Monday, August 26, 2024

ऐतिहासिक पुर्खा कुश्माखर

ऐतिहासिक पुर्खा कुश्माखर

नेपालको इतिहास लेखन केवल राजामहाराजाहरूको जीवन बृतान्त जस्तो मात्र छ । प्रथमतः नेपालको इतिहास लेखन नै लामो छैन, दोस्रो लेखिएको इतिहास पनि  राजामहाराजाहरूको स्तुती गान, प्रशस्ती र वंशावली संकलन जस्तो मात्रै भन्दा पनि हुन्छ । सामाजिक, आर्थिक पक्ष अन्धकार छ । विभिन्न कालखण्डमा नेपालको विभिन्न भागमा बस्ने फरक फरक जात जातीको इतिहास र भूगोल, तिनका पिता पूर्खाले देश र समाजको लागि गरेको योगदान, त्याग तपस्याको वारेमा लेखिएको इतिहास पाइदैन । विभन्न भूखण्डहरूमा वसोवास गर्ने विभिन्न जातजातीका त्यस्ता पूर्खाहरूले समाजको लागि विभिन्न कालखण्डमा गरेका गौरवपूर्ण कामहरूको बर्णन, जीवनी र योगदानका बारेमा उनीहरूकै वंशका सक्रिय व्यक्तित्वहरूले खोज तलास गरी पाएका प्रमाण र केही अनुमानका आधारमा बाहिर ल्याउने जमर्को भने ठाउँठाउँमा हुदै आएको पाइन्छ । ंवडा महाराजाधिराज पृथ्वीनारायण शाहको शासनकालबाट शुरू भएको नेपालको एकिकरण प्रक्रिया उनका छोरा सिह प्रताप शाहको पालामा बहादुर शाहले मुख्तीयारी चलाउदासम्म कायमै रह्यो । पूर्वमा तिष्टा नदी देखि पश्चिममा कांगडासम्म किल्ला खडा गरेर गोरखालीहरूले आफ्नो राज्यसत्ता कायम गर्दा स्थानीय जातजातीहरूको योगदान कुन कुन ठाउमा कति रहेको थियो, कुन कुन जातीका मानिसहरूले के कस्ता योगदनहरू दिएका थिए त्यसको बृतान्त इतिहास त लेखिन सकेको छैन तर पनि राज्यले त्यस्ता ऐतिहासिक पुरूषहरूलाई कदर गरी दिएका विर्ता कदर पत्र, मान सम्मान आदिको बारेमा खोज तलास गरी पछिल्ला पुस्ताले आत्म गौरव अनुभूत हुने काम हुदै आएका छन् । एकिकरणको क्रममा बिजय प्राप्त गरेका भूभागको संरक्षण र उपनिवेसवादिहरूको आक्रमणबाट जोगाउन पूर्वमा सिन्धुली गढी, पश्चिममा जितगढी, अमरगढी, नालापानी गढीमा भिषण लडाईहरू भएको इतिहासले बताउछ ।  ती लडाईमा बुद्धि, कौशलता, चातुर्यता र बहादुरी प्रदर्शन गर्ने ब्राम्हण, क्षेत्री लगायतका खसान्तहरूको तिरिक्त पश्चिमका गुरूङ्ख, मगर, दूरा जाती, पूर्वका राई, लिम्बु लगायतका जातजातीले समाज र राष्ट्रको लागि गरेका योगदान र त्यागको इतिहास धेरै खोज तलास गरी उजागर गर्न बाँकी नै छ ।  पश्चिममा गण्डकी क्षेत्रमा वसोवास गर्ने गन्धर्व जातीले समाजमा विशेष योगदान पु¥याएका प्रतिष्ठित व्यक्तिहरूको गौरव गाथाको बारेमा कर्खा गाएर त्यस्ता गौरवपुर्ण कार्यको इतिहास पुस्तौं पुस्तासम्मलाई सजीव तुल्याइ राखेको पनि पाइन्छ । समाजलाई नेतृत्व र परिवर्तनमा डो¥याउने त्यस्ता पूर्खाहरूले नेपालको पूर्व, पश्चिम, उत्तर, दक्षिण हरेक भूखण्डमा जन्म लिएका थिए होलान् । ती मध्ये कतिको योगदान एवं सहासिक कार्यको समाजले मार्ग दर्शनको रूपमा लिएको पाइन्छ भने, कतिपय त्यस्ता व्यक्तित्वहरूको योगदानको सही मुल्यांकन हुन नसकेका र अल्प समयमा नै लोप भएका पनि छन् होला । त्यस्ता व्यक्तत्वहरू ओझेलमा परेका र उनीहरूको योगदानको कदर समाजले गर्न नसकेको पनि हुन सक्छ । 

