Thursday, September 11, 2025

जिब्रोको महिमा


मानव शरीरका पाँच ज्ञानेन्द्रीयहरूमध्येको एउटा महत्वपूर्ण अंग जिब्रो हो । मानिस मात्र नभएर चौपाया द्वौपायाहरूको पनि जिब्रो बिनाको कुनै पनि प्राणीको कल्पनमासम्म पनि गर्न सकिंदैन । जिब्रो प्रकृतिको अनुपम परिकल्पना हो । प्राणीशास्त्रका अध्येताहरूले प्राणीहरूका अंगहरूको वारेमा अवश्य बढी जानकारी राख्नुहुनछ होला तर सामान्य मानिसले गहिरिएर विचार गर्दा श्रृष्टिकर्ताले प्राणीहरूमा यो जिब्रो किन बनाए होलान् ? यो जिब्रोले के के कामहरू गर्दछ, यसले राम्रा काम मात्रै गर्दछ कि, नराम्रा काम पनि गर्दछ, जिब्रो नभएका प्राणी हुन्छन् कि हुदैनन् ? मानिस जिब्रो बिना बाँच्न सक्छ कि सक्दैन ? यी र यस्तै यावत् प्रश्नहरू, जिब्रोको बारेमा विवेचना गर्दा प्रसंग उठ्न सक्ने विषयहरू हुन् । 

सामान्यतया मानिसको जिब्रो मुखभित्र रहने एउटा महत्वपूर्ण नरम अंग हो । जिब्रो बिना मानिसले बोल्न, वाक्य उच्चारण गर्न सक्दैन र खानेकुराहरू पनि राम्ररी चपाएर खान सक्दैन । खानको लागि मुखमा राखेको पदार्थको स्वाद कस्तो छ ?  (गुलीयो, अमीलो, पीरो, टर्रो, नुनीलो आदि) त्यो कुरा पनि थाह पाउदैन । जिब्रोमा निस्कने एक प्रकारको रस (¥याल)ले खाएको कुरा घाँटीबाट निल्न र पचाउन मद्दत गर्दछ । कुनैकुनै खानेकुराहरू खाँदा दाँतमा, गीजामा अड्किन अल्झिन सक्छ । त्यसरी अड्कीएका वस्तुलाई बाहिर निकाल्न पनि जिब्रोको सहायता चाहिन्छ । संगीतमय धूनमा पात बजाउन, सुरीलो आवाजमा सुस्केरा हाल्न, सुरीला भाकाहरूमा गीत गाउन जिब्रो कै भूमिका रहेको हुन्छ । जिब्रोका यी र यस्तै प्रकारका अनगिन्ती कामहरू छन् । यी त भए मानिसका व्यक्तिगत मामिलाका कुराहरू । सामाजिक मामिला एवं सार्वजनिक जीवनमा पनि  जिब्रोको प्रसंग धेरै आउँछ । जनजिब्रो, जनबोली, दुईजिब्रे, जिब्रो चपाएर बोल्ने, जिब्रो काडेर, जिब्रो फड्कारेर, दाँतले जिब्रो टोकेर, अल्छि तिघ्रो स्वादे जिब्रो, जिब्रोको भर नभएको मान्छे, हाड नभएको जिब्रो कहिलेकाँही लडखडाउँछ, कहिलेकाहीं जिब्रो चिप्लिन्छ जस्ता जिब्रोसंग सम्बन्धित बोलचालमा प्रयोगमा आइरहने शब्दावलीहरू हुन् । यी शब्दावलीहरूले जिब्रोको सामाजिक पक्षको उजागर गर्दछ । यस्ता शब्दावलीहरूले मानिसका सामाजिक गतिविधि र लाक्षणिक अर्थलाग्ने सांंकेतिक कुराहरू पनि जिब्रोलाई नै माध्यम बनाएर गर्ने गरेको पाइन्छ । जिब्रोको कारणले नै मानिसले जो कसैलाई शत्रु र मित्रु बनाउन सक्छ । 

स्वास्थ्यको क्षेत्रमा पनि जिब्रोको महत्व धेरै छ । जिब्रोले विभिन्न रोगका लक्षणहरूको संकेत गर्दछ । पहिलेको जमानामा आजको जस्तो प्रयोगशाला परीक्षण तथा रोग पत्ता लगाउने अत्याधुनिक यन्त्रहरूको सुविधा थिएन । आयुर्वेदिक, होमियोप्याथिक तथा युनानी उपचार पद्धतिमा जिब्रोको अवस्था हेरेर चिकित्सकले रोगको बारेमा महत्वपूर्ण जानकारी लिने गर्दथे । जिब्रो, आँखा र नाडीको. सहायताले उच्च रक्तचाप, अपच, औलो, आँखाको दृष्टी क्षमतामा कमी, शरीरमा रगतको कमी जस्ता कुराहरूको पहिचान गर्दथे र सोही आधारमा औषधिहरू चलाएर उपचार गर्दथे । आधुनिक उपचार पद्धतिमा पनि चिकित्सकले पहिले जिब्रोको अवस्था हेरेपछिमात्र अरू थप कुराहरूको सोधपुछ गर्ने र नाडी  छाम्ने, रक्तचाप परीक्षण गर्ने, आँखाको परेली पल्टाएर हेर्ने, स्टाथसकप लगाएर शरीरका अंगहरूको चाल, गती पत्ता लगाउने, काम गर्दछन्  । मुख्यत जिब्रोको अवस्था कस्तो छ ? खस्रो छ कि, नरम छ कि, चिल्लो छ कि,  फुस्रो छ कि, जिब्रोमा बाक्लो लेउ जमेको छ कि, जिब्रो कालो भएको छ कि, रातो पो छ कि कुन अवस्थाको छ जिब्रोको अवस्था हेरेर स्वास्थ्यकर्मीहरूले रोगको पहिचान गर्न सक्छन् । पशुहरूले आफ्ना सन्तानलाई ब्याउँदाको अवस्थादेखिनै जिब्रोले चाटेर सफा गर्ने र चाटेरै मायाँ गर्ने गर्दछन् । पंक्षीहरूले पनि चुच्चो र जिब्रोको सहायताले साना बचराहरूलाई आहारा खोजेर ल्याउने र खुवाउने गर्दछन् । 

