(यथार्थ घटनामा आधारित आलेख))
टिक टोक मास्टर्नी
उनको स्थायी घर पश्चिम तिरको कुनै पहाडी जिल्लामा पर्छ । तर कुन जिल्लामा पर्छ मलाई एकिन छैन र अहिलेसम्म सोधेको पनि छैन । उनको सानो परिवार छ । श्रीमान्, श्रीमती र एउटा ९।१० वर्षको छोरा । उनी त्यस्तै ३०।३२ वर्षकी अर्धवैंसे तरूनी देखन्छिन् । उनीले डेरा गरी बसेको घर मेन सडकदेखि अलिक भित्रपट्टि पर्दछ । उनीले डेरा गरी बसेको घर मेरो घर नजिकै पर्दछ । अर्थात् मैले आफ्नो घरबाट मेन सडकमा निस्कदा बायाँ तिरको घरमा उनको डेरा छ । उनका श्रीमान् कुनै सरकारी कार्यालयमा सहायक स्तरको दर्जामा जागिर गर्दछन् । विहान सबेरै उठेर ६ बजे तिरै मोटरसाइकल चडेर ब्याटमिण्टेन खेल्न जान्छन् । उताबाट आएर नुहाई धुवाई गर्छन् अनी खाना खाएर अफिस जान्छन् ।
उता मेन सडकसंग जोडिएको दायाँ तिरको घरमा एउटा लेडिज टेलरको पसल छ । त्यो पसल खुब राम्रोसित चलेको छ । पसलका संचालक साहूजी भारत दार्जिङलि तिरका मानिस हुन् । उनले विसौ वर्षदेखि यस टोलमा महिलाहरूका लागि उनिहरूका चाहना अनुसारका पहिरन तयार गरी ग्राहाकको चित्त बुझाउँदै आएका छन् । त्यस टेलर पसलमा ३।४ जना कामदार दिनको १८ घण्टासम्म काम गर्दछन । ती अर्धबैंसे महिलाको वास्तविक नाम चाहिं मलाई थाह छैन तर उनीलाई टोलका सबैले टिक टोक मास्टर्नी भनेर चिन्दछन् । मैले सोधेको त छैन यसो बोलाइ, शब्दको उच्चारण गराई सुन्दा प्लस टु सम्म त पक्कै पढेको हुनु पर्छ । उनीको उल्लेखनीय काम भनेको साँझ विहान चुलो चौको गर्ने, बुढो र छोरोलाई खाना पकाएर खुवाउने, बुढोलाई अफिस र छोरालाई स्कूल पठाउने, त्यति नै हो । उनीको बाँकी समय भनेको मोवाइल हेर्ने, फेसबुकमा स्टाटस लेख्ने, बरण्डामा उभिएर गीत गाएर नाच्ने र त्यसको टिक टोक बनाएर पोष्ट गर्ने, आफ्ना चिने जानेका मानिसहरूलाई आपूmले पोष्ट गरेका स्टाटसहरूको बारेमा जानकारी गराउने । दिनको ३।४ पटक त्यो लेडिज टेलरको पसलमा गएर नयाँ मोडल र डिजाइनका कपडाहरू हेर्ने । प्रति हप्ता १।२ जोर नयाँ कपडा किन्ने र नयाँ फरक फरक ड्रेसअपमा टिकटोक बनाएर पोष्ट गर्ने काम पनि उनको दैनिकीमा नै पर्दछ । घर परिवारका सदस्य र माइत तर्फ पनि बाबु आमा बाहेक अरू कसैसंग उनको राम्रो कुरा भए जस्ता लाग्दैन । उनी त्यस घरमा डेरा गरेर बसेको तीन वर्ष भयो एक पटक अनकी आमा आए जस्तो लाग्छ, त्यस बाहेक उनको डेरामा घरका र कोहि आफन्त पनि आएको जस्तो लाग्दैन । उनी सधै घर परिवारका नन्द, अमाजु, देवर जेठाजुहरूको आलोचना गर्ने, माइती तर्फ पनि दाजु भाउजुका बारेमा नकारात्मक कुराहरू मात्र गरेको सुनिन्छ । उनी वर्ष दिनमा दशैंमा दुई दिन श्रीमान्संगै घर, माइत जाने र फर्कने गरेको देखिएको छ ।
परिवारको आर्थिक गतिविधिको कुरा गर्दा उनीबाट खर्च गर्ने बाहेक आय आर्जन गर्ने किसिमको क्रियाकलापहरू गरेको देखिदैन । गत वर्ष डेरा गरि बसेको घरभन्दा अलि माथि एउटा चालु अवस्थाको किराना पसल तीनलाख जतीमा हचुवा मुल्यमा किनेकी थिइन् अरे । त्यस पछि ३।४ महिना त त्यतै भूलेकी थिइन् तर त्यो पसल चार महिना पनि नपुग्दै डेढ लाखमा बिक्री गरिन् अरे भन्ने कुरा पनि सुन्नमा अएको थियो । त्यो पनि पल्लो घर अण्टीले भन्नु भएको ।
