Wednesday, August 21, 2024

मस्र्याङ्गदी उपत्यका र पोर्ट केम्बल

 मस्र्याङ्गदी उपत्यका र पोर्ट केम्बल 

 


अन्नपूर्ण हिमालको काखबाट बहने मस्र्याङ्गदी नदी र यसको जलाधार क्षेत्र नै मस्र्याङ्गदी उपत्यका हो  । यस उपत्यकाले उत्तरमा मनाङ जिल्लादेखि दक्षिणमा लमजुङ, तनहूँ जिल्लाको पश्चिमी भाग, र गोरखा जिल्लाको दक्षिण पश्चिम भागलाई समेट्दछ । यो क्षेत्रको भाषा साहित्य, जातजाती, सांस्कृतिक विविधता, प्राकृतिक बिबिधता, जैविक विविधता, ऐतिहासिक महत्वको दृष्टिकोणले पनियो उपत्यका एउटा विशाल संग्रहालय हो । विश्वकै उत्कृष्ठ पर्यटकीय गन्तब्य, अन्नपूर्णं पदयात्रामार्ग संसारभरका पारखिहरुले झुम्मिने र चुम्ने गरेको स्वर्गीय अनुपम छटाको मझेरी हो मस्र्याङ्गदी उपत्यका ।  यस्तै दक्षिणी गोलार्धको अष्ट्रेलिया महादेशको (मुलुकको) दक्षिणी किनारा (दक्षिणी धु्रवको नजिक) मा अवस्थित हिन्दमहासागर किनारमा अवस्थित पोर्ट केम्बल Port Campbell पनि त्यक्तिकै रमणीय र अष्ट्रेलियाको महत्वपूर्ण पर्यटकीय स्थल रहेछ । यो पंक्तिकारलाई मनाङको तिलिचो ताल र लेदर हुदै थोराङलासम्म पुगेर मस्र्याङ्गदी उपत्यकाको बिबिधताको जानकारी लिनको साथै सन् २०१० मा अष्ट्रेलियाको Port Campbell  सम्मको भ्रमण गरी त्यहाँको भौगोलिक र पर्यटकीय गतिविधिको बारेमा प्रत्येक्ष अवलोकन गर्ने अवसर मिलेको हुँदा मस्र्याङ्गदी उपत्यकाको विविध सम्पदाहरुको बारेमा आफूले देखे जानेका कुराहरुका अतिरिक्त यी दुई महत्वपूर्ण स्थानहरुका मिल्दा जुल्दा विशेषता र महत्वका बारेमा यस लेखमा छोटो चर्चा गर्ने जमर्को गरेको छु । 

मस्र्याङ्गदी उपत्यकाकाको उल्लेखनिय सम्पदाहरुको चर्चा गर्नुपर्दा अन्नपूर्ण, मानस्लू, लमजुङ हिमाल तथा ताल तलैयाहरु र अन्नपूर्ण पदयात्रा मार्ग (बेसिसहरदेखि थोराङला पास सम्म)लाई पहिलो स्थानमा राख्नुपर्ने हुन्छ । किनकि यसैका कारणले बर्षेनी विश्वका लाखौ मानिसहरुको ध्यान आकर्षण भैरहेको छ । मस्र्याङ्गदीको उद्गम स्थल अन्नपूर्ण हिम श्रृङ्खलाको विभिन्न टाकुराहरु चुम्नको लागि प्रत्येक वर्ष हजारौको संख्यामा विश्वका साहसि मानिसका पाइलाहरु उचालिइरहेका हुन्छन् । त्यस्तै विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल साहसि पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु हो । यो ताल समुद्र सतहदेखि ४९२० मीटर उचाईमा अवस्थित छ । जुन मनाङ जिल्लाको खाङसार गाविसको वडा नं. ९ मा अवस्थित छ र यसै तालको पानीको निकास नै मस्र्याङ्गदी  नदीको मुख्य श्रोत पनि हो । 

