विवेचना
काश्यप गोत्रीय घिमिरेहरुको प्राचीन इतिहास, कुल र कुल धर्म तथा कुलपूजामा देखिएका विविधता देखिएका विविधता
जीवन र प्रकृतिका आन्तरिक तथा बाह्य तत्वका विषयमा चिन्तन वा अध्ययन गरिएको विद्यालाई दर्शनशास्त्र भनिन्छ । दर्शनशास्त्रमध्ये पूर्वीय दर्शन सबैभन्दा जेठो हो । पाश्चात्य जगत्मा विज्ञानको उदय हुनुभन्दा पहिले भारतीय उपमहाद्वीपमा पूर्वीय दर्शन विकास भैसकेको थियो । ब्रह्माण्ड, सृष्टि, पृथ्वी र मानव जातिको उत्पत्ति तथा विकासका सम्बन्धमा पाश्चात्य र पूर्वीय दर्शनबीच फरक फरक धारणा, सिद्धान्त र दृष्टिकोण रहेका छन् । पूर्वीय दर्शन आध्यात्मवादमा आधारित छ भने पाश्चात्य दर्शन भौतिकवादमा आधारित छ । दुवै दर्शनले ईश्वरको अस्तित्व स्वीकार गर्दछन् । पूर्वीय दर्शनअनुसार ब्रह्माण्ड अनन्त र असङ्ख्य छ । वराहपुराण र श्रीमद्भागवत महापुराणहरुले विराटपुरूषलाई असङ्ख्य एवं अनन्त ब्रह्माण्डको एकमात्र सृष्टिकर्ता, सर्वशक्तिमान् स्वामी एवं सञ्चालकका रूपमा व्याख्या गरेका र परब्रह्म वा परमात्मा पनि मानेका छन् ।
वराहपुराण अनुसार भगवान् विष्णुको आज्ञानुसार ब्रह्माजीले सृष्टि आरम्भ गर्दा चारैतिर जलमय देख्नुभयो । पृथ्वीको अभावमा सृष्टि आरम्भ गर्न असम्भव देखी ब्रह्माजीले पुनः श्रीहरि विष्णुको आराधना गर्नुभयो । भगवान् विष्णुले पनि पृथ्वीलाई कतै नदेखेपछि दृष्टिगोचर गर्दा हिरण्यकश्यपको भाइ हिरणाक्ष नामक राक्षसले पृथ्वीलाई अपहरण गरी जलभित्र रसातलमा लगेर लुकाएर राखेको थाहा पाउनुभयो । सृष्टि सञ्चालन गर्न पृथ्वीको आवश्यकता महसुस गरी भगवान् विष्णुले पृथ्वीको उद्धार गर्न ब्रह्माजीको नाकबाट सूक्ष्मरूपमा वराहअवतार लिनुभयो । भगवान् वराहको सूक्ष्म रूप जन्मनासाथ विशालकाय बन्यो र हिरणाक्ष राक्षससँग धेरै वर्षसम्म युद्ध गरी राक्षसलाई मारी पृथ्वीलाई आफ्नो ढाडमा राखी थुतुनाले उचाली रसातलबाट बाहिर निकाली उद्धार गर्नुभयो । यिनै बराह भगवान् घिमिरे वंशका संरक्षक कुलदेवता हुनुहुन्छ ।
घिमिरे वंशका पुर्खाहरु पहिले मालवा देशमा स्थित शिप्रा नदी किनारामा रहेको उज्जैन नगरमा बस्तथे र उनीहरु मालवा देशका राजा बीरविक्रमजितका गुरु ब्राम्हणका सन्तति थिए भन्ने कुरा बिभिन्न स्थानमा रहेका घिमिरेहरुसंग सुरक्षित रहेका पौराणिक अभिलेखहरुबाट पुष्टि हुन्छ । शिप्रा नदी र उज्जैनी नगर हाल भारतको मध्य प्रदेशमा पर्छ ।
इतिहास
