संस्मरण
त्यो घटना, जसले अझै झस्काइरहन्छ !
त्यो घटना, जसको १/१ पलले मलाई अझै पनि झस्काइरहन्छ, आज त्यसको नालिबेली पाठकहरू समक्ष प्रस्तुत गर्ने बिचार गरें । घटना त्यस्तै २०१८ साल तिरको हो म सानै थिएंँ त्यसैले मलाई पुरै तिथिमिति एकिन छैन । हाम्रो त्यस समयमा केही आफ्नो र केही वन्धकी (उजिण्डे) समेत मिलाएर बेंसीमा त्यस्तै १५।१६ मुरी धान फल्ने खेत थियो । त्यस ठाउँलाई त्यस समयमा डाँडागोब्रे भन्दथे । मङ्सिरको महिना थियो, धान काटेर चौधमुरेको ठूलो गरामा कुन्यू लगाएको थियो । मङ्सिर महिनाको चौथो हप्तातिरको घटना हुनु पर्छ । मङ्सिर महिनामा धान काटेर थन्क्याउने चटारो सबैलाई थियो । त्यस बखत गाउँमा खेतीगर्ने जनशक्ति प्रशस्तै थियो । मानिसहरू बसाइसराई गर्ने क्रम चलेको थिएन । जागीर खान, कमाई गर्न सहर पस्ने चलन पनि थिएन । सम्पन्न परिवारका एकाध विद्यार्थी पढ्नको लागि काठमाडौं जाने चलनसम्म थियो । मङ्सिर महिनामा रात दिन केही नभनिकन गाउँलेहरू खेती थन्क्याउन ब्यस्त थिए । सबैजना बेफुर्सती भएकोले दिनमा खेताला पाउन कठीन थियो । त्यसै भएर होला शुक्लपक्षको जुनेली रातको समयमा दाँइं गर्ने मेसो मिलाएको हुनुपर्छ । त्यस बखत हाम्रो घरमा घरायसी ब्यवहार, रट्ठापट्ठा मिलाउने काम धेरैजसो पिताजीबाटै हुन्थ्यो । म भन्दा दाजु १० वर्ष जेठो भएकोले केहीकेही कुरामा दाजुको पनि सहयोगिको भूमिका रहन्थ्यो । म सानै थिएँ त्यस्तै ७।८ वर्षको । रातीमा दाई गर्नका लागि धेरैनै अर्थात् १०।१२ जना खेताला खोजिएको थियो । रातीका लागि आउने खेतालाहरू दिउसको मेलाको काम सकेर घरमा खाना खाएर थकाई मारेर ९ बजेतिर मेलामा जाने चलन थियो । त्यस समयमा गाउँकै घर्ती माइलादाइले गोरु चलाएर हाम्रो वर्षभरिको खेती लगाइदिने गरेका थिए । रातीको दाँइलाई खलो तयारी गर्न माइलादाई र दाजु दिनभरी खलोमा खटिएका थिए । उनीहरूले खलो तयार गरेर गोरु बाँध्न मियो समेत गाडेर, ठिकठाक पारेर घर आएका थिए । घरबाट बेंसी खेतमा (दाईंगर्ने ठाउँमा) पुग्न त्यस्तै आधिघण्टा जती लाग्दथ्यो । आमाले हामीहरूको लागि चाँडैनै खाना तयार गरिदिनुभएको थियो । खाना खाएर घरबाटै एकहल गोरु लिएर दाजु, घर्ती माइलादाई, पल्लोघर दाई टोपनाथ र म गोरु धपाएर संगै दाँइमा गयौं । टोपनाथ दाई पनि मेरै उमेरका म भन्दा पाँच महिनामात्रै जेठा हुन् । अँध्यारो नहुदै चारवटा गोरु लगेर दाईंमा बाध्यौं र एकछिन पराल छिरोल्यौं पनि । त्यतीबेला साँझ परेर अँध्यारो हुन लागेको थयो । जुन उदाउने बेला हुँदैथियो । साँझको गोधूली बेला थियो । दाईहरूले सल्लाह गरे, पराल धेरैछ र मोटो पनि छ, चारवटा गोरुलेमात्र पराल माड्न कठिन हुन्छ कि ? भनेर दुईवटा गोरु अझै थपगर्ने