उ भित्रको कथा
बाहिरी आँखाले झट्ट हेर्दा देखिने उ एउटा सग्लो मानिस हो पैतालादेखि सिरसम्म नियालेर हेर्दा उसको शरीर एउटा निखनो र सर्लक्क परेको, अधवैंसे खाइलाग्दो जीउडाल र व्यक्तित्व भएको मानिस देखिन्छ । पण्डितले जुराइ दिएका उसको न्वारानको नाम नारायण बहादुर हो तर उसलाई साथीभाइले नारने भनेर बोलाउँछन् र गाउँ घरमा पनि उ नारनेको नामले नै पुकारिन्छ । दुइवटा दिदीहरू पछि जन्मेको नारायण बहादुर बाबु आमाको लाड प्यारमा हुर्कियो फक्रियो । पाँच वर्षको भएपछि बाबुले गाउँको नजिकैको स्कूलमा भर्ना गरिदिए । घरवाट स्कूल जान १५।२० मिनेट पैदल हिड्नु पर्दथ्यो । स्कूलमा भर्ना भएपछि गाउँका दम्तरी साथीभाइका साथ रमाएर स्कूल जान थाल्यो । पढाइमा मध्यम स्तरकै थियो । दिदीहरूको विहे भैसकेको छ । घरमा बाबु आमा र उ तीनज मात्र छन् । नारनेको बाउ उजीरमान गाउँका गरिब परिवार मध्येको एक थियो । आफ्नो जग्गा जमीन खेती गरेर मुश्किलले ६।८ महिनालाई खान पुग्थ्यो बाँकी अवधि ज्याला मजुरी गरेर खानु पर्दथ्यो । वस्तु भाउको नाममा एउटा थोरे भैंसी, एक हल बुढा गोरू र गोडा चारेक बाख्रा थिए । गाउँ घरको बसाई ज्याला मजुरी पनि नियमित मिल्दैनथ्यो । खेतीपातीको सिजनमा भ्याइनभ्याई मारामार हुन्थ्यो । नारायण बहादुर बढ्दै ठूलो हुदै गयो । पढाइमा ७।८ कक्षामा पुग्दा लाठे भैसकेको थियो । छुट्टिको दिनमा अर्काको खेत जोत्ने लगायतका काममा ज्याला मजुरी गरेर आफ्नो पढाई खर्च आफैं जुटाउदै पढ्दै थियो । नौ कक्षामा पढ्दा देखि नै एउटै कक्षामा पढ्ने पल्लो गाउँकी एउटी जात भात मिल्ने कटीसंग उसको बसउठ हुन थालिसकेको थियो । कक्षा १० मा पुग्दा ती दुई बिचको प्रेमको डोरी बाटिदै कसिलो हुदै गयो । एउटै मात्र छोराको बिहे गरेर बुहारी भिरत्र्याउने उजिरमान र उसकी बुढीको. चाहना छिप्पिदै थियो ।नारने र उसकी प्रेमिकाले यस वर्ष एस.एल.सी. परीक्षा दिनेवला थिए । नारनेका बाबु आमाले पनि यस वर्ष परीक्षा सकेपछि छोराको बिहे गर्न केटीको वारेमा इष्टमित्रहरूसंग कुरा चलाइरहेका थिए । नारनेले परीक्षा सकेकै दिन बाबु आमाले उसको बिहे गर्ने प्रस्ताव राखे । बिहे गर्न पाए छोरा बुहारी दुवैले घरको काम पनि सघाउने हुदा अधियाँ ठेक्कामा भएपनि खेती पातीको दायरा बढाउन र बाख्रा कुखुरा, गाई, भैसी पालेर पनि आमदानी बढाउन सकिने उनिहरूको विचार छोरालाई राखे । नारनेलाई पनि बाबु आमालाई कुरा राख्ने उपयुक्त अवसर मिल्यो । नारनेले आपूmसंगै पढेकी पल्लो गाउँकी केटीसंग आफ्नो प्रेम भएको कुरा बतायो । केटीको परिवारलाई नारनेका बाबु आमाले राम्रोसंग चिनेका थिए । जात भात मिल्ने र आर्थिक हैसियत पनि आपूm समान नै जस्तो भएकोले बाबु आमा पनि खुशी भए । रातीमा बुढाबुढीले के के कुरा सोचेर सपना पनि देखे । घरमा बुहारी भित्र्याएको, नाती नातिनाहरूले घर रमाइलो भएको जस्ता सपनाहरू बुन्दै अबेर रातीसम्म बुढाबुढी गन्थन गर्दै निधाएका थिए । भोलिपल्ट सबेरै उठेर उजिरमान पल्लो गाउँतिर लाग्यो । केटीको बाबु आमालाई भेटेर छोराको प्रेम प्रस्ताव वारे कुरा राख्यो । चिनजानकै साथीभाईलाई इष्टमित्र बनाउन पाउने र छोरीले पनि खुशीले मञ्जुरी दिएकाले दुवैका परिवारका अविभावक स्तरबाट विहेको कुराकानी छिनियो ।
उजिरमानले आफ्नो गच्छे अनुसार धुमधामसंग छोराको विहे गरेर बुहारी भित्र्यायो र गाउलेलाई भोज पनि खुवायो । ज्याला मजुरी गरेर भए पनि सानो परिवार खुशीका साथ बस्दै थिए । यसै विचमा एस.एल.सी. को रिजल्ट भयो । नतिजा आयो । नारनेलाई दुइटा विषय लाग्यो तर उसकी श्रीमती भने पास भइछ । नतिजा हेरेर नारने पानी पानी भयो । २।४ दिन उसले निरास भएरै वितायो कसैसित राम्रसंग बोल्दा पनि बोलेन । उसकी स्वास्नीलाई भने कलेज पढ्ने जोसले उचाल्यो । दुवै जनाले सल्लाह गरे । सहराँ जाने र आपूmलाई लागेका विषयमा ट्यूशन पढेर परीक्षा दिने र श्रीमतीलाई कलेजमा भर्ना गर्ने । दैनिक गुजराको लागि पूmटपाथ वा कतै सडक पेटीमा भने पनि सानोतिनो तरकारी फलपूmलको व्यापार गर्ने । त्यतिको लागि डोको पनि ठूलो चाहिदैन । आफ्नो निर्णय बाबुलाई सुनायो । बाबुले घरमा भएको एउटा खशी पाठो बेच्यो र सरसापट जोरजाम गरेर १८।