यस क्षेत्रको जातीय विविधता, प्राचिन बौद्ध गुम्बाहरु, प्राचिन घले राजाको दरवार, गाऊसहरको शाह वंशीय राजाको दरवार, रागिनास कोट लगायतका सम्पदाहरु महत्वपूर्ण पर्यटकीय आकर्षणका श्रोत हुन् । उच्च हिमाली क्षेत्रदेखि उच्च पहाड, मस्र्याङ्गदी नदी आसपासका फाँट र बेंसीहरुमा विविध हावापानी र विविध भौगोलिक अवस्थिति रहेको छ भने यस क्षेत्रको जातीय विविधता पनि कम रोचक छैन । हिमाली र उच्च पहाडि क्षेत्रमा बसोबास गर्ने तिब्बती मूलका भोटियाहरु, गुरुङ, घले, दुरा जातीको बाहुल्यता रहेको भएतापनि आर्य समुदायका जातजातीका मानिसहरु एक आपसमा हातेमालो गरेर बस्नु सदियौं देखिको जातीय सहिष्णुताको उदाहरण हो । धार्मिक हिसाबले सम्पूर्ण जसो बौद्ध र हिन्दू धर्मावलम्बीहरुकोे बसोवास रहेको भएतापनि फाट्ट फुट्ट ईस्लाम धर्मावलम्बीहरु पनि सदियौंदेखि यहिको भाषा संस्कृतिमा रमाएर बसेका छन् । 

मस्र्याङ्गदी उपत्यकाका पुराना वस्तीहरुमा मनाङ जिल्लाको चामेभन्दा माथिका पिसाङ, घ्यारु, भ्राका, मनाङ, खाङसार, लेदर, ङावल लगायतका बस्तीहरुमा तिब्बती मूलका भोटिया गुरुङ जातीको बसोवास रहि आएको छ भने थोंचे मनाङ जिल्लाको पूरानो सदरमुकाम रहेको बस्ती हो । त्यस्तै धारापानी, बगरछाप, ताँचै, नाचे, घले गुरुङहरुको पुरानो बस्ती हो । पर्यटकीय पदयात्रा मार्ग तालबजारदेखि तल लमजुङ जिल्ला शुरुहुन्छ । घेर्मु, स्यागे, ङादी पर्यटकीय रुटमा पर्ने घले, गुरुङहरुको बस्ती हो । यस उपत्यकाको पुरानो बस्तीको रुपमा विकसित भएको स्थान पुस्तुन बाहुनडाँडा हो । त्यसभन्दा तल्लो भेगमा रहेका प्रमुख वस्तीहरुमा भूलभूले, खुदी, घनपोखरा, बेसिसहर, गाउँसहर, चिती, तिलहर, श्रीमन्जाङ,दूराडाँडा, बाहुन बेसि भोटे वडार, सुन्दर बजार, माने चौका, पुरकोट, तार्कुघाट, रागिनास, तीनपिप्ले, अल्काटार, पालुङटार, च्याङ्लिटार, डुम्रे भन्सार,सत्रसये, याम्पाफाँट, आँबु  खैरेनी लगायतका उर्वर फाँट, टार, वस्ती र बजारहरु मस्र्याङ्गदी नदीइ र यसका सहायक खोलाहरुबाट सिंचित मस्र्याङ्गदी उपत्यकाका अङ्ग प्रत्येङ्गहरु हुन् । 

