Wednesday, September 17, 2025
त्यसबेलाको पोखरादेखि ल्होमान्थाङसम्मको यात्रा
२०५२ सालको डायरीबाट
अष्ट्रियन पदयात्रीसंग ०५२ साल कार्तिक महिनाको दोस्रो हप्तादेखि पोखरा हुदै ल्होमान्थाङसम्म पदयात्रा गर्ने अवसर आपूmलाई प्राप्त भएको हुदा त्यस यात्रा अवधिमा बाटोमा पर्ने कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ जिल्लाका विभिन्न गाउँ, ठाउँहरूमा यात्राका क्रममा अनुभव गरिएका यादहरू तथा त्यहाँ दृष्टि गोचर भएका भौगोलिक, प्राकृतिक, सामाजिक, आर्थिक, साँस्कृतिक पक्षहरूलाई लिपीवद्ध गर्ने प्रयास यस लेखमा गरिएको छ ।
अष्ट्रियाको Innsbruck University का दुईजना प्राध्यापकहरू नेपालका हिमाली क्षेत्रमा अवस्थित बौद्ध गुम्बाहरूमा भ्रमण गरेर त्यहाँको बौद्ध कला, संस्कृतिको अध्ययन अवलोकन गर्ने मुख्य उद्देश्य बोकेर आएका रहेछन् । विदेशीहरूका लागि निषेधित क्षेत्रमा जाँदा नेपाल सरकारको प्रतिनिधिको रूपमा न्यूनतम पनि एकजना सरकारी अफिसरलाई संपर्क अधिकृत Lia son Officer को रूपमा अनिवार्य साथमा लैजानुपर्ने कानूनी व्यवस्था अनुसार गृह मन्त्रालयको तर्फबाट म संपर्क अधिकृतको रूपमा पदयात्रा टोलीमा सहभागि भएको थिएँ । वि.सं. २०५२ कार्तिक ७ गते बिहान हाम्रो यात्रा काठमाण्डौंबाट शुरू हुन्छ । पोखरासम्म त दुईजना विदेशी र म सहित हामी प्लेनमा जान्छौं । पोखरा एयरपोर्टमा नै थाम्शेर्कु टे«किङको तर्फबाट एकजना भरिया र एकजना गाइड हाम्रा ब्यागेज बोक्न र हामीलाई अगुवाई गर्न हाम्रो टोलीमा समावेस हुन्छन् । त्यहाँबाट हामी पाँच जनाको टोली बन्न पुग्छौं । पोखराबाट बाग्लुङ सडकको नयाँपूल (४२ कि.मी) सम्म हाम्रंो यात्रा एउटा सामान्य जीपमा हुन्छ । नयाँ पूलबाट पदयात्रा प्रारम्भ हुन्छ । मोदी खोलामा झोलुङ्गे पूल तरेर बिरेठाँटी पुगिन्छ । त्यहाँ पदयात्रीहरूलाई लक्ष गरेर आधुनिक सुविधायुक्त होटेल, लज एवं रेष्टुराँहरूले दैनिक सैयौं पर्यटकहरूलाई आकर्षित गर्दा रहेछन् । हामी पनि त्यसै ठाउँमा दिउसको नास्ता गरेर गन्तब्य तिर अगाडि बढ््यौं । बेलुकी पाँच बजे तिखेढुङ्गा भन्ने स्थानमा पुगेर त्यहीँं एउटा लजमा बास बसियो । तिखेढुङ्गा पनि होटेल, लज तथा रेष्टुराँहरूले भरिपूर्ण, पर्यटकहरू बास वस्ने थलो रहेछ ।
भोलीपल्ट कार्तिक ८ गते हामी सबेरै उठेर बिहानको निबृत्त भएर, हातमुख धोएर, एक कप तातो चिया पिएर हामी घोडेपानीका लागि उकालो लाग्यौं । ऐतिहासिक उल्लेरीको उकालो कहिल्यै नसकिने । पदयात्रामा आएका ती दुई विदेशीहरू पैदल हिड्नमा ज्यादै माहीर रहेछन् । म पनि पहाडमा हुर्के बढेको कारणले उकालो ओरालो हिड्नमा कम थिइन । हामी चार घण्टामा उकालो पार गरी घोडेपानी पुग्यौं र दिउसको खाना खायौं । घोडेपानी बजार २८०० मीटरको