Monday, August 26, 2024

काश्यप गोत्र र गोत्र, प्रवरहरू

 काश्यप गोत्र र गोत्र, प्रवरहरू



भारतवर्षमा बसोवास गर्ने मानवजाती प्रचीनकालका सप्त ऋषिहरू गौतम, भरद्वाज, वशिष्ठ, विश्वामित्र, यमदग्नी, कस्यप र अतृ हुन् । यी सात ऋिहरूले आफ्नो नामबाट आफ्ना सन्ततीहरूको गोत्र चलाएका थिए । पछि अगस्त्य ऋषिले पनि सप्तऋषिकै सिको गरी अगस्त्य गोत्रको शुरूआत गरेका थिए । यसरी शुरूमा यी आठ ऋषिको नामबाट गोत्रको प्ररम्भ भएको थियो । लामो समयपछि यी आठ गोत्रका ऋषिहरूका सन्ततीहरू विभिन्न समूहमा विभाजित हुदै गए र गण कलाउन थाले । ती गणहरू पनि बढ्दै गए, तिनै आठ ऋषिका सन्तानहरू वेदका सूक्त÷मन्त्रदृष्ट्वा ऋषिहरूले आफ्नो परिवार, सन्तान, कूल बढ्दै जाँदा कतिपयले आफ्नै नामबाट नयाँ गोत्र शुरू गरे र कसैले तीन त कसैले पाँच पुस्ता सम्मको आफ्ना पुस्ताको नाम जोडेर प्रवर राखेको पाइन्छ । जस्तै वशिष्ट ऋषिको कूलमा जन्मेका कौडण्य ऋषिले आफ्नो नामबाट कौडण्य गोत्र र प्रवरमा कौडिण्य, वशिष्ठ, मैत्रावरूण राखेर गोत्र प्रवरको आरम्भ गरे । त्यसैले अहिले आपूmलाई कौडिण्य गोत्र भन्नेहरू वशिष्ठ ऋषिका सन्तान हुन् । त्यस्तै विश्वामित्रको कुलमा जन्मेका कौशिक ऋषिले विश्वामित्र गोत्र छाडि आफ्नै नामबाट कौशिक गोत्र र प्रवरमा कौशिक, अधमर्षण, विश्वामित्र अथवा कौशिक देवरात ओदल त्रिप्रवर राखे । त्यस्तै सप्तर्षि मध्येका एक यमदग्निको कुलमा जन्मेका भष्टा ऋषिले आफ्नो सन्ततीलाई यमदग्नि गोत्र छाडेर भष्टा गोत्र भन्न लगाए । त्यसरी पछिल्लो पुस्ताका ऋषिले आफ्ना पूर्खा आठबटा ऋषिले चलाएको गोत्रलाई परिवर्तन गरी आफ्ना सन्ततीलाई आफ्नैे नामबाट  गोत्र प्रवर कायम गरी चलनमा ल्याएका उदाहरण धेरै छन् । त्यसकारण अहिले ४९ भन्दा धेरै गोत्रहरू प्रचलनमा आएको अध्ययनहरूबाट पाइन्छ ।

  


त्यही प्रकारले सप्तर्षि मध्यका कश्यप ऋषिका कुलमा जन्मेका अर्का काश्यप ऋषिले पनि आफ्नो सन्तानलाई आफ्नै नामबाट काश्यप गोत्र भन्न लगाए भने आफ्नो तीन पुस्तालाई समेटेर तीन प्रवर निर्माण गरे । त्यसमा पनि उनका तीन पुस्ताले फरक फरक प्रवर प्रयोग गरेको पाइन्छ । काश्यप ऋषिका वत्सर र असित गरी दुइभाई छोरा भए । त्यस्तै वत्सरका निध्रुव र रेभ्य नाम गरेका दुईभाई छोरा भए भने असितका पनि देवल र शण्डिल्य गरी दुईभाई छोरा भए । काश्यपकै सन्ततीमा पनि गोत्र काश्यप भए तापनि  फरक फरक प्रवर प्रचलनमा रहेको छ । त्यसमा 

1. पहिलो काश्यप, आवत्सर, नैध्रुव भयो 

2. दोस्रो काश्यप, आवत्सर र रेभ्य भयो । 

3. तेस्रो काश्यप, असित देवल भयो 

4. चौथो काश्यप, असित शाण्डिल्य । 

शाण्डिल्यले आफ्नै नामबाट शाण्डिल्य गोत्र राखे र प्रवरमा आफ्ना दुई भाई शाण्डिल्य, देवल र पिता असितको नामबाट शाण्डिल्य, असित, देवल भनेर तीन प्रवरको नाम राखेको पाईन्छ ।  यी प्रवर हुने थरहरू कश्यपका वंशजमा जन्मेका काश्यप ऋषिका सन्तान नै हुन् र घिमिरेहरूको प्रवर पनि काश्यप, आवत्सर र नैध्रुव नै हो । अरू थरका फरक प्रवरहरू होलान् तर माथिका चार प्रकारका प्रवर भएका थरहरूको गोत्र चाहीं काश्यप नै हो । यस कुरालाई पुष्टी गर्ने आधर धेरै छन् । 

