मथुरा र बुन्दाबनको दर्शनीय मन्दिरहरु एवं कृष्ण जन्मभूमि, कंशको कारागार कंशको दरवार लगायत पूराना प्रस्तर कलाको अनुपम मन्दिरहरुको भ्रमण र दर्शन गरी गोकूल स्थित शिवधाम धर्मशालामानै बास बसियो ।

 


रमण रेती धाम गोकूल (श्रीकृष्ण भगवानले बाल्य अवस्था बिताएको स्थान)

 


गोकुलमा यमुना नदी किनारमा कदमको फेदमा बसेर भजन गाउदै तिर्थयात्रीहरु

मिति २०६८ आश्विन १० र ११ गते, हरिद्धार (निरंजनी अखडा धर्मशालामा बास)

  • १० गते, बिहान ५.३० बजे गोकूलबाट प्रस्थान गरी बाटोमा पर्ने शहरहरु हुदै बेलुकी ५ बजे उत्तराखण्ड प्रबेश । बाटोमा पर्ने शहरहरुमध्ये मेरठ शहर ज्यादै ठूलो रहेछ । उत्तराखण्ड प्रबेश गर्न विदेशि बसका यात्रुलाई प्रतियात्रु दैनिक भा.रु.४०। राजस्व बुझाउनु पर्ने रहेछ । उत्तराखण्डको प्रमुख आयश्रोत भनेकोनै धार्मिक पर्यटन रहेछ । त्यहाबाट प्रस्थान गरी बेलुकी ७.३० बजे हरिव्दार स्थित निरन्जनी अखडा धर्मशालामा बास बसियो । 

 




निरन्जनी अखडा स्थित मन्दिर, हरिव्दार


  • ११ गते विहान भागिरथी नदी किनार कुशाघाटमा गई स्नान गरेर सोहि स्थनमा श्राद्ध गरियो । त्यहां श्राद्ध गराउने त एकजना नेपाली पण्डानै थिए तर उनले श्राद्ध गराएपनि लालमोहरिया पण्डालाई खुशिहुने गरी दान दक्षिणा गर्न पर्दो रहेछ । हामिहरुले लालमो्हरिया पण्डालाई र श्राद्ध गराउने नेपाली पण्डालाई समेत दान दक्षिणा गरियो । यहांका पण्डाले त्यस्तो कबोल केहि गरेनन् श्रद्धाले दिएको यथाशक्य दामनलाई सहर्ष स्वीकार गरे । श्राद्धपछि केबलकार चडेर गई मनसादेबीको मन्दिरमा पुजा र दर्शन गरियो । मनसादेबीको मन्दिर डाडामा भएकोले त्यहांबाट हरिद्धार शहर राम्ररी देख्न पाईने रहेछ । मन्दिरको दर्शन पछि बासबसेको धर्मशालामा गई विहानको खाना खाईयो । खानापछि टेम्पोहरु रिजाब गरेर दिनभरी हरिद्धारका दर्शनिय देब मन्दिरहरुको भ्रमण र दर्शन गरियो । बेलुकी पख बजार घुम्ने क्रममा प्रशाद, उपहारको लागि केहि सामानहरुपनि खरिद गरियो । हरिकी पौडि, अस्थि प्रवाह घाटमा साझमा हुने आरतीमा सहभागि भईयो । बेलुकीको यो दृश्य साह्रै रमाईलो र हेर्न लायक थियो । 

 



 मिति २०६८ आश्विन १२ गते, (बडकोट बास)

  • १२ गते विहान ५.३० बजे रिषिकेशको लागि प्रस्थान । रिषिकेश हरिव्दारबाट ३५ किलोमिटरमात्र रहेछ । त्यहाँ पुगेर मन्दागिनि नदी रिषिकेश घाटमा स्नान गरी रिषिकेश भगवानको दर्शन । २ वटा भव्य १३ तले मन्दिरमा स्थापना गरिएका देबीदेवताहरुको दर्शन । रामझुला, लक्षण झुला भ्रमण ( यहां झोलुंगे पूललाई झुला भन्ने रहेछन् ) । मंदागिनि नदीमा २ किलोमिटको दुरीमा २ वटा पूलहरु रहेछन् त्यसमध्ये माथिल्लो पूललाई लक्ष्मण झुला र २ कि.मि. तलको पूललाई राम झुला भनिदो रहेछ । रिषिकेशको दर्शनिय स्थानहरुको भ्रमण गरेर रामझूलाको बगलमा विहानको खाना खाईयो र दिनको १२.४५ बजे यमुनोत्तरीको लागि प्रस्थानगरी बडकोट पुगरे बास बसियो । 

 


रिषिकेश मन्दिर र लक्षणझुला

मिति २०६८ आश्विन १३ गते, (ब्रम्हखालमा बास)

  • १३ गते, ५.३० बजे बडकोटबाट यमुनोत्तरीको लागि प्रस्थान गरी जानकी चट्टिीसम्म बसमा गईयो र त्यस पछि ७ किलो मिटरको उकालो पैदल वा घोडामा जानु पर्ने रहेछ । हामीमध्ये धेरै यात्रीले घोडा प्रयोग गरी यमुनोत्री पुगेर स्नान र दर्शन गर्‍यौ भने कतिपयले पैदलै यात्रागरी स्नान र दर्शन गरे । त्यहां डोकोमा मान्छे बोक्ने, तामदानीमा मान्छे बोक्ने र भरीयाहरु सबैजसोनै पश्चिम नेपालबाट रोजगारि खोज्न उत्तराखण्ड गएका नेपालीहरुनै रहेको पाईयो । यमुनोत्तरीबाट जनकीचट्टीसम्म पैदलै फर्केर आईयो र गंगोत्रीको लागि सोहिदिन बस चडि प्रस्थान गरियो । साँझ ७ बजे ब्रम्हखाल भन्ने स्थानमा पुगेर बास बसियो । 

 


एक तिर्थयात्री तामदानीमा बोकिएर यमुनोत्री जादै

 


यमुनोत्तरीमा घोडा चडेर जादै



यमुनोत्तरी तातोपानी कुण्डमा स्नान गर्दै नारायण खनालजी संग

मिति २०६८ आश्विन १४ गते, (श्रीनगर नजिक लजमा बास)

  • ब्रम्हखालबाट उत्तरकाशी हुदै गंगोत्रिको लागि प्रस्थान । उक्त दिन गंगोत्रिकोस्नान नगरिकन खाना नखाने यात्रुहरुको सल्लाह अनुसार सामान्य ब्रेकफास्टको भरमा गंगा्ेत्री पुगेर स्नान र दर्शन गरियो । यो स्थान ज्यादै उचाईमा रहेको, तातो पानीको कुण्ड नभएको र गंगोत्रीको पानी ज्यादै चिसो भएकोले विहानको समय वा झरी बादल लागेको भए नुहाउन कठिन थियो तर मध्यान्नको समय भएको र टण्टलापुर घाम लागेकोले नुहाउन कठिन भएन सजिलैसित नुहाउन सकियो । गंगोत्री अति रमणीय स्थान रहेछ । गंगोत्रीभन्दा ९ किलोमिटर वरै हाम्रो भान्छे टिम खाना पकाउन सामान सहित बसेको थियो गंगोत्री स्नान गरेर फर्केपछि दिउसको ३ बजेतिर खाना खाईयो र बाटो लागियो हाम्रो बाटो अब केदारनाथ धाम तिर सोझिएको छ । त्यस स्थानबाट ३ घण्टा हिडेर श्रीनगर नजिकको भ्यालीमा एउटा लजमा बास बसियो । 

 



गंगोत्तरीमा स्नानपछि हामि केहि यात्रुहरु

 


गंगोेत्तरीमा स्नान गरेपछि

मिति २०६८ आश्विन १५ गते, (रामपुर तिलवाडामा बास)

  • १५ गते, श्रीनगर नजिकैको लजबाट बिहान सबेरै उठेर केदारनाथको लागि प्रस्थान गरियो । विहान ७ बजे बाटोमा पर्ने उत्तर काशिमा विश्वनाथको दर्शन र भजन किर्तन गरियो । बेलुकी रामपुर तिलवाडामा पुगेर बास बसियो । 

मिति २०६८ आश्विन १६ गते, (श्री केदारनाथ धाममा बास)