हालको बाहुनडाँडाको पुरानो नाम पुस्तुन हो र यो घिमिरे ब्रम्हणहरुको पुरानो बसोवास स्थल पनि हो । वि.सं. २०१८÷१९ सालतिर गाउँपंचायतहरुको गठन हुँदा यस ठाउमा धेरै घिमिरे ब्रम्हणहरुको बसोवास भएका कारण बाहुनडाँडा गाउँ पञ्चायत नामाकरण गरेको भनाई रहेको पाईन्छ । ईतिहास अनुसार यंिह बसोवास गरेका घिमिरेका पुर्खा करुणाकरका दुईभाई छोराहरुमध्ये जेठा कुसुमाकर ऐतिहासिक व्यक्तित्व थिए । त्यस समयमा लमजुङ (हालको मनाङ समेत) मा घले थरका राजा थिए । कुसुमाकर घिमिरेले दुराडाँडाका खजे दुरालाई साथी लिएर कास्कीका राजा यशोब्रम्ह शाहसंग उनका छोरा कालुशाहलाई मागेर ल्याई घलेराजालाई विस्थापित गरेर कालुशाहलाई राजगद्दीमा राखेका थिए । कालुसाहलाई घलेहरुले षडयन्त्र गरेर मारे । त्यसपछि पुन यशोबम्ह शाहसंग उनका कान्छा छोरा कुलमण्डन शाहलाई मागेर ल्याई गाऊसहरमा दरवार बनाएर राजा तुल्याई राखेको ऐतिहासिक कुराहरु छन् । यिनै कुसुमाकरले डिजायन गरेको तात्कालिन समयको लमजुङ राज्यको राष्ट्रिय झण्डा नै अहिलेको नेपालको चन्द्र, सूर्य अंकित राष्ट्रिय झण्डा हो भन्ने कुराको पुष्ट्याईं लमजुङ दरवारमा यद्यपि रहेको माथिल्लो भागमा सूर्य र तल्लो भागमा चन्द्रमा अंकित भएको पित्तलको पातामा कुदिएको झण्डाले गर्दछ । नेपाल एकिकरण भएपछि त्यसमा माथिल्लो भागमा चन्द्रमा र तल्लो भागमा सूर्य अंकित गरेर कायम गरेको झण्डानै बर्तमान नेपालको राष्ट्रिय झण्डा हो । तिनै कुसुमाकर घिमिरेले कुलमण्डन शाहलाई (बालक राजालाई)गद्दीमा राखेर आफुृले राजाको मुख्तीयारी चलाएको कुराहरु ऐतिहासिक ग्रन्थहरुमा उल्लेख छ । यिनै घटना परिघटनालाई मुख्य आधार बनाएर ऐतिहासिक उपन्यासकार एस.पी. आशा(श्रीप्रसाद घिमिरे) ले लमजुंगे बाघ नामक एतिहासिक उपन्यास लेखि वि.सं. २०७१ भाद्रमा प्रकाशन गर्नु भएको छ भने श्री बलभद्र घिमिरे समेतको सक्रियतामा २०७१ बैशाख महिनामा पुस्तुन बाहुनडाँडामा ऐतिहासिक पुरुष कुसुमाकरको सालिक स्थापना गरि कुसुमाकर पार्क निर्माण समेत भएको छ । यिनै कुसुमाकर घिमिरेका बंशमा पुस्तुनमा जन्म लिनु भएका श्री माधव प्रसाद घिमिरे राष्ट्रकविको रुपमा प्रज्वलित भइ मस्र्याङ्गदी वाङमयलाई मलजल गर्दै त्यस क्षेत्रका कला, साहित्य प्रेमि जनहरुलाई उत्प्रेरणा दिदै देशको वाङमय ईतिहासमा उज्वल नक्षत्रको रुपमा रहनु भएको छ । वहाँको प्रमुख संरक्षकत्वमा हुर्किएको   मस्र्याङ्गदी वाङमय प्रतिष्ठानको छत्रछायाँमा, यस अवधिमा मस्र्याङ्गदी उपत्यकामा धेरै गद्य र पद्य साहित्यका नक्षत्रहरुको उदय भएको छ । 

बाह्रै मंहिना हिमाच्छादित अन्नपूर्ण श्रखलाका उच्च हिमालदेख विभिन्न तहका गाउवस्ती हुदै खेतीयोग्य उर्वर फाँट तथा न्याना बेंसी, टारहरुमा उत्तर दक्षिण भई फैलिएको यस मस्र्याङ्गदी उपत्यकाको जैविक विविधता पनि यसका अमूल्य सम्पदा रहि आएका छन् । हिमाली क्षेत्रका घाँसे मैदानहरुमा कस्तुरी मृग,झारल, घोरल, रतुवा, हिउ चितुवा डाँफे, मयुर पाईन्छन् भने बहुमुल्य जडिबुटि यार्सागुम्बा, पाँच औले, निरमसि, भूतकेस, कुटकी, पाखनभेद, गुचियाउ, जिम्बू तथा देवदार, लोठसल्ला, चिराईतो, जस्ता महत्वपूर्ण बनस्पतीहले हराभरा र सुगन्धित  पारिरहेको छ । त्यस्तै मस्र्याङ्गदी र यसका सहायक नदी खोलाहरुबाट सिंचित उब्जाउमय टार, फाँट बस्तीहरुको राम्रोसंग आवादि गरी उपयोग गर्न mसकेमा यहाँबाट उत्पादन हुने तरकारी फलफूल र धान, मकै गहू जस्ता अन्नवालीको उत्पादनले यस क्षेत्रमा बसोवास गर्ने वासिन्दालाई पर्याप्त हुने सम्भावना बोकेको छ । यद्यपि बैदेशिक रोजगारीको आकर्षणले गर्दा विगत ८÷१० वर्षदेखि कामगर्नसक्ने सक्रिय पुरुष जनशक्ति विदेश पलायन भएको छ भने महिला जनशक्ति सहरबजार जस्ता सुविधायुक्त स्थानहरुमा केन्द्रित  हुने प्रबृत्ति बढदै गएको हुदा खेतीयोग्य भूमिको उपयोग कमदहुदै गएको छ । भारतीय र बृटिश सेनामा यस भेगका गुरुङ, मगर जातीलाई दिईदै आएको प्राथमिकताको कारण उनिहरुले पु¥याएको योगदानको चर्चा अर्कै पाटो छ तापनि उनिहरुको रगत पसिनाको कमाईबाट बर्सेनी करोडौं बिदेशि मुद्रा स्वदेश भित्रीरहेको छ । 

