त्यस बेलाको पन्द्र असार
आजभन्दा करिब ५०।५२ वर्ष अगाडि २०३१।३२ साल तिरको कुरा हो जुन समयमा म वर्षभरी घरमा नै बसेर खेतीपातीको काममा नै व्यस्त थिएँ, पढाइको क्रममा इण्टर लेभलमा नै अड्किएर घर बसेको थिएं । त्यसै साल पोखरा सेण्टर गरेर इण्टरको प्राइभेट परीक्षा दिएर घर बसेकाले घरको काममा नै व्यस्त थिएँ । त्यतिवेला हाम्रो संयुक्त परिवार नै थियो । बा, आमा, दाजुहरू दुईजना, भाउजु, हामी बुढाबुढी र छोरा छोरीहरूमा सीताराम चार वर्षको थियो, सायद छोरी पार्वता र मेरो ठूलो छोरा श्याम संगैका डेढ दुई वर्षका थिए । त्यतिबेला हाम्रो जग्गा जमीन पीताजीले दुख गरेर धेरैनै जोड्नु भएको थियो । पिताजीले छुट्टिभिन्न भएपछि फिरफिरेका गोतामेहरूसंग बेंसीको चाँपे खेत किनेको भन्नुहुन्थ्यो । त्यहाँ ४०।४५ मुरी धान फल्ने एउटै कित्ता एकल कुलो लाग्ने खेत थियो । जहाँ घरबाट फटाफट ओरालो झर्दा पनि ३०।४० मिनेट जती समय लाग्थ्यो । खोला किनारको खेत भएकोले पानीको कमी हुदैनथ्यो, त्यसैले जेठ महिनाको २२–२५ देखि रोपाई शुरू गरेर असारको दोस्रो हप्तासम्म करिब करिब लाग्थ्यो । चाँपे रापाई सकेर खोलाखेतमा दुई दिनको मेलो थियो । त्यस पछि असार पन्द्र मनाउन घर नजिकै गैरी खेतमा मेलो परेको हुन्थ्यो । त्यहाँ पनि एउटै कित्ता ठूलै खेत थियो त्यस्तै ११।१२ दिनको मेलो थियो । त्यस समयमा कामगर्ने मानिसको कमी हुदैन थियो । एकपाथी धान ज्यालामा मान्छे पाइन्थ्यो । पन्द्र असारको समयमा हाम्रो मेलो अधिकांसत त्यही पर्दथ्यो । ठूलो फाँट भएकोले गाउँले धेरै जनाका १५।२० हल गोरु फाँटमा नारिएका हुन्थे । मनसुनमा भरपर्ने हाम्रो खेती प्रणाली, असार लागेपछि नै मनसुन सक्रय हुने हुदा खेत रोपाईंको व्यस्तता असार लागेपछि नै हुन्थ्यो । मानु रोपेर मुरी उब्जाउने समय भनिन्थ्यो । मानिसहरू समय खेर फाल्दैनथे । मनसुन सुरू भएपछि अधिकांश रातभरी झमझम पानी पर्दथ्यो । मूलहरू फुटेदथे, खोला नाला बढेका हुन्थे, जताततै पानीको कमी हुदैनथ्यो । दिनमा काम गर्दा पनि पानी परिरहने हुँदा स्याखु, घुम, छत्री अथवा प्लाष्टिक ओडेर काम गर्नु पथ्र्यो । बिहानीमा सबेरै उठेर पहिलो काम गोरुलाई घाँस, कुँडो, ढुटो, पीठो खुवाएर टन्न अघाउनु पर्दथ्यो । बिहानको आठ बजेभित्रै हली दाईले खाना खाएर नौ बजेसम्ममा गोरु मेलामा पु¥याएर नारीसकेका हुन्थे । हामी पनि हली, गोरुसंगै मेलामा पुग्नु पथ्र्यो । दिउसो दुई बजेतिर खाजा खानेबेला हुन्थ्यो । टाढाको मेलो भएको समयमा आमा, भाउजुहरूले बिहानैमा खाजा बनाएर महिलाहरू मेलामा जाँदा लिएर जाने चलन थियो । घर नजिकको मेलो हुदा आमाले दिउसोमा नै खाजा बनाएर लगिदिनुहुन्थ्यो । त्यस समयमा खाजामा के हुने र ? भुटेको मकै, भटमास, सिरम्लाको खट्टे, कहिलेकाहीं भ्याएको समयमा आमाले २।