  • रामपुर तिलवाडाबाट विहान ५.३० बजे केदारनाथ धामको लागि प्रस्थान गरि विहान १० बजे गौरीकुण्ड पुगियो । गौरीकुण्डमा तातो पानी रहेछ । त्यहा तातोपानी कुण्डमा स्नान गरियो । गौरीकुण्डबाट करिब १५ किलोमिटर उकालो बाटो पैदल जानु पर्ने रहेछ । पैदल हिडन आट गर्न नसक्ने र बुढाबुढीहरु घोडा र डोकोमा बोकिएर गए भने हामीहरु १०।१२ जना पैदलै हिड्ने आट गरि उकालो चडियो । त्यहां डोकोमा मान्छे बोक्ने, तामदानीमा मान्छे बोक्ने र भरीयाहरु सबैजसोनै पश्चिम नेपालबाट रोजगारि खोज्न उत्तराखण्ड गएका नेपालीहरुनै रहेको पाईयो । उकालोमा ठाउठाउमा होटेल रेष्टुराँहरु प्रसस्तै रहेछन् । ठाउठाउमा पश्चिम नेपालका नेपालीहरुको होटलहरुपनि प्रसस्तै रहेछन् । बस्दै बस्दै बेलुकी ६ बजे करिब ६.३० घण्टा लगाएर केदारनाथ धाम पुगियो । पैदलैहिडेर अरुभन्दा छिटो पुग्नेमा हामी बुढाबुढीनै भएछौं । त्यहां नेपाली धर्मशालामा अरुनै नेपालीहरु बसिसकेकोले हामीहरु जयपुर धर्मशालामा कोठाहरु लिएर बास बसियो । धर्मशालामा ओड्ने ओछ्याउने कपडाहरु पर्याप्तनै थिए तरै पनि केदारनाथमा अलि चिसो बढि भएको महसुस भयो । मन्दीरभन्दा माथिको भाग पुरै हिउले ढाकेको थियो । 

 


केदारनाथ बाबाको दर्शन गरेपछि केदारनाथ मन्दिर अगाडि

 


केदारनाथ धाम

मिति २०६८ आश्विन १७ गते, (रामपुर तिलवाडामा बास)

  • १७ गते, बिहान सबेरै उठेर मन्दागिनिमा स्नान गरेर नेपाली धर्मशाला अगाडि बसेर सामुहिक रुपमा श्राद्ध गरियो । श्राद्धपछि केदारनाथ मन्दिरमा केदारनाथ बाबाको दर्शन गरी केहि फोटोहरु खिचियो र होटलमा चिया र आफ्नै कुम्लाको केहि खाजा खाएर १० बजेतिर गौरीकुण्डको लागि प्रस्थान गरियो । गौरिकुण्डबाट बस चडेर पुन अघिल्लो दिनको बास बसेको स्थान रामपुर तिलवाडामा पुगेर बास बसियो  । 

मिति २०६८ आश्विन १८ गते, (बद्रीनाथ धाममा बास)

  • रामपुर तिलवाडाबाट विहान ५.३० बजे बद्रीनाथ धामको लागि प्रस्थान गरियो । बाटोमा पर्ने रुद्रप्रयाग, कर्णप्रयाग, गरुडगंगा दर्शन गर्दै अगाडि बढियो । गरुढ गंगाको ढुंगा घरमा राखे सर्पको भय हुदैन भन्ने किंवदन्ती रहेछ । हामीले पनि केहि मसिना ढुंगाहरु जम्मा गरेर आआफ्नो झोलामा राख्यौ । बाटोमा पर्ने गोविन्द घाट, जोशिमठ हुदै बेलुकि ४.३० बजे बद्रीनाथधाम पुगियो र कालिकमलि धर्मशालामा बास बसियो । त्यहाको नेपाली धर्मशालामा अरु नेपालीहरु पहिलेदेखिनै बसिरहेकोले त्यहा हाम्रो टोलीलाई पुग्नेस्थान उपलब्ध नभएकोले कालिकमली धर्मशालामा कोठाहरु लिएर बसियो । जाडो स्थान भएकोले धर्मशालाहरुमा ओडने आछ्याउने कपडाहरुको पर्याप्त व्यवस्था रहेछ जाडोको महसुस गर्न परेन । बद्रीनाथ धाममा तोतोपानीको कुण्ड रहेछ महिला र पुरुषहरुको लागि छुट्टा छुट्टै व्यवस्थित नुहाउने व्यवस्था भएकोले बेलुकिनै एकपटक कुण्डमा स्नान गरेर कपाल मुण्डन गर्ने काम सोहि दिन गरियो । बद्रीनाथ धाम अलकनन्दा नदीको किनारमा रहेछ । धर्मशाला, स्नानगर्ने स्थान, श्राद्ध गर्ने स्थान, मन्दिर दर्शन गर्न लाईन बस्न व्यवस्थित गरेर फलामका रेलिङहरुले बारेर बनाईएको रहेछ । सरसफाईपनि राम्रो रहेछ । धर्मशालामानै हाम्रो खान पकाउने व्यवसथा भयो । खाना पछि सबै तिर्थयात्रुले लगेका तेल बत्ती भिजाएर भोलिपल्टलाई लाख बत्ति बाल्न तयार पारेर राख्ने काम भयो । नेपाली लालमोहरिया पण्डा राजेन्द्र प्रसाद डुगरे हामि बसेको धर्मशालामा नै आएर भोलिपल्ट श्राद्ध गरी पिण्डदान गर्न आवश्यक पर्ने महाप्रसाद (पिण्ड बाट्न तयार गर्ने भात) तयार गर्न प्रति श्राद्धगर्ने यात्रु रु. २१। का दरले पैसा र चामल जम्म्मा गरे । साथै पण्डाले ढड्डा रजिष्टरमा हाम्रो टोलिमा गएका यात्रुहरुको तिनपुस्ते, छोराहरु र श्रीमतीको नामसमेत लेखे र मन्दिरमा पूजा चलाउन भनि यथाशक्य दान गर्न आग्रह गरे यात्रुहरुले पनि रजिष्टरमा नाम लेखाएर यथाशक्य दान गरे । मैले पनि ३५१। भा.रु. पूजा चलाउन भनि चन्दा राखे । राती ११ बजेपछि खाना खाएर सुतियो । 

 


बद्रीनारायण मन्दिर, बद्रीनाथ धाम 

  मिति २०६८ आश्विन १९ गते, बिहान बद्रीनाथ धाम

  • आश्विन १९ गते, विहान ४ बजे उठेर तातोपानी कुण्डमा गएर स्नान गरीयो र पूजा सामगी तयार गरी ६ बजेतिर श्राद्ध गर्नको लागि अलखनन्दा नदीको किनारामा बनाईएको सेडतिर लाग्यौं । पिण्डदान गर्नको लागि आवश्यक पर्ने महाप्रसाद नेपाली धर्मशालामा तयार गरिएको रहेछ संगै लिएर गईयो । श्राद्ध गर्ने स्थानमा हामी सबैलाई लाईनमा बसाएर सामुहिक रुपमा संकल्प, बचन भनि एकजना पण्डाले श्राद्ध गराए । त्यहां एक जना पण्डाले पिण्डपूजा गराई पिण्डदान गर्न लगाए, त्यसपछि अर्को स्थानमा पिण्ड सहित लगेर पिण्डमाथि नै तर्पण दिन लगाए । दूवैजना पण्डाहरुलाई छुट्टा छुट्टै ब्राम्हण भोजनको लागि सहित ब्रम्हण दक्षिणा गरियो । श्राद्ध सम्पन्न भएपछि पण्डाले सबै श्राद्धकर्ताहरुलाई तपाईहरुका सात पुस्ता सम्मका पितृकूल र मातकूलका सबै पितृहरु आव देवतामा मिले अब आयन्दा तपाईहरुले कहिल्यैपनि कहिपनि पिण्डदान गर्न पर्दैन तिथिको समयमा केवल तर्पण र सिदा दान गरे हुन्छ भनेर निर्देशन दिए । त्यसपछि हामिहरुले अलखनन्दा नदीमा पिण्ड सेलायौं । पिण्ड सेलाएपछि पण्डाले हामी सबैलाई (महिला पुरुष सहित) त्यहि माथिल्लो खण्डमा रहेको अखण्ड होम कुण्डमा लगे । होमकुण्डभित्र हामिहरु आरामसंग बस्यौ होम कुण्डमा समिदा (दाउरा) बलिरहेको थियो । हामिहरु स्नान गरेर श्राद्ध गर्न करिब २ घण्ट बस्दा हिमालको चिसोले आत्तिईसकेका थियौ त्यहां न्यानो ठाउमा आगोको नजिक बस्न पाउदा हाम्रो शरिरले बेग्लै आनन्द अनुभव गरिरहेको थियो भने अर्को तर्फ तिर्थको काम सम्पन्न हुदै जाँदा पनि हामिहरुले धेरै हलुका महसुस गरिरहेका थियौ । हामिहरु होमकुण्डको वरिपरी बसिसकेपछि त्यहांका पण्डाले हामि सबैलाई प्लेटमा होम गर्ने सामग्री चरु बाडे । हामिहरुले साथमा लगेको चरुपनि त्यहि चरुको भाडोमा मिसायौं । त्यसपछि त्यहाका पण्डाहरुले बेदका रिचाहरु पाठ गर्दै हामिहरुलाई ब्रम्हकपालि होम गराए । ब्रम्हकपालि होम सकिएपछि त्यहाका मूल पण्डाले हामिसबैका पितृकूल र मातृकूलका सातपुस्ता सम्मका पितृहरु अबदेखि देवताहरुमा मिले अबदेखि हामिहरुले पिण्डदान र पिण्डपूजागर्न नपर्ने, केवल तर्पण र सिदा दान मात्र गर्ने कुरा बताए । ब्रम्हकपालि होमको काम सकियो पण्डालाई दान दक्षिणा गर्ने समय भयो, मूल पण्डाले दान दक्षिणा गर्दा होमकुण्डमा बाल्नको लागि कम्तीमा एकभारी दाउरा किन्न पुिग्ने गरी यथशक्य दक्षिणा गर्न आग्रह गरे तर बाध्यता भने गरेनन् । हामि सबै श्राद्ध गर्ने तिर्थयात्रीहरुले यथाशक्य ब्राम्हण दक्षिणा गरी बद्रीनाथ धाममा ब्रम्हकपाली श्राद्ध र होम सम्पन्न गरियो । 