१२ औं, १३ औं शताब्दी वरिपरि भारतमा स—साना हिन्दू राज्यहरु थिए । १३ औं १४ औं शताब्दी तिर पर्सियन मुसलमानहरुले भारतवर्षमा आक्रमण गरी लुटपाट मच्चाउने र आतङ्क पैदा गर्न लागे । हुण, चङ्गेज खाँ, औरङ्गजेब जस्ता लुटेराहरुले हिन्दूहरुमाथि लुटपाट गरी आतङ्क फैलाएको र बलजफ्ती धर्म परिवर्तन गर्न बाध्य पार्न थालेपछि हिन्दू धार्मिक समुदायका मानिसहरु आतङ्कित भई आफ्नो धर्म र अस्मिता रक्षाका लागि ठूलो संख्यामा हिन्दूहरु पश्चिमोउत्तर भारतको पहाडी इलाकातर्फ छिरेको कुरा इतिहासहरुबाट पुष्टि हुन्छ । साही समयमा उज्जैन नगरीबाट पहाडी इलाकामा छिरेका हाम्रा पुर्खा जयमुनि कालिकुमाउमा आएर बसोवास गरेका र उनका छोरा पुण्डरीकाक्षदेखि द्वारिकादास सम्मका १६ पुस्ता कालिकुमाउमा नै बसेका र द्वारिकादासका छोरा हरिदास गुल्मीको घमिरमा आएका भन्ने हाल गोरखामा रहेका घिमिरेहरुको पुरानो वंशावलीमा उल्लेख गरेको पाइन्छ । उता अर्घाखाँचीको बंशावलीमा गुणपाल मालुङ्गाबाट जुहाङ आएको उल्लेख छ । मालुङ्गा हाल गुल्मी जिल्लामा र जुहाङ अर्घाखाँची जिल्लामा पर्दछ । उता ज्ञानेश्वर काठमाडौंबाट २०५३ सालमा प्रकाशित बंशावलीमा गुणपाल मालवा देशका राजा वीरविक्रमजितका पुरोहित थिए र उज्जैन छोडी नेपाल प्रवेश गरेका प्रथम घिमिरे यिनै हुन् भन्ने उल्लेख छ तर त्यसको पुष्टि गर्ने आधार केही पाइदैन । गोरखाकोबंशावली अनुसार गुणपाल जयमुनिका चौथो पुस्ताका (पनाति) थिए र उनी कालिकुमाउमा नै रहेको पाइन्छ । विक्रमको १३ औं १४ औ शताब्दीतिर कर्णाली प्रदेशमा खस मल्ल राजाहरूको उदय भएको समय थियो । तिनताका खस मल्ल राज्यको द्वार हालको कैलाली कञ्चनपुरको मल्लवार क्षेत्र थियो । उत्तरमा तिब्बतका केही भाग र पश्चिममा गढवाल कुमाउदेखि पूर्वमा गोरखाको साँधसम्म फैलिएको तात्कालीन नेपालको ठूलो भूखण्ड खस राज्यअन्तर्गत थियो । कालिकुमाउ भन्ने स्थान महाकाली नदी पारि पिथौरागढको नजिक रहेकोले त्यस समयमा कालिकुमाउ, खस राज्यभित्र थियो भन्ने कुरामा मध्यकालीन नेपालको इतिहास साक्षी छ । ठ््यक्कै मिति र समयावधि किटानी भएका अभिलेखहरु नपाइए तापनि बिभिन्न ठाउँमा बसेका घिमिरेहरुको वंशमा सुरक्षित रहेका अभिलेखहरुका आधारमा घिमिरेहरुका पूर्वजको नेपाल (कालिकुमाउ) आगमन १२ आ,ैं १३ औ शताब्दीतिरै भएको र जयमुनिदेखि गुणपालसम्मका चारपुस्ताभित्रकै पूर्वज पश्चिमतर्फबाट नेपाल प्रवेश गरेको कुरामा भने धेरैको एकमत नै देखिन्छ । घिमिरेहरुको बसोवास पश्चिमी पहाडदेखि पूर्वी पहाडसम्म फैलिएर रहेको हुदा १२ औं शताब्दीदेखिनै विभिन्न समयमा विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका र पहिलो प्रवेश पश्चिमतर्फबाटै जुम्ला, गुल्मी, अर्घाखाँची, लमजुङ्ग हँुदै नेपालभर फैलिएको कुरा विभिन्न समयमा विभिन्न स्थानहरुबाट प्रकाशित बंशावली एवं अभिलेखहरुको आधारमा अनुमान गरिएको छ । हालको सर्वेक्षण अनुसार नेपालका ५० भन्दा बढी जिल्लाहरुमा घिमिरेहरु छरिएर बसोबास गरेको प्रमाणहरु भेटिएका छन् ।