४ वटा स्याल्ले रोटी पनि हालिदिनुहुन्थ्यो । गुन्द्रुक र भटमास अथवा दुधे कर्कलाको डाँठमा तीलको छोप, अमिलो हालेको अचार हुन्थ्यो । दिनभरीको, त्यो पनि महिनाभरिको कोदाली खनाई र थकाई पछि आधाघण्टा भएपनि रूखको छहारीमा टुसुक्क बसेर खाजा खान पाउँदा पनि कतिनै आनन्द आउँथ्यो । त्यो बेलाको भुटेको मकै, भटमास र गुन्द्रुकको अचारको स्वादलाई अहिलेको जेरी, पुरी र लालमोहनले जित्न सक्दैन । त्यो अतीतलाई संझदा मिठोको अर्थ परिकार भन्दा शरिरको मागलाई बुझ्नु पर्ने रहेछ जस्तो लाग्छ । तिनताका खेतमा कामगर्ने हरेक किसानको लागि १५ असारको महत्व ठूलो थियो । पन्द्र असारमा खाजा पनि विशेष नै हुन्थ्यो । फाँटमा वल्लोपल्लो गाउँ, आफ्नो गाउँ धेरैको त आफ्नै मेलो हुन्थ्यो, कोहीकोही अरूको मेलामा पर्मकालागि पनि गएका हुन्थे । दिउँसको बाह्रबजे दोपहरे खाने भन्थे । गोरुको जुवामा खानेकुरा राखेर गोरुलाई पनि खान दिने चलन थियो । पन्द्र असारको खाजामा दही, चिउरा, अचार, सेलरोटीसम्म टन्न खान पाइन्थ्यो । खेत रोप्न थालेपछि १५ असार कहिले आउला भनेर दिनगन्ती शुरू हुन्थ्यो । सिधा र लामा गराहरूमा सिपालु हलीहरूले खुब रमाइलोसंग गोरू कुदाउथे । तिनताक धर्मराज थापाको हो हो तारे हो हो ! हो हो माले हो हो ! भन्ने गीत ज्यादै लोकप्रीय भएको थियो । घरमा रेडियो हुनेहरू रेडियो नेपालबाट त्यो गीत बजेपछि रेडियोको भोलुम बढाएर मनोरञ्जन लिने गर्थे । हामीहरूको मेलो असार १५ ताका गैरी डौलिया खेततीर हुने गथ्र्यो । हाम्रो मेलो त्यहाँबाट पुन बेसी डाँडागोत्र्रेतिर जान्थ्यो । त्यहाँ पनि ७।८ दिनको मेलो हुन्थ्यो । त्यहाँबाट साउने संक्रान्ती आसपास दशमुरेमा मेलो पुगेका् हुन्थ्यो । त्यहाँ पनि २।३ दिन लाग्दथ्यो । साउन लागेपछि घरमाथी टारी खेतको मकै पाकेको हुन्थ्यो । त्यहाँको मकै भाँच्दै मेलो गर्दै गर्दा साउन महिनाको १५।२० गतेसम्म करिब दुई महिना खेत रोपाईमा व्यस्त हुनु पर्दथ्यो । अहिले ती अतितका दिनहरूलाई सम्झदा कसरी खटेर काम गरियो होला ? जस्तो लाग्दछ । त्यसबेला रासायनिक मल, हाइब्रीड बीउको प्रयोग हुदैनथ्यो । रैथाने धानका बीउ नै सबैले प्रयोग गर्दथे । आँपझुत्ते, पर्हेले, मार्सी, एक्ले, जेठोबुढो, अनदी, सोवारा, जस्ता रैथाने धानको बीउ किसानहरूले आफ्नै खेतमा फलेको धानबाट बीउ बल्याएर रख्ने चलन थियो । कृषि क्षेत्र सरकारको प्राथमिकतामा पनि थिएन । किसानले आफैले पशुलनबाट आएको प्रार!