नेपालमा शताब्दियौं देखि चलि आएका कुप्रथा र कुसंस्कारलाई चिर्न पनि कतिपय पूर्खाहरूले सामाजिक क्रान्ती गरेका थिए होलान् । सती प्रथा, दाश प्रथा जस्ता अमानवीय व्यवस्थालाई चिर्न सामाजिक दवाव नभइकन राज्यले पनि आँट गर्न सकेको थिएन होला । जमिन्दारी, तालुकदारी, मुख्यौली प्रथा पनि सामाजिक असमानताका द्योतक नै थिए भन्नु पर्छ । ब्रम्हणले हलो जोत्न नहुने, निश्चित जातीले डोला, सोली बोक्नै पर्ने, निश्चित जातीले कमारा, कमारी बस्नुपर्ने प्रथाको अन्त गर्नु पनि ठूलो सामाजिक क्रान्ती नै थियो । विभिन्न कालखण्डमा जन्म लिएका पूर्खाहरूले राज्य शक्तिमा नरहेरै पनि सामाजिक भलाइका कामबाट आफ्नो नाम अमर गराएका छन् । त्यस्ता पूर्खाहरूले समाजमा पु¥याएका योगदानको खोजी गरी उजागर गराउनु आजका पुस्ताको पनि दायित्व हुन आउछ । 

समयको प्रवाह संगै घिमिरेहरूका पुर्खाहरू विभिन्न क्षमताका आधारमा दरवारमा गुरु, पुरोहित, सल्लाहाकार, सेनाको माथिल्लो दर्जा जस्ता पदमा बहाली रहेर राजामहाराजाहरूको चौखट वरीपरिन नै रहेका र राजकाजमा राजामहाराजाहरूलाई सहयोग गर्दै आएको प्रमाणहरू पूर्व, पश्चिम विभिन्न ठाउँमा बसोवास गरेका घिमिरेहरूले पाएका विविध किसिमका विर्ता र त्यसको प्रमाण स्वरूपका ताम्रपत्र, सिलापत्र एवं पञ्जापत्रहरूबाट पुष्टि हुन्छ । रामेछाप मन्थलीका उदयनारायण घिमिरे, सोमनाथ घिमिरे, तनहूँका शिवशंकर घिमिरे, विश्वनाथ घिमिरेहरु, गोरखा छोप्राकका दामोदर जोशी घिमिरे, बलभद्र जोश घिमिरेले पाएको विर्ता, ताम्रपत्रहरू यसका ज्वलन्त उदाहरणहरू हुन् ।  पछिल्लो समयमा आएर लमजुङको पुस्तुनमा जन्म लिनु भएका राष्ट्रकवि माधव घिमिरे राष्ट्रिय व्यक्तित्वको रूपमा उदीयमान तारा भै उदाउनु भएको थियो । वहाँ शताब्दी बढी नै बाँचेर एथेष्ट राष्ट्रिय सम्मानका साथ यस धर्तीबाट विदा लिनुभयो ।  