कुल, कुलीन र कुल धर्म
कुल भन्नाले वंश, घराना, खानदानलाई बुझिन्छ । कुल एउटा सकारात्मक पक्ष बोधक शब्द पनि हो । कुलदीपिका अनुसार “आचारो विनयो विद्या प्रतिष्ठा तिर्थ दर्शनम् । निष्ठाऽबृत्तिस्तपो दानं नवधा कुललक्षणम् ।।” अर्थात् आचार, विनय(नम्रता), विद्या, मानप्रतिष्ठा, तीर्थाटन, निष्ठा, बृत्ति(पेशा व्यवसाय), तपस्या र दान सहित यी नौवटा गुणहरुलाई कुलका लक्षणहरु बताइएको छ, अथवा राम्रो वा नराम्रो जस्तो भए पनि कुल शब्दले प्रत्येक वंश वा घरानालाई जनाउाछ । संकुचित, सानो विचार तथा सोचाइ भएका व्यक्तिहरु मेरो र अर्काको भनेर छुट्याउने र भेदभाव गर्ने गर्दछन् तर उदार हृदय भएका कुलनि व्यक्तिहरु उत्तम आचार, ब्यवहार, वातावरण पाएका र फराकिलो सोच भएका हुन्छन् र सबैलाई समान ठान्दछन् र समान ब्यवहार गर्दछन् । त्यस्तो सोच हुनुनै महान् कुलको लक्षण हो । लेखक चक्रेश्वर भट्टाचार्यले “शाक्त दर्शनम्” भन्ने पुस्तकमा गरेको कुलको वयाख्या यसप्रकारको छ।
पञ्चभूतमयम् सर्वम् ब्रम्हाण्डम् सचराचरम् ।
जीवम् प्रकृतितत्वञ्च कुलमुक्तम् सदाबुधैः ।।
तयोस्तु परमम् तत्वम् यो वै जानाती साधकः ।
कुलिनः परमः सोऽपि वर्णभेदविवर्जितः ।।
अर्थः पञ्चमहाभूतबाट बनेको यो सारा चराचर जगत्, प्राणी जगत् र प्रकृतिका सम्पूर्ण तत्वलाई विद्वानहरु एउटै कुल वा वंश भन्दछन् । तिनमा रहेको परम् तत्वका बारेमा जसले थाहा पाएको छ र वर्ग तथा वर्णभेदको विचारबाट जुन व्यक्ति मुक्त छ त्यो नै कुलीन हुन्छ अर्थात् कुलीन बन्नका लागि कुल धर्मको संवाहक हुन आवश्यक पर्दछ । परम्परादेखि चलिआएका मर्यादा, मूल्य, मान्यता, धर्म, संस्कृति, पूजाआजा, आचारविचार आदि कुलले गर्ने कर्मको समष्टि रूप नै कुल धर्म हो ।
समाजमा प्रचलित परम्परागत मान्यता अनुसार कुलिन हुनुको अर्थ वेदाध्ययन, अनुसन्धान, शास्त्रोक्त आचरणको पालना निरन्तर रूपमा गर्नुलाई लिइन्छ भने हिन्दू धर्मका धार्मिक ग्रन्थ पुराणहरुमा प्राचीन भरतवंशीय, चन्द्र र सूर्यवंशीय राजाहरु तथा ऋषिहरुका कुल वंशहरुको मर्यादा र गौरव गाथाहरुको चर्चा गरेको पाइन्छ । त्यस्तै प्रसिद्ध श्रीमद्भागवत महापुराण पनि प्राचीन कालका रघुकुल, यदुकुल, कुरुकुल आदि चरित्रवान् राजाहरुको कुलको वर्णन गरेको धार्मिक कथा संग्रह हो । आधुनिक राज्य व्यवस्थामा विधिसम्मत् तरिकाबाट अधिकार प्राप्त गरी इमान्दारीपूर्वक दिलोज्यानले जनसेवा गर्नुलाई कुलिन भनिन्छ । त्यसैले यो कुलिन शब्द ज्यादै व्यापक छ । यसले धर्मशास्त्र, रानीतिशास्त्र र नैतिकशास्त्र सबैको प्रतिनिधत्व गर्दछ ।