िङ्गक मल प्रयोग गर्थे । रैथाने जातका धानको मात्र खेती हुन्थ्यो । टारी टुक्रा खेतहरू कतै पनि बाँझो रहेको देखिदैन थियो । सडक सुविधा थिएन । तराइबाट पहाडमा चामल जाँदैनथ्यो । गाउँकै उत्पादनले औषतमा गाउँलाई खान पुग्दथ्यो । तराइको धान चामल विदेश निर्यात गर्न सरकारले धान चामल निर्यात कम्पनी खोलेको थिायो । खै आज ती दिन कता गए ? पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । कृषि उत्पादन र उत्पादकत्व बढाउन उन्नत बीउ विजन, रासायनिक मल, कीटनासक विषादीहरू लगायत कृषि औजार उपकरणहरू किसानलाई उपलब्ध गराएको छ । सरकारले १५ असारलाई धान दिवस घोषणा गरेको पनि छ । किसनहरूले त्यस दिन धुमधामका साथ खेतमा रोपाई गरेर पन्द्र असार मनाउछन्, यता देशका मन्त्री, प्रधानमन्त्रीहरू भने सिंहदरवारको बैठक हलमा गमलामा धानको बीउ रोपेर धान दिवश मनाउँछन् । तराइमा किसानले उत्पादन गरेको धान उम्रीएर खेर गएको छ । विदेशबाट अरबौंको धान आयात गरिन्छ । हरेक वर्षको बजेट भाषणमा धानमा आत्म निर्भरता बनाउने कुरा लेखिन्छ र पढेर सुनाइन्छ उता गाउँमा जाँदा खेतवारी धेरै बाँझै देखिन्छ । गाउँमा मान्छे देखिदैन, कि त बाँदर देखिन्छन् कि त, किसानलाई तालीम दिन गएका सरकारी र गैरसरकारी संस्थाका बिज्ञ देखिन्छन् । गाउँ गाउँमा सडक पुगेको छ, त्यसैले गाउँको बजार पनि धेरैजसो भारतबाट आयातित तरकारी, खाद्यान्न र फलपूmलले ओगटेको छ । आयातित सामान बोकेका गाडीहरू गाउँ गाउँमा, ठाउँठाउँमा सामान बेच्दै गरेका देखिन्छन् । विगतमा सरकारले अपनाएका अदूरदर्शी नीति र छिटो छिटो गतिमा परिवर्तन भैरहेको अन्तर्राष्ट्रिय विकासको प्रभावललाई नेपालको विकासको गतिले पछ्याउन नसक्दा कृषि, उद्योग र शिक्षाको क्षेत्रमा नेपालको विकासको गती वर्षेनी ऋणत्मक हुदै गएको छ ।घर अगाडि खुर्सानी फल्न छाडेको छ, घिरौंला काँक्राको बेलो उम्रिनै छाडेको छ, । कतै कतै उम्रिहाल्यो भने बाँदरले कलिलै निमोठ्न थालेको छ । गाउँलाई प्रकृतिले जितेको छ । गाउँबाट बसाइसराई बढ्दै गएकोले गाउँले हार्दै गएको छ । गाउँमा हिजोआज स्कूल छ विद्यार्थी छैनन्, खेतवारी छ खेतीवाली छैन, घरहरू छन् त्यसमा बस्ने मानिसहरू छैनन्, गोठ र चरन क्षेत्रहरू छन् तर वस्तुभाऊ केही छैनन्, केवल छन् त बाँदर, मृग, खरायो, दुम्सी, झारल घोरल आदि । WWF सफल भएको छ WFO असफल भएको छ । यही छ हाम्रो कृषि उत्पादनको बिडम्बना ।
No comments:
Post a Comment