उचाइमा, डाँडाको थाप्लोमा रहेको रमणीय बजार रहेछ तर अधिकांस समय कुहिरोले ढाकिरहने भएकोले दृश्यावलोकन भने त्यति सहज हुन सकेन । त्यहाँ एकलाईन सार्वजनिक टेलिफोन सुविधा पनि रहेछ । त्यहीँंबाट घान्द्रुक तिर जाने बाटो पनि पर्ने हुदा अधिकाँश होटेल र लजहरूमा पर्यटकहरुलाई देख्न पाइन्थ्यो । त्यहाँबाट हामी म्याग्दीको तातोपानी बजारमा बास बस्न जानको लागि ओरालोे लाग्यौ । चित्रे, शिखा, घारा आदि गाउँ हुँदै करिब ५ घण्टाको ओरालो झरेपछि हामी तातोपानी बजारमा पुग्यौं । त्यहाँ हाम्रो साथमा जान आएका कूक, किचन ब्वाई, पाल टाग्ने सेर्पा लगायत दैनिक उपभोगको लागि आवश्यक पर्ने खाद्यवस्तु पालहरू बोक्ने भरीया सहित ६ जना मानिसहरू हाम्रो टोलिमा जान बाग्लुङको बाटो हुँदै आएर पर्खिरहेका रहेछन् । त्यहाँदेखि हाम्रो वास पनि पाल टाँगेर पालभित्र हुनथाल्यो ।
म्याग्दीको तातोपानी भन्ने नामसम्म महिले पहिले सुनेको थिएँ तर वास्तवमा म्याग्दीमा तातोपानी भन्ने दुईवटा स्थान रहेछ । एउटा सिंघा तातापानी, त्यो चाहिं सदरमुकाम बेनीभन्दा माथि म्याग्दी खोलाको किनारमा रहेछ । त्यहाँ चाहिं मानिसहरू छालाको रोग निको पार्न भनेर तातोपानी कुण्डमा सात दिनसम्म डुवेर बस्ने चलन रहेछ । गन्धकयुक्त तातोपानीको पोखरीमा शरीरलाई लामो समयसम्म डुवाएर राख्नाले छालाकोे रोग लागायत अन्य कैयौं रोगहरू निकोहुने विश्वास रहेछ । अर्को तातोपानी चाहीँ कालिगण्डकीको किनारामा रहेको, पर्यटकहरू बास वस्ने सानो तथा रमणीय बजार रहेछ । हाम्रा गाईड भान्छे केटाहरूले त्यहाँ पनि नदी किनारामा तातोपानीको कुण्ड छ भनेकाले बिहान उठेर हामी पनि पदयात्री सहित कालिगण्डकी किनारामा गईयो तातोपानीको सानो पोखरी त्यहाँ पनि रहेछ, त्यसैमा नुहाईवरी आइयो ।
घोडेपानीबाट आउने, बाग्लुबाट आउने र मुस्ताङबाट आउने विदेशी पदयात्रीहरूको जमघट हुने र बास बस्ने स्थान रहेछ तातोपानी बजार त । कालीगण्डकी किनारामा अवस्थित तातोपानी बजारमा बेलुकी पख घुम्दा कतै यूरोपियन मुलुक त होइन यो ? भन्ने भान जो हाहिलाई पर्न सक्छ । बिद्युत सेवा उपलब्ध सुसज्जित उक्त बजारका होटल, लज तथा रेष्टुाँहरू विदेशी पर्यटक र तिनका नेपाली गाइडहरूले खचाखच भरिएका थिए भने पाल टाँगरेर क्याम्पिङ गरेर बस्ने ग्रुपहरू पनि त्यत्तिकै खचाखच थिए । लोक गीत र लोक संस्कृतिको धनी म्याग्दी जिल्लाको लोक संस्कृतिले युक्त भाकाहरू रेष्टुराँहरूमा गुन्जिरहेका थिए भने दिनभरीको पैदल हिडाइबाट थकीत विदेशी पदयात्रीहरू लोक संगीतमा मग्न हुदै बियरको चस्कीमा झुमिरहेका थिए ।