कुलको आवश्यकता
कुल भनेको जुनसुकै व्यक्तिको पहिचानको आधार हो । कुल शब्दले जुनसुकै व्यक्ति र परिवारका लागि स्वाभिमानपूर्वक अगाडि बढ्न गौरवमय इतिहास बोकेका पुर्खाहरुको स्मरण गराउँछ । कुलका बृद्धहरुको शुभ आशिर्वाद सन्ततिलगायत सबैको लागि प्रेरणाको स्रोत बनेको हुन्छ । महान् पुर्खाहरुको सच्चरित्र, वीरता र महत्ताद्वारा कुल गौरान्वित भएको हुन्छ । पुर्खाहरुकै पौरखका कारण भावी सन्ततिले हिजोआज पनि पुर्खाहरुकै पौरख भजाएर खाइरहेको इतिहास हाम्रासामु छ । पुर्खाले गरेका योगदानलाई कदर गर्दै समाजमा पहिचान दिलाउने काम पनि कुलको नै हुन्छ । कुलको ज्ञानले परिवारजन र इष्टमित्रहरुलाई आत्म पहिचान दिलाउनका साथै भविष्यको पुस्तालाई पारिवारिक पृष्ठभूमिको बोध गराउछँ । यसले गर्दा पारिवारिक संरचना बलियो हुने, आफ्नो कुलका परिवारहरूको बीचमा भावनात्मक सम्बन्ध बढ्ने, सामाजिक इतिहासको संरक्षण हुने, परिवार तथा समाजमा सामूहिक भावनाको विकास हुँदै जानेजस्ता सकारात्मक पक्षहरुको विकास हुनजाने देखिन्छ । तर कुलमा जन्मदैमा कुनैपनि मानिस महान् हुँदैन । महान् बन्न र भविष्यका पुस्तासम्म आफ्नो पौरखद्वारा कुलको मान इज्जत राख्नको लागि व्यक्तिमा ठूलो त्याग, तपस्या, संंयम, धैर्य, बुद्धि, विवेक, अनुशासन, उदारता जस्ता गुणहरुको आवश्यकता पर्दछ । ब्यक्तिमा त्यस्ता गुणहरु पनि कुलको गौरवपूर्ण इतिहास र परम्पराबाट नै प्राप्त हुन्छ । कुलको पृष्ठभूमिले व्यक्ति, परिवार र समाजमा सधै प्रभाव छाडिराखेको हुन्छ । आफ्नो कुलको खोजी नगर्ने र आफूलाई कुलीन नठान्ने व्यक्ति, परिवारले समाजमा आफ्नो पहिचान र अस्तित्वलाई स्थापित गर्न कठिनाइ पर्दछ । त्यसैले प्रत्येक व्यक्ति र परिवारको पहिचानको लागि पनि कुलको आवश्यकता हुन्छ ।
कुलपूजा एवं देवालीको परम्परा
पूजाको परम्पराः— हाम्रा पुर्खाहरु प्रकृति पूजक हु्न् । हिन्दू संस्कृतिअनुसार पृथ्वी, जल, तेज, वायु, आकाशलगायतका पंचमहाभूत, बनस्पति, अन्नलगायतका प्राणी मात्रको लागि प्रकृतिबाट उपलब्ध हुने उपकारी तत्वहरुको संरक्षण हेतु तिनीहरुको आराधना गर्नु, पितृगण प्रति श्रद्धा, भक्ति र कृतज्ञता प्रकट गर्नु तथा अन्य देवीदेवताहरुको स्तुति, अर्चना, उपासना गर्नु आदि कर्मलाई पूजा भनिन्छ । प्राणीलाई बाँच्नको लागि सहयोग पु¥याउने प्रकृतिका अवयबहरुलाई देवता भनी तिनीहरूको पूजा गर्ने परम्परा हिन्दू संस्कृति नै हो । यस्तै आवश्यक र उपयोगी वस्तुहरुको संरक्षण गर्नुपर्छ भन्ने मान्यताबाट तिनीहरुको पूजा गर्ने परम्पराको थालनी भएको हुनुपर्छ । “भावे हि विद्यते देवो न पाषाणे न मण्मये” अर्थात् देवता सधैं भावनामा