२० हजार रूपैयाँ जम्मा ग¥यो र गहभरी आँशु झार्दै गरूङ्गो मनले छोरा बुहारीलाई सहरमा जान विदा ग¥यो । नारनेकी आमाको मन थामिएन । आँशु पुच्दै छोरा बुहारीको निधारमा रातो टिका लगाई दिई । मुटुमा गाँठो परेर आयो, केही शब्द उच्चारण गर्नै सकिन । बाबु आमाको गोडामा ढोग दिएर, स्वास्नीलाई अगाडि लगाएर पोका पोन्तुराका २।२ वटा झोला बोकेर नारने बाटो लाग्यो । नारनेको स्वास्नीको दिदीको छोरी र ज्वाईं काठमाण्डौको लगन टोलमा डेरा गरेर बसेका थिए । नारनेकी बुढीले दिदीको छोरीलाई मोबाइलमा फोन गरेर आपूmहरू काठमाण्डौ आउदै गरेकोले एउटा कोठा खोजिदिन आग्रह गरी र कोठा नपाएसम्म उसैको कोठामा बस्ने गरी कुरा मिलाई ।
बेलुकी साँझमा डेरामा पुगे । दिदीको छोरी र ज्वार्इंसंग कुराकानी भयो । दिदीको ज्वाई एउटा कम्पनीको गाडि चलाउने ड्राइभर थियो । उनीहरूसित पनि पढाइ चालु गर्ने र सानो तिनो व्यवशाय गर्ने सल्लाह गरे । भोलिपल्टदेखि २।४ दिन लगाएर विष्णुमती किनार डल्लुमा एउटा कोठा खोजे । घरवाट ल्याएको पैसाले एउटा पुरानो ठेला किनेर त्यसमा तरकारी फलपूmल राखेर दुवैजना भएर घरघरमा, टोलटोलमा ठेलामा तरकारी, फलपूmल पु¥याउन लागे । नारने विहान सबेरै उठेर ठेला लिएर कालिमाटी जान्थ्यो । ताजा तरकारी, फलपूmल लिएर टोलटोलमा घुमाएर विक्रि गर्दै आउथ्यो । दिउसो ११ बजेपछि डेरामा जान्थ्यो । उसकी स्वास्नीले खाना बनाइ राखेकी हुन्थी । खाना खाएर दुई चार घण्टा आराम गथ्र्यो र बाँकी तरकारी, फलपूmलको ठेला गुडाएर दुवैजना बेलुकीको लागि तरकारी विक्रि गर्न निस्कन्थे । राती नौबजेपछि कोठामा आउथे । दिउसो विक्रि गरेर बाँकी रहेको र सड्न अँटेको तरकारी र भात पकाएर खान्थे । दिनभरीको विक्रिबाट भएको आमदानीको हिसाब किताब गर्थे । कसै कसैले त पैसा भोली दिउँला है भनेर उधारो पनि लान्थे । घरखर्च छुट्याएर बाँकी पैसा भोली विहानको लागि तरकारी किन्न जान ठिक्क पारेर सुत्थे । यसरी नै सन्तोषपूर्वक उनीहरूको दैनिकी सहर भित्र चलिरहेको थियो । बेलुकी कोठामा फर्के पछि अबेर भए पनि नारनेले बाबु आमालाई फोन गरेर आफ्नो दैनिकी सुनाउथ्यो । उता बाबु आमा पनि छोरा बुहारीले आफ्नै खुट्टामा उभिएर काठमाण्डौमा बन्द व्यापार शुरू गरेको समाचारले ढुक्क नै थिए । खुशी नै थिए ।
यसरी नै समय बित्तै थियो । कलेजले भर्ना माग्यो । श्रीमती विहानको कलेज पढ्न ११ कक्षामा भर्ना भई । विहानै उठेर कलेज जान्थी । नारने तरकारी लिन ठेला घिच्याउदै कालिमाटी तरकारी बजारमा पुग्थ्यो । दिउसो ११ बजेतिर दुवैजना डेरामा आउथे, खाना पकाएर खान्थे, दिउसो एकछिन आराम गर्थे, अपरान्ह पछि फेरी ठेला धकेल्ने काम शुरू हुन्थ्यो । यसरी नै उनीहरूको करिब दुई वर्षको अवधि विति सकेको थियो । उता नारनेलाई भने ठेला व्यवशायबाट दैनिकी खाइमेलो र डेरा बहाल तिर्नदेखि माथि पर्याप्त पैसा जम्मा गर्न सकेको थिएन । उसंग पढेका उसका धेरै साथीहरू टाठाबाठाहरू कलेजमा उच्च शिक्षा लिदै थिए भने नारने जस्ताहरू चाहिं घरमा पैतृक सम्पत्ति जग्गा जमीन बेचेरै भए पनि बैदेशिक रोजगारमा जाने लहर चलेको थियो । म्यानपावरको अफिसहरूमा उ जस्ता ठिटाहरू हुलका हुल विदेश जान आउने गरेका र उसका पनि २।४ जना साथीभाई खाडी, मलेशिया तिर गैसकेको देख्दा नारनेलाई कम डाहा भएको थिएन । उसले पनि सहकारीमा खाता खोलेर ७५।८० हजार रूपैयाँ जम्मा गरिसकेको थियो । सहकारीमा खाता खोलेर विगत डेढ बर्षदेखि दैनिक घटीमा दुई सये रूपैयाँ का दरले जम्मा गर्दै आएको थियो । त्यसैबाट कहिलेकाहिं बाबु आमालाई चाडपर्व मनाउन र घर खर्च, मरमसला, चुरोट, चियापत्ती, चिनी, लत्ता कपडा र सानो तिनो रकम पनि पठाउदै आएको थियो । विदेश गएका गाउँका उ सरहका, २।४ वर्ष जेठा मानिसहरू विदेशमा रोजगारी गरेर घर फर्कदा जालीले बेरिएका सुटकेशहरू लिएर एयरपोर्टबाट दैनिक आउने गरेकाहरूलाई उसले हरदम भेटीरहन्थ्यो । मानिसको मन न हो । उसको पनि यहाँ के थियो र ? एउटा ठेला गाढा र स्वास्नी न हो । ठेलागाढा बेचिदिन्छु, स्वास्नीलाई मासिक खर्च पुग्ने गरी पठाइदिन पनि त सकिन्छ होला नि ? उसको मनमा यस्ता कुराहरूले डेरा जमाउन थालेको थियो ।