लमजुङमा शाहा वंशीय राज घरानाको स्थापना गर्नमा अहम् भूमिका निर्वाहा गर्नुहुने घिमिरेवन्धुका पुर्खा ज्योतिष कुश्माखकर घिमिरे, इतिहासले संझन नसकेका ऐतिहासिक पुरूष हुन् । उनको चातुर्यता र सहासिक कार्यले तात्कालिन लमजुङको विभिन्न गाउमा बस्ने, समाजका विभिन्न जात जातीका अग्रगण्य व्यक्तित्वहरुलाई संगठित गराई एउटा सामुहिक प्रयासबाट, शेषान्त जातीका अत्याचरी शासकबाट सताइएका जनताहरूलाई छुटकारा दिन खसान्त जातीका शाहा वंशीय राजा यशोब्रम्ह शाहालाई तात्कालिन लमजुङको राजगद्दीमा गद्दीनसिन गराएका थिए । इतिहासमा उनको ओझेलमा परेका यस पक्षलाई खोजतलास गरी घिमिरेवन्धु राष्ट्रिय प्रतिष्ठानले उजागर गर्ने प्रयत्न गर्नु पुर्खा प्रतिको आदर र सम्मान हो । आजभन्दा करिब ५०० वर्ष अगाडि लमजुङको भीर पुस्तुनमा  जन्मेका कुश्माखकर घिमिरेले आफ्नो जीवन कालमा त्यस वेलाको समाजलाई अगुवाई गरेर लमजुङमा शाहा वंशीय राजालाई गद्दीनसिन गराई, विभिन्न जात जातीका बिचमा सामाजिक सौहार्दता र सद्भावका साथ राज्य सत्ताको मुख्तीयारी चलाएका थिए । त्यस विषयमा इतिहासले नबोले तापनि उपलब्ध प्रमाण, गन्धर्वहरूको कर्खा गानबाट वहाँको चातुर्यता र नेतृत्वदायी भूमिको वारेमा वर्तमान समाज समक्ष पु¥याउनु आजका पुस्ताको कर्तव्य पनि हो ।  ( प्राप्त अभिलेखहरूमा कुश्माखरको जन्म लमजुङमा भएको भन्ने मात्र उल्लेख छ । लमजुङको कुन स्थानमा भन्ने कतै उलेख भएको पाइदैन । घिमिरे वंशावली मध्यखण्ड २०६८ मा उल्लेख भए अनुसार औघट्ट (औजघट्ट) का आठ भाई छोराहरूमध्ये काइंला गजाधर गुल्मीको घमिर अथवा ईस्माबाट लमजुङ आएका भन्नेसम्म उल्लेख छ तर लमजुङमा कुन ठाउँमा आएर बसेका हुन् भन्ने किटानी देखदैन । लमजुङमा घिमिरेहरूले वसोवास गरेको पुरानो ठाउँ भनेका पुस्तुन र चिसंखु हुन् । पछिल्लो पुस्तामा आएर गजाधरका दुई भाई छोरामध्ये जेठा कुश्माखाकर र कान्छा नामाखर उल्लेख छ । त्यसपछि नामाखरको बारेमा कतै केही उल्लेख छैन । जेठा कुश्माखकरका ६ भाई छोराहरू थिए र तिनीहरूमा जेठा केदार पुस्तुनमा नै बसे, माहिला विष्णुदत्त चिसंखु गए, साइला सदानन्द बाहुनबेंसी हुदै दुराडांडा बाँझखेततीर फैलिए, काईला चुडामणि नाम्दू पाँचथर, ठाईला रुद्रदाश वितीजोर र कान्छ पूर्व तर्फ लागेको कुरा उल्लेख छ । सो आधारमा जेठा केदार बाबु बाजेको थलो पुस्तुनमा नै वसेको र उनका माहिला भाई चिशंखु गएको अनुमान लगाउन सकन्छ ।)