भोलिपल्ट बिहान उठेर निबृत्त भएपछि भान्छे केटाले चिया ब्रेकफास्ट तयार ग¥यो, बिहानको नास्ता खाएर हामी भरीयाका साथमा काली गण्डकीको किनरै किनार माथितिर लागियो । बाटोमा पर्ने दाना बजार, रूक्सी छहरा, कोक्चेपानी, पैराको थाप्लो हुदै हामी त्यस दिन घासामा पुगेर क्याम्प खडा गरेर बास बस्यौं । घासामा पनि होटल, लजहरूको कमी थिएन । दायाँ बायाँ सल्लाको जंगल, त्यस्तै मनमोहक हरियालीको माझबाट कालीगण्डकी आफ्नो अबिरल गतीमा सुसाउदै प्रवाहित भैरहेको थियो । अर्कोदिन हामी लेते, कालापानी हुदै अगाडि बढ्यौ । लेते र कालापानी जोडिएको बजार जस्तै रहेछ । ठूलाठूला होटलहरू निर्माण भैरहेका । CTEVT अन्तर्गत लेते प्राविधिक शिक्षालय पनि निर्माणाधिन अवस्थामा नै रहेछ । हामी त्यसदिन कोके ठाँटीमा दिउसको खाना खाएर कालिगण्डकीको बगरेै बगर कोवाङ हुदै टुकुचे बजारमा बास बस्न पुग्यौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ACAP ले त्यस क्षेत्रको वातावरण प्रदुषण हुन नदिन र प्राकृतिक वातावरणलाई संरक्षण गर्न विभिन्न कार्यक्रमहरू लागू गरेको रहेछ । उक्त आयोजनाले त्यस क्षेत्रमा भएका होटल, लजहरूको व्यवस्थापनमा एकरूपता ल्याउन र पर्यटकलाई विभिन्न सूचनाहरू उपलब्ध गराउने व्यवस्था गर्दोरहेछ । पर्यटकहरूले दाउरा उपयोग गर्न नपाउने हुदा आपूmलाई आवश्यक पर्ने इन्धन प्रत्येक पदयात्री ग्रुपले आफैसंग लैजानु पर्ने रहेछ ।
पश्चिमतर्फ टुकुचे हिमाल, पूर्वमा निलगिरी हिमाल र लमजुङ हिमालको बिचबाट बगेर आएको काली गण्डकीको जलाधार क्षेत्र केही होचो भएकोले दक्षिण तर्फबाट बहने हावा एकिकृत भै काली गण्डकीको गल्छीबाट तिब्बत तर्फ बहने हँुदा बिहानको १० बजे पछि नै हुरी बतास चलिरहने रहेछ । जसले गर्दा काली गण्डकीको बगरमा दिउसो हिड्न ज्यादै कठिन हुदो रहेछ । जब टुकुचेबाट हामी अगाडि बड््यौं प्राकृतिक हरियाली कम हुदै गयो । धुपीका ससाना बट््यानहरू मात्र कता कती देखिन्छ । टुकुचेबाट डेढ घण्टा माथि हिडेपछि अति रमणीय र हरियालीयुक्त मार्फा बजार पुगियो । फलपूmल र तरकारी खेतीको लागि प्रसिद्धी कमाएको मार्फा बाग्वानी केन्द्रमा लटरम्म फलेका स्याउको बगैचा, टमाटर, बन्दा आदि हरिया साग, शब्जीले युक्त मार्फा कृषि केन्द्र र तिब्बती शरणार्थी क्याम्प ज्यादै मनमोहक र हेर्न लायक रहेछ । त्यस्तै मार्फा बजार पनि पर्यटकहरूको आकर्षणको केन्द्रविन्दु रहेछ । स्थानीय शैलीमा निर्मीत लज, रेष्टरुाँहरू पाश्चात्य शैलीमा उपलब्ध सुविधाहरू, स्थानीय घरेलु कुटिर उद्योगबाट उत्पादित राडी, पाखी, गलैँचा तथा अन्य स्थानीय कला कौशलका वस्तुहरूदेखि विदेशी सामानहरू सहजै उपलब्ध हुनसक्ने मार्फा बजार साँच्चै हेर्न लायक ठाउँ रहेछ । त्यहाँ भए गरेका र देखेका कुराहरूको सम्पूर्ण बर्णन् यस छोटो लेखभित्र अटाउन सम्भव छैन ।