त्यसै बखत उसको जीवनमा अर्को आयाम थपियो । उसकी स्वास्नीले १२ कक्षाको पढाई पूरा गर्नै लागेकी थिई उसले एउटा घुतुमुने छोरो जन्माई । दुवैजना हर्षले गद्गद् भए । सुत्केरीलाई खान्की खुराकी र बच्चाको स्याहार हेर विचार गर्न त कठीनै हुने भयो । उता बाबु आमाले सुत्केरी बुहारी, नातीलाई घर पठाइदिन आग्रह गर्न थाले । उसको पनि मन फेरीयो । छोरो र छोराकी आमालाई घरमा बाबु आमाको जिम्मा लगाउने र आपूm चाहिं साउदी तिर छाँटिने । नभन्दै उसले त्यसै ग¥यो । स्वास्नी र छोरालाई घरमा गेर बाबु आमाको जिम्मा लगाया र जिम्मेवारबाट हलुका महसुस ग¥यो । गाउको उसको सानो छँदादेखि खेल्ने र मिल्ने साथी गुमाने साउदी अरबमा काम गरेर पाँच वर्षमा घर आउँदा धेरै पैसा, मालसामान ल्याएको र सदरमुकाममा घडेरी किनेको गफ लगाएको थियो । गुमानेका कुरा सम्झेर पनि नारनेलाई बैदेशिक रोजगारीमा जान धेरै प्रेरणा मलेको थियो ।
नारनेले ठेलामा तरकारी बेचेर सहकारीमा जम्मा गरेको पैसाबाट अब उ पनि बैदेशिक रोजगारीमा जाने चक्करमा छ । काठमाडौं फर्केको भोलीपल्टै एउटा म्यानपावर कम्पनीको अफिसमा गयो र त्यहाँ मेनेजरलाई आफ्नो कुरा राख्यो । मेनेजर खुशी भए । उसको शीप, तालीमको वारेमा कुनै कामको शिेषज्ञता छ कि ? भनेर पनि सोधे । तर उसको विशेषज्ञता विदेशमा कामलाग्ने खालको केहि पनि थिएन । त्यहि बिचमा साउदी अरेवियाको एउटा फाराममा काम गर्ने कामदारको लागि मग आएको कुरा बताएर मैनेजरले उसको मनको कुरालाई क्यास गरिहाले । नगरून् पनि किन र ? मैनेजरले नारने जस्ता हजारौं युवकको मुटु छामेर पोख्त भैसकेका थिए । दुई शब्द बोल्दैमा मान्छेको विचार कति गाँठवाला छ भनेर पत्ता लगाइ सक्थे । साउदी जान भिसा, टिकट, तालीम, दरखास्त सबै गरेर एकलाख पचास हजार रूपैयाँ लाग्ने कुरा बताए । नारनेले एकछिन मनमनै विचार ग¥यो र स्वीकृती सूचक मुण्टो हल्लायो । उसित त्यतिलाई पुग्ने पैसा अलि थिएन । दुई चार ठाउँमा साथीभाइलाई गुहा¥यो तर कसैले पत्याएनन् । मेनेजरसंग कुरा भएको एक हप्ता पछि उ एकलाख चालिस हजार रूपैयाँ लिएर मेनपावरको मेनेजरलाई भेट गर्न पुग्यो र आपूmसित त्यतिभन्दा बढी पैसा नभएको कुरा बतायो । म्यानेजरले पहिलो महिनाको स्यालरीबाट पठाइदिने गरी कागज गराएर पैसा र पासपोर्ट सहित मागेर राखे र उसलाई भिसाको प्रक्रियाको लागि दुई दिनपछि आउनु भनेर फिर्ता पठाए ।
नारने विदेशको सपनामा तानावाना बुन्दै बाबु आमा र स्वास्नीसंग विदा हुन घर गयो र आपूm वैदेशिक रोजगारीमा साउदी अरब जान मेनपावरलाई पैसा र पासपोर्ट बुझाई सकेको र भिसाको लागि दरखास्त समेत दिई सकेकोले अब केही दिनमा भिसा आउने र आपूm विदेश उड्ने कुरा बतायो । उसको कुरा सुनेर बाबु आमा हर्ष न विस्मातमा भए, उसकी स्वास्नी भने नरमाइलो मान्दै मनमा अनेक कुरा खेलाउन थाली । विदेशमा कस्तो हुने हो ? कस्तो काम गर्नु पर्ने हो ? अर्कै केटीसित पो लाग्ने हो कि ? के विश्वास अथवा केही दुर्घटना भएर बाकसमा प्याक भएर पो आउने हो कि ? यस्तै यस्तै तर्कनाले उसलाई रातीमा निद्रा परेन । मेनपावरबाट आज उसलाई टेलिफोन आयो । तपाईको भिसा लागेर आयो । अबको एक हप्तामा उडिसक्नु पर्ने हुन्छ । तपाई चाँडो मेनपावरको अफिसमा सम्पर्क राख्न आउनु होला ।
आज नारने काठमाडौं फर्किदै छ । घर, परिवार, बाबु आमा, सानो अवोध छोरोलाई छाडेर विरानो मुलुकमा जानुपर्दा नरमाइलो लाग्नु स्वभाविकै हो । विदा हुने वेलामा आमाले निधारमा रातो टिका लगाई दइन्, बाबुले गलामा गोदावरी पूmल र दूबो मिलाएर बनाएको माला गलाई दिए, भावुक हुदै आँशुका दाना गालाबाट बगिरहेको देखिन्थ्यो । नारनेले एकटक लगाएर स्वास्नीलाई हे¥यो, अंगालोमा लपेट्यो र म चाँडै आउँछु भनेर सान्त्वना दिएर हातले पिठ्यूमा थपथप्यायो । छोरालाई काखमा लिएर सात पटक म्वाई खायो र स्वास्नीको काखमा राखि दिएर झोला टिपेर हिड्यो । मुटुमा गाँठो परेर आयो बोल्न सकेन । उ हिंडे पछि घरका सबै जना भाव विभोर भए कसैको पनि बोली फुटेन । एकछिन सन्नाटा छायो ।
