Tuesday, August 20, 2024

चेपे खोलो र हिउचुली

त्यो चेपे खोलो र हिउचुली


सेतै पूmलेको बाक्लो दाह्री, हिउँजस्तो सेतै पूmलेको बक्लो कपाल, अग्लो कद, सेतो घरबुनाको दौरा सुरुवाल, कम्मरमा घरबुनाको सेतै पोटुकी, सिरमा पनि घरबुनाकै सेतो टोपी, हातमा निगालको लौरी टेकेर लेकबाट छोरीको घरमा बर्षमा एकपटक आउनुहुन्थ्यो मेरा मावली हजुर्बा । उहाँको वास्तविक नाम नरहरि रेग्मी हो तर गाउलेहरु दाह्रीबुढा भनेर चिन्थे उहाँलाई । उहाँ अक्सर पुष, माघ महिनाको अलि फुर्सत र जाडो याममा आउनुहुन्थ्यो र करिब ३/४ हप्ताजती बसेर आफ्नो घर केरावारी फर्कनुहुन्थ्यो । तीन चार पटकं म पनि हजुर्वा संगै मामाघर गएकोछु । 
अहिले म बिचार गर्छु, जाडो याम, पुष, माघमा मेरो मावली केरावारी भन्दा मेरो गाउँ हर्मी अली न्यानो र पाहारिलो पनि हुन्थ्यो, त्यसैले उहाँले फुर्सतको समय र जाडो छल्ने हिसाबले पनि पुष, माघ रोज्नु भएको हुनुपर्छ । अर्को कारण उहाँकी एकमात्र छोरी मेरी आमा हुनुहुन्थ्यो त्यसैले पनि उहाँलाई मायाँले डो¥याएको हुनुपर्छ । उहाँ ३/४ हप्ताजती हाम्रो घरमा बस्दा हाम्रो घर व्यवहारलाई वर्षभरीलाई चाहिने पाटका नाम्लाहरु, गाईवस्तु बाँध्ने दाम्लाहरु, नाम्लाको बरीयोहरु, दहि मोथ्ने ठेकी, मोदानी लगायतलाई चाहिने नेती, उजिन्नो, घर, धन्सार, गोठ, कटेरा आदि छाउन तथा बार बन्धन गर्न आवश्यक पर्ने बाँसका चोया, बाता लगायतका घरायसी सामग्रीहरु तयार गरी दिनुहुन्थ्यो । यस्तै घरमा दैनिक प्रयोगमा आउने डोका, थुम्से, छत्री, स्याखु, घुम, कोर्का, झोलुङ्गा आदि सबै कुरा बुन्ने बनाउने कुरामा उहाँ निपूण हुनुहुन्थ्यो । उहाँले हाम्रो घरमा आएपछि हात खाली राखेर बसेको कहिल्यै देखिदैन थियो । उहाँ एकातिर हातले कामगर्ने र अर्कोतीर मुखले कुरा गर्ने एकैसाथ गर्नुहुन्थ्यो । कहिलेकाहि मलाई पनि केहि कुरा अह्राउने सिकाउने गर्नुहुन्थ्यो । धेरै कुराहरु सिकाउनु भएको पनि थियो तर ती हातको सीपका कुराहरुलाई निरन्तरता नदिएपछि मलाई सिकाउनु भएका सीपहरु उपयोगमा आउन सकेनन् तापनि केहि कुराहरु “हिङ नभएपनि हिङ बाँधेको टालो हो”े भनेझै म अझै पनि काम चलाउ गर्न सक्छु र गरिरहेकै पनि छु । 
हजुर्वा हाम्रो घरमा आएपछि गाऊका सानुबा, ठूलोबाहरु उहाँसंग गफगर्न आउनुहुन्थ्यो । हजुर्वाको आदेश तामेल गर्दै म हुक्कामा तमाखु भरेर राखिदिन्थें । बुढाहरु पिडीमा बसेर पालैपालो हुक्कामा तमाखु तान्दै लेकको ब्यवहार, खेतीपाती, पशुपालन आदिका बारेमा रमाईला र मिठा मिठा कुराकानीहरु गर्नुहुन्थ्यो । त्यसै बखतमा हाम्रा हजुर्वाले हाम्रो गाउँका बुढाहरुलाई गफ लगाएको एउटा कुरा ५६।