बस्छन् न ढुंङ्गमा न माटोमा । देवीदेवताहरू मानिसको भावनामा रहने हुनाले त्यसप्रति मनभित्र गहिरो आस्था र विश्वासले जरा गाडेको हुन्छ । देवीदेवताहरूप्रतिको गहिरो आस्थाकै कारण श्रद्धाभाव जागृत हुन्छ र मानिसको जीवनमा सकारात्मक र नकारात्मक प्रतिफल प्राप्त हुने विश्वास आम मानिसमा विद्यमान हुन्छ । ईश्वरप्रति आगाध विश्वास, आस्था र तन्मय भएमा पूजाले ईश्वर खुशी हुने र मृत्युपछि आत्माले सजिलै स्वर्ग जानसक्ने विश्वास हामीमा रहेको छ । भौगोलिक विविधताअनुसार सामाजिक परम्परामा पनि विविधता छ भने भौगोलिक र सामाजिक विविधताले संस्कृतिक परम्परासमेत फरक फरक रहेको हुन्छ । त्यस्तै पूजा गर्ने विधि र परम्परामा पनि भौगोलिक र सामाजिक विविधता अनुसार फरक शैली र परम्परा रहेको हुन्छ । उदाहरणका लागि तराई, पहाड र हिमाली क्षेत्रमा बस्ने होस् वा पूर्व, मध्य, पश्चिम तथा सुदूर पश्चिममा बस्ने एउटै जातजातिले गर्ने पूजामा पनि फरक विधि, शैली र परम्परा पाइन्छ । त्यसैले वास्तवमा पूज गर्दा कुलको परम्पराअनुसार चलिआएको चलनको अबलम्बन सबैले गर्नुपर्ने कुरा शास्त्रहरुमा पनि बताएको छ । पहिलेदेखि चलेको सनातन परम्पराअनुसारको चालचलनले खास कुनै विधिलाई मानक तुल्याएर पूजागर्नुपर्ने नियमहरु निश्चित गरेको पाइदैन । देश, काल, वातावरण, अवस्था, सामाजिक मूल्य मान्यता एवं परम्परागत कुलको आचरणलाई महत्व दिएर पूजाआजा गर्नु नै राम्रो र व्यवहारिक हुने सन्देश हाम्रा पुर्खाहरुले दिएका छन् ।
कुलको परम्परा, मान्यता र मर्यादा अनुसार कुलका संरक्षक मानिने, एउटै वंश परम्पराले प्रधान देवताको रूपमा मानी पूजा गरिआएका देवीदेवता तथा अन्य स्थानीय शक्तिको रुपमा गैडु, देवी, देउराली, संसारी, वायु, भंगेर आदिको परम्परागत विधिअनुसार तोकिएको तिथि, मिति वा निश्चत अवधिमा गरिने विशेष पूजालाई कुलपूजा भन्ने चलन छ । नेपालमा बसोबास गर्ने सम्पूर्ण जातजातिले आ—आफ्नो कुल परम्पराअनुसार फरकफरक शैलीहरूमा कुल परम्पराअनुसारका पूजाहरु तिश्चित तिथि मितिमा गर्दै आएको पाइन्छ । किराँत, राई समुदायमा मनाईने सकेला उभौली, उधौली पर्व, भूमेपूजा, संसारीपूजा तथा नेपाली समाजमा क्षेत्रीयहरुले आजसम्म गर्दैआएको खाँडो जगाई गौरवशाली वीर पुर्खाहरुको कीर्तिगान गर्ने प्रबृत्ति पनि एक किसिमको कुलपूजाकै स्वरुप हो भन्न सकिन्छ । ठाउँ, जात र परम्पराअनुसार कुलपूजा वैदिक पद्धति, तान्त्रिक पद्धति र स्थानीय पद्धति गरी तीन प्रकारका पद्धतिबाट गर्ने चलनचल्ती रहेको पाइन्छ । यीमध्ये वैदिक विधिले कुलपूजा गर्नेहरु कुलका पुर्खा र देवता मानिने शक्तिलाई आव्हान गर्ने, ध्यान गर्ने, आसन, अर्घको