 


बद्रीनारायण मन्दिर एरिया

  • ब्रम्हकपालि श्राद्ध र होमको काम सकिएपछि हामिसबै तिर्थयात्रीहरु बद्रीनारायण भगवानको दर्शन र पूजागर्न पूजा सामग्री सहित मन्दिरमा गएर लाईनमा बस्यौं । करिब आधा घण्टाको लाईन पछि मन्दिरभित्र पुगियो र भगवानको दर्शन मिल्यो । त्यहां आफैले पूजागर्न नमिल्ने रहेछ । पूजा सामग्री दिएपछि पण्डाले भगवानको प्रतिमामा छुवाएर फिर्ता दिए, एवं रितले हामि सबैले दर्शन पूजाको काम सम्पन्न गर्‍यौ । अन्तमा हामि संगै गएका सबै तिर्थयात्रुले मिलेर सामुहिक रुपमा लाख बत्ति प्रज्वलन गर्ने कार्यक्रम थियो । त्यसको लागि अघिल्लो दिनमानै बत्ति तयार भैसकेको थियो । नेपाली धर्मशालाका पण्डा राजेन्द्रप्रसाद डुगरेलाई लाखबत्ति प्रज्वलनको संकल्प गरिदन अनुरोध गरी वहांलाई लिएर हामिसबै नदी किनारमा गयौ र सामुहिक रुपमा संकल्प र पूजा गरी लाखबत्ति बालियो । त्यहां चाढाएका सामाग्रीहरु पनि उनै पण्डालाई दिएर हामिहरु विहानको काम सम्पन्न गरी खाना खानको लागि बास बसेका कालिकमली धर्मशालामा फर्कियौ । त्यहां खाना खाएपछि करिब १ घण्टा जति हामिहरु बद्रीनाथ धामको प्रसाद उपहारहरु खरिद गर्न बजार तिर भुल्यौ र दिनको १२.३० बजे ब्यागहरु बोकेर बसपार्कतिर लाग्यौ र बस चडेर १ बजेतिर बद्री नारायण भगवानको अन्तिम दर्शन गर्दै फिर्ता भयौ । अब हाम्रो बाटो सोझिएको छ । तिर्थयात्राका गन्तव्य स्थलहरुको भ्रमण भैसकेको छ । त्यसैले कन्चनपुर नाकाबाट नेपाल छिर्ने छोटो बाटो लाग्यौ र बेलुकि ६.३० बजे अलखनन्दा नदीको किनारमा रहेको कर्ण प्रयागको एउटा लजमा बास बसियो । 

  मिति २०६८ आश्विन २० गते, 

  • आश्विन २० गते, विहान ५ बजे कर्ण प्रयागबाट प्रस्थान गरु उत्तराखण्ड कुमाउको, रानिखेत, नैनिताल, अलमोडा लगायतका पहाडि बस्ती र बजार घुम्दै करिब ४ बजे काठगोदाम झरियो । काठगोदामबाट समतल भूभाग र बाटो पनि सिधा भएकोले चालकले गाडिको स्पिड बढाए । बेलुकि ६ बजेपछि सिमापार गर्न पुलको ढोका बन्दहुने हुदा सो अगावै पुग्नको लागि भनेर दिउसको खाना पनि उक्त दिन पकाएर खान तिर लागिएन । होटलमा रोटि दुध लगायतका तयारी खाना खाएर छिटो हिड्न तर्फ लागियो । हामि ठिक समयमा आउदै थियौ सिमाक्षेत्र भन्दा १०।१२ किलोमिटर पारको खटिमा बजारमा आईपुग्दा दुर्गापूजाको झकिले हाम्रो बाटो जाम गरिदियो करिब १ घण्टा हामि त्यहि खटिमा बजारमानै जाममा फसिरह्यौं । त्यसले गर्दा १ घण्टा ढिला भयो ७ बजेतिर सिमानामा आईपुगियो । सिमा चौकिका भारतीय पुलिसले एकछिन अलमल गराएर केहि पैसा खाएर छाडिदिए । हामि राती ८.३० बजेतिरमात्र कन्चनपुर बसपार्क पुग्यौ र बसपार्क नजिकैका ३ वटा होटलमा बाडिएर बस्यौ र खाना पकाएर खादा गर्दा ११.३० बजेतिर मात्रै सुत्न सकियो । धरैदिनको पहाडि र हिमाली क्षेत्रको यात्रापछि तराईमा बास परेको हुदा गर्मिको अनुभब हुनु स्वभाविकै थियो । त्यो रात राम्रोसित सुत्न सकिएन ।

  मिति २०६८ आश्विन २१ गते, 

विहान ५ बजेनै बस चडेर हिडियो बस चालक लगायतका स्टाफहरु र तिर्थयात्रीहरुलाई पनि दशैको पूर्णिमाको अधिल्लो दिन सम्ममा काठमाण्डौ पुगि परिवारका सदस्यलाई भेट गर्न र संगै बसेर टिका टाला गर्न हतार लागिसकेको थियो । बिहानको चिया खान ८ बजेतिर हामिहरु चिसापनि कर्णाली पुग्यौ । त्यहां कर्णालीमा स्नान गर्‍यौ, त्यहिको बजारमा चिया नास्ता गर्‍यौं र कर्णाली पूलमा केहि फोटोहरु खिचि पुन यात्रालाई निरन्तरता दियौ । विहानको ११ बजेतिर हामिहरु कोहलपुरमा आई चौराहको पूर्वतर्फ रहेको मन्दिरको प्रांगणमा उपयुक्त स्थान भएकोले त्यहि बसेर खाना पकाएर खायौ र १ बजेतिर प्रस्थान गर्‍यौ । बेलुकि ७ बजे बुटवलमा पुगेर बास बसियो । 

 


कर्णाली पूलमा बिहान

मिति २०६८ आश्विन २२ गते,

  • देबघाटमा सामुहिक रुपमा होम हालेर तिर्थेभोज गरेर मात्र काठमाण्डौ जाने योजना हाम्रो थियो । त्यसैले तिर्थे भोजको व्यवस्थाका लागि शिब घिमिरे मार्फत चितवनमा भाईहरु, मणि, राजाराम, शुरेश र रमेशलाई दुध र तरकारीको व्यवस्था गरी सबै परिवार सहित देवघाटमा हुने तिर्थे भोजमा सहभागि हुन आउनलाई बुटवलबाटै टेलिफोनमा खवर गरिएको थियो ।

 

देबघाटमा स्नान गर्दै तिर्थयात्रीहरु

  • बुटवलबाट आश्विन २२ गते, विहान ५ बजेनै बस चडेर हिडियो र विहान ७.३० बजे देबघाटमा पुगियो चिवनमा भएका सबै ईष्टमित्र र नातेदारहरु पहिलेनै देबधाटमा पुगेर हाम्रो प्रतिक्षा गरेर बसेका रहेछन् । हामिहरुले पनि त्यहां पुगेपछि नदीमा स्नान गरी मारवाडि सेवा समितिको धर्मशालामा होम र तिर्थे भोज गर्नको लागि तयारी गर्‍यौ र यज्ञ स्थापना गरी त्यहि धर्मशाला रेखदेख गर्ने ३ जना ब्राम्हणहरुलाई बरण गरी सामुहिक रुपमा तिर्थेभोजको होम यज्ञ सम्पन्न गरियो । देवघाटमा चितवनमा रहेका तिर्थयात्रीका परिवारका सदस्य र ईष्टमित्रहरु सबै आएका थिए सबैको सहयोगमा भोजनको लागि खिर र अचार, तरकारी तयार गर्ने काम पनि भयो । भोजन त्यहांको बृद्धाश्रममा बस्ने बृद्धबृद्धाका लागि समेत भण्डारा लगाउन पुग्ने गरी तयार गरिएको थियो । यज्ञ होमको काम सकिएपछि तिर्थयात्री र आफन्तहरु सहित भै भोजन गरियो र बृद्धाश्रममा बसेका बृद्धबृद्धालाई पनि भोजन गराईयो र दिनको १.३० बजे देबघाटबाट काठमाण्डौको लागि प्रस्थान गरियो र आरामसंग बेलुकि ८ बजे काठमाण्डौंमा घर आई पुगियो । यसरी गयाजीदेखि बद्रीनाथ, केदारनाथ सम्मको २१ दिनको तिर्थयात्रा पुरा भयो । 