मार्फाबाट करिब डेढ घण्टाको हिडाई पछि हामी मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम बजार पुग्छौं । कालीगण्डकीको दायाँ बायाँ अवस्थित जोमसोम बजार र सरकारी कार्यालयहरू र हवाई मैदान, यती नै रहेछ जोमसोम भन्नु । जोमसोम नजिकै रहेको स्याङ गाउँ, जहाँ आधुनिकताले छुन सकेको छैन । आफ्नै भेषभूषा, संस्कृति र रहन सहनमा डुबेको छ स्याङ गाउँ । विदेशी पर्यटकहरू त्यस गाउँ र त्यहाँका मानिसहरूको रहन सहन, सरसफाई, पेशा व्यवसाय, हेर्न बुझ्न, खुब जाने गर्दा रहेछन् तर उनीहरू त्यहाँ गएर, त्यस गाउँलई हेरेर के धारणा बनाउदा हुन् ? आफै जानुन् , अरूले सोध्दा “भेरी नाइस भिलेज ” भनेर पर्कन्छन् ।
हामी त्यस दिन दिउसको खाना जोमसोममा खाएर कालीगण्डकीको तिरैतीर अगाडि बढ््यौं र एक्लेभट्टी हुँदै कागबेनीमा पुगेर वास वस्यौं । उत्तरतर्फबाट आएको मुस्ताङ खोला र मुक्तिनाथ एरियाबाट आएको मुक्तनाथ खोलाको दोभान रहेछ पवित्र कागवेनी तीर्थस्थल र कागवेनी गाउँ । मुक्तिनाथ स्नान गर्न जाने हिन्दू तीर्थयात्रीहरू त्यही कागवेनीमा आफ्ना पितृलाई तर्पण, पिण्ड दिएर मात्र मुक्तिनाथ नुहाउन जाने परम्परा रहेछ । कागवेनीदेखि माथितिर निषेधित क्षेत्र शुरू हुने हुदा त्यहाँ रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यालयमा हामी पुग्यौं । हाम्रो टोलीमा गएका विदेशीहरूको नाम रजिष्टर गर्नका साथै हामीहरूसंग भएका सामानहरूको लगत एकप्रति उक्त कार्यालयमा बुझाएर भोलिपल्ट हामी मुस्ताङ खोलाको किनारै किनार अगाडि बढ््यौं । ढुङ्गा र बालुवा मात्र भएका खुरिखण्ड पहाडहरू जसमा कतै कतै काँडाका बुट््यानहरू देखिन्थे । अन्यत्र कतै हरियाली देख्न पाइएन । केवल गाउँको आसपासमा मात्र भोटे पिपल जातको रूख विरूवा केही मात्रामा हुर्काएको दखिन्थ्यो । प्राकृतिक बनस्पती भने सून्य नै रहेछ । मुस्ताङ खोलाको बगरै बगर शालिग्रामहरू खोज्दै हामी टाँग्वे, छुसाङ् हुँदै चैले भन्ने स्थानमा गएर बास बस्यौं । जौ, फापर, स्याउ, आलू मुख्य बाली हुने उक्त स्थानमा हामी पुग्दा स्याउको सिजन भने परेकै रहेछ तर चिसो ज्यादै भएको हुदा एउटै स्याउ पनि पूरै खान नसकिने ।
भोलिपल्ट विहान अर्थात् कार्तिक १३ गते विहानदेखि हामीहरू मुस्ताङ खोलाको वगर छाडेर उकालो लाग्दछौं । दिउसको खाना खान समारमा पुग्दछौं । समार गाउँभन्दा तल तिब्बती बिद्रोही खम्पाहरूको क्याम्पको भग्नावशेष देखिदो रहेछ । २०३१ साल तिर खम्पाहरूले सशस्त्र विद्रोह गर्दा विद्रोह दवाउने क्रममा खम्पाहरूका नेता गे वाङ्दी भागेर दार्चुला पुगेको बेलामा माएिका थिए । भोटे पिपलका रूखहरूले सोभायमान भएको समार गाउँ ज्यादै रमणीय रहेछ । त्यस दिन हामी करिब ४००० मीटर उचाई पार गरी घिलुङ भन्ने गाउँमा पुगेर वास बस्यौं । घिलुङ गाउँमा महिलाहरूको समूह सक्रिय रहेछ । उनीहरूले बेलुकी हामी बसेको ठाउँमा तिब्बतियन लोक लयमा आधारित साँस्कृतिक कार्यक्रम, नाचगान गरी रमाइलो गरे । नेपाली भाषा राम्रोसंग बुझ्न नसके पनि नेपाली लोक लयमा गाउन र नाच्न भने त्यहाँका महिलाहरू पोख्त रहेछन् । नेपाली र तिब्बेतियन लोक नृत्यहरू देखाएर हामीहरूको मन जित्न सफल भए ।