जल, स्नान, पुनःआचमनियको जल, दूधले स्नान, दहीले स्नान, आदि पंचोपचार÷षोडशोपचारले पूजा गरी धुप, बत्ती, नैवेद्य, जल, दक्षिणा, आरती, प्रदक्षिणा, पुष्पाञ्जली, अभिवादन, क्षमायाचना र अर्पण गर्दछन् । त्यस्तै तान्त्रिक पद्धति अनुसरण गर्नेहरु परम्परागत रीतबमोजिम पूजा गर्दछन् । धामी बोलाउने, धामी काम्ने र धामीबाट आशिर्वाद लिने, देउरो जगाउनेजस्ता परम्परा पनि तान्त्रिक पद्धति नै हो । स्थानीय पद्धतिमा ठाउँ र जात विशेषअनुसार फरकफरक विधिहरु हुन सक्छन् तापनि खासगरी यस पद्धतिअनुसार चल्नेहरु अधिकांश कोरा अक्षता र पातीको पात चढाई घृतधारा अर्पण गर्दछन् । यसलाई कोरीपूजा भनिन्छ ।
भौगोलिक स्थान विशेष र विभिन्न थर, गोत्र भएका जाति विशेषहरुले कुलपूजा गर्दा बलिभोग दिने चलन पनि छ । ब्राम्हण, क्षेत्रीयहरुले बोका, पाठी वा भेडाका बलिभोग दिन्छन् भने अन्य मतवाली जातिहरुले हाँस, कुखुरा, सुँगुर वा राँगाको बलिभोग दिएर कुल पूजागर्ने परम्परा पनि रहेको पाइन्छ । कुल पूजा कुन जाति तथा थर, गोत्र विशेषकाहरुले कहिले र कति समयमा गर्ने भन्ने कुरामा फरकफरक चलन परम्परा रहेको पाइन्छ । एउटै थर, गोत्र, कुलहरुमा पनि भौगोलिक स्थानअनुसार फरकफरक किसिमले कुलपूजा गर्दछन् । कोही ६÷६ महिनामा गैडुपूजासँगै गर्दछन् भने कोही वर्ष÷वर्षमा गर्दछन्, कोही एक वर्ष बिराएर त कोही २,३,४,५, ६ वा सोभन्दा बढी १२ वर्षमा पनि गर्दछन् ।
काश्यप गोत्रीय घिमिरेहरुले गर्ने कुलपूजामा देखिएका विविधताः
ठाउँ विशेष अनुसार विभिन्न स्थानमा बसोवास गर्ने घिमिरेहरुको कुलदेवता पूजा गर्ने समयावधि र पूजा प्रक्रिया पनि फरकफरक रहेको पाइएको छ । कोही बैशाख शुक्ल पूर्णिमा (बुद्ध पूर्णिमा) को दिनमा उभौली पर्व र मार्गशुक्ल पूर्णिमा, (धान्य पूर्णिमा) को दिनमा उधौली पर्व, गरी ६।६ महिनामा वर्षमा दुई पटक गर्छन्, कोही एक एक वर्षमा, कोही एक वर्ष विराएर, कोही तीनतीन वर्षमा, यसरी नै कोही चार वर्षमा, कोही ५ वर्षमा, कोही ६।६ वर्षमा र कोही १२ वर्षमा आफ्नो सगोत्रीय बन्धुबान्धव एक ठाउँमा भेला भई आपूmले मानिआएका कुलदेवताको पूजा गर्ने प्रचलन परम्परादेखि चल्दै आएको छ । कुलपूजाको बिशेष महत्व छ । आफ्ना पूर्वजहरूप्रति श्रद्धा, भक्ति प्रकट गरी उनीहरूले देखाएको सत्मार्गको अनुसरण गर्दै आपूm र आफ्ना सन्ततिको सुख, शान्ति र समृद्धिका लागि शास्त्रीय विधिअनुसार कुलका संरक्षक देवताको रुपमा मानिने कुल देवतालाई गरिने कुलपूजा हो । हिन्दू धर्म पूर्ण रूपमा अहिंसक भए पनि पछि आएर विभिन्न स्थानहरुमा बसोबास गर्ने क्रममा कुलपूजामा पशु पंक्षीको बलिदिने चलन पनि आएको पाईन्छ । तर बिभिन्न स्थानहरुमा बसोबास गर्ने घिमिरेहरुको कुलपूजाको विधि र परम्पराराई अध्ययन गर्दा कुलदेवताको पूजा गर्दा आद्यशक्ति देबी भगवतीको तथा स्थानीय क्षेत्रपालहरुलाई पनि शास्त्रीय विधि अनुसार पूजा गरी पशुपंक्षीको बलिदिने प्रथा बसालेको पाइन्छ ।