 



देबघाटमा तिर्थ समापन यज्ञ र तिर्थे भोज गर्दैै तिर्थयात्रीहरु


 


तिर्थान्त यज्ञ र तिर्थे भोज पछि तिर्थयात्रीहरु खुशियाली मनाउदै यज्ञ स्थलमा भजन गाउदै, नाच्दै

३. तिर्थयात्राको व्यवस्थापन पक्ष:—

२०६८ सालको श्रावण महिनामा म केहि घरायसि कामले गर्दा गोरखा गएको थिए । साथिहरु सोमराज पोखरेल, शिवप्रसाद घिमिरे र गुणनिधि कोईराला समेतले तिर्थयात्रामा जाने विचार गरी उपयुक्त यात्रा व्यवस्थापकको खोजि गर्ने सिलसिलामा आध्यात्मिक परोपकार संस्थाको कार्यालय बुलबुले डाडा चावहिलमा पण्डित बलराम पौडेलसंग एक चरण भेट गरीसक्नु भएको रहेछ । गोरखाबाट फर्किएपछि उहाँहरुले मसंग पनि कुरा राख्नुभयो, म ज्यादै खुसि भए । लामो सरकारी सेवाको क्रममा व्यवस्थित तिर्थयात्रामा जाने अनुकूल मिलेको थिएन । म पनि यस्तै अवसरको खोजिमा थिए । सोहि सिलसिलामा श्रावण ८ गतेका दिन शिवप्रसाद घिमिरे, सामराज पोखरेल, गुणनिधि कोईराला र म  आध्यात्मिक परोपकार संस्थाको कार्यालय बुलबुले डाडा चावहिलमा गयौ र संस्थाका अध्यक्ष श्री बलराम पौडेलज्यूसंग तिर्थयात्रा प्याकेजको सम्बन्धमा छलफल भयो । यो सिजनको लागि उहांहरुले ३ वटा प्याकेजमा तिर्थयात्रा गराउने कार्यक्रम पम्प्लेट छपाउनु भएको रहेछ । हामीहरुले तेश्रो प्याकेजमा जान राज्यौ । जसमा हरिहर क्षेत्र, पुन पुन, गयाजी, बिन्दवासिनी, कानपुर, वनारस, आगरा, बृन्दावन, मथुरा, ताजमहल, हरिव्दार हुदै गंगोत्री, यमुनोत्ती, केदारनाथ र बद्रीनाथ सम्मको प्याकेज थियो । २२ देखि २४ दिनसम्म लाग्ने यो यात्रामा बसभाडा र बिहान बेलुकिको खाना सहित ने.रु. १५,०००।(पन्द्रहजार रुपैया) लाग्ने स्टमेट रहेछ । हामिहरुले आपसि सल्लाह गरी उपयुक्त साईतको दिनको खोजिगर्दा आश्विन २ गते काठमाण्डौंबाट प्रस्थान गर्ने र २३।२४ गतेतिर काठमाण्डौ आईपुग्ने अनुमान सहित यात्राको तिथि, मिति तय गरियो । उत्तराखण्डको यात्रामा ज्यादै ठूला बस जान नसक्ने हुदा मझौला साईजको ३० जना यात्रुसम्म जनसक्ने बसमात्र रिजर्भ गर्नुपर्ने थियो । सोहि अनुसार हामिहरुले समूहमा जाने सम्भावित साथिहरुको खोजिगर्ने र पुरै यात्रु हाम्रै चिनजानको ईष्टमित्र, साथिहरु बनाउने निधो गर्‍यौ । हामिहरुले पटक पटक भेला भई तिर्थयात्रामा जादा साथमा लैजानुपर्ने सरसामान र बजेट अनुमानको बारेमा पनि छलफल गर्‍यौं । यात्रुहरु ३० जना पुर्‍याउने क्रममा आफ्ना ईष्टमित्र, साथिभाईहरुलाई जानकारी गराईयो । पछि यात्रामा जान चाहनेहरुको संख्या यती धरै हुदै आयो कि कसलाई लैजाने कसलाई नलैजाने भनि जवाफ दिने कठिनको स्थिति पनि आईपरेको थियो । 

श्रावण १८ गते, सोमराज पोखरेल, शिव घिमिरे र म पुन सस्थाको कार्यालय चावहिलमा गई यात्रा व्यवस्थापक पं. बलराम पौडेलसंग भेट गर्‍यौं । यात्राको बारेमानै थप छलफल गरियो । यात्रामा जादा साथमा लैजानुपर्ने सामग्री, तिर्थयात्रु र व्यवस्थापक पक्षले पालना गर्नुपर्ने नियम, अनुशासन र आचारसंहिताको बारेमा साथी सोमराज पोखरेलले विस्तृत गृहकार्य गरेर ल्याउनु भएको थियो । सो को वारेमा बुदागत रुपमा छलफल गरी सामान्य सहमती कायम गरियो । यात्रा व्यवस्थापन सस्थाको तर्फबाट भएपनि यात्रुहरुको सुविधाको लागि आवश्यक सामग्री व्यवस्थापनदेखि सिटप्लानको व्यवस्थापन लागि यात्रुकै तर्फबाट सहयोग पुर्‍याईएको थियो । सोमराज पोखरेल, शिवप्रसाद घिमिरे, गुणनिधि कोईराला, राममणि पौडेल, नारायण खनाल, निरन्जन आचार्य लगायतका सक्रिय यात्रुहरुले यात्रालाई बढी व्यवस्थित र रोमाञ्चक बनाउन योगदान पुर्‍याउनु भएको थियो । महिला यात्रुहरुको भजन र नाच गानले यात्रालाई यात्रालाई अझ रोमाञ्चक बनाएको थियो । व्यवस्थापनको सिलसिलामा निम्न व्यवस्था मिलाईएको थियो ।

  • यात्रिहरुको व्यक्तिगत विवरण फाराम तयार गरी सबै यात्रिहरुलाई २ प्रति फोटो सहित फाम  भराईएको  थियो 
  • व्यक्तिगत विवरणको आधारमा फोटो टाँसिएको यात्रु परिचयपत्र संस्थाको तर्फबाट जारि गराईएको र यात्रा अवधिभर अनिवार्य रुपले परिचयपत्र लगाउने व्यवस्था गरिएको थियो । 
  • यात्रुहरुको नाम, थर, ठेगाना, पती, पत्नीको नाम र टेलिफोन नंबर, नेपालमा संपर्क गर्नु परेमा सम्पर्क गर्ने व्यक्तिको नाम, थर र टेलिफोन नम्बर सहितको यात्रुहरुको एकिकृत विवरण फाराम तयार गरी यात्रा व्यवस्थापकलाई उपलब्ध गराईएको थियो । जसले गर्दा यात्रामा धेरै ठाउमा चेक, जाच गर्दा अति सजिलो र उपयोगि सावित भएको थियो । 
  • भिडभाडमा तर्थयात्रु कोहि नहराउन्, छलिएका यात्रुलाई सजिलै पहिचान गर्न सकियोस् र कुनै यात्रु पछाडि परे अर्थात् छलिएपनि आफ्नो समूह सजिलै पहिचान गर्न सकोस भन्ने अभिप्रायले संस्थाको नाम उल्लेख गरेको पहेलो क्याप टोपी बितरण गरेको र यात्रा अवधिमा सबैलाई लगाउन अनिवार्य गरिएको थियो । 
  • यात्रा व्यवस्थित हुन सकोस भन्नका लागि यात्राको नेतृत्व, परिवहन व्यवस्था र भोजन तयारी र वितरण शैलीको वारेमा ६५ बुदाको स्मरणपत्र तयार गरी सो अनुसारको व्यवस्था मिलाउन यात्रा व्यवस्थापक पण्डित श्री बलराम पौडेलज्यूलाई यात्राभन्दा करिब १ महिना अगाडिनै बुझाईएको थियो । उक्त स्मरणपत्र तल अनुसूचिमा राखिएको छ ड्ड यात्रामा जाने साधन, सवारी चालक लगायत सहयोगि जनशक्ति, भोजनको लागि आवश्यक खाद्यान्न तथा अन्य सामग्रीको व्यवस्थापन गर्न समेत व्यवस्थापकलाई सजिलो होस् भन्ने अभिप्रायले ३० जना यात्रुको रु. १५०००। ले हुन आउने सकम रु. ४,५०,०००। यात्रा व्यवस्थापक लाई अग्रिम भुक्तानीको व्यवस्था मिलाईएको थियो । 
  • यात्रामा जादा आवश्यक पर्नसक्ने प्राथमिक उपचारका सामान र सामान्य औषधिको व्यवस्था मिलाईएको थियो । 
  • तिर्थयात्रामा राम्रो व्यवस्थापन गरी तिर्थयात्रिहरुलाई सुरक्षित र व्यवस्थित यात्रा सम्पन्न गराएको कारण यात्राको अन्तिम दिन देबघाटमा तिर्थान्त यज्ञ र तिर्थे भोज गरीसकेपछि यात्रा व्यस्थापक पं. श्री बलराम पौडेल, सवारी चालक श्री..................भान्सा यवस्थापन सहयोगि श्री................लाई पुरस्कृत समेत गरिएको थियो । 
  • पं. श्री बलराम पौडेललाई उत्कृष्ट 