पहिलो प्रमाण त प्रवर नै हो ;- किनकी काश्यप ऋषिले आफ्ना तीन पुस्ताका सन्तानको नामलाई मिलाएर प्रवर निर्माण गरेका रहेछन् तर कश्यपका तीन पुस्तामा वत्सर, नैध्रुव, असित, देवल, शाण्डिल्य कुनै पनि पर्दैनन् । श्रीमद्भागवत पुराण अनुसार ब्रम्हाजीका मानसपुत्र मरिची भए । यिनकी पत्नी दक्षकन्या सम्भूती थिइन् । मरिचीकी अर्की पत्नी कर्दम ऋषिकी पुत्री एवं कपिलदेवकी बहिनी कला थिइन् । कलाले कश्यप ऋषिलाई जन्म दिइन् । कश्यप ऋषिको विवाह दक्ष प्रजापतीका १३ वटी कन्याहरूका साथ भएको थियो । सूर र असूरका मूलपुरूष यिनै कश्यप ऋषि थिए । कश्यपले पत्नी अदितीबाट १२  (द्वादश) आदित्यहरूको जन्म दिएका थिए । त्यसमा कान्छा वामन थिए जसलाई त्रिविक्रम पनि भनिएको छ । द्वादश आदित्यमध्ये विवश्वान ज्येष्ठ पुत्र थिए । विवश्वानबाट वैवश्वत मनुको जन्म भयो । वैवश्वत मनुलाई ब्रम्हाजीका पाँचौ पुस्ताको मानिन्छ । यि वैवश्वत मनुका दश पुत्रहरू थिए । यिनै वैवश्वत मनुका दश पुत्रहरू नै भारतवर्षका मानवका आदिपूर्खा हुन् भनिएको छ ।


दोस्रो प्रमाण ;- ऋग्वेदका सुक्तहरुलाई केलाउदा सुक्तकार ऋषिहरुमा कतै कश्यप मारीच, कतै कश्यप मात्र लेखिएको पाइन्छ भने कतै मनु वैवश्वत, कतै मनु वैवश्वत कश्यप मारीच कतै निध्रुव काश्यप, कतै आवत्सर काश्यप त कतै असित काश्यप देवल लेखिएको छ । यसले गर्दा पनि कश्यप र काश्यप फरक ऋषि हुन् भन्ने पुष्टि गर्दछ । साथै काश्यप, असित, देवल, आवत्सार, निधु्रवको नाम कतै एकल रुपमा त कतै संयुक्त रुपमा उल्लेख भएको पाइन्छ तर कश्यपको नाम कतै एकल, कतै मारीचसंग जोडिएको पाईन्छ तर आवत्सार, निधु्रव, देवल, असित, शाण्डिल्य लगायत संग संयुक्त सुक्तकारको रूपमा उल्लेख भएको पाइदैन । हेरौं ऋग्वेदका कुनकुन सुक्तहरुका सुक्तकार महर्षि कश्यप र उनका वंशका कुनकुन ऋषिहरु थिए ।

मण्डल सुक्त मन्त्र          मन्त्रद्रष्टा ऋषि

      ४४          सबै मन्त्र आवत्सार, काश्यपः                              

    २७–२८ सबै मन्त्र मनु वैवश्वत

      २९–३१ सबै मन्त्र मनु वैवश्वत, कश्यप मारीच

 ५–२४ सबै मन्त्र असित,काश्यपो, देवल                                              ९ ५३–६०         सबैमन्त्र       आवत्सारः काश्यपः                                     ९ ६३ सबै मन्त्र निधु्रविः काश्यप                                               ९ ६४ सबै मन्त्र मारीचः कश्यपः                                                                ९ ९१– ९२ सबैमन्त्र कश्यपः                                                                ९ ९९–१०० सबै मन्त्र रेभसूनू, काश्यपौ संयुक्त                                        ९ ११३–११४ सबै मन्त्र कश्यपः (कश्यपः मरीच)                                     १० १३७ सबै मन्त्र कश्यपः                                                १० १६३ सबै मन्त्र कश्यपः

उनीहरूले यी सूक्तमार्फत सोम देवतासित शारिरीक स्वस्थता, उच्च मनोबल र बुद्धिबलको कामना गर्नुका साथै लोकहितका लागि धनधान्य र ऐश्वर्यको प्रार्थना गरेका छन् । 

तेस्रो प्रमाण;- कुर्म पुराणको १९ औं अध्यायको सातवाँ श्लोकमा “शाण्डिल्यो नैध्रुवो रैभ्य त्रय पुत्रस्तु काश्यपा ।” भनिएको छ । साथै उक्त कुर्म पुराणको १९ औं अध्यायको १ देखि सातौ श्लोकसम्म काश्यप वंशको वारेमा उल्लेख गरेको पाइन्छ । 

