खन्तरी आँबै
नाती र नातिनी बुहारीले बुढी आबैलाई गाउँका अरूको तुलनामा राम्रसित पालेका थिए तर पनि खन्तरी आँबैका आफ्नै गुनासा र गन्थन हुन्थे । भेट गर्न आउने मनिसलाई उनीहरूले कुरा सुनेसम्म आफ्ना गन्थनका पोका फुकाउन थालिहाल्थीन् । त्यसैले धेरैजसो मानिसहरू उनका पुराना गन्थन मन्थन सुनीरहनु पर्छ भनेर धेरैबेर बस्दैनथे तर कोही कोही उमेरले पाको भैसकेका र फुर्सदिला मानिस फेला पारेपछि उनको कुरा नै सकिंदैनथ्यो । सकियोस् पनि कसरी उनको नौ वर्षको उमेरमा नै विवाह भएको थियो । विवाह भएको दुई वर्ष त उनी माइतमा नै बाबु आमाको काखमा बसिन् । एघार वर्षको उमेरदेखि अहिले ९५ वर्षसम्म गणना गर्दा ८४ वर्ष त त्यही घरमा बिताइसकेकी छिन् । उनी घर आउँदा बुढा ससुरा नभए पनि बुढी सासु (उनको बुढाकी हजुर आमा) भेट्टाएकी थिइन् । बुढी सासुको सेवा सुश्रुसा गरेर ९० वर्षको उमेरमा बुढी सासु परलोक भएकी हुन् । एउटी ठूलो जहानकी बुहारीले एउटा संयुंक्त परिवारमा बिहानदेखि बेलुकीसम्म के कति र कस्ता कामहरू उनले गर्नु परेको थियो ? ती सबै कुराको बेली विस्तार लाउन पाएपछि बुढीलाई समय गएको पत्तै हुदैन थियो । बुढा बुढीहरू आफ्नै उमेर समूहका मानिसहरूसंग गफ गर्न बढी लालायित हुन्छन् । उनीहरूसंग कुरा पनि मिल्छ तर खन्तरी आँबैको उमेर समूहका महिला, पुरूष गाउमा कोही पनि थिएनन् । उनीभन्दा पाँच सात वर्ष कम उमेरका मात्र थिए तैपनि आँबैका कुरामा हो मा हो मिलाएर सही थाप्न पाए पछि अरू बुढीहरू पनि के कम हुन्थे र ?
खन्तरी आँबै भन्दै जान्थिन् अरू सुन्दै जान्थे । हो र ? आपूm त ११ बर्षको उमेरदेखि घरमा आएको हो । घरमा सासु, ससुरा, देवर, जेठाजु, जेठानी, दउरानीहरू, नन्द अमाजु धेरै थिए । धेरैको संगत गरियो, जहान घरको बुहार्तन पनि कति खाइयो कति । बिहान पाँच घडी रात बाँकी छंदै उठ्नु पर्ने, ढिकीमा धान कुट्ने हो कि ? जाँतोमा कोदो, मकै, फापर, के पिन्ने हो अघिल्लो दिन बेलुकी नै तयार गरेर राख्नु पथ्र्यो । अध्यारोमा नै ढिकी, जाँतथोको काम सकेर पर धारामा गएर खल्लमल्ल नुहाएर लगाएको लुगा कपडा पछारेर, चोखो लुगा फेरेर ठूलो पित्तले गाग्रीमा पाी भरेर डोकोमा बोकेर ल्याउनु पथ्र्यो । त्यहाँबाट अंगेनोमा आगो फुकेर मात्रै, दैलो कसेर गरेर रातो माटोमा गाइको गोवर मिसाएर साजी (चोखो) पानीले दैलो पोत्नु पथ्र्यो । उज्यालो भएपछि दैलो पोत्नेलाई अलच्छिना र अल्छी भन्थे । त्यति काम गरेर मात्र कहाँ पुग्थ्यो र ? त्यतिवेला हाम्रा पालामा बिहानमा चिया खाने भन्ने त थाहै थिएन । उज्यालो हुदा त्यति काम सकेर बेला अनुसार बिहानको मेलामा जाने हो कि, घाँस काट्न जाने हो कि, मकै, घैया गोड्न जाने हो कि, जुन कामको चटारो छ त्यहि काममा जानु पथ्र्यो । बिहानको काम सकवरी घरमा आएर ९।१० बजेतिर बल्ल बिहानको खाना खान पाइन्थ्यो । खानामा पनि दाल, भात, मकैको, कोदाको ढिडो, ककरी मकरी जे पनि हुन सक्थ्यो । घरमा दाल, भात पकाउने, वस्तु भाउको धन्दा गर्ने, दुहुनु बाहनु गर्ने, दही मथेर मही तुल्याउने, साना बाल वच्चाहरूको हेरचाह र तिनीहरूलाई खुवाउने पियाउने कामहरू त घरमा सासु ससुराहरूले गर्दथे । बिहानको मेलाबाट घर फर्किएपछि बिहानको खाने बेला बल्ल आउंथ्यो । बिहानमा काम मात्रै हुन्थ्यो खाने पिने कुरा खासै हुदैनथ्यो । कहिलेकाही मकै, भटमास भुटेर पोटुकामा बाँधेर खाँदै काममा जानुपर्ने, खाँदै काम गर्नुपर्ने हुन्थ्यो । बिहानको भात खाएपछि सबै जहानले खाएका जुठा भाँडा तथा पकाएका भाँडा खरानीले सफा गरेर माझ्नु पथ्र्यो । घरायसी, भान्छाको काम तथा बधुवा वस्तुभाउलाई खुवाउन पंधेरोबाट बिहान बेलुका ४।५ खेप डोकोमा पानी बोकेरै ल्याउनु पथ्र्यो । बिहानको घरधन्दा सकेपछि साना छोराछोरीलाई नुहाई धुवाई गराउने, तेल लगाई दिने, दूध चुसाउने र झोलुङ्गोमा हालेर हल्लाउने अनी निदाए पछि दिउसको काम मेला पर्म के कता छ त्यतातिर जानु पथ्र्यो । बेलुकी अबेरसम्म मेलामा नै काम गर्न पथ्र्यो । अध्यारो भएपछि मात्र मेलाबाट घरमा आइपुगिन्थ्यो । घर आएपछि बालवच्चाको हेर विचार, खुवाई पियाई गराएपछि, पहिले छोरा मान्छेहरूले खाना खान्थे, त्यसपछिमात्र हामी आईमाइको पालो आउथ्यो । पछाडी पर्दा कहिलेकाहिं पहिले पकाएको भातले पुग्दैनथ्यो । त्यस्तो भएमा फेरी अर्को बाहान पकाएर पनि खानु पथ्र्यो । बेलुकीको खाना खाइसकेपछि घरको जुठा भाँडा सफ गर्ने, चुलो चौको लिप पोत गर्ने लगायतका काम सकेपछि मात्र त्यस दिनको कामबाट छुटकारा पाइन्थ्यो । अँ कहिलेकाहीं त भोलिपल्ट बिहानको लागि दुहुना वस्तुलाई कुँडो पकाउन कुंडाको सरदाम सकिएको रहेछ भने त बेलुकी नै जाँतोमा मकै पिन्ने काम पनि सक्नु पथ्र्यो । त्यति गरेपछि रातको १०।११ बजेतिर मात्र आराम गर्न पाइन्थ्यो । त्यै पनि बिहान तीन साडेतीन बजे उठीसक्नु पर्ने हुदा यो शरीरलाई आराम गर्ने समय त ३।४ घण्टा मात्रै हुन्थ्यो । त्यति दुख गरेर आएको शरीर हो यो । चाडपर्वमा माइत मावलबाट लिन आउदा पनि कहिले काहिं त जान पाइदैनथ्यो । यसरी आफ्नो जीवनमा दुख गरेका दुःखका पोकाहरू फुकाउन र कसैलाई सुनाउन पाए मनै हलुङ्गो हुन्छ भन्नुहुन्थ्यो खन्तरी आँबै ।
खन्तरी आँबै हिजो आजको जमाना संग आफ्नो पालामा गरेको कामको तुलना गर्न पनि पछि पर्नु हुन्थेन । हिजो आज घर घरमा बिजुली छ, सोलर बत्तीको उज्यालो छ, जतासुकै झलमल्ल छ । हाम्रो पालामा अँध्योमा छामछाम छुमछुम गरेर अगुल्टो बालेर उज्यालो बनाउनु पथ्र्यो । बत्तीको नाममा मटितेलको एउटा टुकी थियो । मटितेल सकिएको बेलामा सल्लाको झुरा (दियालो) बालेर काम चलाउनु पथ्र्यो । मटितेल लिन हिउदका महिनामा गाउँका छोरा मान्छेहरू मिलेर बटौली जान्थे र नून, मटितेल, मसला लगायतका आपूmलाई वर्षदिनभरीलाई चाहिने सामानहरू १०।११ एघार दिन लगाएर ढाकरमा बोकेर ल्याउथे । अहिलेत के मटितेलै चाहिदैन, नून, मसला जे चाहियो गाउँकै पसलमा पाइन्छ । के गाह्रो छ र । उहिले हाम्रा पालामा दाउरा खोज्न जंगल जानु पथ्यो, पानी बोक्न पर पदेरामा पुग्नु पथ्र्याे, तोरी पेल्न ढिकीमा तोरी कुटेर पुलो बनाएर पारी ढाँडखर्कमा लगेर काठेकोलमा पेल्नु पथ्र्यो । त्यो पनि सितिमिती पालो पाइदैनथ्यो । धान ढिकीमा कुटेर फार्से लाउनु पथ्यो, कोदो, मकै, फापर जाँतोमा पिनेर खर्च बनाउनु पथ्र्यो । हिजो आज दाउरा खोज्न बनमा जानु पर्दैन, घरघरमा ग्यास र बिजुलीका चुला छन् । यसो घाँसपातका घसेटा बटुल्यो कुडो पकाउन पुगिहाल्छ । ग्यास र विजुलीमा भात तीउन पकाउछन् कती हाइसन्चो । पानी बोक्न गाग्री डोको केही चाहिदैन घरघरमा धारा छन्, एउटा बाल्टी र लोटा भए पुगिहाल्छ , अबका मान्छेले त डोको नाम्लो बुन्न पनि जान्दैनन् । तोरी कुट्न र फुलो बनाएर काठे कोलमा लैजान पर्दैन । मिलमा तोरी नै पेल्दिन्छ अरे भन्छन् । अँ साचित सुन उहिले हामीहरू कोलमा फुलो पेल्न जाँदा त रमालो पनि हुन्थ्यो । कोलमा पेलेको तोरीररायोको तेल र कात्तीसंगै सरोवर बनाएर कोलमा नै खाजा पकाएर खाइन्थ्यो । मैले धेरै पटक त्यसरी खाजा खाँदा एक चौथाई ताजा तोरीको तेल त सोझै पिइदिएको छु । म त्यसै आज ९५ वर्षको उमेरमा १४ वटा सन्तानकी आमा भएर पनि यति बोल्न सकेकी छु र ? भनेर प्रश्न गर्छिन ।
हिजो आज ढिकीमा धान कुट्न पर्दैन, जाँतोमा कोदो, मकै पिन्नु पर्दैन, गाउगाउमा कुटानी पिसानीका मिल आका छन् । त्यसैले हिजो आजका बुहारीहरू पिठ्यूँमा घाम लागून्जेल सुतीरहन्छन् । नसुतुन् पनि किन ? न ढिकी जाँतो गर्नुपर्छ, न पधेरामा पानी लिन जानु पर्छ, एउटा, दुइटा भन्दा बढि छोराछोरी पाउदैनन्, धेरैलाई स्याहार गर्नु पनि परेन, न वस्तुभाउ धेरै पाल्छन्, न खेती पाती नै धेरै गर्छन्, न मेलापर्म जानु पर्छ, धेरै काम लोग्ने मानिसले नै गर्न थालेका छन् । हिजो आजका आइमाइलाई हाइसन्चो भाको छ भन्छु है म त ।
खन्तरी आँबैका गन्थनका पोका कहिल्यै सकिदैनन् । सुन्ने मानिस भै दिनुपर्छ, कहिले रतेलीको भाका त कहिले तीजको भाकामा आफ्ना पालाका गीत सुनाउन पनि पछि पर्दिनन् उनी । आज दिउसो पनि गाउको स्वास्थ्य चौकीबाट खन्तरी आँबैको स्वास्थ्यको वारेमा सामान्य जानकारी लिन स्वास्थ्य कार्यकर्ता नानी आएकी थिइन् । उनलाई पनि एक घण्टा आफ्ना कुराको पोको छोटकरीमा फुकाउन भ्याइन् । खन्तरी आँबैले स्वास्थ्य कार्यकर्ता नानीलाई पनि एउटा डल्लो मिश्री हातमा राखेर आपूmले जानेका सम्पूर्ण आशिर्वादका शब्दहरूले विदा गरिन् ।
ईश्वरी प्रसाद घिमिरे
गोरखा, हाल कामपा ३, वाफल

No comments:
Post a Comment