४. यात्राबाट पाठ सिकिएका कुराहरु

  • धेरै दिनको लामो यात्रामा जादा निरोगि, छिटो, छरितो, आपसि चिनजानका क्भभिअतभम व्यक्तिहरुको मात्र टिम हुदा यात्राका सबै गतिविधिहरु सहभागितामूलक हुने भएतापनि बृद्ध, बृद्धा, शारिरीक रुपले कमजोर ब्यक्तिहरुलाई सहभागि गराउदा तिर्थयात्रामा परोपकारको भवनाले समेत कामगर्न पाएको महसुस सहभागि यात्रुहरुले गरेको पाईयो । 
  • सवारी साधन रिजर्भ गरेर यात्रामा जादा यात्राको उद्देश्य अनुसार आवश्यकपर्ने सामग्री व्यवस्थित हिसाबले मिलाएर लैजानुपर्ने महसुस गरियो । उदाहरणको लागि कुनकुन तिर्थस्थलहरुमा कतिवटा श्राद्ध गर्नुपर्ने हो ? कुनकुन तिर्थस्थलमा के के कुराहरु चढाउने के कस्ता सामग्रीले पूजागर्ने, कुनकुन तिर्थस्थलमा के कति बत्ति बाल्ने वा लाख बत्तिनै बाल्ने होकि? यी सबै कुराहरुको विचार गरेर आवश्यकपर्ने पूजा सामग्री, श्राद्ध सामग्री लगायका कुराहरु छुट्टा छुट्टै व्यवस्थित प्याकेट बनाएर लैजादा धेरै सजिलो हुने रहेछ ।
  • हामीले यो यात्रालाई केवल धार्मिक यात्रामात्र नठानेर पर्यटकीय हिसाबले पनि लिएका थियौं । त्यसैले यात्राको क्रममा रुटको आसपासमा परेका विभिन्न दृष्टिकोणले महत्व बोकेका स्थानहरुको पनि अवलोकन गर्ने अभिलाषा राखेका थियौं तर यात्रा व्यवस्थापक समूह व्यवशायमूलक पनि भएको हुदा तोकिएको तिर्थस्थलमा छोटो रुट प्रयोग गरी कसरी छिटो पुग्ने र काम सम्पन्न गरी अर्को स्थानमा पुग्न सकिन्छ भन्नेमा बढी केन्द्रीत भएको हुदा तोकिएको स्थान बाहेक अन्यत्र केहि समय लिएर घुम्ने, अवलोकन गर्ने समय मिलेन । त्यसको लागि यात्रा पूर्वनै यात्रा व्यवस्थापकसंग छलफल गरी आवश्यकता र औचित्य अनुसार बस भाडामासमेत पुनरावलोकन गरेर मिलाउनुपर्ने कुरा समेत महसुस गरियो । 
  • लामो यात्रामा जादा साथमा लगिने सामग्री हलुको, छरितो र प्याकिङ गर्ने झोला/सुटकेशहरु चुस्त दुरुस्त र फिता, जिपरहरु बलियो हुनु आवश्यक छ । 
  • साथमा लगिने लगेजहरु टाईट प्याकिङ गर्नुभन्दा केहि सामान थपगर्न मिल्ने गरी हलुका रुपले साँझ विहान सामान झिक्न र मिलाउन सजिलो पर्ने रहेछ ।
  • बिहान ब्रेकफास्टमा वा दिउसको खाजा खानको लागि होटेलमा बस्न सबै ठाउमा अनुकूल नमिल्ने हुदा आफूलाई मनपर्ने किसिमका खाने कुराहरु दालमोट, चिउरा, भुजिया, सातु, चाउचाउ जस्ता म्चथ ँययम  सुख्खा खानेकुराहरु  र पेस्ता, किसमिस, छोडा, नरिवल, काजु, बदाम जस्ता आफ्नो रुचिअनुसारका म्चथ ँचगष्त  हरु साथमा लिएर जादा स्वास्थ्यको दृष्टिकोणले लाभदायी र खर्चको हिसाबले पनि किफायती हुने र मन लागेका बखत बसभित्रै खान पनि पाईने हुन्छ । 
  • यस्तो यात्रामा समूहमा जादा क्ष्उिउष्लन दबन, एउटा सामान्य पछ्यौरा र एउटा तन्नासम्म बोक्दा धर्मशाला मन्दीइर परिसर जस्ता सार्वजनिक स्थानमा बास बस्नुपर्दा पनि धेरै सुविधा हुने रहेछ ।   


५. तिर्थयात्रीको ंरुपमा पर्यटक:


हाम्रो समूहमा आवद्ध साथीहरुको उद्देश्य केवल धार्मिक मात्र नभई धार्मिक तिर्थस्थलहरुको दर्शन एवं पूजाको अतिरिक्त पर्यटकीय पनि थियो भन्दा फरक पर्दैन । यसको मतलब हामीहरु एक प्रकारले सुद्ध धार्मिक पर्यटक थियौं । भारतका तिर्थस्थदलहरुको स्थापना र व्यवस्थापन केवल धार्मिक उद्देश्यले मात्र नभई धार्मिक पर्यटकहरुलाई बढिभन्दा बढी कसरी आकर्षित गर्ने भन्ने अभिप्रायबाट संचालन भएको पाईयो । भारतका पुराना देवस्थल र मन्दीरहरुको महत्व आफ्नै ठाउमा छ भने त्यस्ता देवस्थलहरुमा ठूला व्यापारिक घराना तथा सम्पन्न धनीमनि पूजिपती वर्गले पनि अत्याधुनिक शैलीका मन्दीरहरुको निर्माण गरी ती मन्दीरहरुमा पौराणिक कथाहरुमा आधारित देबी, देवताहरुको मुर्ति प्रतिस्थापना गरी मन्दीरको व्यवस्थापन पुजारीहरु मार्फत गराएको पाईयो । देवस्थलहरुमा यस्ता मन्दीरहरुको निर्माण क्रम जारी रहेकोले प्रतिवर्ष थपिने क्रममा छ । यस्ता मन्दीरहरुको सजावट र व्यवस्थापन आकर्षक छन्, जसले गर्दा धार्मिक लगायत अन्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएका छन् । धार्मिक लगायत अन्य पर्यटकहरुको किफायती बसोवासको लागि मन्दीर परिसरहरुमा धर्मशाला र उखडाहरु निर्माण भएका छन् । 

उत्तराखण्ड राज्यको हरिव्दार, ऋषिकेश संस्कृत शिक्षा र हिन्दु धर्मको आस्थाको केन्द्रको रुपमा विकास भैरहेको छ । ऋषिकेशभन्दा उत्तरको भूभाग नेपालको सूदूर पश्चिमको उच्च भूभागसंग जोडिएको त्यस्तै ठूला चट्टानी पहाड तथा हिमालयले ढाकिएको रहेछ । यहि उत्तराखण्डको हिमाली भागमा गंगोत्री, यमुनोत्री, केदारनाथ धाम र बद्रिनाथ धाम रहेका छन् । यीनै चारवटा तिर्थस्थलहरुलाई भारतबर्ष भरिका चारधाम तिर्थस्थलमध्येको एक धाम र उत्तराखण्डका चारधामको रुपमा मानिदो रहेछ ।  टेलिफोन, सडक, विजुली लगायतका पूर्वाधारहरुको पर्याप्त विकास भैसकेको भएतापनि सडकको आसपासका क्षेत्र बाहेक पुराना बस्तीहरुमा बसोवास गर्नेहरु अन्यत्रनै वसाई सरी सकेको हुदा सडकबाट देखिने त्यस्ता वस्तीहरु भने उजाड देखिन्थे । 