५७ बर्ष पछि पनि मेरो खुपडिमा अहिलेसम्म  ताजै छ । भैसी कस्ता पाल्नु भाको छ, कति कति दूध दिन्छन्, भन्ने प्रश्नमा उहाँको जवाफ थियो  हेर्नोस् ज्वाई हाम्रा लेकका भैसीको त कुरै नगरम “दूध चेपे खोलो हो, घीउ चाहिं हुउँचुली जस्तो लाग्छ । गोठमा बस्यो कति खाने, कहाँ लगेर बेच्ने र ? त्यहिं गोर्खाँ भए कति बेचिन्थ्यो होला ? नेपालाँ (तिनताका गाउँघरमा नेपाल भनेर काठमाडौंलाई भन्ने चलन थियो) भएत कति पैसा हुन्थ्यो होला ? ह्याँ एउटा बिडी खाने पैसा हुदैन । के गर्नु छ भनेर मात्रै भन्नुहुन्थ्यो” हुनपनि त्यसबेला नगद् पैसा पार्न पशुपालन गरेर कि त गाई, भैंसी, गोरु, बाख्रा, आदि नै बेच्नु पथ्र्यो, त्यो पनि भनेको बेलामा किन्ने ग्राहाक आउदैन थिए । हाट बजारको चलन थिएन । घीउ बेच्न बर्षभरी संगालेर राख्नु पथ्र्यो । हिउद लागेपछि टिनका टिन बोकेर कि त पोखरा कि त काठमाण्डौं पु¥याउनु पथ्र्यो । बिचरा हाम्रा ७०।७५ का हजुर्वा बुढाले कसरी बोकेर कहाँ बेच्न लैजाउन् ? 
मावली हजुरआमा कहिले परलोक हुनु भयो मलाई थाहा भएन । हजुर्बा यसो बिरामी परेको बेलामा मात्र गाउँको घरमा बस्नुहुन्थ्यो, नत्र भने सधैभरी, बाह्रै महिना गोठमा नै बस्नुहुन्थ्यो । गाउँको घरमा अधिकांश वस्तु हुन्थेन । कहिले काहिं एउटा दूध दिने लैनु गाई अथवा भैसी हुन्थ्यो अरु बस्तु गाई, गोरु, भैसी, भेडा, बाख्रा सबै बेंसीमा अथवा फाँटमा जहाँ जहाँ आफ्नो खेत वारी छ त्यहिं गोठ राख्ने र बारी मालिलो बनाउने चलन थियो । हाम्रा हजुर्वाको बेंसीमा ढुङ्गाको गारो र खरको छाना भएको पक्की वर्षे गोठ थियो । वर्षा याममा पनि बस्तुभाउ बाँधेर हजुर्बा सधै  गोठमा नै बस्नुहुन्थ्यो । मेरो एउटा मात्र मामा भएको र छोरा छोरी धेरै भएकोले मामा माईजु गाउँमा नै बस्नुहुन्थ्यो । मलाई भने मामाघर गएको बेलामा गाउँको घरमा बस्नभन्दा बेंसीमा हजुर्बासंगै गोठमा बस्न मन लाग्थ्यो । म धेरै पटक त्यसरी नै हजुर्बासंगै चेपे खोलाको किनारामा रहेको बेंसीको गोठमा गएर बसेको छु । बिहान सबेरै अध्यारोमा उठेर चेपेमा गएर नुहाउने र भाँडोमा पानी ल्याएर त्यो चिसो पानीले दही मथ्नुहुन्थ्यो । दही मथेर घीउ निकाल्न एक डेढ घण्टा पनि लाग्थ्यो । त्यहि दही पानी तताएर तातोपानी हालेर मोथ्दा जाडोमा ८।१० मिनेटमा मोथेर घीउ निकाल्न सकिन्थ्यो भने चिसो पानीमा मोथ्दा एक डेढ घण्टासम्म लाग्थ्यो । दही मथि सकेर काँसको कटौरा भरी नौनी निकालेर मलाई भन्नुहुन्थ्यो “लौ हेर् नाती हिउँचुली भनेको यहि हो” । हजुर्बा भन्ने गर्नुहुन्थ्यो चिसो पनीमा दही मोथ्दा साह्रो हुन्छ र घीउ धेरै पर्छ तर तातो पानी हालेर मोथ्दा घीउ खुईलिएर मोहीमा जान्छ र नौनी गिलो हुन्छ, घीउ पर्दैन, त्यसैले नामर्द लाछिले मात्रै तातो पानी हालेर मोथ्छन् । हजुर्बासित गोठमा बस्दा बिहान बेलुका मजाले घीउ र भात खान पाईने, अझ बेलुका त हजुर्बाले नाती आयो भनेर खुशीले खीर पकाउनुहुन्थ्यो । त्यो खीर पो खीर, हिजो आजको डेरीको दूध र बट्टाको दूधको पनि खीर हो र ? त्यो त खीर जस्तो पदार्थ मात्रै हो ।  
हिजोआज पनि पटक पटक मेरो स्मृती पटलमा आईरहन्छ, हाम्रा मावली हजुर्बाको चेपे खोलो र हिउँचुली पो दूध, घीउ हो त । 
एकिन त म भन्न सक्दिन तर करिब ८० वर्षको उमेरसम्म गोठमा बस्नु भएको थियो मेरा मावली हजुर्बा । 


ईश्वरीप्रसाद घिमिरे    सिरान्चोक गाउँपालिका वडा नं. ३ हर्मी,                                                                          गोरखा
मितिः १८ जेष्ठ, २०७४

No comments:

Post a Comment