जिब्रो हाड नभएको कोमल अंग हो । विभिन्न जात जातीका परम्परा, मुल्य मान्यता अनुसार जिब्रोको माध्यमबाट संस्कारजन्य कामकुराहरू पनि गर्दछन् । प्रत्येक बर्ष नेपाली नयाँ बर्षको दोस्रोदिन भक्तपुर बोडेका नेवारहरूले जिब्रो छ्ड्ने जात्रा मनाएर अरूलाई अश्चर्यमा पार्दछन् । भक्तपुर बोडेका कृष्णचन्द्र बाघ श्रेष्ठले २०८१ शुरू भएको दोस्रो दिन बाह्रौ पटक आफ्नो जिब्रो छेडेर ऐतिहासिक रेकर्ड बनाएका छन् । बसन्तपुरको कालाभैरबको मूर्तीमा लामो रातो जिब्रो निकालेको देखिन्छ भने महिष मर्दिनी महाँकलीले रातो जिब्रो बाहिरसम्म निकालेका तश्वीरहरू देख्न पाइन्छ । यसमा पनि पौराणिक धार्मिक कारणहरू निहित भएको हुनुपर्छ त्यो छुट्टै खोज र अनुसन्धानको विषय होला । जिब्रोलेनै मानिसलाई मिठाई खुवाउँछ र पिटाई पनि खुवाउँछ । किनकि हज्जारौंको भिडमा अगाडि उभिएर भाषण गर्नेले जती राम्रा कुराहरू गर्छ, जती उपस्थित भिडलाई मन छुनेगरी आकर्षक वक्तव्यहरू दिन्छ, त्यतीनै धेरै उसले तालीको गडगडहटका साथ लोकप्रियता पाउँछ तर यदि अप्रीय शब्दहरू प्रयोग ग¥यो, कसैलाई व्यक्तिगत झुटा लाञ्छनाहरू लगाएर बोल्यो भने उसले पिटाई पनि खान सक्छ । त्यसैले धरेै पढेको अथवा एसएलसी मात्र पास गरेको वा नपढेकै मानिस  किन नहोस् उसको बोलीले जो कसैको शत्रु वा मित्रु हुन सक्छ । यो सबै जिब्रोकै करामत हो । कहिलेकाहिं अप्रासंगिक र अप्रीय शब्दहरू मुखबाट जिब्रो चिप्लीएर पनि निस्कन सक्छ । त्यस्तो अवस्थामा जिब्रो चिप्लीएर यसो भन्न पुगिएछ भनेर संच्याएका उदाहरण पनि धेरै छन् । 

रसियामा यएटा यस्तो उखान रहेछ “बुद्धिमान मानिसको जिब्रो छोटो हुन्छ तर कान लामा र आँखा ठूला हुन्छन्” भनेर भन्ने चलन छ अरे । किनकि बुद्धिमानहरू धेरै बोल्दैनन्, बिचार गरेर मात्र बोल्छन् तर उनीहरूका कानले धेरै कुराहरू सुनेका हुन्छन् र आँखाले धेरै सुक्ष्म कुराहरू पनि देखेका हुन्छन् । त्यसैले होला त्यस्तो उखान बनाएका । कुनैकुनै मानिसलाई जिब्रोमा हुने इन्फेक्सन र कडा रोगको कारणले उपचार गर्दा जिब्रो नै काटेर फाल्नु परेका अवस्था पनि छन् । पढेलेखेका र शास्त्रको ज्ञान भएका त्यस्ता मानिसहरु पनि जिब्रोको सहायता बिना शब्द बिहिन हुन पुग्छन् । 

अन्तमा यहि कामना गरौं, भगवानले बनाई दिएको यो जिब्रोले सधै भगवानको भजन किर्तन गरिरहन पावोस्, सधैं परोपकारका वाणीहरू मिठास भरेर, मधुर स्वरमा व्यक्त भइरहुन्, दुर्वचन र कर्कशलाग्दा शब्दहरू कहिल्यै पनि यो जिब्रोबाट नचुहियोस्, सधै मिठा मिठा परिकारहरूको स्वाद लिन पाइरहोस्, यो जिब्रोले कहिल्यै पनि रोगका लक्षणहरू देखाउन नपरोस्, जिब्रो सधैं स्वस्थ्य रहोस्, जिब्रोकै कारणले कहिल्यै पनि कसैबाट नकारात्मक बचनहरू खान र सुन्न नपरोस् यहिनै त हो जिब्रो हुनुको महत्व । 


ईश्वरी प्रसाद घिमिरे 

सिराञ्चोक गाउपालिका ३ हर्मी गोरखा

हालः कामपा १३  वाफल, काठमाडौं


No comments:

Post a Comment