मस्र्याङ्गदी उपत्यकाको संस्कृति विर्सिनै नसकिने छ । माथिल्लो मनाङ वासिको तीर हान्ने खेल, गुरुङ्ग मगरहरुको रोदि, घाँटु, सोरठी नृत्य तथा अन्य समुदायको खैजडि भजन, बालन, रोईला, लोकदोहोरी जस्ता लोकप्रिय संस्कृतिको अतिरिक्त देउबहादुर दूरा र उनका सहयोगि भेडिखर्के साईलादाईको ठाडो भाखाले मन्त्रमुग्ध नहुने कोहि होला र ? यो संस्कृतिलाई मर्न नदिई अझ उजागर गर्दै आफ्नो मौलिकता प्रदर्शन गर्ने काममा मस्र्याङ्गदी वाङमय प्रतिष्ठानको अग्रणी भूमिका रहिरहनु पर्दछ । 

मस्र्याङ्गदी उपत्यका भित्रको उपल्लो मनाङको खाङसार र तिलिचो ताल क्षेत्रलाई अष्ट्रेलियाको Port Campbell संग तुलना गर्न सकिने प्रसस्त आधारहरु रहेछन् । अष्ट्रेलियाको राजधानी सहर क्यानबेरा र दक्षिणकी रानी भिक्टोरीयको विभिन्न पर्यटकीय स्थलहरुमध्ये Port Campbell  लाई मैले एउटा मन छुने ठाउको रुपमा अंकित गरेको छु । भिक्टोरियादेखि Adelaide सम्मको अष्टे«लियाको समुद्रसंग जोडिएको दक्षिणी किनारामा निर्माण भएको The Great Ocean Road पर्यटकीय दृष्टिकोणले ज्यादै महत्वको सडकमार्ग रहेछ । Gelong सहरदेखि समुद्रको किनारै किनार पश्चिमतर्फ जादा समुद्रका विभिन्न चित्ताकर्षक रुपहरु देख्न पाईन्छ । समुद्रको छाल, समुद्रको बहाव, जलचर प्राणीहरुको गतिविध, समुद्रले बनाएको बीच, सिमसार आदिको दृश्य हेर्न लायक छन् । तीलिचो ताल क्षेत्रमा गएर हिमाली क्षेत्रको सौन्दर्यता र प्रकृतिका अनुपम अवयवहरुको अनुभूती गर्न सकिन्छ भने  The Great Ocean Road बाट देखिने समुद्रको अनुपम स्वरुपहरु देख्न पाईन्छ । यहि अनुपम आनन्द लिन अष्ट्रेलियाका सहरहरुमा बस्ने सम्पन्न मानिसहरुले यो समुद्र किनारामा Holiday Houses हरु खरिद गरेर राख्ने र समय समयमा त्यहाँ विदा मनाउन जाने चलन पनि बढ्दै गएको रहेछ । अष्ट्रेलियाका विभिन्न शहरहरुमा बसोवास गर्ने र विभिन्न पेशा व्यवसायमा व्यस्त रहने मानिसहरु विदा मनाउन समय मिलाएर यो The Great Ocean Road बाट समुद््को अवलोकन गर्दै सयर गर्ने पर्यटकहरु प्रसस्तै भेटिदो रहेछ । The Great Ocean Road बाट समुद्रको दृश्यावलोकन गर्दै जादा पुगिने Port Campbell पर्यटकीय दृष्टिकोणले ज्यादै महत्वको ठाउ रहेछ । यसको भौगोलक वातावरण र अनुपम विशेषताहरु नेपालको मनाङ्गको तीलिचो ताल र यस आसपासका क्षेत्रसंग धेरै अर्थमा तुलना गर्न सकिन्छ । 