पश्चिममा गोरखा, लमजुङ्गमा मूल थलो भई हाल बसाई सरेर चितवनलगायत अन्यत्र जिल्लामा गई बसोवास गर्ने घिमिरेहरुले पुर्खाले बसाएको चलनअनुसार बराहा र मष्टालाई दुई वटा रूप मानेर पूजा गर्ने गरेको पाइदैन । बराहानै मष्टा पनि हुन् किनकि बराहाका आठ भुजाहरु थिए त्यसैलै महा+अष्ट +भुजौ=मष्टा अर्थात् आठ वटा हात भएका बराहा भगवान् नै बराहा मष्टा हुन् भन्ने मान्यता अनुसार बराहा भगवान्लाई कुलदेवता मानेर पूजागर्ने परम्परा रहिआएको छ । बराहालाई भगवान् विष्णुको बराहा अवतार मानेर पूजा गरिने हुँदा यिनलाई बलिदिने चलन पनि छैन । तर पूर्वमा काभ्रे, दोलखा, रामेछाप तथा बिराटनगरलगायतका स्थानका घिमिरेहरु बाह्र मष्टा भनेर मष्टालाई बाह ्रभाइ मामा र बराहालाई भान्जा मानेर पूजा गर्ने र बलिभोग दिने चलन रहेको पाइको छ । यसरी बलिभोग दिदा मामा बाह्र भाइ मष्टालाई कालो बोका र भानिज बराहालाई सेतो बोकाको बलिदिने चलन रहेको पाइन्छ । अझ रामेछाप, बेताली र नाम्दू दोलखाका घिमिरेहरुले त बाह्र भाइ मष्टालाई मामा र १८ भाइ बराहालाई भाञ्जा मानेर पूजा गर्ने परम्परा रहेको त्यहाँका घिमिरेवन्धुहरु बताउनुहुन्छ । पूजा गर्ने अवधि भने कसैले ६।६ महिना, कसैले वर्ष वर्ष दिनमा त कसैले ३।३ वर्ष र कसैले ५ वा ६।६ वर्षमा पूजा गर्ने चलन रहेको छ । पूजा गर्ने समयावधिमा फरक पर्नुमा स्थानीय अन्य थर, जातिको प्रभाव र पूजा समूहका भाइबन्धुहरुको सल्लाहा र सहमतिमा पछि परिवर्तन हुँदै आएको हुनुपर्छ । कुलपूजा गर्दा कसैले धामी नचाउने चलन छ भने कसैको धामी ननचाईकन पूजा गर्ने चलन छ । खास गरेर धामी नचाउने प्रथा पश्चिममा भन्दा पूर्वमा बढी रहेको देखिन्छ । मूल पूजारीको आङमा धामी आउनु र देवता बोल्नु स्वभाविक पनि हो ।
लमजुङ—पुस्तुन हँदै गोरखाको विभिन्न स्थान छोप्राक, हर्मी, टक्सार, बिरिन्चोक, फुजेल श्रीनाथकोट लगायतका ठाउँमा बसोवास गरेका घिमिरेहरुले बिबाहको लगन जुराएर पूजा गर्ने र पूजा गर्दा पुर्खाहरुले चलन चल्तीमा ल्याएको कुलदेवता पट अनुसार स्वेत बराहा, अहिर (गैडु) र कालिका देबीलाई कुलदेवताको रुपमा शास्त्रीयविधि अनुसार पूजा गर्ने सोही अवसरमा स्थानीय देबी, द्यौराली, क्षेत्रपाल, भंगेर वायुको पनि पूजा गर्ने चलन छ । यी देवी देवताहरुमा बराहलाई विष्णुको रूप मानी विष्णुको “मन्त्रः—विष्णोरराटमसिव्विष्णाोग्श्रृप्पत्रेस्थो व्विष्णोग्स्यूरसि विष्णोद्र्धुर्वोसि ।। बैष्णवमसि व्विष्णवेत्वा ।। ॐ विष्ष्णवे नमः ।।” मन्त्रले सोही विधि अनुसार षोडशोपचारले पूजा गर्ने ।