त्यस समयमा लमजुङ क्षेत्रमा उच्च पहाडी भूभागमा बस्ने शेषान्त जातीको स्वेच्छाचारी शासन थियो । त्यस्तो स्वेच्छाचारी शाषकलाई विस्थापित गरी सामाजिक सद्भाव र सनातन आदर्श अंगालेका मध्य पहाडी क्षेत्रमा बसोवास गर्ने खसाान्त  जातीको राज्य स्थापना गर्नु चानचुने  काम थिएन । खसान्त (ब्राम्हण, क्षेत्री) र शेषान्त (दूरा, मगर, गुरूङ लगायतका जनजाती)  लार्ई एउटै उद्देश्यमा संगठित गराई त्यसको नेतृत्व गर्ने कुस्माषकर घिमिरे एक सहासि, नीतिज्ञ र निडर, कुशल व्यक्तित्व थिए भन्न सकिन्छ । प्रशिद्ध राजनीतिक दार्शनिक Jean Jacque Russeau sf] Social Contract Theory नामक पुस्तक सन् १८७२ मा प्रकाशित भएको थियो तर त्यसभन्दा करिब २५० वर्ष अगाडि नै कुश्माखर घिमिरेले सामाजिक सम्झौताको सिद्धान्तलाई अंगालेर स्थानीय सामाजिक सद्भावका आधारमा खजे दूरा, शुकवर काउछा, गजे धिङ्गाल, नारायण दुरा समेत सबै जातजातकिा अग्रगण्य हरूलाई संगठित गरी पंचपुर्खाहरूको एउटा प्रतिनिधि मण्डल कास्की कोटका राजा कुलमण्डन शाहाको दरवारमा राजा माग्न गएका र कुलमण्डन शाहले प्रतिनिधि मण्डलको माग सुनी विभिन्न भलाकुसारी पछि आफ्ना माहिला छोरा कालु शाहालाई पठाउन मञ्जुर भई दुरा र मगरहरूको समूहले चाँदिको जाबीमा बोकेर ल्याई पुराना कोटमा दरवार बनाएर राखेको कुरा ऐतिहासिक दस्तावेजहरूमा पाइन्छ । उक्त चाँदिको जाबी केही वर्ष पहिलेसम्म दूराडाँडा क्षेत्रमा रहेको भन्ने बुढापाकाहरूको भनाई सुनिन्छ । बालक राजा कालु शाहालाई राजगद्दीमा राखेको केहि समयमा नै शेषान्तहहरूले षडयन्त्र गरी जंगलमा लगेर मारी दिए । राजालाई मारेपछि विछिप्त भएका भारदारहरूले पुन सल्लाह गरी सहासका साथ ज्योतिष कुश्माखकरको नेतृत्वमा पुन प्रतिनिधि मण्डल कास्कीका राजा कुलमण्डन शाहा कहाँ गएर सम्पूर्ण यथार्थ बृतान्त सुनाएर अर्को छोरा यशोब्रम्हशाहालाई पनि राजा बनाउन भनि आफ्नो माग राखेका र आफ्नो चतु¥याइपूर्ण छलफलबाट राजा रानी दुवैलाई चित्त बुझाएर ल्याउन सफल भएका थिए । यशोब्रम्हशाहालाई पनि प्रतिनिधिमण्डलमा गएकाहरूले चाँदिको जाबीमा नै राखेर बोकेर ल्याएको कुरा एतिहासिक लेखहरूबाट पुष्टी हुन्छ । त्यसरी चाँदिको जाबीमा बोकेर ल्याइएका राजालाई दूराडाँडा नजिकैको सिन्ंदूरे ढुंगामा सम्पूर्ण जनता जनार्दन भैला भई खुशी मनाएर सिन्दूर जात्रा गरी राजा घोषण गरेर राजगद्दीमा राखेको कुरा ऐतिहासिक लेखहरूमा पाइन्छ । पुर्खा कुश्माखर घिमिरेले लमजुङ दरवारमा राजा यशोब्रम्ह शाहालाई स्थापित गराउने कार्यमा नेतृत्वदायि भूमिका निर्वाह गरेको र ६ थरका भारदारहरूको नेतृत्व गरी राजाको मुख्तीयारी चलाएको कारणले त्यहाँको कोट पूजा गर्ने, मौलो पूजा गर्ने, मौलो फेर्र्ने काम घिमिरेहरूले नै गर्दथे । लमजुङ बाहुन बेंसिका घिमिरे वन्धुहरूले सोहि अधिकार यद्यपि उपयोग गरी त्यहाँको कोट पूजा गर्ने, मौलो पूजा गर्ने, मौलो फेर्र्ने कामको अधिकार जमाई राखेको पाइन्छ भने लमजुङ दरवारको प्रङ्गणमा रहेको मौलोलाई स्थानीय वासिहरूमा घिमिरेको मौलो भन्ने प्रचलन यद्यपि छँदैछ ।  