नारन बहादुरले आज विहानै झोला प्याक गरेर आपूm बस्दै आएको कोठा खालि गरेको छ । त्यहाँ भएका उसका सामानहरू पहिले काठमाडौं आउदा बसेको उसको स्वास्नीको दिदीको छोरीको कोठा लगनमा लगेर राख्यो । आफ्नो लगाउने लुगा तथा दैनिक प्रयोगमा आउने नुहाउने, दारी फाल्ने लगायतका सामान एउटा सानो पछाडि भिर्ने झोलामा राख्यो र झोला बोकेर मेन पावर अफिसमा पुग्यो । त्यहाँ उ जस्ता थुप्रै मान्छेहरू उ भन्दा अगाडि नै जम्मा भैसकेका थिए । सबैको टाउकोमा मेनपावरको नाम लेखिएको क्याप थियो । नारनेले पनि अफिसको प्रशासनमा आफ्नो नाम लेखायो र एउटा क्याप लिएर लगायो । दिनको १२ बजिसकेको थियो ट्राभल एजेन्सिको एउटा ठूलो बस आयो र सबैलाई लिएर एयरपोर्ट तर्फ लाग्यो । बसमा चढेपछि सबैले आ—आफ्नो घर परिवारमा फोन गर्न थाले । नारनेले पनि गोजिबाट मोवाइल निकालेर घरमा फोन ग¥यो र बाबु आमा र स्वास्नीसंग पालै पालो कुरा ग¥यो । आज आपूm प्लेन चड्न एयरपोर्ट तर्फ जान लागेको कुरा बतायो ।
कतार एयरवेजको जेट विमानले काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई छोडेर काठमाडौको आकामा एक फन्को लगायो र निश्चित उचाई लियो अनि गन्तव्य तर्फ सोझियो । विमानमा असी प्रतिशत यात्रु बैदेशिक रोजगारीमा जान लागेका नेपालीहरू नै थिए । सबैको सिरमा आ—आफ्नो मेन पावरको नाम उल्लेख गरेको राता, निला, हरिया क्याप थिए । मानौं एउटै यूनिफर्मका सिपाहीहरू कतै लडाईं जित्न जादैछन् । कतार एयरवेजमा अधिकांश एयर होस्टेजहरू नेपाली दिदी बहिनीहरूनै थिए । प्लेनभरी गएका त्यत्रा यात्रुहरूमध्ये विदेशी खोज्न सिटहरू नियाल्नै पर्ने थियो । ठूलो एयर वसमा आकाशमा उड्न पाउँदाको उनीहरूको क्षण रोमाञ्चक थियो । नारनेले पनि अरूले झै मोवाइलबाट सेल्फीहरू खिच्यो । प्लेनमा दिएका प्याकिङ खानाहरू र प्लेन भित्रका एयर होस्टेजका गतिविधि, यात्रुहरूको चहलपहल देखेर नारने मनमनै अर्कै संसारमा रमण गरिरहेको थियो । यात्रुहरू आफ्नै धुनमा के के सोच्दै थिए पाइलटको एनाउन्समेण्ट भयो “हामी यती मिटरको उचाइमा उडिरहेका छौं अबको तीस मिनेटमा रियाद् अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छौं । यात्रुहरू सबैले आ—आफ्नो सिटबेल्ट राम्रोसित लगाउनु होला” । यात्रुहरूको सोच मग्नता भंग भयो । सबै जनाले सतर्क हुँदै आ—आफ्नो सिटबेल्ट खोजेर बाँध्न लागे । प्लेनभरी यात्रुहरू खचाखच भएता पनि सन्नाटा छाएको छ । सबैजना कौतुहलताको परिदृश्यमा छन् ।
प्लेन रियाद् अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । पार्किङ एरियामा पुगेर गेटको मुखमा गएर रोकियो । यात्रुहरू क्रमैले बाहिर निस्किए । इमिग्रेशन, व्यागेज क्लेम, कस्टम आदि प्रक्रिया पूरा गरेर बाहिर निस्कदै गए । उ र उसित संगै गएका साथीहरू पनि संगै बाहिर निस्किए । उनीहरूको लागि तोकिएको कम्पनीबाट रिसिभ गर्न आएका मानिसहरूसंग सम्पर्क भयो । सबैलाई एउटा बसमा राखेर लगियो ।
एउटा ठूलो हलमा लगेर बस्ने ठाउँ देखाइयो । राती अबेर नै भैसकेको थियो । खाना अलि पहिलेनै प्लेनमा खाएका थिए । त्यति धेरै भोक भने लागेको थिएन । बस्न देखाइएको हलमा ८।१० वटा सिलिड फ्यानहरू आफ्नु वेगमा तातो हावा फालिरहेका थिए । आफ्नु गाउँमा हिमालको चिसो हावा, खोलाको चिसो पानी र हरियाली जंगलमा रमाएको नारन बहादुर कर्मको खेल र अरूको देखासिकीमा लागेर अरबको खाडिमा तातो हावा खान लाखौं रूपैयाँ खर्च गरेर आएको छ । उसको भविष्य बनाउने सपना बुनेर आएको छ तर भविष्य भने कस्तो हुने हो कसलाई के थाहा ? त्यहि हलमा नारनेले पनि रात बितायो । भोलिपल्ट विहान फर्मका म्यानेजर (मालिक) को आगमन भयो । उनीहरूलाई खटाउने ठाउँ र कामको बारेमा ब्रिफिङ भयो । उनीहरूले पाउने सेवा र सुविधाको बारेमा ब्रिफिङ भयो । उनीहरू सबैका पासपोर्ट मागियो । सबैले मुण्टो हल्लाएर मौन स्वीकृति जनाए र आ—आफ्नो पासपोर्ट बुझाए । विहानको ब्रेकफास्टमा पाउराटी र चिया दिइयो । त्यसपछि उनीहरूलाई त्यहाँबाट गाडिमा हालेर २।