अहिरलाई गैडु शिवजीको रुप मानी शिवजीको मन्त्र ॐ नमः शम्भवायच मयोभवायच नमः शङ्करायच मयस्करायच नमः शिवायच शिवतरायच ।।” मन्त्रले सोही विधिअनुसार षोडशोपचारले पूजा गर्ने ।
कालिकालाई शक्ति स्वरुपिणी भगवती मानी सोही अनुसार “देवीद्वारेऽइन्दे्र संघाते वीडवीर्यामन्नवर्धयन् । आवत्सेन तरुणेन कुमारेणच मीतवा पार्वाण रेणुकाटन्नदत्ताम् वसुवने वसुधेयस्यव्यन्तु यज ।। मन्त्रले पूजा गर्र्नेे र बली दिने चलन छ ।
यसरी पूजा गर्दा पहिले स्वेत बराहाको, त्यसपछि क्रमश अहिर गैडु देवताको, स्थानीय देबी देवता र पितृको पूजा गरिसकेछि ती पूजा गरिसकिएका देबीदेवताको पूजा स्थानलाई छेकबार लगाएर मात्र शक्ति स्वरुपिणी कालिका भगवतीको पूजा गरी बली दिने चलन छ । कुलदेवताको पूजा देबकार्य भएको हुँदा यस अवसरमा मातृका पूजा र नान्दीमुखी श्राद्ध गर्ने चलन छैन तर कुलदेवता मन्दिरमा नै पितृको पनि पूजा गरिन्छ र होम दिइन्छ । अन्य केही स्थानमा बसोबास गर्ने घिमिरेहरुले कुलदेवताको पूजा गर्नु पूर्व नान्दीमुखी श्राद्ध गर्ने र कुलदेवताको पूजा गर्दा स्वेत वराह, गैडुदेवता साथै द्यौराली देवता, देवी पूजा, पितृ देवता पूजा, भंगेर देवता पूजा, नाग देवता पूजा, गंगा पूजा, विन्ध्यवासिनी पूजा, क्षेत्रपाल, वायुदेवतालगायतका देवीदेवताहरुको पूजा गर्ने परम्परा रहेको अध्ययनबाट देखिन आएको छ । कुलदेवताको पूजालाई मंगल गणना गर्ने चलन रहेको छ । घिमिरेहरु बसोवास गरेका ठाउँ विशेषअनुसार पूजा गरिने स्थानीय देवी देवतामा केही फरक रहे तापनि मुख्य कुलदेवता स्वेत वराह नै हुन् भन्ने विषयमा दुईमत छैन तर बराह भगवान् विष्णुका अवतार हुनु भएकोले बराहालाई बली भोग दिनु नपर्ने हो तर कुल पूजामा बराह भगवान्लाई बलिभोग दिने र नदिने विषयमा भने एकरुपता भएको पाइदैन । त्यसकारण परम्परागत, कुलाचार, व्यवहार तथा मान्यतालाई आधार मानी कुलपूजा गर्ने समूहका भाइबन्धुहरुले आपसी समन्वय, समझदारी र सहमतिमा कुलपूजा गर्ने परम्परालाई निरन्तरता दिन उपयुक्त हुन्छ ।
सन्दर्भ सामग्रीः
१. गोरखाका घिमिरेहरुको पुरानो कुलपूजाको पट र पूजा परम्परा । २. घिमिरे वंशावली— घिमिरे वंशावली प्रकाशन समिति २०५३ ज्ञानेश्वर, काठमाडौं ।
३. ईण्टरनेटमा उपलब्ध सामग्रीहरु ।
४. बैजयन्ती साँस्कृतिक पत्रिका अंक २४ डा. जयराज पन्त ।
५. घिमिरे बंशावली मध्यखण्ड २०६८ ।
६. नेपाल परिचय पाँचौं संस्करण २०७४ ।
ईश्वरी प्रसाद घिमिरे
सिरान्चोक ३, हर्मी, गोरखा
हाल काठमाण्डौं
No comments:
Post a Comment