त्यस समयमा लमजुङ दरवारमा ६ थरका ( थापा, भण्डारी, गुरुङ, दुरा, राउत र घिमिरे) व्यक्तिहरूको सहकार्यमा राजकाज संचालनको कार्य हुन्थ्यो । ज्यो. कुस्माषरले ६ थरका भाई भारदारको नेतृत्व गर्नु भएको थियो । अर्थात् एक प्रकारले ६ थरका भाई भारदारको सहभागितामा राजाको मुख्तीयारी चलाउनु भएको थियो ।

नेपाल राष्ट्रको एकिकरण गर्ने राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहाका पूर्वज यशोब्रम्ह शाहालाई लमजुङ राज्यको राजगद्दीमा आसिन गराई शाहा वंशको बिजारोपण गराएर कालान्तरमा पृथ्वीनारायण शाहा पछि आधुनिक नेपालको राजकाजमा समेत दूरगामी प्रभाव पर्न सफल व्यक्तित्व महानायक कुश्माखर घिमिरेको, यस महान कार्यको, इतिहासकारहरूले उजागर गर्न नसकेको कारण वहाँको राष्ट्र र समाज प्रतिको योगदान छायामा परेको कुरा यथार्थ हो । दूराको नाम्लो र घिमिरेको काम्लोमा बेरिएर लमजुङ प्रवेश गरेका शाहा वंशले करिव ५०० वर्ष नेपालमा शासन गर्दा पनि आफ्ना पुर्खाको इतिहासलाई उजागर गराउने  प्रयत्न किन हुन सकेन त्यो एउटा छुट्टै अनुसन्धानको पाटो बाँकी छ । हाम्रा पुर्खाको १६ औं शातब्ब्दीको गौरवपूर्ण इतिहासलाई हामी आजका २१ सौं शताब्दीका सन्ततीले खोजमेल गर्ने जमर्को गर्दै छौं । कोटी कोटी नमन छ हाम्रा ती सहासि पुर्खालाई । यस्ता ऐतिहासिक कुरालाई विद्यालय÷कलेजहरूका शैक्षिक पाठ्यक्रममा समावेस गर्न पनि सम्बन्धित पक्षको ध्यान जान जरूरी देखिन्छ । 

सन्दर्भ सामग्री

१. मस्र्याङ्दी स्मारिका २०७३

२. लमजुङे बाघ ऐतिहासिक उपन्यास

३. स्थलगत अबलोकनबाट लिइएका तथ्यगत जानकारीहरू

४. घिमिरे वंशावली मध्यखण्ड २०६८

५. इन्टरनेटबाट खोजमेल गरिएका सामग्रीहरू

ईश्वरी प्रसाद घिमिरे

सिरान्चोक गोरखा हालः कामनपा ३, रानीवारी 

सिरान्चोक गोरखा हालः कामनपा ३, रानीवारी  



No comments:

Post a Comment