उत्तराखण्ड भएर बग्ने हिमालयबाट निस्केका अलखनन्दा, भागिरथि, यमुना जस्ता प्रसिद्ध नदीहरुबाट जलविद्युत निकाल्न थुप्रै जलविद्युतका योजनाहरु निर्माणाधिन अवस्थामा रहेको पाईयो । २४०० मेगावाट विजुली निकाल्न सफल त्भजचष् ज्थमचय म्भखभयिऊभलत ऋयचउयचबतष्यल ीतम। तेहरी जलविद्युत योजनाको रिजर्भायर यात्रा रुटमा पर्ने भएकाले सो को अवलोकन गर्ने अवसर पाईयो । देहरादुन, नैनिताल जस्ता प्रसिद्ध ज्ष्िि क्तबतष्यल हरु र उत्तरकाशी, गुप्तकाशि, गरुड गंगा, गंगोत्री, यमुनोत्री, केदारनाथ धाम, बद्रिनाथ धाम लगायतका देवस्थलहरुको कारणले तेस्रो मुलुकबाट आउने अन्य विविध उद्देश्य बोकेका पर्यटक र विश्वभरीका हिन्दु धर्ममा आस्थाराख्ने धार्मिक पर्यटकहरुको कारणले उत्तराखण्ड राज्यले आफ्ना नागरिकहरुको आर्थिक सामाजिक अवस्थामा सुधार गरी कायापलट गरेको पाईयो । उत्तराखण्ड राज्यको आमदानीको मेरुदण्ड भनेकै जलबिद्युत र पर्यटनको विकास रहेछ ।

नेपालमा पनि जलविद्युतको प्रचुर सम्भावना बोकेका नदीहरुको उपयोग गरी जलविद्युतको विकास गर्न सकिने बलियो सम्भावना भएतापनि नेतृत्व गर्ने प्रमुख राजनीतिक दलहको बिचमा हुनुपर्ने न्यूनतम राजनीतिक समझदारीको अभाव र वित्तीय श्रोत साधनको कमिको कारणले हुन सकेको छैन । नेपालका राजनीतिक नेतृत्व र नीति निर्माण तहका द्यगचभबगअचबत हरुले उत्तराखण्ड राज्यले गरेको जलविद्युत विकास सम्बन्धी अध्ययन अवलोकन गरेर पाठ सिकुन् भन्ने चर्चा र कामना गर्दै तिर्थयात्राका अन्तीम दिनहरु  क्रममा हुन्छ ।   

 



अनुसूचीहरु


१. यात्रा व्यवस्थापन सम्बन्धी स्मरण पत्र

यात्रा आयोजक पण्डित बलराम पौडेल समक्ष यात्रीवर्गको सादर अनुरोध

(क) यात्राको नेतृत्व

१. यात्राको नेतृत्व पण्डित बलराम पौडेलज्यूूले गर्नु हुनेछ । यात्राभर वहां हामी यात्रीहरुको साथमा रहनु पर्नेछ । यात्राको शुभारम्भदेखि अन्त्यसम्मको नेतृत्व तहांसंगको व्यक्तिगत छलफल र परिचयको आधारमा यहालाईनै सुम्पिएका छौं । 

२. नेतृत्वले यात्राको वारेमा पटक पटक पूर्व जानकारी गराउदै यात्रीको हरहमेशा ख्याल राख्दै यात्रीको समेत सहमतीमा यात्रा कार्यक्रम संचालन गर्नु पर्दछ । 

३. नेतृत्वले यात्रालाई रोचक, रमाईलो, रोमान्चकारी, संगीतमय, आनन्दमय, मनोरञ्जनले भरपूर बनाउदै यात्रा अगाडी बढाउनु पर्दछ । 

४. यात्रालाई मनोरञ्जनपूर्ण बनाउन भजन, कविता, गीत (आधुनिक, लोक, दोहोरी, तीज, ठट्यौली) कथा कहानी, मुक्तक, हास्य, टुक्का आदि संकलन गरी साथमा लैजाने र आवश्यकता अनुसार प्रयोग गर्न उपयुक्त हुन्छ । यसका लागि रेकर्ड तथा प्लेयरका उपकरण जस्तै सिडि, पेन ड्राईभ, एम.पी ३ क्यासेट र सो को प्लेयरहरु उपयुक्त हुन्छन् । यसको व्यवस्था नेतृत्वले गर्नु पर्दछ । 

५. बस चालक, कन्डक्टर, भान्सेले यात्रुलाई उपलब्ध गराएको सेवा स्तरीय छ छैन त्यसबाट यात्रीहरु संतुष्ट छन् छैनन्, सो को लेखा जोखा गर्दै कुनै पनि कमी कमजोरी देखिएमा नेतृत्वले सच्याउनु वा सच्याउन लगाउन पर्छ । यात्रुको कमी कमजोरीको हकमा यात्रुतर्फबाट सच्याउन लगाईने छ । 

६. यात्राको सन्दर्भमा कुनै सिकायत, प्रतिक्रिया, अवगुण भएमा यात्रीले सिधै नेतृत्वलाई जानकारी गराउनेछन् । नेतृत्वले त्यस्ता समस्या तत्काल हल गर्नु पर्नेछ ।

७. यात्रीको स्वास्थ्य र शारिरीक अवस्थाको बारम्बार नेतृत्वले ख्याल राखि यात्रालाई संचालन गर्दै जानु पर्दछ । 

८. कथंकदाचिद् यात्रीको स्वास्थ्य अवस्था बिग्रेमा वा अस्वस्थ भई यात्रालाई असर पुर्‍याउने स्थितिको श्रृजना भएमा उपचारका लागि यात्रीलाई नजिकको स्वास्थ्य उपचार केन्द्र वा अस्पतालमा पुर्‍याउन नेतृत्वले सहयोग गर्नु पर्दछ । 

९. यात्री वा आयोजक कुनै पक्षबाट पनि मादक, लागू वा नशालु पदार्थको सेवन गर्न हुदैन । गरेमा आपत्ति जनाईने, कारवाहि गर्ने र सेवन गर्न लागेमा रोक्ने काम नेतृत्वको हुनेछ । यसमा अन्य यात्री वा यात्री समूहले पनि नेतृत्वलाई सहयोग गर्नु पर्दछ । 

१०. भोजन, भोजनका कच्चा सामग्री, भोजन तयार गर्ने, पस्कने भाडावर्तनको सरसफाई उपयुक्त ढंगबाट गरेको हुनु पर्दछ । भान्से शुद्ध, सफा सुग्गर पोशाकमा रहि भोजन सफा ढंगबाट तयार गरेको हुनु पर्दछ । यसमा नेतृत्वको निरन्तर निगरानि हुन जरुरी छ । 

११. यात्रीको मन पसन्द भोजन तयार गर्ने सम्बन्धमा पनि नेतृत्वको ध्यान जान पर्ने हुदा यात्रीको स्वास्थ्य, भोजनमा रुची, भोजनको परिकार सम्बन्धमा नेतृत्वको निर्देशन भइरहनु पर्दछ । 

१२. यात्रीलाई खुशि तुल्याउने भनेको “ईच्छा अनुसारको यात्रा, मनपर्ने भोजन, समय र उमेर सुहाउदो मनोरञ्जन” भएकोले नेतृत्वलाई यस कुरामा ध्यान केन्द्रित गर्न सुझाव दिईन्छ । 

१३. यात्रीको लागि सबै गन्तब्य स्थलहरु नयाँ र नौलो हुने हुदा कुनै धार्मिक, सामाजिक दृष्टिले महत्वपूर्ण ठाउहरु आउदा त्यस्ता ठाउको विशेषताहरु यात्रीलाई जानकारी गराउने काम नेतृत्वको हुने छ ।  

१४. यात्रीको दैनिक उपभोगका सामग्री वा खाद्य सामग्री खरिद गर्न, संकलन गर्न आवश्यकता अनुसार नेतृत्वले सहयोग गरीदिनु पर्दछ । 

१५. यो बाहेक यात्रीलाई मद्दतको लागि तत्काल आवश्यक परेका कुराहरु नेतृत्वबाट प्राप्त हुने अपेक्षा गरिएको छ । 

ख. परिवहन व्यवस्थापन

१. हामी तिर्थयात्रीका लागि व्यवस्था गर्ने बस नयाँ, आधुनिक, आकर्षक, सुन्दर, चालु हालतको, यात्रामा कुनै समस्या नआउने, उपयुक्त स्वरुपको भरोसा गर्न लायकको हुनु पर्दछ । 

२. यात्रा सुरक्षित, सुविधाजनक र मनोरञ्जनपूर्ण हुन बस पनि सोहि बमोजिमको छनौट गरिएको हुनु पर्दछ । 

३. बसको सिट फराकिलो/चौडा, सफा, आरामदायी हुनुपर्छ ।

४. बसको सिट कभर, खोल, पर्दा सफा र दुरुस्त हुनु पर्दछ । बसको आकृति आकर्षक र भित्र बाहीर सफा मनमुग्ध पार्ने खालको हुनु पर्दछ । 