३ जनाको समूहमा विभिन्न ठाउमा लगियो । कसैलाई उटको बगालमा, कसैलाई घोडाको वगालमा त कसैलाई भेडाको बगालमा पु¥याइयो भने कतिपयलाई खजुरको फार्ममा पु¥याइयो । खाने वस्ने कम्पनीकै भनेर भिसा प्राप्त गरेका थिए । खाने बस्ने ठाउ त सबैलाई देखाइयो तर सोचेभन्दा आकाश जमीन फरक अवस्थाको । म ताक्छु मुडो बञ्चरो ताक्छ घुंडो भने झैं भयो । नारने र अरू दुई जना साथी उटको बगालमा पुगे । दिनचर्या शुरू भयो रेगिस्तानमा उट चराउने । रेगिस्तानका उटका गोठहरूमा खास गरेर दक्षिण पूर्व एशियाका मानिसहरू काम गरेका पाइन्छन् । नेपाल, भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्स लगायतका मुलुकबाट राम्रो रोजगारीको आशामा लाखौं रूपैयाँ दलालहरूलाई बुझाएर त्यहाँ पुगेका भेटिन्छन् । उनीहरू चाहेर पनि भिसाको समयावधि पुरा नगरेसम्म त्यहाँबाट फर्कन सक्दैनन् । त्यहाँका साहूले दलाल मार्फत उनीहरूलाई निश्चित अवधिका लागि किनेका हुन्छन् । बँधुवा मजदुर जस्तो भएर बस्न वाध्य हुन्छन् । रेगिस्तानका गोठहरूमा टेलिफोनको टावरले पनि धेरै ठाउमा काम गर्दैन । उनीहरू घर परिवारको नियमित सम्पर्कबाट विच्छेद भएर बस्नु परेको हुन्छ । नारने बसेको ठाउमा पनि त्यस्तै छ । टेलिफोन सम्पर्क गर्न हप्ता पन्द्र दिनमा साथीहरू पालो मिलाएर अर्को साथीकोमा गएर कुरा गर्नु पर्छ । उनीहरूलाई खाने राशन चाहिं साहूले फर्ममा नै समय समयमा ल्याई दिन्छन् । त्यहि फर्मको गोठमा बस्ने, दिनमा उट चराउने अनी पकाएर खाने । उनीहरूको दैनिकी यसरी नै चलिरहेको हुन्छ ।
नारने २।३ महिनामा एक पटक साहूको घरमा गएर आफ्नो स्यालरी बुझ्ने र घरमा बाबु आमा र श्रीमतीलाई पठाउने गर्दछ । यस्तै हिसाबले विगत दुई वर्षदेखि अरवको रेगिस्तामा नारनेले दिन गनिरहेको छ । घरमा उसको छोर पनि बढ्दै गएको छ । अब छोरालाई पढाउनु पर्छ । आपूmले धेरै पढ्न नसकेर यो अवस्थामा दिन गुजार्नु परेको छ । छोराले त यस्तो दुःख नपाओस् भन्ने उसको बिचार आएको छ । उता घरवाट पनि स्वास्नीले छोरालाई नर्सरी केजिमा भर्ना गर्ने बेला भयो । छोरालाई काठमाडौंमा नै राम्रो बोडिङमा भर्ना गर्न पर्छ भनेर टेलिफोबाट कुरा राख्न थालेकी छ । उसले दिदीको छोरीसत पनि आपूm छोरो पढाउन काठमाडौं आउने बिचार गरेको कुरा व्यक्त गरि सकेकी छ । नारनेले स्वास्नीको कुरा काट्न सक्दैन । काठमाडौमा छोरा पढाउन बस्नको लागि खर्च पठाउने सहमती दिन्छ । सासु ससुरालाई पनि उसले छोरोलाई राम्रो बोर्डिङ स्कूलमा पढाउन आपूm काठमाडौं जाने कुरा बताउँछे । सासु ससुरा बच्चा नातीलाई आपूmबाट टाढा पठाउन चाहदैनन् । गाउँकै स्कूलमा पढाउने कुरा गर्छन् तर बुहारीले मान्दिन । एकदिन बेलुकी उसले आफु भोलि बिहान छोरा लिएर काठमाडौं जाने कुरा सुनाउछे । सासु ससुराको मन्जुरी नभए पनि छोरो च्यापेर उ काठमाडौं जान्छे । दिदिको छोरीले आपूm बसेको नजिकैको घरमा एउटा कोठा बहालमा खोजि दिएकी पनि छ ।
उ काठमाडौं गएर १।२ दिन त्यतै बस्छे । डेराको लागि चाहिने सामानहरू खरिद गरी र आफ्नै कोठामा सरी । नारनेले पचास हजार रूपैयाँ वेष्ट यूनियन मनि ट्रान्सफरबाट पठाएको थियो । त्यसबाट उसले दुई महिनाको भाडा तिरी, छोरो र आपूmलाई २।२ जोर लुगा हाली र डेरामा चाहिने एकसरो सामानको जोहो गरी । नारनेले नेपाली रूपैयाँमा सटही गर्दा मासिक ३२।३४ हजार नेपाली रूपैयाँ वरावरको तनखा पाउँछ । त्यसमध्ये २०।२५ हजार त स्वास्नी छोराको लागि सहरमा पठाउछ । वर्षमा १।२ पटक चाडपर्व मान्न र लुगा कपडा किन्न बाबु आमालाई ५।१० हजार गाउँमा पनि पठाउँछ । बाबु आमा अधबैंसे नै छन् । मौसम अनुसार आफ्नो खेती पाती र ज्याला मजुरी गर्न पनि भ्याइरहेका छन् । तर छोरा र नाती पनि घरमा नहुदा उनीहरू निराश र दुःखि छन् । बुढाबुढी यस्तै गन्थन गरेर रात अबेरसम्म सुत्दैनन् ।
नारनेको छोरो अवत पाँच वर्ष पूरा हुन लाग्यो । यस पटक कक्षा दुईमा जाने पालो छ । उसकी आमाले उसलाई सधैं विहान खाना खुवाएर, ड्रेस लगाइदिएर, टिफिनको बट्टा व्यागमा राखेर स्कूल पु¥याउँछे र बेलुकी स्कूल छुट्टि भएपछि लिन जान्छे । लोग्नेले पठाई दिएको स्मार्ट फोन छ । उ बेलाबखत डाटा खोलेर फेसबुक, मेसन्जर, यूवट्यूव चलाउँछे । उसले फेसबुकमा धेरै संगी, साथी र इष्टमित्रहरूलाई पनि जोडेकी छे । दिउसको समय अधिकांश फुर्सतै हुन्छ । मसेन्जरबाट कुरा गर्छे । फेसबुक हेर्दै आफ्नो स्टाटस लेख्छे । अरूको स्टाटसमा केमेण्ट लेख्छे, लाइक गर्छे । उसले १२ कक्षा पढेकी छ तर पास भने गरेकी छैन, दुइवटा ब्याकपेपर छ । बेला बखत फाराम भरेर परीक्षा पनि दिन्छे तर पढाई शुरू गरेको सात वर्ष भयो तर पनि पास गर्न भने सकेकी छैन ।
उसको डेराको वगलको घरमा एउटा गधा पच्चिसे उमेरको केटा वस्छ । उ बिहानमा एउटा झोला भिरेर क्याम्पस पढ्न भनेर जान्छ तर कता जान्छ, के गर्छ थाहा छैन । दिउसो पनि त्यही झोला भिरेर अफिस जान भनेर हिड्छ । कता हो अफिस त्यो पनि थाहा छैन, उसको घर कता हो त्यो पनि थाहा छैन उसलाई । यसो बाटोमा कोही भेट भयो भने पहिले उसैले बोलाउँछ, आकाश पातालको कुरा गर्छ, कुरा पनि कति जानेको, कसैसंग दुइ चार कुरा गर्न पायो भने मान्छेलाई मोहीत पार्ने कला छ उ सित । सायद उ पत्रकार हुन पनि सक्छ, भनेर नारनेकी स्वास्नीले अनुमान पनि लगाएकी छ । उसको एउटा पुरानो स्कूटर छ । उ सधै स्कुटर चढेर बाहिर निस्कन्छ । नारनेकी स्वास्नीले धेरै दिनदेखि उसको गतिविधि झ्यालबाट नियाली रहेकी छ । उसलाई यस्तो पूmर्तिलो मानिस खुब मन पर्छ । यस्ता मान्छे अरूको लागि सहयोग गर्न कहिल्यै पछि पर्दैनन् भन्ने उसको बुझाई पनि छ । कहिलेकाही यी दुई जनाको आँखा पनि जुध्न पुग्छ, तर आँखा जुध्ने वत्तिकै नारनेकी स्वास्नीले मुण्टो अर्कोतिर फर्काइहाल्छे । तीन चार महिना भयो बेलाबखत यसरी देखादेख र आँखा जुधाजुध हुने गरेको । उसको डेरामा कहिलेकाहिं ४।५ जना उसका साथीहरू पनि आउँछन्, त्यहिं खानपिन गर्छन् । कहिले गफगाफ मात्र गर्छन् । कहिलेकाहिं त नाच्ने गाउने पनि गर्छन् र त्यहि सुत्छन् पनि । तिनीहरू धेरैजसो राजनीतिक गफ गर्छन् । कसंैकसैले जागिरका गफ पनि निकाल्छन् । कहिले केटीका कुरा गर्छन्, कहिले पत्रपत्रिकाका कुरा गर्छन् । उसको झ्याल प्राय खुलै हुन्छ । भित्रपट्टी एउटा बुट्टे पर्दा झुण्डिएको छ । ती केटाहरूको अनुहार नदेखिए पनि बोलेको, कुरा गरेको प्रष्टै सुनिन्छ । नारनेकी स्वास्नी कहिलेकाहिं झ्यालमा टोलाएर कुरा सुनरहेकी हुन्छे । उसको छोराले पनि कहिलेकाहिं के हेरेको ममी त्यसरी भनेर प्रश्न गर्छ । केटाहरूका रोमाञ्चक गफले उसको ध्यान त्यतैतिर खिचिएको हुन्छ । त्यो केटाको कोठामा यस्तो जमघट महिनामा १।२ पटक भैरहन्छ ।
एकदिन उ विहानै छोरा नउठ्दै पसलबाट दूध, तरकारी, पाउराटी लिएर आउदै थिई ढोकानीर पुग्नै लाग्दा त्यहि केटोसंग जम्काभेट भयो । केटोले सोधीहाल्यो “चिया पिउनु भयो” उसले लजाउँदै जवाफ दिई “छुइन दाई भर्खरै दूध लिएर आउदै छु” । केटाले पुन प्रश्न ग¥यो “तपाई यहिं माथिको कोठामा बस्ने होइन ?” उसले पुन लजाउँद “ हो दाजु ! अहिले बाबु उठ्ने बेला भयो पछि कुरा गरौंला है” भनेर मूल ढोकाभित्र पसि । त्यो केटाले धेरै दिनदेखि पल्लो घरको झ्यालमा देखिराखेको केटीसंग आज बोलि मिसिएकोमा धेरै कुराहरू सोच्यो । मनमनै तर्क कुतर्कहरू ग¥यो र अन्त्यमा मनमनै आफैलाई संझायो । उ त विवाहित महिला अरू कसैकी स्वास्नी र बच्चाको आमा हो मैले उसमाथि अन्यथा सोच्न हुदैन । पाप लाग्छ भन्दै आफ्नो ध्यान अन्तै मोड्यो । उता नारनेकी स्वास्नी हतार हतार भरेङ उक्लेर कोठामा पुगी, छोरो सुतीरहेको थियो । दूध तताई, भात, तरकारी पकाई र छोरोलाई उठाई, दिशा, पिसाप गराएर हात, मुख धोई दिएर खाना खुवाई । आपूmले पनि खाना खाई । छोरालाई स्कूलको ड्रेस लगाई दिई, ब्यागमा किताब, कापी, टिफिन बट्टा र एउटा सानो पानीको बोत्तल समेत राखि । आज टिफिनमा एउटा केक र एउटा कोसो केरा राखि दिएकी छे । अब छोरालई डो¥याएर स्कूल पु¥याउंछे र फर्केर कोठामा आएपछि जुठो भांडो गर्ने, लुगा कपडा धुने, एकछिन आराम गर्ने, मोवाइल हेर्ने, फेसबुक हेरेर स्टाटस लेख्ने, लाइक गर्ने तथा म्यासेन्जरबाट माइतमा बाबु आमा, दिदी बहिनी र साथीहरूसंग कुरा गर्ने, यस्तै उस्तैमा उसको दैनिकी वितेको हुन्छ । हप्ता पन्द्र दिमा एकपटक लोग्नेसित मेसेन्जरमा कुरा हुन्छ ।
घरमा सासु सुरालाई उसले अक्सर फोन गर्दिन तर नातीका मायाँले बुढाबुढी दिनहू जस्तो बेलुकी फोन गरिरहन्छन् । एक दिन विहान ११ बजे तिरको कुरा हो उसले छोरालाई स्कूलमा छोडेर कोठामा फर्कदै थिई बाटोमा त्यहि पल्लो घरमा बस्ने केटा स्कूटर स्टार्ट गरेर अगाडि बढ्दै थियो । नारनेकी स्वास्नीसंग भेट भयो । केटाले स्कूटर रोकेर सोधिहाल्यो “खाना खानु भयो” उसले अगाडि भन्यो “ वाई द वे म नरेश, मेरो घर पूर्व उदयपुर, हजुरको शुभ नाम के होला, घर चाहिं कता होला कुन्नी” ? उसले सिधा भाषामा जवाफ दिई “मेरो नाम प्याउली हो, घर म्याग्दी जिल्ला शिखा गाउँ बाबुलाई स्कूलमा छोडेर आएको ” । “हून्छ त म अहिले अफिस जान लागेको भेट भइहाल्छ नि” त्यति भनेर नरेशले स्कूटरको एसिलेटर घुमाएर दगु¥यो । यसरी नरेश र प्याउलीको भेटघाट र कुराकानीको क्रम बढ्दै गयो । एक अर्काको मोवाइल नं. आदान प्रदान भयो । फेसबुक मेसेन्जर र भाइवरमा साथी भयो । नरेश पनि बच्चालाई विस्कुट, चाउचाउ, चक्लेट जस्ता खानेकुराहरू ल्याइदिने र बच्चासंग कुरागर्ने निहूँमा प्याउलीको कोठामा जान थाल्यो । यसरी यी दुइमा विस्तारै साथीबाट घनिष्ट साथी हुदै एक आपसमा आकर्षित हुन थाले । नहुन् पनि किन लोग्ने बिनाकी प्याउली र स्वास्नी बिनाको गधा पच्चिसे उमेरको नरेश । उनीहरूको सम्बन्ध विस्तारै गाढा प्रेममा रूपान्तरित हुदै गयो । प्याउलीलाई छोरा घाँडो जस्तै हुदै गयो । छोरालाई स्कूलमा छाडेर उनीहरू दिउसको समयमा कहिले फिल्म हेर्न जाने, कहिले बजार जाने, कहिले नागार्जुन तिर जंगलमा घुम्न जाने गर्न थाले । हुदै जाँदा दुवैले सल्लाहा गरे, दुवै जनाले कोठा छाड्ने र कोटेश्वरदेखि भक्तपुरसम्म अन्तै कतै एउटै कोठा खोजेर जाने निधो गरे । नरेशले ठिमी गठ्ठाघरको आसपासमा अफ्नो गाउँले साथीको माध्यमबाट एउटा कोठा खाज्यो र एक गतेदेखि बस्न आउने गरी एक महिनाको भाडा पनि एडभान्समा दियो ।
फागुन एक गते आइतवारको दिन थियो प्याउलीले आपूmलाई तीन बजे डाक्टर कहाँ जचाउन जान परेकोले छोरालाई स्कूलबाट ल्याईदिन भनि दिदीको छोरीलाई अह्राई । दिउसो सबै सामान प्याक गरेर एउटा पिकअपमा राखेर दुवैजना गठ्ठाघरमा नयाँ डेरामा बस्न गए । बेलुकी उसलाई छोराको संझना आयो । आफूले छोरालाई छोडेर ठूलो गल्ती गरेको ठानी । छोराको यादले रातीमा उसलाई निद्रा पनि परेन । उता दिउसो दिदीको छोरीले छोरालाइ स्कूलबाट आफ्नै कोठामा लिएर गई । बेलुकी अबेरसम्म बाटो हरे तर प्याउली आइन । छोराले आमा नभएकोले नरमाइलो मान्न थाल्यो । प्याउलीलाई फोन लगाई उतावाट आवाज आयो “तपाईले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन धन्यवाद” । उ आश्चर्यमा परी पटक पटक फोन सम्पर्क गर्ने प्रयास गरी सेटले एउटै जवाफ दिईरह्यो सम्पर्क हुन सकेन । भोलीपल्ट बिहानैदेखि फोन सम्पर्क गर्ने प्रयास गरी, भएन । केही अस्पतालमा आफै गएर बुझि, लोग्नेलाई पनि अरु सम्भावित नजिकका अस्पताल नर्सिङहोम तथा क्लिनिकहरूमा गएर बुझ्न अह्राई । सबै तिर सोधखोज गरे, केही पत्तो लागेन । अन्तमा उसको डेरामा बुझ्न जाँदा त हिजो दिउसो नै भाडा बुझाएर सामानहरू प्याक गरेर कोठा छाडेर गैसकेको जानकारी हुन आयो । दिदीको छोरीले बेलुकी सबैकुरा नारनेको बाबुलाई टोलिफोन गरेर जानकारी दिई । बुढाबुढी छाँगाबाट खसे भैmं भए । रातभरी निद्रा परेन । बुढो बिहान सबेरै उठेर एउटा झोला र बाटो खर्चको लागि आपूmसंग भएको दुईचार हजार रूपैयाँ पाकेटमा राखेर काठमाण्डौ जाने बसमा चड्न बेनी जोमसोम हाइवेमा झ¥यो । बेलुकी साँझमा प्याउलीको दिदीको छोरीको डेरा खोज्दै लगन टोलमा पुग्यो । प्याउलीको दिदिको छोरीले आपूmले जानेबुझेको सबैकुरा बताई दिई । बुढो निरास भयो । उसले खोजेर पत्ता लगाउनसक्ने अवस्था थिएन । उनीहरुकै सहयोगमा भोलिपल्ट विहान कालिमाटि इलाका प्रहरिमा बुहारी हराएको व्यहोराको निवेदन दिन लगाए । बुढाले त्यहि नानीलाई बुझ्दै गर है ! नानी भनेर नाती च्यापेर कलंकी चोक गएर मुस्ताङ जोमसोम जाने बस चड्यो ।
घरमा उजिरमानकी बुढीले नाती भोकाएर आउला भनेर दिउसै खानेकुरा बनाएर राखेकी थिई । बाटोमा बसको टायर पंचट भएर एक घण्टा ढिलो भयो, उता खाना खान, खाजा खान, प्यासेन्जर पर्खदा, खोज्दा बस तातो पानी पुग्न ढिलै भयो । त्यहाँबाट पनि करिब एक घण्टा पैदल हिड्नु पर्ने, त्यो पनि बालक नातीको सारमा । बेलुक साँझ ढलिसकेपछि बुढो वल्ला नातीलाई लिएर घर पुग्यो । बुढीले नातीलाई काखमा लिएर एकछिन रोई । कस्ती पापिनी होली यस्तो तामाको मुना जस्तो छोरालाई छोडेर कुनसित मुण्टिएकी होली । आफ्नु छोराले विदेशमा पसिना चुहाएर कमाएर पठाएको पैसा पनि सबै सकी । कस्ती चण्डाल्नीको फेला परिएछ भन्दै बुढी एकछिन फतफताई अनी खाना खान सबैजना चुलातिर लागे ।