चौथो प्रमाणको रूपमा राजस्थान भारतबाट प्रकाशित गद्य कोश हिन्दी अंगिका राजस्थानी पत्रिकामा विद्वान सहजानन्द सरस्वतीले महर्षि वंश विस्तार शिर्षक दिएर लेख्नु भएको छ ः कश्यप र काश्यप एउटै ऋषि होइनन्, मुल ऋषि चाहीं कश्यप नै हुन् । काश्यप कश्यपका वंशमा जन्मेका फरक ऋषि हुन् र उनिहरुको प्रवर काश्यप, असित, देवल अथवा काश्यप, आवत्सार, नैध्रुव हो भनेर आफ्नो तर्क पेश गर्नु भएको छ, । वहाँले भरद्वाज र भारद्वाज, कश्यप र काश्यप, गर्ग र गाग्र्य, भृगु र भार्गव अलग अलग गोत्र हुन् भन्नु भएको छ । साथै कश्यप र काश्यपका मूल ऋषि कश्यप नै भएको हुदा यिनहरूका बिचमा विवाह हुदैन भनेर आफ्नो भनाइ राख्नु भएको छ । 

पाँचौं प्रमाणः घिमिरे वंशावलि प्रकाशन समिति ज्ञानेश्वर काठमाडौंबाट २०५३ मा प्रकाशित घिमिरे वंशावलीमा मार्कण्डेय पुराणको श्लोकलाई उदृत गर्दै भनिएको छः  ब्राम्हणस्तनयो भूमरिचि रितिविश्रुतः ।                                                                                कस्यपतस्य पुत्रोऽभूत्कश्यपयानान्स कश्यपः ।।

ब्रम्हाका छोरा मरिचि र उनका छोरा कश्यप भन्ने यस श्लोकबाट प्रमाणित भएको छ । उनै कश्यप ऋषिका सन्तानमध्ये एक हाँगो वासस्थान र भाषाको अपभ्रंशले घिमिरे भएका हुन् । यदाकदा कश्यप वा काश्यप गोत्र के हो ? भन्ने विवाद उठेको पनि सुनिएको छ । कश्यपका सन्तान हुदा काश्यप भनिएको हो । यसमा दुई भिन्न गोत्र नभई घिमिरेको एकै काश्यप गोत्र हो भनेर उल्लेख गरिएको छ । 

छैटौं प्रमाणः मत्स्यपुराणको १८९ औं अध्यायको १ देखि १९ औं श्लोकसम्म महर्षि कश्यप उनको वंश र प्रवरका वारेमा यसरी वर्णन् गरिएको छःः महर्षि मरिचीका पुत्र कश्यप भए र उनै कश्यपका कुलमा जन्म लिएका गोत्र प्रवर्तक ऋषिहरुका नाम (वर्णन) यस प्रकार उल्लेख भएका छन्ः आश्रायणि, मेषकीरिटकायन, उदग्रज, माठर, भोज, विनयलाक्षण, शालाहलेय, कौरिष्ट, कन्यक, आसुरायण, मन्दाकिनीमा उत्पन्न मृगय, श्रोतन्, भौतपायन, देवयान, गोमयान, अधश्छाय, अभय, कात्यायन, शाक्रायण, बर्हियोग, गदायन, भवनन्दि, महाचक्रि, दाक्षपायण, बोधयान, कार्तिक्य, हस्तिदान, वात्स्यायन, निकृतज, आश्वलायनी, प्रागायण, पैलमौली, आश्ववातायन, कौबेरक, श्याकार, अग्निशर्मायण, मेषप, कैकरसप, बभ्रु, प्राचेय, ज्ञानसंज्ञेय, आग्न, प्रसेव्य, श्यामोदर, वैवशप, उद्बलायन, काष्ठाहारिण, मारीच, आजिहायन, हास्तिक, वैकर्णेय, काश्यपेय, सासि, साहारितायन, तथा मातङ्गी, भृगुँ यी ऋषिहरुको वत्सर, कश्यप तथा महातपश्वी निधु्रव यी तीन प्रवर मानिदै आएको छ । यिनीहरुमा आपसमा विवाह हुदैन भनेर श्लोकमा यसरी भनिएको छ ः 

 वैकर्णेयाः काश्यपेयाः सासिसाहारितायनाः मातङ्गिनश्च भृगवस्त्र्यार्षेयाः परिकीर्तिताः ।।                                   वत्सरः कश्यपश्चैव निधु्रवश्च महातपाः । परस्परमवैवाह्या ऋषयः परिकीर्तिताः ।

यसमा विद्वानहरूको फरक मत अवश्य रहनेछ । फरक मतका आधार सहित प्रस्तुत गरिदिनुभए यो बबुरो लेखक आभारी हुने थियो ।

धन्यवाद




No comments:

Post a Comment