५. बस दैनिक सफा गर्नु पर्दछ । बस चालक तथा कन्डक्टर नम्र, शालीन, गुणवान, उपकारी, असल चालचलन भएको, यात्रुको हरहमेशा दिल, मन, खुशी बनाई राख्न सक्ने, हसिलो, रसिलो मजेदार हुनु पर्दछ । 

६. चालक तथा कन्डक्टर यात्रा गर्ने स्थलहरुको वारेमा पूर्व अनुभव प्राप्त गरेको, यात्रा सम्बन्धमा ज्ञान भएको, कुनै आपत वा संकट आई परेमा निसंकोच समाधान गर्नसक्ने खुवि भएको हुनु पर्दछ । 

७. चालक र कन्डक्टर यात्राको क्रममा यात्री समूहले राखेको प्रस्तावको कदर गर्दै प्रस्तावित स्थलमा बस लैजान सक्ने ट्राफिक ज्ञान भएको, भारतीय तिर्थ स्थलको बारेमा राम्ररी बुझेको हुनु आवश्यक छ । 

८. बस चालक तथा कन्डक्टरले  यात्रा अवधिभर धुम्रपान, मद्यपान, मादक पदार्थ, नशालु पदार्थ जस्ता लागू पदार्थ सेवन गर्न हुदैन । यसलाई शत्प्रतिशत् बन्देज लगाईएको छ । चालक तथा कन्डक्टरले यो नियमलाई कडाईका साथ पालना गर्नु गराउनु पर्छ । 

९. बस चालक तथा कन्डक्टरबाट बसको ईन्जिन, पार्टपुर्जा लगायत ईन्धन, मोविल, ब्रेक आयल, ईन्जिन आयल, डिस्टिल वाटर, ब्याट्रिको बारेमा मेकानिकल ज्ञान, शीप भएको हुनु पर्दछ । 

१०. भारतीय क्षेत्रमा प्रचलित सवारी नियम र यस सम्बन्धी ट्राफिक ज्ञान भएको चालक हुनु पर्दछ । 

११. बस चालक तथा कन्डक्टरले यात्रा अवधिभर सबै यात्री महानुभावहरुसंग नम्र, शिष्ट र मैत्रीपूर्ण व्यवहार गर्नु पर्दछ ।  

१२. प्रत्येक दिन साँझ बास बसेको समय र स्थानमा त्यस दिनको यात्रा, कार्यक्रम, तिर्थस्थल दर्शन, खानपान, लजिस्टिक लगायतका सम्पूर्ण क्रिया कलापको समीक्षा गरिने छ । यसमा सबै कार्यक्रमको उत्कृष्ट नतिजा यात्रीबाट सुन्न पाईयोस् भन्ने अपेक्षा राखिएको छ । टिका टिप्पणी वा नकारात्मक नतिजा आउने गरी कुनैपनि कार्य आयोजक पक्षबाट गरेको हुनु हुदैन । यसमा कमी कमजोरी देखिएमा बस चालक, कन्डक्टर, भान्से सबैलाई सुध्रन पण्डित बलराम पौडेलबाट यथा समयमा निर्देशन हुनेनै छ । 

१३. यात्राको क्रममा कुनै यात्रीलाई रिगटा, चक्कड लाग्ने, वाकवाकि लाग्ने, वेसमयमा दिशापिसाब लाग्ने भएमा वा लागेमा बस चालक तथा कन्डक्टरले आवश्यक मद्दत गर्नु पर्दछ । यात्री अचानक अस्वस्थ भएमा प्राथमिक उपचार गर्ने क्रममा पनि मद्दत गर्नु पर्दछ । आवश्यक परेमा स्वास्थ्य उपचारको लागि स्वास्थ्य केन्द्र, अस्पताल वा चिकित्सक समक्ष पुर्‍याई उपचार गराउनु पर्दछ । विरामी यात्रीलाई उचित मानवीय व्यवहार गर्नु पर्दछ । 

१४. प्रत्येक दिन बेलुकि भोलिपल्टको यात्रा कुन ठाउबाट आरम्भ गरी कुन ठाउमा घुमेर कहाँ अन्त्य गर्ने भन्ने सम्बन्धमा आयोजक पक्षले यात्रीहरुलाई एकै ठाउमा राखेर छलफल गर्ने  र भएको निर्णय सबैलाई जानकारी गराउनु उपयुक्त हुने सुझाव दिईएको छ । 

१५. यात्रीको सामुहिक सहमतीबाट एकपटक निश्चित भैसकेको कार्यक्रम परिवर्तन, फेरवदल वा शंसोधन गर्न पर्दा पुन यात्रीको सामुहिक सहमतीबाटै गर्ने व्यवस्था अवलम्बन गरिनु पर्दछ । कुनै एक यात्री, नेतृत्वलिने व्यक्ति, चालक, कन्डक्टर, भान्से मात्रको एकतर्फि सोचबाट यस्तो परिवर्तन गर्न हुदैन । 

१६. बसमा यात्रुको सामान राख्न वा झिक्न (लोड अनलोड गर्न) बसचालक, कन्डक्टरले झन्झट, झर्को, अल्छी वा अटेर गर्न हुदैन । सधै यात्रीलाई हासेर सहयोग गर्नु पर्दछ । 

१७. प्रत्येक दिनको यात्रा शुरु गर्ने क्रममा यात्री पक्ष र आयोजक पक्ष सबैले परमेश्वरको नाम उच्चारण गर्नु पर्दछ यसको व्यवस्था पण्डितजी बाटै हुनेछ । यात्रा शुरु गर्न १५ मिनेट अगाडी बस सहि, दुरुस्त अवस्थामा राख्न उपयुक्त हुन्छ । 

१८. बसमा संस्थाको परिचयपत्र बाहक यात्री बाहेक सैलाई पनि प्रवेश गराउन हुदैन ।

१९. आयोजक पक्षले बसमा यात्री वा आयोजकको सामान सुरक्षित हुनेगरी राख्ने व्यवस्था गर्नु पर्दछ । धुवा, धुलो, घामपानीबाट बचाउ गर्ने व्यवस्था हुनु पर्दछ । चोरी हुने वा हराउने हुनु हदैन । चोरी हुने वा हराउने शंकास्पद क्षेत्रमा प्रवेश गर्दा पूर्व होसियारी अपनाउनु पर्दछ । यात्रीलाई पनि त्यस्ता ठाउको बारेमा अग्रीम जानकारी दिई सचेत गराई राख्नु पर्दछ । 

२०. यात्राको सन्दर्भमा बाटोमा पर्ने पर्यटकको दृटिले वा सामाजिक, धार्मिक दृष्टिले महत्वपूर्ण ठानिएका क्षेत्रको अवलोकन गर्न यात्री समूहले ईच्छा अभिव्यक्त गरेमा सो माग पूरा गर्न नेतृत्वलाई विशेष आग्रह गरिन्छ । 

२१. यात्रालाई पट्यार लाग्दो, निरस, दिक्क लाग्ने हुन नदिन र पछुताउन नपर्ने बनाउन र यसको लागि सतर्कता अपनाउन आयोजक पक्षका नेतालाई विशेष अनुरोध छ ।  

२२. यात्रा गर्दा साथमा लैजान मिल्ने, उपयोग गर्न जान्ने भएमा सुमधुर संगीतका वाद्यवादन सामग्री लान उपयुक्त हुन्छ । यसले यात्रीलाई विशेष रमाईलो उर्जाशील बनाई यात्रालाई रसिक, गुन्जायमान र मनोरञ्जनपूर्ण बनाउन मद्दत गर्दछ । 

२३. बास बसेको ठाउमा पनि भजन, संगीत, बाद्यवादन, गीत आदिले यात्रीलाई रौनक प्रदान गर्ने हुदा यसतर्फ पनि सोच हुनु उपयुक्त हुने देखिदा आयोजक लाई यसको व्यवस्था गर्न विशेष आग्रह गरिन्छ । 

२४. यात्रीहरु रंग रौस मन पराउछन्, सुमधुर संगीत, वाद्यवादन, कर्णप्रिय भजन , गीत सुन्न लालायित हुन्छन् तर गाउन बजाउन, नाच्न र कला भएका व्यक्ति यात्री पक्षमा छैनन् । यसलाई मध्यनजर राख्दै आयोजकलाई अन्य विकल्पको लागि विशेष जानकारी गराईन्छ ।

ग. भोजन तयारी र वितरण शैली

१. यात्रीको भोजन शुद्ध, सफा शाकाहारि नेपाली वा भारतीय शैलीको वा सम्भव भए कहिले काहि महादेशीय शैलीको सादा हुनु पर्दछ ।

२. भोजन ग्रहण गर्ने व्यक्तिहरु प्रायजसो ५६ वर्ष नाघेका, मधुमेयका औषधि नियमित सेवन गर्ने, पाचन शक्ति कमजोर भएका, दृष्टि शक्ति क्षिण भएका व्यक्ति छन् । यिनीहरुको स्वास्थ्य र शारिरीक अवस्था र उमेर ख्याल गरी भोजन तयार गर्नु पर्दछ ।  