कार्तिक १४ गते बिहान हामीहरू घिलुङबाट उकालो चढ्दै झर्दै दिउसको खाना खान घमी गाउमा पुग्यौं । घमी गाउँमा एउटा प्राथमिक विद्यालय, प्रहरी चौकी, हेल्थपोष्ट हुलाक कार्यालय समेत रहेछन् । ती निकायहरूमा भएको सरकारी लगानीबाट जनताले के कति सुविधा पाउन सकेका छन्, त्यो त हामीलाई अध्ययन गर्ने मौका मिलेन तर ती कार्यालयहरूको भौतिक अवस्था हेर्दा केवल साइनबोर्डमा मात्र सिमित होलान् जस्तो लाग्दथ्यो । त्यहाँबाट हामी अगाडि बढ््यौं र चराङ पुगर बास बस््यौं । चराङमा एउटा ठूलो बौद्ध गुम्बा रहेछ । हामीहरू त्यो चराङ गुम्बा हेर्न गयौं । विदेशीहरूलाई भित्र प्रवेश शुल्क प्रति व्यक्ति रू. १०० रहेछ, हामीसंग गएका विदेशीहरूसंग हामीहरूले पनि गुम्बाको भित्री भागको अवलोकन गर्नुको साथै लामाहरूको प्रार्थाना कक्षको पनि अवलोकन गरियो । गुम्बा धेरै पुरानो र भित्री भाग ज्यादै जीर्ण अवस्थाको भैसकेको भए तापनि बाहिरी भाग भने रंग रोगन गरेर निकै आकर्षित बनाइएको रहेछ ।
कार्तिक १५ गते, विहान हामी चराङबाट घरगुम्बा हेर्न भनि उकालो लाग््यौं । चराङबाट करिब दुई घण्टाको हल्का उकालो चडेपछि घरगुम्बा पुगिंदो रहेछ । घरगुम्बा ज्यादै पुरानो र आकर्षक रहेछ । ढुङ्गामा कुंदिएका बुद्धका विभिन्न मुद्राका चित्रहरूले भित्ताहरू भरिपूर्ण थिए । गुम्बाको भित्री भाग मुख्य आकर्षक थियो । घरगुम्बा हेरेर हामीहरू ४२०० मिटरको भञ्ज्याङ पार गरी ल्होमान्थाङ पुगियो । ल्होमान्थाङ गाउँ एउटा अग्लो पर्खालले घेरिएको मुस्ताङे राजा जिग्मे परमल विष्टद्वारा संरक्षित रहेछ । मुस्ताङ जिल्लाको उपल्लो मुस्ताङ क्षेत्रको केन्द्रविन्दुको रूपमा रहेको यो गाउँ एउटै पर्खालद्वारा घेरिएको छ । त्यसै पर्खाल भित्र राजा जिग्मे परमल विष्टको दरवार पनि छ । पुरै गाउँ विकास समितिको नौ वटा वडाहरूमध्ये आठवटा वडाहरू त्यसै पर्खाल भित्रै रहेछन् । १७१ घरधुरीलाई घेरिएको उक्त कम्पाउण्ड भित्रको जमीनको क्षेत्रफल ७.५ हेक्टर रहेको कुरा त्यहाँको सीमा प्रहरी चौकिका इन्चार्जले हामीलाई बताए । कम्पाउण्ड बाहिर क्याम्पिङ साइटहरूमा नै त्यहाँ जाने पर्यटकहरू अधिकांश पाल टाँगेर बस्ने गरेको पाइयो । कम्मपाउण्ड भित्रै एउटा तिब्बतियन भाषा पढाउने आवासीय विद्यालय सन् १९९४ मा स्थापना भएको रहेछ । त्यस आवासीय विद्यालय संचालको लागि ACAP लगायत अन्य गैरसरकारी संस्थाहरूको पनि सहयोग रहेछ । २७ जना आवासीय लामा विद्यार्थीहरू रहेको उक्त विद्यालयमा एकजना लामा र अर्को