भोलिपल्ट बेलुकी साउदीबाट छोराको फोन आयो बाबुले सबैकुरा बतायो । नारने धुरीबाट भूईंमा झरेझैं भयो । आपूmले रेगिस्तानको मरूभूमिमा पचास डिग्रीको गर्मी पिएर कमाएको पैसा सबै स्वास्नीलाई पठाउने गरेको थियो । ठूलो विश्वास घात भयो । जिन्दगिको एउटा सपनामा तुषारापात भयो । उसले बाबुलाई केही भन्न सकेन । मेरो वर्क परमिट सकिन अब एक महिना बाँकी छ । म भोलि नै गएर टिकट बुक गरेर एक महिना पछि आउँछु नातीको ख्याल गर्नु र उसलाई गाउँको स्कूलमा भर्ना गरिदिनु भन्ने सल्लाह दियो । छोरासंग बोल्यो “ म चांडै आउछु, तिमीलाई राम्रो लुगा र खेलौनाहरू ल्याइदिन्छु, गाउँको स्कूलमा पढ्न जानु, हजुर आमा हजुरबालाई नपिर्नु” भनेर संझायो र फोन राखिदियो ।
दिउसको एक बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजबाट आएका यात्रुहरूमध्ये एउटा नारने पनि थियो । उसले एयरपोर्टमा झरेपछि इमिग्रेशनको प्रक्रिया पूरा गरेर आफ्नो ब्यागेज कलेक्सन ग¥यो । भन्सारको जाँचपास पछि उ एउटा ट्याक्सीमा आफ्नो सुटकेसहरू लोड गरेर सोझै गोंगबु बसपार्क पुग्यो र जोमसोम जाने रात्रि बसको टिकट लियो । भोलिपल्ट विहान ७ बजे तातोपनी बजारमा बसबाट ओर्लदा उसको बाबु उसलाई लिन तातोपानी बजार झरी सकेको थियो । बाबुले नाम्लो लगाएर सुटकेस बोक्यो, नारनेले झोला बोक्यो । झोला गरमै थियो । तातोपानी बजारमा चिया नास्ता खाएर बाबुछोरा शिखा गाउँतिर उकालो लागे । घर पुगेर बुढी आमालाई खुट्टामा ढोगदियो । छोरालाई काखमा लिएर धित मर्ने गरी म्वाईं खायो र मायाँ ग¥यो । ब्याग खोलेर छोरालाई ल्याइदिएको खेलौना, विभिन्न थरिका चक्लेट लगायतका खानेकुराहरू खान दियो । छोराको खुशीको सीमा रहेन । सुटकेस खोलेर बाबु आमालाई ल्याइदिएका नयाँ दामी कपडाहरू र चकलेट दियो १।१ वट्टा त्रिवल फाइभ चुरोट र घर खर्च भनेर बाबुको हातमा दश हजार र आमाको हातमा पाँच हजार रूपैयाँ राखिदियो ।
नारने आएको थाहा पाएपछि दिउसो उसका गाउका साथीभाई, दोस्ती, दम्तरीहरू धेरैजना भेट गर्न आए । उसले ड्यूटी फ्रिबाट ल्याएको चुरोट थियो । चुरोट खानेहरूलाई १।१ वट्टा चुरोट दियो । चुरोट नखानेहरूले चकलेटमा चित्त बुझाए । प्याउली हराएको कुरा गाउमा एक कान दुई कान मैदान भैसकेको थियो । उसलाई सहरमा अर्कैले मोहनी लगाएर लग्यो अरे भन्ने हल्ला गाउमा फिजिएको थियो । अब प्याउलीको बारेमा मन बहकाएर हुँदैन अर्को घर व्यवहारको व्यवस्था मिलाउनु पर्छ भन्ने बाबु आमाको सल्लाहा थियो । प्याउली पूर्व तिरको केटासित पोइल गएको कुरा उसका माइती तर्फबाट थाहा भयो । छोरालाई आमाको वारेमा सोध्दा कहिलेकाहिं पल्लो घरको अंकल आउनुहुन्थ्यो मलाई चक्लेट, बिस्कुट ल्याइ दिनुहुन्थ्यो भनेर आफ्नो बाबुसित भन्थ्यो अरे ।
अब नारने अर्को विवाहको लागि उपयुक्त केटीको खोजिमा छ । कहिलेकार्हि रोधीबस्न गाउँतिर पनि जान थालेको छ । उसको भर्खर एक चौथाई उमेर गएको छ । विदेश गएर छुट्टिमा आएको । हेर्दा खाइलाग्दो छ । गोरो, गोलो, थ्याप्चो अनुहार भएको, पातलो दाह्री जुँगा, खाँटी मगरको छोरो, कुनै न कुनै केटी त कसो आकर्षित नहोलान् र हो ? तर उसको अनुहारको रेखामा कोरिएका उसका कथा व्यथाहरू धेरै छन् । बाल्यकालको कथा, स्कूले जीवनको कथा, प्याउलीसित मायाँ प्रिंती गाँसिएको कथा, उसित विहे हुदाको कथा, काठमाडौंमा ठेलागाढामा तरकारी व्यापार गर्दाको कथा, आपूmले तरकारी व्यापार गरेर प्याउलीलाई कलेज पढाउदाको कथा, बैदेशिक रोजगारीमा शाउदी जाँदाको कथा, साउदीका रेगिस्तानमा उँट चराउँदाको कथा, महिनै पच्छिे स्वाीलाई खर्च पठाउदाको कथा अमाले छोडेर गएपछि टुहुरो भएको छोराको कथा, अब बाबु आमा बुढा हुदै जाँदा बाबु आमालाई पालन पोषण गर्नु पर्ने कथा, अब दोस्रो विहे गरेर घरजम बसाउनु पर्ने कथा । यी कैयौं कथाको बण्डल भएको छ नारने । यो त नारनेको जीवनको अहिलेसम्मको कथाको सारांश मात्रै हो । कथाहरूको विस्तृत पोका फुकाउने हो भने त एउटा उपन्यास नै तयार हुन्छ होला । त्यसैले यो त उ भित्रको छोटकरी कथा मात्र हो । अस्तु
ईश्वरी प्रसाद घिमिरे
सरिान्चोक गाउपालिका ३, हर्मी गारखा
हाल काठमाडौं महानगरपालिका १३, वाफल
No comments:
Post a Comment