अब लागौं यी दुई ठाउको तुलनात्मक विश्लेषण तर्फ 

तिलिचो ताल भूगोलको उत्तरी गोलार्धमा हिमालय पर्वतको मध्य भाग नेपालको मानाङ्ग जिल्लामा ४९२० मीटरको उचाईमा रहेको छ भने Port Campbell भूगोलको दक्षिणी गोलार्ध, अष्टे«लिया महादेश    (देश) को भिक्टोरीया राज्यको राजधानी मेलबर्न शहरदेखि करिब ४०० कि.मी. पश्चिम हिन्द महासागर र प्रशान्त महासागरको बिचमा पर्ने Great Australian Bight  मा अष्टे«लियाको दक्षिणी किनारमा रहेको छ ।

दुईवटै स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण छन् । तीलिचोमा पदयात्रामा जाने पर्यटकको अतिरिक्त पोखराबाट हेलिकप्टर चडि हवाई अवलोकन गर्न जाने पर्यटक पनि हुन्छन् त्यस्तै  Port Campbell  मा पनि हेलिकप्टर चडेर सो एरियाको अवलोकन गर्न पाईने व्यवस्था रहेछ । 

हावापानीको हिसावले तीलिचो ताल हिमालमा पर्ने भएकोले अत्यन्त ठण्डा हापानी छ भने Port Campbell महासागरको किनारामा भएको हुनाले हिउ नपरेपनि चिसो हावापनी र अधिकांश समय चिसो हावा चलिरहने हुदा त्यहापनि धेरै समय बाहिर टिकेर बसिरहनसक्ने ठाउ होईन ।

Port Campbell एरियामा पनि ठूला रुखहरु नभई झाडि र बुट्यानमात्र छ जुन तीलिचोसंग धेरैहदसम्म समानता राख्दछ ।

तीलिचो तालको भ्रमण गर्न सडकमार्ग छोडेर पनि पैदल हिडदा पुग्नमात्रै ६ दिन खर्च गर्न पर्ने भएकोले यात्रा ज्यादै कठिन हुन्छ तर Port Campbell, The Great Ocean Road  मा जादा बिच बाटोमा पर्ने भएकोले सबारी साधनबाट सहज रुपमा भ्रमण र अवलोकन गर्न सकिन्छ ।

तीलिचो तालको पदयात्रामा जाने पर्यटकहरुले लमजुङ्गको बेसिशहरदेखि माथि बाटोमा पर्ने पर्यटकीय स्थलहरु बाहुनडाँडा, ताल, धारापानी, बगरछाप, चामे, पिसाङ्ग, हुम्डे, भ्राका, खाङसार आदि गाउको भौगोलिक, सास्कृतिक र धार्मिक महत्वका स्थल र बौद्धगुम्बाहरुको अवलोकन गर्ने अवसर पाउछन् भने Port Campbell भ्रमणमा जादा पनि Gelong, Port Phillip, Portalington, Colac, Warrnambool, Appolo bay  जस्ता बाटोमा पर्ने महासागरको किनारमा अवस्थित पर्यटकीय स्थलहरुको अवलोकन गर्न सकिन्छ ।

प्राकृतिक सौन्दर्यता र यसको महत्वका हिसाबले यी २ ठाउको तुलनात्मक विश्लेषण गर्न सकिने क्षेत्रहरु धेरै भएतापनि भौतिक विकासको हिसाबले तुलना गर्न नसकिने कुराहरु पनि उत्तिकै छन् । तीलिचोमा जादा खास गरी Base Camp बाट माथि कुनै प्रकारको घर, होटल, लज लगायतका खाने बस्ने ठाउको सुविधा छैन, पर्यटकले आफैले झोलामा बोकेर वा भरीया लगाएर बोकाएर लैजानुपर्ने हुन्छ तर Port Campbell मा यातायातको सुविधाका कारण प्रथमत बास वस्नुपर्ने बाध्यता कम पर्दछ, त्यसमाथि पनि स्तरीय हेटल, रेष्टुरेण्टहरुको व्यवस्था भएका कारण पर्यटकलाई भ्रमण गर्न सहज स्थिती छ । 

