दशैं
उसको वास्तविक नाम इमान सिं घर्ती हो तर गाउलेहरु उसलाई छोटकरीमा इमाने भनेर चिन्दथे र बोलाउने गर्दथे । इमानेको चार जनाको सानो परिवार थियो आमा, लोग्ने स्वास्नी र सात वर्षकी छोरी जुनकिरी । ज्याला मजुरी गरेर परिवार पालेको थियो । उसको पुख्र्यौली सम्पत्ति भनेको एक हलको मेलो पाखोवारी र गोडा चारेक मुरी धान फल्ने खेत मात्र थियो, जसले उसको परिवारलाई छ महिना मात्र खान पुग्दथ्यो । पशुधनको नाममा एउटा थोरे भैसी र एउटा थारो गाईमात्र थिए । बाँकी छ महिनाको लागि जेला मजुरीबाटै गुजरा चलाउनु पर्दथ्यो । लोग्ने स्वास्नी दुवैजना ज्याला मजुरी गर्न जान्थे । काम गरेको ज्याला महंगोनै, भएकोले राम्रै आमदानी गर्दथे ।
वर्षात्को याम सकियो धमाधम चाडवाडहरु आउन लागे दशैं पनि नजिकिंदै आयो । यो वर्ष इमानेकी स्वास्नी पनि दुई जीउकी भएकी थिई । त्यसैले यस्तो बेलामा उसलाई पनि पोषिलो खानेकुराहरु खुवाउनु पर्छ भनेर स्वास्थ्य स्वयम् सेविकाहरुले भनेको र कहिलेकाहिं रेडियोले भनेको पनि इमानेले सुनेको थियो । त्यसै भएर होला यो वर्ष इमानेले एउटा सिंगै बोका काटेर दशै मनाउने बिचार ग¥यो ।
त्यस्तै घटस्थापनाको एक दुई दिन पहिलेको कुरा हो, ईमाने एकदिन बिहानै उठेर बोटमा पाकेर पहेलै भएको काँक्रो आफ्नै बारीबाट टिपेर काँधमा हाल्यो र डाँडापारी मितबाबुको घरमा गयो, बिहानको खाना पनि उतै खायो । मितबाबु मितिनी आमासंग दुःख सुखका कुराहरु ग¥यो । मितबाबुलाई नै भनेर दशैंको लागि त्यहि गाऊबाट एउटा पाँच छ धार्नी जतीको बोका पनि किनेर घरमा लिएर आयो र पालिको खाँबामा बाँध्यो । नौलो ठाउँ भएर होला प्याक्याक्या प्याक्याक्या गरेर बोका कराउन थाल्यो । दशै आउनलाग्दा घरमा बोका किनेर ल्याएको देख्दा उसकी आमा र स्वास्नी त खुशी हुनेनै भए । घरमा बोका कराएको सुनेर गाउमा खेल्न गएकी छोरी जुनकिरी पनि दौडिदै घरमा आई र बोकाको नजिकै गएर आमालाई सोध्छे आमा आमा यो बोका कस्ले ल्याएको, किन ल्याएको हो ? आमाले दशैं मान्न बाले ऊ डाँडापारिबाट किनेर ल्याएको भनेर जवाफ दिन्छे । जुकिरी दशै आयो दशैं आयो भनेर रमाउदै उफ्रिन्छे र आफ्ना साथीहरुलाई भन्न गाऊतिरै दौडन्छे । ईमानेको घरमा बोका कराएको सुनेर गाउलेहरु दश आठजना उसका घरमा भेला हुन्छन् । ईमानेले कहाँबाट कति पैसामा ल्याएछ दशैलाई बोका भनेर गाउलेहरु छलफल गर्छन् । बधुवा पाठो रहेछ बोसो कति होला भनेर एउटा ठिटाले सोधेको थियो, अर्को अधबैशेले बोकाको त्यति बोसो हुदैन तर बधुवा भएर होला अलि गन्हाएको रहेछ । बोको गन्हाएको मासु कसैकसैलाई मनपर्छ कसैलाई पर्दैन भनेर आफ्नो धारण राख्यो । यस्तै कुराहरु गर्दै गाउलेहरु आ—आफ्ना घरतिर लागे । जुनकिरीले आफ्नो घरमा बाले दशैलाई बोका किनेर ल्याएको कुरा साथीभाइलाई भनेपछि जुकिरीसित गाउँका एकहुल केटाकेटि आएर बोकाको नजिकै गएर हेर्नथाले । बोको नौला केटाकेटीहरु देखेर जगर फुलाएर केटाकेटीहरुलाई हेर्दै थियो । यस्तैमा बोकाले सिरीरीर मुतेर मसिनो धारो केटाकेटीको मुखमा पु¥याईदियो । केटाकेटीहरु हाँस्तै भागे ।