एकजना नेपाली, अँग्रेजी पढाउने गरी दुईजना शिक्षक रहेछन् । कम्पाउण्ड भित्रका टोल र गल्लीहरूमा पसेपछि हामी नयाँ मानिसहरूलाई त कता हो कता ? भूल भूलैया जस्तो पो लाग्न पुग्यो । कार्तिक १५ र १६ गते ल्होमान्थाङ गाउँ भित्रै विभिन्न बौद्ध गुम्बाहरू हेर्नको साथै त्यहाँका वासिन्दाहरूको रहन सहन, आर्थिक, सामाजिक, साँस्कृतिक एवं धार्मिक गतिविधिहरूको अध्ययनमा बित्यो । १७ गते सिमावर्ती क्षेत्रका गाउँ वस्तीहरू छोसार, छुनुप, ठिंकर, फुवा किमलिङ आदि गाउँहरूको भ्रमण गर्नुको साथै नाम्चेल, गार्वो गुम्बाहरूको समेत एकै दिनमा घोडामा चडेर अवलोकन भ्रमण गरियो । त्यस ठाउँको यातायातको प्रमुख साधन भनेको घोडा नै रहेछ । सामानहरू बोक्नको लागि घोडा र खचड नै प्रमुख साधन रहेको पाईयो । हुन पनि त्यस क्षेत्रका वासिन्दाहरूको प्रमुख पशु पालन नै घोडा र खच्चड रहेछन् ।
तीन दिनको ल्होमान्थाङ बसाई पछि हामीहरूले गएको बाटोलाई छोडेर अर्कै बाटो फर्कियौं । कार्तिक १८ गते हामीहरू ल्होमान्थाङबाट सुर्खान् गाविस को डिरी भन्ने ठाउँमा आएर बास बस््यौं । त्यस गाउ विकास समितिको अर्को आकर्षण लोरी गुम्बा रहेछ । सुर्खान गाउँबाट करिब तीन घण्टा हिडेपछि लोरी गम्बा पुगिन्छ । ढुङ्गा र बालुवा मिश्रीत चट्टानको डाँडाको भीरमा रहेको उक्त गुम्बा पूरा गुफा जस्तो जमीन भित्र निर्मीत गुम्बा रहेछ । भीरमा रहेको प्वालभित्र पसेपछि दुई तला भएको उक्त गुम्बामा मूर्तीहरूका साथै बुद्धको स्तुपा रहेछ । धेरै नै पुरानो उक्त गुम्बाका भित्ताहरूमा गौतम बुद्धका चित्ररू कलापूर्ण शैलीमा बनाइएका रहेछन् । हामीलाई उक्त गुम्बा देखाउने स्थानीय गाइडले कती पुरानो गुफा हो भन्ने कुरा बताउन नसकेपनि उक्त गुम्बा एक हजार वर्षभन्दा पुरानै हुनुपर्ने अनुमान लगाइयो । तर त्यस्तो महत्वपूर्ण गुम्बाको मर्मत सम्भार भने यथोचित रूपमा हुन सकेको देखिएन ।
कार्तिक १९ गते, लोरी गुम्बा हेरेर हामीहरू डिरीमा नै फर्केर बास बसियो । २० गते बिहान मुस्ताङ खोलाको बगरै बगर धेरै ठाउँमा खोला तर्दै अगाडी बढियो । मुस्ताङ खोलामा विभिन्न आकार प्रकारका एवं धातु मिसिएका ढुङ्गा र शालिग्राम पाइने हुनाले हामीहरू पनि शालिग्राम खाज्दै बेलुकी टाङ्वे भन्ने गाउँमा पुगेर बास बसियो । प्रत्येक गाउँमा हामी पुग्दा १र२ ग्रुप पर्यटकहरू आउने अथवा जाने भेट भै नै रहन्थ्यो । त्यहाँ पनि हामीहरूले ११ सदस्यीय फ्रेन्च टोलीलाई भेट््यौं । कार्तिक २१ गते मुक्तिनाथ पुग्नको लागि हामीहरूले करिब ४२०० मीटर उचाइको भन्ज्याङ पार गर्नु थियो । हामीहरू विहानै उठेर दिउसको लागि समेत लन्च प्याकेट बोकेर उकालो लाग््यौं । पट््यार लाग्दो उकालो पार गरी सकेर दिनको ३ बजेतिर हाम्रो ग्रुप मुक्तिनाथ पुग्यो । मुक्तिनाथ साँच्चैं मुक्ति पाइने ठाउँ नै रहेछ । ज्यादै रमाइलो । मन्दिर वरिपरीको सुन्दर शितल शान्त वातावरण, त्यहाँको सौन्दर्यको वर्णन् जती नै भने पनि कमै हुन्छ । २२ गते विहानै उठेर १०८ वटै धाराहरूमा स्नान गरेर त्यस दिनभरीनै त्यहाँको सौन्दर्य एवं रमणीय वातावरणमा रमाउने अवसर पाइयो । विदेशी पर्यटकहरूको ज्यादै आकर्षणको केन्द्रविन्दु त्यहाँका लजहरू कुनै खाली थिएनन् भने पाल टाँगेर वस्ने ग्रुपहरूको पनी कमी थिएन । मुक्तिनाथसम्म निषेधित क्षेत्रभित्र नपर्ने भएकोले त्यहाँसम्मको लागि मात्र जाने पर्यटकहरू, उपल्लो मुस्ताङ घुमेर आउने पर्यटकहरू र मनाङबाट थोराङ्गला पास पार गरेर आउने पर्यटकहरू समेतको त्रिवेणी पर्ने हुँदा त्यहाँको बजारमा स्वदेशी भन्दा विदेशी अनुहारहरू बढि देखिन्थे ।
कार्तिक २२ गते बेलुकी अवेरसम्म सफा मौसममा मुक्तिनाथमा नै रमेर बसेका हामीहरू २३ गते बिहान उठ्दा त घनघोर हिउँ परिरहेको । बाहिर निस्कदा करिब दुई पूmट जती हिउ जम्मा भैसकेको र हिउँ परिनै रहेको हँदा हामीहरू हतार हतार गरेर हिउँमा रूज्दै, भिज्दै लड्दै जोमसोमको लागि ओरालो लाग््यौं । मुक्तिनाथबाट झारकोट हुदै तल फेदीतीर पुग्दा हिउँको ठाउँमा पानी पर्न लाग्यो । त्यस्तो मौसम बिग्रला भन्ने आशंका केही नभएकोले हामीले छाता, वर्षादी केही पनि लगेका थिएनौं । दिनभरी हिउँ र पानीमा भिज्दै कठाङग्रीएर बेलुकी ४ बजेतीर हामीहरू जोमसोम आइपुगेपछि मात्रै बाँचिएला जस्तो भयो । होटेलमा आगो बालेका रहेछन् । कपडा फेरेर सेकताप गरेपछि मात्रै प्राण भरिएको महसूस भयो । बेलुकी ७ बजेको समाचार सुन्दा पो थाहा भयो, त्यो वेमौसमको झरी त नेपाल अधिराज्य भरी नै परेको रहेछ । त्यो झरीले मनाङ र खुम्बु क्षेत्रमा धेरै मानिसहरूको ज्यान लिइसकेको रहेछ । कार्तिक २४ गतेका लागि हाम्रो जोमसोम–पोखरा–काठमाण्डौं उडानको लागि एभरेष्ट एयरको टिकट थियो । दुर्भाग्यवस मौसमको खराबीले गर्दा प्लेन आउन सकेन । तीन दिनसम्म हामीहरू जोमसोममा प्लेन पर्खेर बस््यौं । जोमसोममा पर्यटकहरूको ठूलो भिड लाग्यो । प्लेन आउन नसकेको हुदा मौकाको फाइदा उठाउन समय पर्खेर बसेका प्राइभेट एयरलाइन्सहरूले हेलिकप्टर चार्टर गरी विदेशीलाई १०० अमेरिकी डलरमा पोखरासम्म पु¥याउन शुरू ग¥यो । त्यहाँ एकजना म जस्तै सम्पर्क अधिकृत भै बिचल्लीमा परिरहनु भएका भित्र शिव नेपालजीसंग मेरो भेट भयो । हामीहरूले त्यहाँ अझै २।४ दिन प्लेन कुर्नुभन्दा हिड्न उचित ठह¥यायौं र झोला बोक्नको लागि एकजना भरिया खोजेर पैदल मार्ग रोजियो । जोमसोमबाट बेनी, बाग्लुङ हुँदै बस चडेर तेस्रो दिन बेलुकी काठमाण्डौं आइपुग्यौं । यस्तो रह्यो ल्होमान्थङ सम्मको पदयात्रा । अस्तु ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment