स्मृतिका डोवहरु
२०१९—२०३०
अध्ययन हर्मि नवलपुर, बाँजोगरा गरेको विद्यार्थीको नाताले वि.सं. २०१९ सालदेखि २०३० सालसम्मको अवधिमा विद्यालय र हामीे (त्यस समयमा पढ्ने विद्यार्थी) ले भोग्नु परेका असजिला घटनाक्रमहरुमध्ये मेरो मनस्पटलमा अंकीत भैरहेका केहि घटनाहरु खास गरेर विद्यालयको स्थापनाकालका घटनाक्रम र भोगाईहरुलाई लिपीवद्ध गरी स्मारिकामा समेट्दा आजका विद्यार्थी एव पछिल्लो पुस्ताका लागि उपयोगि नै हुने कुरा विश्वास लागेको छ ।
विक्रम सम्बत् २००७ सालमा देशमा राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना भएपछि देशका विभिन्न स्थानहरुमा प्राथमिक पाठशालाहरु र आधार स्कूलहरु खुलिसकेका थिए । यसै क्रममा वि.सं. २०१९ साल सम्ममा यता हर्मी भन्ञ्याङ र उता छोप्राकको मैदानमा सरकारी दरवन्दीको प्राथमिक पाठशालाहरु स्थापना भई संचालन भैरहेका थिए । वर्तमान नवलपुर र तात्कालिन डाँडागोब्रे क्षेत्रमा विद्यालय नहुदा ठूला र बलिया विद्यार्थीहरु युनाईटेड मिशनव्दारा संचालित आपपिपल स्कूलमानै पढ्न जान्थे तर कम उमेर समूहका साना बालबालीकाहरु हर्मिभन्ञ्याङका पाठशाला सम्म पनि जानसक्ने अवस्था थिएन । वि.सं. २०१९ सालको बढादशैंको समयमा घिमिरे गाऊ, बाँजोगरा, भण्डारी गाँऊ चुरेटा गाँऊ, सार्किगाँऊ, सिमलीवार तथा चिउरीबोट लगायतका गाऊँका सक्रिय र जेष्ठ, वरिष्ठ अग्रजहरुले तात्कालीन देउराली चौतारो (हाल विद्यालयको खेल मैदान रहेको स्थान) मा भेलाभई विद्यालय स्थापना गर्ने अठोट लिएको र जनश्रमदान जुटाई एउटा टहरो निर्माण गरी खरले छाउने काम सम्पन्न भएको थियो । विद्यालय भवनका लागि टहरो निर्माण गर्न औपचारिक रुपमा कार्तिक २६ गते शिलान्यास भएको थियो । शिलान्यास गर्न ज्योतिष रविलाल घिमिरे(हाम्रा पिताजी) बाट कार्तिक २६ गते लाई नै शुभ साईत जुराउनु भएको कुरा पनि मलाई याद आउँछ ।
विद्यालय स्थापना पछि पहिलो शिक्षकको रुपमा घिमिरे गाँऊ निवासि श्री टिकादत्त घिमिरेलाई अविभावकहरुको भेलाले अनुमोदन गरेको र माथि उल्लिखित गाउँका सबै घरधुरीहरुबाट यथाशक्य पटके चन्दा उठाई तलवको व्यवस्था गरेको थियो । कार्तिक २६ गतेको त्यसै भेलालले विद्यालयको नाम महेन्द्र लिला प्राथमिक स्कूल र डाँडागोब्रेको नाम नवलपूर नामाकरण समेत गरेको थियो । मलाई संझना भए अनुसार विद्यालयको नाम महेन्द्रलिला राख्नुको कारणमा विद्यालयलाई सकभर छिटो सरकारी स्विकृती दिलाई सरकारी अनुदान वा सरकारी शिक्षकको दरवन्दी प्रप्त गर्नु थियो । त्यसका लागि प्रशासनलाई खुशी पार्ने खालका नामहरु चयनगर्नुपर्ने थियो । त्यसैले गर्दा तात्कालिन राजा महेन्द्रको नामसंग गोरखाका तात्कालिन बडाहाकिम लिलाराज बिष्टको नाम जोड्न पुगेको यथाार्थ हो ।
वि.सं. २०१९ कार्तिक २६ गतेबाट २०२२ साल आषाढसम्म माथि उल्लिखित विद्यालय आसपासका गाँउलेहरुलेनै पटके चन्दा उठाई गाँऊलेको सहमतीमा शिक्षकहरु राख्दै आएका थिए । सो अवधिमा टिकादत्त घिमिरे, शिवदत्त घिमिरे, घनश्याम घिमिरे, मधुसुदन घिमिरे र भिमबहादुर भण्डारीले पनि शिक्षक भै काम गर्नु भएको थियो । तर उहाँहरुले पूरा अवधिको तलव नलिएको र केहि समय बेतलवी स्वयम्सेवकको रुपमा पनि अध्यापन गरी विद्यालयलाई निरन्तरता प्रदान गर्नमा योगदान गर्नु भएको थियो । उहाँहरुको यो योगदानलाई यो स्वर्ण महोत्सबको अवसरमा स्मरण गर्दै उहाँहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु । यो तीन वर्षको अवधिमा सरकारी स्विकृती प्राप्त गर्न हाम्रा अग्रज अविभावकहरुले अथक प्रयास जारी राख्नु भएको थियो । तर प्रशासनिक पहुँच र पर्याप्त दबाब दिन नसकेका कारण सरकारी स्विकृती प्राप्त हुन सकेन । हर्मिभन्ञ्याङमा पाठशाला संचालन भैरहेको कारण त्यस बेलासम्म विद्यालय संचालनका लागि सहयोगको दायरा हर्मिभन्ञ्याङ र त्यस आसपास पुगिसकेको थिएन । नवलपुर आसपासका गाऊँहरुबाटमात्र पटके चन्दा उठाएर विद्यालय संचालन गर्न असम्भव प्राय भैसकेको थियो । पछिल्लो अवधिमा पढाउने शिक्षकहरुले तलव पाउन पनि सकेका थिएनन् । वि.सं. २०२२ साल जेठको अन्तीम साता त्यस बेलाका शिक्षक श्री शिबदत्त घिमिरेज्यूले अर्धवार्षिक परीक्षा लिएर नतीजा प्रकाशन गरी दुई महिनाको लागि वर्षे विदा गर्नु भएको थियो ।
वि.सं. २०२२ सालको श्रावणको तेस्रो सातासम्ममा गाँउलेहरुले खेत रोपाईको काम प्राय सकिसकेका थिए । सक्रिय, जेष्ठ, बरिष्ठ अविभावकहरु भेलाभई सरकारी स्विकृतीको प्रयास असफल भएकोले युनाईटेड मिशनको स्विकृतीको लागि आग्रह गर्ने सहमती भयो । सो अनुसार एउटा निवेदन सहितको प्रतिनिधि मण्डल आँपपिपल गयो । तात्कालिन United Mission to Nepal Gorkha Project का ईन्चार्ज Mr. Haward Barkley संग भेटगरी विद्यालय निरिक्षण गर्न र अविभावकहरुसंग छलफल गर्न गाँऊमा आउनको लागि आग्रह ग¥यो । उहाँले गाँउले प्रतिनिधिहरुको आग्रहलाई स्वीकार गरी अविभावकहरुसंग छलफल गर्न गाऊँमा आउनु भयो । डिलबहादुर भण्डारी (टेकबहादुर, भिमबहादुर भण्डारीका पिता) को धन्सारमा भेला भई अविभावकहरुले आफ्ना कुराहरु उहां समक्ष राख्नु भयो । वार्कलेले पनि विद्यालय संचालनको लागि युनाईटेड मिशनले सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो र तत्काललाई दुईजना शिक्षक सम्म मात्र सहयोग दिन सक्ने र विद्यालयको अन्य भौतिक सामग्री व्यवस्थापन अविभावकहरुलेनै गर्नुपर्ने शर्त राख्नुभयो । दुवै पक्षका बिचमा सहमती भयो । भदौको पहिलो साता मिशनको टीम आएर हामीहरु पढिरहेका विद्यार्थीहरुलाई नयाँ भर्ना गरियो । रोहिणी मरहट्टा हेडमास्टरको रुपमा आउनु भयो । कार्यरत शिक्षक श्री शिवदत्त घिमिरे पनि सहायक शिक्षकको रुपमा रहनुभयो । यसरी भयो नवलपूरमा विद्यालय स्थापना र यूनाईटेड मिशनको सहयोगको शुरुवात ।
युनाईटेड मिशनको मातहतमा विद्यालय संचालन हुन थालेपछि विद्यालयको दायरा फराकिलो हुदै गयो । छोप्रकका अमराई, सालबोट, कटहरवारी, भट्टगाऊ लगायतका पायकपर्ने गाऊँहरुबाट, हर्मि गाविसका अधिकांश गाऊँहरुवाट, थालाजुङको खमारी, झिम्रेकबाट विद्यार्थीहरु समेटिन पुगे । २०२२ साल भाद्रदेखि युनाईटेड मिशनको व्यवस्थापनमा विद्यालय शुरु गरेतापनि साविकमा पढ्दै आएको कक्षालाई निरन्तरता दिई प्रत्येक वर्ष कक्षा थपिदै गएको थियो । २०२५ साल पौषमा पहिलो ब्याचले ८ कक्षाको पढाई पूरा गरेको हो । जुन ब्याचमा म पनि सहभागि थिएँ । युनाईटेड मिशन मातहत संचालन हुन थालेपछि आसपासका क्षेत्रका अविभावकहरुको सहयोगको दायरा पनि फराकिलो हुदै गयो । तात्कालीन गाँऊ पंचायतका प्रधानपंच श्री तारानाथ ढकाल ज्यूको सक्रिय नेतृत्वमा विद्यालयको स्थायी संरचना निर्माणको लागि विद्यार्थी अविभावकहरुबाट अथक प्रयास र परिश्रमहरु हुदै गए ।
हामी विद्यार्थी हुदा विद्यार्थी अविभावक मिलेर खोप्लाङ सेरा खोलाबाट काठ बोक्ने, लुईटेलबाट ढुंगा बोक्ने, आपपिपलबाट टिन बोक्ने, चेपेखोलाबाट बालुवा बोक्ने, रिपको पाखोबाट सइाउला बोक्ने लगायतका श्रमदानका कामहरु प्रसस्त भए । अविभावकहरुले पटक पटक चन्दा, देउसी, भैलो र श्रमदान गरेर भौतिक पूर्वाधारहरु खडा गरेका थिए । २०३१ सालमा सरकारले नयाँ शिक्षा योजना लागू गरेपछि सबै विद्यालयहरु सरकारी व्यवस्थापनमा संचालन हुन पुगेका हुन् ।
विद्यालयको स्थायी भौतिक संरचना निर्माणको क्रममा २०२३।२४ सालतिर ३ वर्ष जती छानो विनाको भवनमा बसेर पढ्नु परेको थियो । हिउदमा बनबाट स्याउला ल्याएर छानो हाली घाम छल्ने र वर्षाद्को समयमा पानी प¥यो कि विद्यालय विदा हुने अवस्थाबाट गुज्रिनु परेको थियो । विद्यालयमा डेस्क, बेन्च लगायतका फर्निचरको व्यवस्था थिएन, कक्षा कोठाहरु लिपपोत र सिमेण्ट प्लास्टरको व्यवस्था थिएन । कि त घरबाट दैनिक चकटी बोकेर हिडनु पथ्र्यो कि त धुलो भुईमा बसेर पढनु पर्ने वाध्यता थियो । एक पटक विद्यालयको छाना छाउनको लागि युनाईटेड मिशनले लुईटेल स्कूलमा जगेडा रहेका बन्दीपुरे ढुङ्गा उपलब्ध गराउने जानकारी गरायो तर ती ढुङ्गाहरु अविभावक र विद्यार्थीहरुलेनै बोकेर ल्याउनु पर्ने अवस्था थियो । शनिबार छुट्टकिो दिन ढुङ्गा लिन सक्नेजती सबै विद्यार्थी र अविभावकहरुलाई अनिवार्य गराईयो । म पनि साथीभाई पिताजीसंग ढुङ्गा लिन लुईटेल जादै थिए । बिजुले डाँडाबाट तलझर्दा तींदुघारीमा ढुङ्गामा ठेस लागेर म लड्न पुगें । बुढी औलाको नङनै उप्कीएछ खुब रगत बग्यो । म लुईटेल पुग्न सकिन । बोहोरा गाउमा फूपूको घरमानै बसें । अरु सबैजना लुईटेल पुगेर ढुङ्गा बोकेर फर्केर आएपछि पिताजीको भारीबाट दुईवटा ढुङ्गा झोलामा राखि त्यहिबाट अरुसंगै घर फर्किएँ । यो घटना म कहिल्यै बिर्सिन सक्दिन । विद्यालयको भवन निर्माण गर्ने स्थान र ग्राउण्ड सम्याउन पर्खाल लगाउने, माटो ढुङ्गा बोक्ने जस्ता कामहरु विद्यार्थीहरुबाट मात्र पनि धरै भएको मेरो स्मृतिमा छन्, जुनकुरा व्याख्या गरेर लेख्नु पर्दा धेरै गन्थन समेटिने थियो होला तर यस छोटो लेखमा सबै कुरा अटाउन सम्भव भएन ।
वि.सं २०१९ देखि २०३० सालसमम १२ वर्षको असजिलो कालखण्डको अवस्थामा यस विद्यालयको स्थापना र विकासमा सहयोग पु¥याई पगती र अग्रगमनको बाटोमा उन्मुख गराउन तीनवटा पक्षहरुको दूरदर्शिता, अथक प्रयास र भूमिकाको हामीहरुले सदैब स्मरण गर्दै उहांहरु प्रति आभार व्यक्त गर्न र यी ऐतिहासिक कुराहरु नयां पुस्तालाई दीक्षित गराउन सान्धर्भिक नै होला जस्तो लागेको छ ।
पहिलो पक्षः घिमिरे गाऊ, बाँजोगरा, भण्डारी गाऊ, चुरेटा गाऊ, सार्किगाऊ, सिमलीवार तथा चिउरीबोट लगायतका गाऊका सक्रिय, जेष्ठ र वरिष्ठ अग्रजहरुको दूरदर्शिता जसले त्यस समयमानै शिक्षाको महत्व बुझि आफनै प्रयासले विद्यालय स्थापना गरे उहांहरु प्रति हामी पछिल्ला पुस्ता सदैब ऋणिनै छौं ।
दोस्रो पक्षः २०२२ देखि २०३० सालको अवधिमा विद्यालयको उन्नती प्रगतीको लागि तात्कालिन प्रधानपंच श्री तारानाथ ढकालज्यूले निमाउनु भएको नेतृत्वदायी भूमिका अविष्मरणीय छन्, जसको कारण विद्यालय आफ्नो लक्षमा पुग्न सफल हुदै जान सक्यो ।
तेस्रो पक्षः तात्कालिन United Mission to Nepal Gorkha Project का ईन्चार्ज Mr. Haward Barkley जसले गाँउलेको आग्हलाइ स्वीकार गरी युनाईटेड मिशनको तर्फबाट पु¥याउनु भएको सहयोग प्रति हामी सदैब आभारी हुनै पर्छ ।
विद्यालयमा सो समयमा अध्ययन गर्ने विद्याथीैहरु उच्च व्यवशायिक तथ सरकारी क्षेत्रको माथिल्ला अहोदाहरुमा पुगिसकेका छन् भने कतिपय विदेशमा समेत सम्मानजनक पदहरुमा कामगर्न सफल भएका छन् यो सबै यस विद्यालयकै योगदान एवं उपलब्धीहरु हुन् । यसमा हमीले गौरव गर्ने ठाँउ प्रसस्तै छन् । अन्तमा यस विद्यालयको स्थापनामा सक्रिय भूमिका निर्वाह गर्नूभई हालसम्म दिवङ्गत भईसक्नु भएका श्रद्धेय अविभावकहरु एवं उक्त विद्यालयमा अध्ययन गर्ने एवं अध्यापन गराउने दिवङ्गत शिक्षक विद्यार्थीहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दछु ।
ईश्वरी प्रसाद घिमिरे हर्मि नवलपुर, बाँजोगरा

No comments:
Post a Comment