पानीको महत्व कती अपरम्पार छ त ? एक पटक सोची हेरौ । पानी बिना यो पृथ्वीमा न कुनै बनस्पतीको अस्तित्व रहन्छ न कुनै प्राणीको ? प्राणी र बनस्पती दुबैलाई बाच्ने आधार भनेकै पानी हो । त्यहि पानी हो जुन हामी खान, सरसफाई गर्न, सिचाई गर्न प्रयोग गर्छौ त्यस्तै पानी हो तीलिचो तालको पनि, जुन पानी हेर्न बर्षेनी लाखौ रुपैयां खर्च गरेर हज्जारौ स्वदेशि र विदेशहरु पुग्छन् । त्यस्तै पानी हो Port Campbell को महासागर किनारको पानी पनि जुन पानी हेर्न बर्षेनी विश्वभरका लाखौ मानिस पुग्छन् । त्यसरी सन् २००२ मा तीलिचो तालको पानी र सन् २०१० मा Port Campbell को पानी हेर्न जाने हज्जारौं यात्रीमध्ये म पनि एक थिएँ ।

समग्रमा मस्र्याङ्गदी नदीनै यस क्षेत्रको यस्तो सम्पदा हो जसले आफ्नो प्राकृतिक बनोटका कारण समस्त मानव जातीलाई लोभ्याउन सकिरहेको छ । आधुनिक विकासको गतीमा पनि यस उपत्यकाले महत्वपूर्ण स्थान ओगटेको छ । दुईवटा ठूला जलविद्युत आयोजनाहरु निर्माण भई समस्त देशलाई विद्युत उर्जा प्रवाह गरिरहेको छ भने खुदी, ङादी जस्ता साना आयोजनाले पनि विद्युत उत्पादन गर्ने अन्तिम  तयारीमा रहेका छन् । त्यस्तै माथिल्लो मस्र्याङ्गदी आयोजना निर्माण चरणको पर्खाइमा छ । साविकको पदयात्रा मार्गलाई विस्थापित गर्दै बेसिसहर चामे सडक निर्माण भई सकेको छ भने माथिल्लो मानङ क्षेत्रमा समेत यातायातका साधन पुगिसकेको छ । विदेशि पर्यटकको लागि यस क्षेत्रमा अझ आकर्षण बढाई उनिहरुको बसाई लामो गराउन बैकल्पिक पदयात्रा मार्ग लगायतका विकल्पहरुको खोजिगर्न सम्बन्धित क्षेत्रका विज्ञ र जिम्मेवार निकायहरुको ध्यान आकर्षण भैरहकै छ । मस्र्याङ्गदी वाङमय प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि यती लामो अवधिमा यस क्षेत्रको संस्कृति कला साहित्यको संरक्षण एवं विकासको लागि गर्दै आएको योगदान प्रशंसनीय छ । आगामि दिनहरुमा मस्र्याङ्गदी उपत्यकाको भण्डारमा रहेका सम्पूर्ण सम्पदाहरुको खोजि र पहिचान गर्ने तिनिहरुको नालीवेली उधिनेर संग्रहित भाषा तथा श्रव्य दृश्यको माध्यमबाट पाठक समक्ष पु¥याउने गहन कार्यमा मस्र्याङ्गदी वाङमय प्रतिष्ठानले अग्रणी भूमिका खेल्ने विश्वासका साथ यस प्रतिष्ठानले सफलतापूर्वक बीसौं बसन्न्तमा प्रवेश गर्न लागेकोमा शुकामना व्यक्त गर्दछु । 


ईश्वरी प्रसाद घिमिरे   हर्मी ६, गोरखा 

हाल कामनपा ३, रानीवारी काठमाण्डौं

Email; ghimireishwari@gmail.com

यो लेख मस्र्याङ्गदी वाङमय प्रतिष्ठानद्वारा वि.सं. २०७३ श्रावणमा प्रकाशित                                            स्मारिकामा छापिएको छ । 





 


No comments:

Post a Comment