ती टिकटोक मसास्टर्नीको एउटा छोरा छ । उ बिदाको दिन बाहेक अरू दिन स्कूल पढ्न जान्थ्यो, तर विगत डेढ वर्षदेखि कोरोनाका कारण उ दिउसो आमासंग घरमा नै वस्तछ । अनलाइनमा पढाई हुन्छ भन्छन् । उसको हातमा सधैं मोवाइल हुन्छ । त्यो केटाले मोबाइलको प्रयोग कति पढाइमा गर्छ कति गेम खेल्न र अन्य कुराहरूमा उ आफैं जानोस् । मास्टर्नीको पहिरन दिनमा ४।५ पटक सम्म बदलिन्छ । प्रत्येक पहिरनको २।४ वटा टिकटोक तयार हुन्छन् र पोष्ट हुन्छन् । टिकटकका मालिकको खातामा पैसा बढेके बढ्यै छ । मास्टर्नीको बुढाको जागिरले कसरी पालेको छ भन्दा पनि जागिर कस्तो रहेछ भनेर यसो बुझ्दा थाहा भयो, उनी पनि एउटा सरकारी अफिसको एकाउण्टेण्ट नै रहेछन् । दाल चामल लगायतको भान्सा चलाउन त समस्या रहेन एकाउण्टेण्ट साहेबलाई भन्ने अनुमान चाहिं गर्न सकिने भयो । उनी यो टोलमा बस्न आएपछि उनीसंग कुरा मिल्ने धेरै महिलाहरूलाई टिकटोेकको बारेमा धेरै पढाएकी छिन् । अर्थात् भन्नुपर्दा उनी यो टोलको टिकटोक बनाउने र अरुलाई सिकाउने गुरु नै होलिन् जस्तो लाग्छ । यो टिकटोक सिकाउने काम त पहिले पहिले एस.एल.सी. को कोचिङ क्लास पढे जस्तो होइन रहेछ एकबाट दुई, दुईबाट चार, चारबाट आठ हुंदै थोरै समयमा नै धेरैले सिक्न सक्ने रहेछन् ।
कुरा टिकटोक मास्टर्नीको मात्र होइन, उनी त यो सहरमा बस्नेहरूको एउटा प्रतिनिधि पात्र मात्र हुन् । मोबाइल फोनमा पनि स्मार्ट फोनको विकास भए पछि फेसबुक, ट्यूटर, टिकटोक जस्ता सामाजिक संजालको आविष्कारले त मानिसको दैनिकीलाई कायापलट गरिदिएको छ । यसले समाजमा सामाजिकता र सहकार्यको भावनामा ठेस पु¥याएको छ । मानिस समाजबादिबाट परिवारवादि हुदै नितान्त व्यक्तिवादि हुँदै गएको छ । सिमित आमदानीबाट परिवारको लागि आवश्यक पर्ने खाद्यान्न, लत्ता, कपडा, औषधि उपचारमा खर्च गर्नु भन्दा मानिसले आपूm र आफ्ना परिवारका सदस्य सबैका लागि स्मार्ट फोन खरिद गर्ने तर्फ प्राथमिकता दिनु परेको छ । यसको सकारात्मक प्रयोग भन्दा नकारात्मक प्रयोग बढी हुदै गएको छ । एउटा मध्यम आय भएको परिवारलाई मात्र विश्लेषण गर्दा पनि स्मार्ट फोन खरिद र संचालनमा लाग्ने खर्च, व्यक्तिले आय आर्जनको क्रममा लगाउने समय भन्दा स्मार्ट फोनको प्रयोगमा लगाउने समयले प्राथमिकता पाउनु, त्यो फोन प्रयोग गरे बापत् इन्टर्नेट शुल्क, सिम चार्ज, त्यसको ब्याट्रि, मर्मत, मेमोरी कार्ड लगायतका अदृश्य खर्चहरूले परिवारमा ठूलो व्ययभार थपिरहेको छ । अर्को तर्फ स्वदेश र वैदेशिक रोजगारमा गएका पुरूषका स्वास्नीहरू आफ्नो पैतृक घर छाडेर लोग्नेको कमाइमा आश्रित हुँदै बालबच्चालाई बोर्डिङ स्कूलमा पढाउने र सुखी जीवन यापन गर्ने उद्देश्यले सहरी क्षेत्रमा बसोवास गर्न पल्किएका, खास गरेर नयाँ पुस्ताका महिलाहरूमा यस्तो पैसा र समयको दुरूपयोग, नचाँहिदा भड्किला र सामाजिक मुल्य, मान्यता बेगरका उत्ताउला फेसनले गर्दा सहर बजारमा स्मार्ट फोन, इण्टरनेट सेवा, बिभिन्न डिजायनका फेसन जस्ता व्यवशायको प्रवद्र्धन हुदै गएको छ भने बौद्धिक काम, शारीरिक परिश्रम गर्नुपर्ने काम, जीवनोपयोगि ज्ञान र शीपका कुरा, आफ्ना परम्परागत धर्म , संस्कृतिका कुराहरू लोप हुँदै गएका छन् । यो रोग सहरबाट द्रुत गतीमा गाउँ गाउँमा समेत फैलिदै गएको छ । यसैको परिणाम हो, दिनानुदिन गाउँका खेत वारीहरू बाँझो बस्ने क्रम बढ्दै गएको छ, समाज विखण्डन हुंदै गएको छ, परिवार विखण्डन हुँदै गएको छ । लोग्ने स्वास्नीको कानूनी र व्यवहारिक सम्बन्ध विच्छेदको संख्या दिनानुदिन बृद्धि हुदै गएको छ, ज्येष्ठ नागरिकहरू सहारा विहिन र विचल्लीको अवस्थामा आफ्ना बाँकी दिन गुजार्न वाध्य भएका छन् । सायद विज्ञानको दुरूपयोग मिसायल पड्काउनु मात्र नभएर स्मार्ट फोनको दुरूपयोग पनि समाजको लागि मन्द मिसायल जस्तो लाग्न थालेको छ ।
(यथार्थ घटनामा आधारित आलेख)
ईश्वरी प्रसाद घिमिरे
हाल कामप, ३ रानीवारी,काठमाडौं
No comments:
Post a Comment