ईमानेले घरको पूर्वतिरको पिडीमा चित्राले बारेर एउटा खाट हालेर आफ्नो सुत्ने ठाऊँ बनाएको थियो । साँझ परेपछि त्यहि आपूm सुत्ने खाटको गोडामुनि खाटको खुट्टामा बोकेलाई बाँधेर एकमुठा डालेघाँस झुण्डाईदियो । बोकाले चोरेत ! चोरेत ! आवाज निकालेर पातहरु चुडेर खुब मज्जाले घाँस खायो, इमानेले फेरी एकपटक बोकालाई सुमसुम्यायो र मनमनै भन्यो यसपालि त ! मान्छेको साथ पाएर होला नौलो ठाउँ भएपनि राती बोका कराएन मजाले पाहुर मारेर बस्यो, ईमाने पनि के के कुराहरु सोच्दै निधायो ।
भोलिपल्ट विहान उज्यालो भयो । सबैजना उठेर आ—आफ्नो काममा लागे जुनकिरीले अलकती घाँस काटेर डोकोमा हालेर ल्याएर बोकोलाई दिइ र साथीहरुसंग खेल्न गाउतिर गई । एकैछिनमा साथीहरु बोटुलेर ल्याई सबैजना उत्सुक भएर बोकाको नजिकै गएर कसैले कान त कसैले सिङमा समाएर जिस्याउन थाले । यस्तैमा बोकाले पनि हिजको जस्तै गरेर सिरिर्र पारेर मुतिदियो । केटाकेटीहरु भागे । यो र यस्तै गाउलेहरुको समिक्षा, छलफल र केटाकेटिहरुको रमाईलोको क्रम छ सात दिनसम्म चल्यो । बोका काट्ने दशैको दिन क्रमश नजिक आउदै थियो । जुनकिरी बोका काट्ने दिन कहिले आउला भनेर दिनदनै बाबु आमासित सोध्ने गर्दथी । बहुत उत्साहित भएर रमाएकी थिई । खुशी पनि किन नहोस् केटाकेटीलाई दशै आएको जस्तो भन्ने त हाम्रो उखानै छ ।
दशैंको दुईदिन अगाडि रातीमा ईमाने मस्तसित भाते निद्रामा परेको बेलामा बाघले आएर बोकालाई लैजान हमला गर्छ तर जुनकिरीको बाबुले चालपाउँछ र कराउँदै बोका बाँधेको ठाउँमा पुग्छ । बाघले बोकालाई समातेर घाँटीमा दाह्रा गाडिसकेको हुन्छ । जुनकिरीको बाबुले बोकालाई बाघबाट खोसेर बचाउन सक्दो कोशिष गर्छ तर रगत चुस्न लागिसकेको बाघले के दिन्थ्यो, जुनकिरीको बाबुलाईनै झम्टन खोज्छ र बोका घिसारेर झाडितिर लाग्छ । गाउँलेहरु जम्मा भएर हल्लाखल्ला गर्छन्, ढुंगामुढा गर्छन् र बाघलाई तर्साएर भगाउन प्रयास गर्छन् तर बाघ रातीमा झडिभित्र कतै लुकेको हुन्छ । बोका पाउन सक्दैनन् । मोलिपल्ट बिहान दुईचारजना गाऊलेहरु साथी लिएर फेरी जुकिरीको बाबु बोका खोज्न झाडितिर जान्छन् । घरदेखि अलिपर झाडिमा खिर्राको बोटमुनि बोकाको टाउको, खुट्टा र अलिकति छालामात्र भेटिन्छ । जुनकिरीको बाबु त्यहि लिएर घरमा आउछ र आँगनमा राखेर खइइईय गर्दै लामो सुस्केरा लिन्छ । त्यतिखेरै जुनकिरी ओछ्यानबाट उठेर बोका बँधेको ठाउमा जान्छे, त्यहाँ बोकालाई देख्दिन र बाबुलाई सोध्छे खै त हाम्रो दशैमा काट्ने मुनी । ईमाने नतमस्तक हुन्छ, मुटुमा गाँठो परेर आउँछ, उ छोरीलाई केहिपनि जवाफ दिन सक्दैन । झोक्रिइ रहन्छ ।
इश्वरीप्रसाद घिमिरे
कामनपा ३, रानीवारी काठमाडौं
कोजाग्रत पूर्णिमा २०७४
EmailM ghimireishwari@gmail.com
No comments:
Post a Comment