३. भोजनमा चिल्लो, पिरो, अमिलो नून कम भएको उपयुक्त मानिन्छ ।

४. भोजनको समय दिनमा १२.०० बजे साँझ ६ बजे उपयुक्त हुन्छ । 

५. भोजनको कच्चा सामग्री भित्री बोक्रा नफलिएको रेसादार अनाज, आँटा, दाल (अनप्रासेस सिरियल्स), हरियो सागपात, ताजा सब्जी उचित हुन्छ । 

६. चिनी, सख्खर, मिश्री वा यस्तै गुलियो पदार्थ राखेर भोजनको परिकार बनाउदा यात्रीको पूर्व सहमती लिएर बनाउन उपयुक्त हुन्छ । यस्ता खानामा पायस (खीर) गुलियो भूजा, रोटि, मालपुवा, मिठाई आदि पर्दछन् । मुख्य भोजन पछिको छोटो मिठो खाना (स्वीटस्/डेजर्ट) बनाउने भए फलफूलको बनाउन प्राथकिता दिईन्छ ।

७. बिहान बेलुकीको भोजनलाई मन पसन्द बनाउन भुजा, रोटि, पापड, अचार/चटनी, दाल, साग सब्जी तथा राम्ररी सफा पानीले धोएको ताजा सलाद (स्वस्थ, स्वच्छ खिरा, मूली, गाजर, गोलभेडा, प्याज, कागती) लाई प्राथमिकता दिईन्छ । 

८. हलुका उमालेर तयार गरेको बन्दा, काउली, ब्रोकाउली, सिमी बोडि पनि उपयुक्त हुनेछन् । दही लस्सी, फलफूललाई पनि भोजनमा समावेस गर्नु उचित हुन्छ । 

९. कृपया बासी सडे गलेका साग सब्जी फलफूलले भान्सामा स्थान पाउने छैनन् । यिनीहरुलाई बर्जित गरिएको छ । 

१०. बिहान उठेर निबृत्त हुने, हातमुख धुने काम सकिएपछि र बेलुकि बास बसेपछि यात्रीहरुको रुची अनुसार १/१ कप कालो चिया वा ीझयल त्भब उपलब्ध गराउन उपयुक्त हुन्छ । बिहानको चिया सित यात्रुहरुले आफ्नो रुची अनुसार द्यचभबपाबकत को रुपमा विस्कुट, पाउरोटि, फलफूल, दूध आप्mनै मन पसन्दका परिकार आफ्नै तर्फबाट व्यवस्था गरी खान सक्ने छन् । 

११. मधुमेय तथा रक्तचापका बिरामी यात्री पनि भएकाले गहूँको आटाबाट तयार गरिएको सादा रोटि धेरैजसोले पसन्द गर्ने भएकोले यस उपर विशेषत भान्सेको ध्यान जानुपर्ने देखिएको छ । रोटि बनाउन समय र बढी श्रम लाग्ने कुरा आयोजक पक्षबाट व्यक्त भएको छ तरपनि रोटिको माग धेरै भएकोले रोटि तयारीको लागि यात्री पक्षबाट भरपुर सहयोग मिल्ने छ । भान्सामा यात्रीले रोटि बनाउन पकाउन, खाना पस्कन हरदम तयार रहने कुरा व्यक्त भएको छ । यात्री पक्षबाट यसमा भरपूर सहयोग हुनेछ । 

१२. भान्साको पचिालन, सफा सुग्गर, कच्चा पदार्थको खरिदी तथा पकाउने कार्यमा यात्रीहरुबाट पनि निगरानी गरिने छ । आवश्यक परेको बेलामा आयोजकलाई सहयोग पनि पालैपाले उपलब्ध गराईने छ । 

१३. भोजनका परिकारहरु दिनहूँ एकैनासको हुनुहुदैन हेराफेरी भैरहनु पर्दछ । 

१४. भोजन गहण गर्दा यात्रुहरुले आफ्नै नीजि भोजन पात्र प्रयोग गर्नेछन् । 

१५. भोजन परिकार भुटेको तारेको भन्दा उसिनेको वफाईएको तर राम्ररी पाक पुगेको नरम गरम हुनुपर्दछ । 

१६. परिकारहरु साह्रो, चपाउन धेरै गाह्रो हुने थोरै पाकेको हुनु हुदैन, राम्ररी पाकको, नरम, चपाउन निल्न सजिलो, पाचन छिटो हुने भोजनलाई ग्राह्यता दिईने छ ।  

१७. भोजन तयार गर्ने व्यक्ति (भान्से) कपाल काटेको, कपाल लामो भए राम्ररी कोरेर तह लगाएको, नङ छोटो गरी सफासित काटेको, निरोगि, हसिलो, सम्भवभएसम्म जाँगरिलो, धेरै परिकार तयार गर्न जान्ने, पाक कलामा पारंगत, स्वस्थ, स्वच्छ खाना बनाउन जान्ने व्यक्ति छनौट गर्नु पर्दछ । 

१८. भोजन तयार गर्नु पूर्व कच्चा खाद्य सामग्री लगायत पकाउने, पस्कने वा  भान्साको काममा प्रयोगमा आउने भाडावर्तनहरु राम्ररी धोएर वा सफा गरेर प्रयोग गर्नु पर्दछ । 

१९. यात्रीहरुले मनपराएको वा फर्मायस गरेको वा मन पसन्द हुने भोजन बनाउन विशेष आग्रह गरिन्छ । 

२०. भोजन बनाउदा यात्रीको सुस्वास्थ्यको समेत ख्याल गरी सोहि माफिकको बनाउनु बुद्धिमानि हुने हुदा यात्रास्थलमा भोजन तयार गर्न अघि यात्रु समूहमा छलफल गराई निर्णय गरी सो अनुसार गर्नु उपयुक्त हुन्छ । 

२१. भोजन ग्रहण गर्नेको संतुष्टिबाट प्रशंसा प्राप्त गर्नु नै योजना तयार गर्नेको सफलता भएकोले यसमा भान्सेको लगनसिलताका साथ धैर्यता, उपयुक्त पाक विद्याको आवश्यकता पर्ने हुदा सोहि अनुसार आयोजकले भान्से छनौट गर्ने र समय समयमा निर्देशन हुनु अति जरुरी छ । 

२२. यात्रीमध्ये कुनै विरामी परेमा वा अन्यकारणबाट बेग्लै भोजनको व्यवस्था गर्न परेमा सम्भव भएसम्म भान्सेले तत्काल त्यस्तो भोजन तयार गरी दिनु पर्नेछ । 

२३. गरम पानी आवश्यक पर्ने यात्रीले भोजन बनेकै समयमा सोहि चुलोबाट गरम पानी लिनुहुने हुदा गरम पानीको जोहो गरी उपलब्ध गराई दिनु पर्नेछ ।  

२४. भान्साको लागि आवश्यक पर्ने भाडाकुडाहरु पकाउने, चलाउने, पस्कने, चक्का, बेल्ना, तावा, पानी तताउने, पानी राख्ने, मौज्दात खाद्य सामग्री राख्ने, काट्ने, तास्ने, कोर्ने, तताउने, बफाउने, उमाल्ने, चुल्हो, ईन्धन, खाने, पीउने, भान्साबाट निस्कने फोहोर फाल्ने कन्टेनर लगायत भान्साका सम्पूर्ण भाडावर्तन एक एक रुजु गरी यात्राको लागि संकलन गरी लैजाने कार्य आयोजककै हुनेछ । 

२५. कच्चा खाद्य सामग्रीको मौज्दात् राख्ने वा तत्काल यथा स्थानमा खरिद गर्ने वा अन्य श्रोतबाट आपूर्ती गर्ने, उपयोग गर्ने सम्बन्धमा यात्रीहरु अनभिज्ञ भएकाले  यसमा आयोजक पक्षबाट यथा समयमानै आवश्यक तादाम्यता मिलाउने वा व्यवस्था हुने यात्री पक्षले विश्वास गरेको छ । 

२६. माथि उल्लेख गरिएका बाहेक अन्य कुनै महत्वपूर्ण कुरा भएमा आयोजक पक्षबाट आवश्यकता अनुसार समयमै संकलन वा ईन्तजाम हुनेछ । कुनैपनि यात्रीलाई आयोजकबाट पूर्ण सेवा प्राप्त हुनेछ, कुनैपनि कमजोरी हुने छैन भन्ने आशा एवं भरोशा गरिएको छ । 

यात्रा व्यवस्थापक समूह, 

 गोरखा

 

ॐ नम: शिवाय ! ! ! ॐ नम: शिवाय ! ! ! ॐ नम: शिवाय ! ! ! ॐ नम: शिवाय ! ! ! ॐ नम: शिवाय ! ! ! ॐ नम: शिवाय ! ! !


No comments:

Post a Comment