सल्लाह भयो । दाजु र पल्लोघरदाई टोपनाथ गोरु कुरेर खलोमा नै बस्नुभयो । म र घर्ती माइलादाई खेतालाहरूसंगै बेंसी गोठबाट दुईवटा गोरु लिएर आउने भनि उकालो लाग्यौं । त्यतिबेला बेसीका दाजुभाईहरूको बसोवास माथि ठाडोस्वाँरामा नै थियो र गोठ चाहीं बेंसीको बारीमा थियो । खेतालाहरू माथि चुरेटागाउँदेखि नै आउने थिए । हामीले खेतालासंगै गोरु लैजान सजिलो हुन्छ भनेर मडुले चौतारामा पुगेर खेतालालाई पर्खेर बस्यौं । त्यस्तै २०।२५ मिनेट जती बसेका थियौं ठाडोस्वाँराबाट दाईहरू मेलामा झर्नुभयो । त्यतिनैबेला खलामा बाँधेका गोरुलाई बाघले हमला गरेछ । दाजु कराउन थाल्नु भएछ । मुडुले चौतारो अल्ली गहिरो ठाउँमा भएकोले तल दाजुले कराएको आवाज सुनिएन तर माथिबाट दाँइंमा आउन लाग्नु भएका खेतालाहरूले सुन्नुभएछ । वहाँहरू कराउँदै झर्नुभयो । म सानो फुच्चे मान्छे दाईहरुका पछिपछि
दौडिएँ । थप गोरु लैजाने काम भएन हामी सबै कराउँदै खेतमा झ¥यौं । हामी खेतमा पुग्दा गोरुले मियो उखालेर मालदाम्ला सहित खेतखेतै तल झरेछन् र खोल्सो तरेर पैराको भीरको थाप्लोमा पुगेछन् तर चोयाका बलिया दाम्ला भएकाले दाम्लो चुडालेर भाग्न सकेनछन् । दाजुले बडो धैर्यताका साथ गोरुसंगै गएर भीरमा जानबाट रोकेर बाटोतिर फर्काउनु भएछ र गोरुको दाम्लो समातेर चिच्याइचिच्याई सहायताको लागि कराइरहनु भएको रहेछ । त्यतिवेला डाँडामा खेतको आसपास कसैको पनि बसोवास थिएन । १५।२० मिनेट माथि अधिकारीहरूको घरभन्दा तल कसैको पनि घर थिएन । बेंसी गोठमा पनि केवल बाघले आक्रमण गर्न नसक्ने पक्की गोठहरूमात्र थिए । ती गोठमा राती कोही बस्दैन थिए । त्यस्तो समयमा हामी ४।५ जना पुगेपछि दाइलाई र गोरुलाई पनि ठूलो सहास आयो डर कम भयो । सबैजना गोरुको वरिपरी चारैतिर होहल्ला गरेर कराएपछि धेरै मानिस देखेर होला बाघ त्यहाँबाट अन्तैतीर लागेछ त्यसपछि रातीमा हमला गर्न आएन । सबैजना भएर गोरुलाई मालदाम्लो सहित डो¥याएर ल्याई मियोमा बाँधियो । खलामा ल्याएर गोरु बाँधेपछि बल्ल पल्लाघर दाई टोपनाथको संझना भयो । दाजुले बाबु कता गयोहोला भन्नुभयो । पल्लोघर दाई त कुनियोका फेदतिर लुक्नखोज्दा ठाम पाइन त्यसैले ह्याँ बसेको भनेर खलेगराको कुनामा परालले छोपिएर बस्नुभएको रहेछ ।
त्यस घडीमा दाजुले डराएर धैर्यता गुमाएको भए, सायद चारवटै गोरु मालदाम्लो सहित भीरबाट खस्ने अवसम्भावी थियो । भीर २०० मीटरभन्दा बढी थियो । मौकामा पु¥याएको बुद्धि, सहास र धैर्यताले ठूलो नोक्सान हुनबाट बचायो । पछि सबैजना खेतालाहरू जम्मा भए । चारवाटा मात्र गोरुले दाँइको काम सम्पन्न गरियो । राती एक कुरुवा घीउमा लट्टे (चाम्रे) पकाएर झ्याउँको पनि खाइयो । अस्तु ।
No comments:
Post a Comment